इजलासमा मिसिल पुग्न नसकेपछि देशैभरका अदालतमा सुनुवाइ ठप्प
काठमाडौँ । सहकर्मी कुटिएको विरोधमा देशैभरका अदालतका कर्मचारीले पेन डाउन गरेपछि सर्वोच्च अदालत लगायत देशैभरका अदालतमा सुनुवाइ प्रभावित भएको छ । बुधबार ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङमाथि एक कानुन व्यवसायीले कुटपिट गरेपछि आइतबार देशैभरका अदालत प्रभावित भएको हो ।
कर्मचारी कुटिएको विरोधमा अदालतसँग सम्बन्धित विभिन्न कर्मचारी सङ्घ सङ्गठनले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आइतबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म देशैभरका अदालतमा पेन डाउन गर्ने जनाएका थिए । पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार कर्मचारीहरूले पेन डाउन गरेका हुन् । पेन डाउनका कारण देशैभरका अदालतमा सुनुवाइ प्रभावित भएको छ ।
सर्वोच्च अदालतमा मुद्दा तथा निवेदनको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन । अदालतका प्रवक्ता विमल पौडेलका अनुसार पेसी व्यवस्थापन भइसके पनि कर्मचारीको पेन डाउनका कारण इजलाससम्म मिसिल पुराउन सकिएको छैन । इजलासमा मिसिल नपुगेको कारण सुनुवाइ प्रभावित भएको छ ।
प्रवक्ता पौडेलले रातोपाटीसँग भने, ‘कजलिष्ट त तोकिएको छ । तर कर्मचारी साथीहरूले यसअघि नै विज्ञप्ति जारी गर्दै आन्दोलन गर्नेबारे लिखित पत्र दिइसक्नुभएको थियो । उहाँहरूले बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म पेन डाउन गर्ने भन्नुभएको छ । अहिले त इजलास बसेको छैन, आशा गराैँ अब १ः३० बजेपछि इजलास बस्ला कि ।’
गत असार १३ गते बुधबार ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले कार्यकक्षमै कुटपिट गरेका थिए । लामिछानेको कुटपीटबाट नायब सुब्बा तामाङको ओठमा चोट लागेको थियो भने दाँतसमेत हल्लिएको थियो ।
उक्त घटनामा संलग्नलाई कारबाहीको माग गरिरहँदा उच्च अदालत बार एसोसिएसनले विज्ञप्ति निकालेर रिहा गर्न माग गरेको भन्दै त्यसको समेत कर्मचारीले विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो