शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान

कञ्चनपुर । शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो । नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् ।
बजार क्षेत्रमा हुने चोरी, लुटपाट, अन्य अपराधिक क्रियाकलाप, बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले क्यामेरा जडानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । उनका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रको पहिचान गरी क्यामेरा जडानको कार्य गरिएको छ ।
कलुवापुर बजार क्षेत्रमा दुई, झलारी बजारमा दुई, प्रगति टोलमा दुई, शान्तिपथ रोडमा दुई, कलुवापुर वन क्षेत्रमा दुई, पूर्वपश्चिम राजमार्गको नयाँ प्रतिक्षालय नजिक दुई गरी १२ सिसीटिभी क्यामेरा जडान गरिएको छ । “सिसीटिभी क्यामेरा जडानको कार्यले प्रहरीलाई अपराध अनुसन्धान गर्ने कार्यमा निकै सघाउ पुग्छ”, उनले भने, “सिसीटिभी क्यामेराको कन्ट्रोल इलाका प्रहरी कार्यालय झलारीमा राखेका छौँ ।”
नगर क्षेत्रका अन्य सुरक्षाका र सवारी दुर्घटनाका दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रमा अगामी आवमा सिसीटिभी क्यामेरा जडान गर्दै लैजाने योजना रहेको नगर प्रमुख रणबहादुर महराले बताए । “सिसीटिभी क्यामेरा केही नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट परिचालन गरी जडान गर्छौं”, उनले भने, “अपुग भएका ठाउमा दातृ निकाय, सङ्घीय सरकार र प्रदेश सरकारसँग बजेट जुटाइ जडान कार्य हुन्छ, यसका लागि योजना बनाइएको छ ।”
उनका अनुसार नगर क्षेत्रमा स्वचालित सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ । पूर्वपश्चिम राजमार्ग र वडाका महत्वपूर्ण स्थानमा सडक बत्ती जडान गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा