रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०८० असार १७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा कोशीमा नयाँ सरकार गठनका लागि आह्वान, ओली र प्रचण्डले गरे नेकपाको अभाव महसुस, ललिता निवास प्रकरणमा आइतबार थप तीन जना पक्राउ, न्यायालयका कर्मचारी र कानुन व्यवसायीबीचको टसलले अदालतको काम प्रभावित, न्याय परिषद बैठक अनिश्चित, ललिता निवासभित्रका संरचना हटाउन काठमाडौं महानगरको सात दिने अल्टिमेटम, जनमत पार्टीलाई सरकारमा समेट्ने तयारी लगायत छन् ।
१. कोशीमा नयाँ सरकार गठनका लागि आह्वान
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दलहरुलाई आह्वान गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख खापुङले आइतबार चार दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका हुन् ।
२. ओली र प्रचण्डले गरे नेकपाको अभाव महसुस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय तत्कालीन नेकपालाई सम्झिन थालेका छन् । दुवै नेताले दुई साता यता दुई–दुई पटक तत्कालीन नेकपाको चर्चा गरेका हुन् ।
३. ललिता निवास प्रकरणमा आइतबार थप तीन जना पक्राउ
ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप तीन जनालाई पक्राउ गरेको छ । ब्युरोका एक अधिकृतले रातोपाटीलाई दिएको जानकारी अनुसार तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको हो ।
४. न्यायालयका कर्मचारी र कानुन व्यवसायीबीचको टसलले अदालतको काम प्रभावित
न्यायालयका कर्मचारी र कानुन व्यवसायीबीचको टसलले आइतबार न्यायालयको काम कारवाही प्रभावित भएको छ । एक कानुन व्यवसायीले केही दिनअघि न्यायालयको कर्मचारीमाथि हातपात गरेको विषयपछि विवाद बढ्दै जाँदा आइतबार आधा दिन न्याय सेवाका कर्मचारीले ‘पेन डाउन’ गरे भने बाँकी आधा दिन कानुन व्यवसायीले इजलास वहिष्कार गरे ।
५. न्याय परिषद बैठक अनिश्चित
सबै कुरा मिलेको भए गत असार ११ गते सोमबार नै उच्च अदालतमा रिक्त ४७ न्यायाधीशमध्ये २७ जनाको नियुक्ति हुने थियो । सैद्धान्तिक विषयमा सहमति नजुट्दा त्यस दिन अनिर्णित भएको बैठक त्यसपछि फेरि बस्न नसक्दा न्यायाधीश नियुक्ति हुन सकेको छैन ।
६. ललिता निवासभित्रका संरचना हटाउन काठमाडौं महानगरको सात दिने अल्टिमेटम
काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरभित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास परिसर पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन अल्टिमेटम दिएको हो ।
७. भारतबाट बढेर आयो डिजेलको मूल्य
भारतबाट डिजेलको मूल्य बढेर आएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने घटेको छ । भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
८. जनमत पार्टीलाई सरकारमा समेट्ने तयारी
सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने तयारी गरेको छ । माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि जनमतलाई सरकारमा ल्याउने गृहकार्य सुरु गरिएको छ । सोही अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भएको छलफल सकारात्मक दिशामा अघि बढेको जनाइएको छ ।
९. यूएईविरुद्ध नेपालको रोमाञ्चक जित
दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको मद्दतले आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा प्राप्त गरेको हो ।
१०. समाजवादी मोर्चा घोषणामै सीमित
झण्डै दुई साता अघि घोषणा भएको समाजवादी मोर्चाको अहिलेसम्म बैठक बस्ने मितिसमेत टुङ्गो लाग्न सकेको छैन । असार ४ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा भए यता मोर्चाको बैठक बस्न सकेको छैन ।