हरिभन्दा माथि गुरु
हामीले गुरुलाई परमात्माभन्दा माथिको आदर दिएका छौँ । भक्त सहजो वाई जो चरणदासकी शिष्या थिइन्, उनले गुरुको स्तुतिमा गाएकी छन् —
‘राम तजूं पर गुरु न विसारु, गुरु के संग हरिको न निहारुं ।’
अर्थात् रामलाई, परमात्मालाई छाड्न सक्छु तर गुरुलाई बिर्सन सक्दिनँ र गुरुको अगाडि परमात्मालाई पनि हेर्दिनँ ।’
परमात्माभन्दा पनि माथि गुरुलाई राख्ने गुरुभक्ति हाम्रो पूर्वीय परम्परा हो । कबीरले पनि यस परम्परालाई अर्को उचाइ दिनुभएको छ । कबीर भन्नुहुन्छ —
‘तीन लोक नौ खंड में गुरु ते वडा ना कोय, करता करै न करी सकै गुरु करै सो होय ।’
अर्थात् तीनै लोक नौ खण्डमा गुरुभन्दा ठूलो अरू कोही छैन र परमात्माले जो गर्न सक्दैनन्, त्यो गुरुले गर्न सक्छन् ।
‘हरि रुठे गुरु ठौर है, गुरु रुठे नही ठौर ।’ अर्थात् परमात्मा रिसाए भने गुरुले सहारा दिन सक्छन्, तर गुरु रिसाए भने परमात्माले पनि मद्दत गर्न सक्दैनन् ।’
परमात्माभन्दा माथि गुरुलाई राख्ने आफ्नै कारण छन् । परमात्मा र मनुष्यको बीचमा ठूलो दूरी छ । दुःख र विषाद्को भाषा हो, हाम्रो लौकिक भाषा । यो भाषाका माध्यमबाट निराकार परमात्मालाई बुझाउन मनुष्य असमर्थ छ, किनभने परमात्मा निरपेक्ष शान्तिमा डुबेको छ, निश्चल र निर्विकार छ । हामी सापेक्ष कुरा गर्छौं, सानो–सानो कुराले दुःखी हुन्छौँ, स–सानो भावबाट प्रभावित हुन्छौँ ।
मनुष्य र परमात्मा दुवैको बीचका कडी हुन्, गुरु । उनले हाम्रो कुरा पनि बुझ्छन्, हाम्रो कुरालाई परमात्मासम्म पुर्याउन पनि सक्छन् र परमात्माको अनन्त तेजलाई हाम्रो पात्रताअनुरूप हामीलाई दिन सक्छन् । गुरुका माध्यमबाट मात्र परमात्मासँग संवाद हुन सक्छ ।
वासना, कामना, तृष्णाबाट ग्रसित शिष्यका भाव अचिन्त्य परमात्मालाई बुझाउन आत्माप्रकाशित गुरुले मात्र सक्छन्, कुनै सामान्य ज्ञानीले सक्दैनन् । सामान्य ज्ञानी र अज्ञानीको बीचमा गुणात्मक होइन, संख्यात्मक भेद हुन्छ । ज्ञानीसँग अलिक ज्ञान बढी हुन्छ, सूचना बढी हुन्छ, स्मृतिको संग्रह हुन्छ, अज्ञानीसँग अलिक कम हुन्छ । यो फरक गुणात्मक होइन, संख्यात्मक हो । गुरु–शिष्यको बीचमा जुन भेद हो, त्यो गुणात्मक भेद हो । शिष्य अन्धकारमा छ, गुरु प्रकाशित छन् । गुरुमा ज्ञान, सूचना र संग्रह हामीमा भन्दा कम हुन सक्छ, तर गुरु आफंैमा हामीभन्दा बढी छन् । उनी हुनु नै आफैँमा ठूलो कुरा हो । कबीर आफैँ अनपढ थिए, भक्त गोरा कुम्हार थिए, रैदास चमार थिए, तैपनि हामीले उनीहरूलाई गुरु मान्यौँ ।
कुनै ज्ञानले होइन, चेतनाको स्थितिले गुरु हुने हो । स्वामी विवेकानन्द रामकृष्ण परमहंसभन्दा बढी ज्ञानी हुनुहुन्थ्यो । गुरुको जुन चेतना हो, बोध हो, त्यो हाम्रोभन्दा विशाल छ, बृहत् छ । यही गुरुको विशेषता हो ।
‘गुरुबिना होत न ज्ञान’ गुरुबिना ज्ञान हुन सक्दैन । गुरुबिना आत्मसाक्षात्कार हुन सक्दैन । गुरुको सान्निध्यमा त्यस्तो व्यक्ति मात्र आउन सक्छ, जसको आफ्नो शिर चढाउने तयारी छ । जसको सारा अहंकार त्याग्ने तयारी छ । त्यसैले कबीरले भनेका छन्, ‘सिस दिए जो गुरु मिलै, तो भी सस्ता जान ।’ शिर चढाएर गुरु पाइन्छ भने पनि त्यो सस्तो नै हुन्छ ।
जब संसारमा मनुष्यले आफ्नै तरिकाले जिउने अनेक प्रयास गरेर पनि दुःख, पीडा, विषाद, हतासा मात्र पाएर हारको आत्यन्तिक अनुभव गर्छ, तब मात्र उसको अहंकार उसका लागि बोझ बन्छ । उसको जीवनमा कुनै उज्यालो प्रकाश हुँदैन । उसको जीवन रात समान हुन्छ । रातमा सूर्य उदाउँदैन, चन्द्रमा मात्र देखिन्छ । हामी रात हौँ, अँध्यारो रात । हाम्रो जीवनमा गुरुको जब प्रवेश हुन्छ, तब पूर्णिमाको रात आयो । पूर्ण चन्द्रमाको पदार्पण भयो । अब गुरु पूर्णिमा आयो । गुरुसँग जोडिएपछि जुन दिन गुरु र शिष्यबीच एक सेतु बाधिन्छ, मात्र गुरुको उपस्थितिले शिष्यको जीवनमा क्रान्ति सुरु हुन्छ ।
त्यसैले गुरु पूर्णिमा भनेकै गुरुलाई याद गर्ने, अहोभाव व्यक्त गर्ने, गुरुप्रति श्रद्धा प्रकट गर्ने दिन हो ।
‘कबीरा हरि के रुठते गुरुके शरणे जाए,
कहे कबीरा गुरु रुठते हरि नहि होत सहाय’ ।
अर्थात् हरि रिसाए भने कबीर गुरुको शरणमा जान्छ, तर गुरु नै रिसाए भने हरिले पनि सहारा दिन सक्दैनन् । पूर्वीय गुरु–शिष्य परम्पराको गरिमा झल्काउने कबीरका यी विशिष्ट अभिव्यक्ति हुन् — गुरुलाई परमात्माको रूपमा मात्र नदेख्ने, परमात्माभन्दा पनि माथि देख्ने । हुन त यो आफैँमा रहस्यमय छ । कबीरका यी वचन सामान्य व्यक्तिलाई अलिक अचम्म लाग्ला ।
‘गुरु’ शब्द नै हिन्दूहरूको एक अद्भूत खोज हो । अरू कुनै पनि भाषामा यसको सही अर्थ दिने पर्यायवाची शब्द भेटिँदैन । हिन्दूहरूको मूल संस्कृति अध्यात्ममा समर्पित छ र यस आध्यात्मिक संस्कृतिका प्रकाशस्तम्भ हुन्, गुरु ।
गुरुलाई उर्दूमा उस्ताद र अंग्रेजीमा मास्टर भनिन्छ । मास्टर, उस्ताद र गुरु शब्दमा धेरै भिन्नता छ, तर यी कुनै शब्दले गुरुको गरिमालाई प्रतिविम्बित गर्न सक्दैनन् । संस्कृतबाहेक अन्य कुनै भाषामा गुरु शब्दको सही अनुवाद गर्न सकिँदैन । गुरुपूर्णिमा समस्त शिष्यका लागि एक विशिष्ट दिन हो ।
गुरुको नजिक बसेरै शिष्यलाई त्यो अज्ञातको जगत्मा हाम फाल्न साहस आउँछ ।
हामीलाई सामान्यतया तीन थरीको सम्बन्ध थाहा छ । एउटा वासनाको सम्बन्ध, जसमा प्रेम नगन्य हुन्छ र प्रायः वासनाले सम्बन्धलाई डोर्याइरहेको हुन्छ । सामान्य संसारमा देखिने सम्बन्ध यही हो ।
अर्को सम्बन्ध छ प्रेमको, जसमा आधा कामना हुन्छ र आधा प्रेम । आधा त्यसमा दैविक गुण हुन्छ, आधा मानवीय कमजोरी हुन्छ । त्यस कारण प्रेम अति सुन्दर, माधुर्यमय, संगीतमय र काव्यमय हुन्छ । प्रेममा अति तृप्ति हुन्छ । त्यसैले प्रेमभन्दा ठूलो घटना कसैको जीवनमा केही पनि हुन सक्दैन ।
तेस्रो सम्बन्ध छ, श्रद्धाको । यसमा नगन्य कामना र अधिकांश निष्कामता हुन्छ र समर्पण हुन्छ । नगन्य कामनाचाहि“ मुक्तिको कामना हो । परम मुक्तिको, मोक्षको कामना । गुरुजस्तै निर्विकार, निष्कलंक र शुद्ध बन्ने कामना ।
गुरुप्रति असीम प्रेम, श्रद्धा र समादर प्रकट गर्ने यो आषाढ पूर्णिमा एक अनुपम अवसर हो । ब्राह्मणको पर्व हो, रक्षाबन्धन । क्षत्रीको पर्व हो, दशैँ । वैश्यको पर्व हो, तिहार र क्षुद्रको पर्व हो, होली । कुनै वर्णमा नअटाउने वर्णातीत शिष्यको सबैभन्दा ठूलो पर्व हो, गुरु पूर्णिमा । यस पवित्र दिनको यस पावन अवसरमा म आफ्ना सद्गुरु ओशो तथा अन्य अनेक सद्गुरुहरूको चरणमा आफ्नो श्रद्घा सुमन चढाउन चाहन्छु । प्रत्येक गुरुभक्तहरूलाई गुरुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
कांग्रेसले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार ? (सूचीसहित)
-
जर्मन चान्सलर स्कोल्जद्वारा पुटिनलाई युक्रेनसँग वार्ता गर्न आग्रह
-
प्राड विवाक जर्नल विमोचन
-
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
-
दर्शकको ओइरो लागेपनि २० वटा हलबाट पूर्णबहादुरको सारङ्गी किन उतारियो ?