शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
एलपी ग्यास

दुई वर्षपछि नाफामा आयो एलपीजीको बिक्री मूल्य

सोमबार, १८ असार २०८०, १४ : ४९
सोमबार, १८ असार २०८०

काठमाडौँ । नेपाल आयल निगमले घाटा खान थालेको करिब २ वर्षपछि एलपी ग्यासको मूल्य नाफामा आएको छ । इण्डियन आयल कर्पोरेशनले जुलाई १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार झण्डै २ वर्षपछि एलपीजीको बिक्री मूल्य नाफामा आएको हो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सन् २०२० अक्टोबर १६ देखि एलपीजीको बिक्री मूल्य घाटामा जान थालेको थियो । त्यसयता पहिलोपटक जुलाई १ तारिखको मूल्यसूचीबाट प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा आएको हो । १६ अक्टोबर २०२० अघि प्रतिसिलिन्डर एलपी ग्यासको बिक्रीमा ४६ रुपैयाँ नाफा थियो ।

रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि सबैजसो पेट्रोलियम पदार्थको मूल्य बढ्न सुरु भएको थियो । लगत्तै डिजेल, पेट्रोल, हवाई इन्धन लगायत खाना पकाउने एलपी ग्यासको समेत मूल्य बढ्न थाल्यो । उक्त समयमा एलपी ग्यासको उपभोक्तालाइक्षर्् बिक्री मूल्य प्रतिसिलिन्डर १६ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य नै १६ सय रुपैयाँभन्दा माथि पुगेर २६ सय ५० रुपैयाँ प्रति सिलिन्डरसम्म पुगेको थियो । १६ मे २०२२ मा प्रतिसिलिन्डरको खरिद लागत २६ सय ५० रुपैयाँ पुगेपछि प्रतिसिलिन्डर घाटा १०५० सम्म पुगेको प्रवक्ता ठाकुरले बताए ।

‘भारतबाट जुलाई १ मा आएको पछिल्लो तथ्यांकअनुसार प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ,’ ठाकुरले भने, ‘यो सन् २०२० को अक्टोबर १६ यताको पहिलोपटकको नाफा हो ।’ प्रतिसिलिन्डर २६सय ५० रुपैयाँसम्म खरिद लागत पुगेपछि निगमले बिक्री मूल्य एकैपटक २०० रुपैयाँसम्म बढाएको थियो ।

हाल बजारमा प्रतिसिलिन्डर ग्यास १८ सय रुपैयाँमा बिक्री भइरहेको छ । जुलाई १ मा १६१ रुपैयाँ प्रतिसिलिन्डर घटेर आएसँगै खरिद लागत १९ सय ९७ रुपैयाँ कायम भएको छ । यससँगै, प्रतिसिलिन्डर एलपी ग्यासको बिक्रीमा ७ रुपैयाँ नाफा हुन लागेको हो ।

चालू आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको अवधिमा ५४ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको एलपी ग्यास आयात भएको छ । यस अवधिमा विदेशबाट ४७ करोड ४० लाख किलोग्राम एलपी ग्यास आयात भएको हो । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १ करोड ५७ लाख किलोग्राम कम हो ।

गत वर्षको यही अवधिमा एलपीजीको आयातमा ५९ अर्ब १६ करोड बाहिरिएको थियो । यो चालू आर्थिक वर्षको तुलनामा ४ अर्ब ८४ करोड बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप