नोबेलमा २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । डा.शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो ।
कोशी अस्पतालमा जन्मिएको बच्चालाई श्वास फेर्न गाह्रो भएपछि नोबेल ल्याइएको हो । नोबेलमा एक्सरे गरेर हेर्दा पेटभित्र हुने अङ्गहरू छातीमा पुगेको देखिएपछि बाल तथा नवजात शिशु सर्जन डा.शाह नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको पेट चिरेर शल्यक्रिया गरेको हो । अप्रेसनका क्रममा एनएस्थेसियोलोजिष्ट डा.बन्दना पौडेल लगायतले साथ दिएका थिए । बच्चाको छातीमा पुगेका अङ्गहरूलाई पेटमा ल्याई डायफ्रामको प्वाल टालिएको डा.शाहले बताए । ‘जन्मजात डायफ्राम प्वाल परेर छातीमा पुगेको कलेजो, आन्द्रा, आमाशय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याई प्वाल टालेका छौँ, अहिले बच्चाको अवस्था ठिक छ,’ डा.शाहले भने, ‘यो निकै दुर्लभ र जटिल समस्या हो, करिब ५ हजार बच्चाहरू मध्ये एक जनामा यस्तो समस्या देखिने गर्छ ।’
चिकित्सकहरूका अनुसार यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भई बच्चाको ज्यान जाने जोखिम हुन्छ । भर्खर जन्मिएको बच्चालाई आमाको दूध भन्दा अन्य कुरा खुवाउँदा समस्या हुने र बेहोस पार्दा होस खुल्न गाह्रो हुने जस्ता कारणले यस्तो शल्यक्रिया निकै जटिल मानिन्छ । यस्तो अप्रेसन गर्ने क्रममा झण्डै ४० प्रतिशत बच्चाहरूको ज्यान जाने भएकाले यो जटिल अप्रेसन मानिने चिकित्सकहरू बताउँछन् ।
अप्रेसन सफल भएर जोखिम टरेपछि बिरामीका आफन्त हर्षित छन् । जटिल अवस्थामा पुगेको छोरा निको भएको भन्दै आमा गीताले खुसी व्यक्त गरिन् । उनले पहिलो सन्तानका रुपमा सुरभलाई जन्म दिएकी हुन् । शिशुको स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युजवेन्द्र चहलले धनश्री वर्मालाई दिनुपर्ने भयो ४ करोड भारु गुजारा भत्ता
-
उच्च अदालतमा लामिछानेले आधा घण्टा पर्खिए, तर पेसी हेर्न नमिल्नेमा
-
चैत ११ गते काठमाडौँसहित देशभर गणतन्त्रको पक्षमा सचेतना अभियान चलाउने एमालेको घोषणा
-
कस्तो भयो पहिलो दिनको एसइई ?
-
वर्तमान सरकार सुशासन कायम गर्न असफलः कांग्रेस नेता डा. कोइराला
-
‘सगरमाथा संवाद जलवायु न्यायका लागि आवाज उठाउने महत्त्वपूर्ण फोरम’