पन्ध्रवर्षे बालकको वैदेशिक रोजगारी यात्रा
नेपाली समाजमा कैयौँ मानिस आधारभूत आवश्यकता परिपूर्ति गर्न नसक्दा बिचल्लीमा छन् । नेपालको संविधान २०७२ का विभिन्न धारामा उल्लेख भएका अधिकार पहुँच नपुग्नेका लागि पानामै सीमित भएका छन् । ठ्याक्कै त्यस्तै भयो उमेशको परिवारमा पनि ।
आफ्ना बाको अनुहार उमेशले चिन्नै पाएन । चिनुन् पनि कसरी ? उनी पन्ध्र महिनाको हुँदा वैदेशिक यात्रामा कतार गएका बा कहिल्यै नफर्किने गरी उतै स्वर्गवास भए ।
बा नभएको महसुस त उमेशलार्ई भएन तर उनकी आमालाई श्रीमान् नभएको महसुस भयो । नहोस् पनि कसरी घरकै छानो हावाले उडाएपछि ।
उमेशलाई आफू सात वर्षको छँदा यति मात्रै थाहा थियो साथीहरूका बा र आमा छन् मेरो आमा मात्रै हुन । जब उनी स्कुल पढ्न थाले उनलार्ई साथी, गुरुहरूले बाको नाम सोध्न थाल्थे र उनी अलमल हुन्थे ।
सबैले बाको नाम सोध्दा घरमा आमालाई आएर सोध्थे, “किन सबैले मलाई बाको नाम सोध्छन् आमा, हजुरको नाम किन सोध्दैनन् ।”
उनकी आमा छोरा प्रश्न सुनेर अमिलो अनुहार बनाउँथिन् । जवाफमा उनको छोराको शिर मुसार्नुबाहेक अरू उत्तर थिएन ।
उमेशलाई पछि थाहा भयो, उनका बा थिए तर उनले देख्न नपाउँदै, उनका बाले उमेशलाई हेर्न नपाउँदै यो संसारबाट बिदा भए ।
उनलार्ई के महसुस भयो भने हामी पनि केही दिनका पाउना रहेछौँ । कोही छिटोका लागि, कोही ढिलोका लागि । बस हाम्रो पनि गन्तव्य बा गएकै ठाउँमा रहेछ ।
उमेशकी आमा उमेशलाई स्कुल पठाएर सधैँ काममा जान्थिन् । एक दिन उनको झोलामा छोराको खाजा देखिन् र हेरिन् खाजा आधा छ आधा छैन । उनलाई महसुस भयो आज छोरो भोकै हुने भयो । आज स्कुलमा के खानी होला छटपटिन थालिन् । उनी घरमा पुग्नासाथ उमेशले आमालार्ई खाजा खानुभयो भनेर सोधे । उमेशकी आमा आँखाबाट आसु तप्प झर्यो । उनलाई लाग्यो, छोरो पनि खाजा बाँडेर खाने भएछ ।
एक दिनको कुरा हो उमेश बाख्रा चराउन बेँसीतिर झरेका थिए । खोलामा साथीहरूसँग मिली माछा मारे अनि बजारमा लगेर बेचे । साँझ घर फर्किंदा नुन, तेल र बाख्रा लिएर घर पुगे ।
आमाले सोधिन्, “छोरा तिमीलाई कसरी थाहा भयो घरमा नुन तेल सकिएको छ भन्ने ।” उमेशले भने, “आमा तपाईंले हिजो भन्नु भएको होइन, नुन तेल सकियो तर साहुको ऋण तिर्नै बाँकी छ । त्यसैले होटलमा माछा बेचेर नुन तेल लिएर आएँ ।”
आफ्ना कोही नहुँदा सबैले हेप्दा रहेछन्, मान्छे नै होइन कि क्या हो जस्तो व्यवहार गर्दा रहेछन् । एक दिन उमेशको बारीमा लगाएको कोपी छिमेकीको गोरुले खाएछ । उसकी आमाले राम्रोसँग गोरु हेर्न सल्लाह दिइन् । उनी त आफ्नै कोपी गोरुले खाए जस्तो गरी आमामाथि झम्टिए ।
उमेशले सहनै नसकेर अन्तिम एउटै वाक्य बोलेका थिए । ‘ए मेरी आमालाई छुनु भनेको आगोलाई छुनुसरह हो, आज तिमीमा भएको शक्ति भोलि ममाथि हुन सक्छ, हामीलाई कम्जोर नसोच ।’
छिमेकीले आफ्नो रिस कन्ट्रोल गर्न थाले र आफ्ना गोरु घरतिर लिएर गए ।
उमेशको अगाडि कहिल्यै आँखाबाट आँसु नझार्ने आमा उमेशलाई देख्नेबित्तिकै आँखाबाट आँसु झारिन् । आमा तपाईंलार्ई कसले के भन्यो भन्दै उमेश नजिक गए । एकछिन त उमेशकी आमा बोलिनन् । केहीबेरपछि भनिन्– “ऋण नतिरेबापत साहुले हाम्रा बाख्रा लगेर गए ।”
बिहानै उठेर उमेशले आमालार्ई इन्डिया जाँदै छु भने । उनी एक छिन त अक्कनमक्क भइन् र भनिन्, “कोसँग जान्छौँ ? भाडा कसले दियो ?”
उमेशले भने– “पल्लो गाउँको दाइसँग कुरा गरेको छु, उहाँले नै भाँडा हालेर लानुहुन्छ अरे ।”
आमा– “पढाइ के गर्छाै नि बाबु ?”
उमेश– “कमाएर आउँछु अनि पढ्छु नि आमा !”
आमा– “पन्ध्र वर्षको बालकलार्ई पनि जागिर दिन्छ अरे ?”
उमेश– “दिन्छन् आमा ।”
अनि उमेश बाटो लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ