सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
कहाँ चुक्यो कम्युनिस्ट आन्दोलन ?

‘दुब्लो–पातलो गणतन्त्र देखेर सबैले हेप्न थालेका छन्’

यहाँ राप्रपाबाट चुनाव उठेको नेता रातारात कम्युनिस्ट पार्टीमा आएर चुनाव जित्छ : राम कार्की
आइतबार, १७ असार २०८०, ०९ : ४८
आइतबार, १७ असार २०८०

माओवादी नेता राम कार्की कम्युनिस्ट विचारधारा र विश्व कम्युनिस्ट आन्दोलनबारे आख्यान–व्याख्यान दिनेमा अग्रपंक्तिमा पर्छन् । नेपाली कम्युनिस्ट आन्दोलनको उठान, उतार–चढाव र स्खलनका बारेमा कार्कीसँग रातोपाटीकर्मी वीरेन्द्र ओलीले संवाद गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको संवादको सम्पादित अंश :

तपाईंको विश्लेषणमा नेपालको कम्युनिस्ट आन्दोलन उठान कस्तो पृष्ठभूमिमा भयो ? आज कम्युनिस्ट आन्दोलन जुन ठाउँमा छ, यसो हुनुमा कतै उठानमै कमजोरी भयो कि ?

कम्युनिस्ट आन्दोलनको एउटा अन्तर्राष्ट्रिय आयाम हुन्छ । अनुभवजन्य विज्ञान भएकाले यसलाई परिष्कृत र उन्नत बनाइराख्नुपर्ने हुन्छ । आन्दोलनलाई सही निष्कर्षमा पुर्‍याउन ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै अगाडि बढ्नुपर्छ । 

हामीकहाँ स्थानीयता, विविधता र विश्व कम्युनिस्ट आन्दोलनलाई जोडेर बहस भएन । नेपालमा मार्क्स–एङ्गेल्सलाई छाडेर पछिल्ला नेताहरू र आन्दोलनको चर्चा भयो । तैपनि उनीहरूको समग्र चित्र आउन सकेन । जस्तो :लेनिनसँग मतभेद राख्नेहरूका बारेमा यहाँ धेरै अध्ययन र छलफल भएन । 

हामीकहाँ विविधता छ, तर यसलाई शक्ति वा ऊर्जाको रूपमा कहिल्यै लिइएन, सधैँ बाधाका रूपमा लिइयो । मुठीभर शासकका संस्कृति र सोचलाई सबै थोक ठानियो । 

लेनिनपछि सिद्धान्त र विचारको क्षेत्रमा नयाँ गर्ने कोसिस भयो, त्यसबारे हामीकहाँ अध्ययन भएन । चे ग्वेभाराको एउटा भनाइ छ, ‘मार्क्सवादले भावी पुस्ताको हात बाँध्नु हुँदैन ।’

भावी पुस्ताको हात बाँधियो, भावी पुस्ताका बारेमा पहिले नै सोचेर सबै बाटो तय गरियो भने त्यो मार्क्सवाद हुन सक्दैन । लेनिनलाई कसको प्रभाव परेको थियो ? एङ्गेल्स अन्तिम अवस्थामा जुन बुझाइमा जाँदै थिए, त्यो बुझाइलाई खण्डन गर्नेमा कार्ल काउत्स्की, प्लेखानोभ, रोजा लक्जम्बर्ग आदि हाबी थिए । यस्ता समग्र ज्ञान हासिल गर्नबाट नेपाल चुकेको छ ।

ram karki (2)

नेपालमा ज्ञानलाई संरक्षण र प्रवर्द्धन गर्ने परिपाटी भएन । हामीकहाँ विविधता छ, तर यसलाई शक्ति वा ऊर्जाको रूपमा कहिल्यै लिइएन, सधैँ बाधाका रूपमा लिइयो । मुठीभर शासकका संस्कृति र सोचलाई सबै थोक ठानियो । 

म जन्मेको ओखलढुंगाको रुम्जाटार ९९ प्रतिशत गुरुङहरूको गाउँ हो । ती गुरुङले पश्चिमबाट जुन संस्कृति बोकेर गएका थिए, त्यसलाई कायम राख्न धेरै कोसिस गरे । असारमा रोपाइँ गर्ने बेला र मंसिरमा बाली भित्र्याउँदा पर्म लगाउने चलन थियो । महिलाहरूले पर्म लगाउँथे । महिलाहरू संगठित हुन्थे । आफूलाई चेली र माइती भनेर अलि पौरखी, जाँगरिला युवालाई उनीहरुले निम्तो दिन्थे । त्यो कोसेली स्वीकार गरेपछि त्यो हुलमा पर्म लगाउनुपथ्र्यो । त्यहाँ दमाई, कामी, बाहुन, क्षेत्री गुरुङबीच कुनै भेदभाव हुन्नथ्यो । 

पर्मको हुलमा गीत गाउन र मादल बजाउन जान्नेलाई महत्त्व दिन्थे । गीतले काम गराईमा कतै न कतै प्रभाव पारिराखेको हुन्छ ।

यहाँ महिलाको स्तर एकदमै माथि भएको समाज र महिलालाई पैतालामुनिको सम्झने समाज दुवै छन् । हामीले कुनलाई आधिकारिता दिने ? हाम्रो पढाइ र लेखाइको स्वीकृत मान्यता के हो ? हामीले हुम्लाको हिमालमुनि बस्ने जातिको संस्कृतिलाई वैधता दिने कि गण्डक उपत्यकामा बसोबास गर्ने धनीमानीको संस्कृतिलाई महत्व दिने हो ? त्यसमा प्राप्त बहस र छलफलसँगै अध्ययन हुन सकेन । 

किन यस्तो भयो ?

हाम्रो पठन संस्कृति फरक भयो । घोकन्ते विद्या, धावन्ते खेती भनिन्छ । खेतीमा नयाँपन कहिल्यै नल्याउने, खालि धाउने वा खट्ने गरियो । बुझेर पढ्ने होइन, सुगा रटाई मात्रै भयो । 

कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय आयाम हो । अन्तर्राष्ट्रिय भाइचारा र सम्बन्धबाट जब कट्न थाल्छ, त्यसपछि यो भुत्ते हुन थाल्छ । हामीले नेपालको मौलिक संस्कृतिसँग यो राजनीतिक संस्कृतिलाई जोड्न सक्नुपर्छ । 

एउटा विद्यार्थीले पढाइ सकेपछि समाजलाई के दिन्छ ? देशमा परेको अप्ठेरोलाई उसले कसरी सजिलो बनाउँछ ? हाम्रो सिँचाइ, खानेपानी, शैक्षिक सुधार गर्न के गर्न सक्छ ? कर्नालीमा अझै खोलाको पानी खानुपर्ने बाध्यता छ, त्यसलाई सजिलो बनाउन सक्छ कि सक्दैन ? हामीले यसरी हेरेनौँ । पढ्ने विद्यार्थीले रचनात्मक योगदान दिनुपर्छ भन्नेतर्फ हाम्रो ध्यान गएन, पढाइ पूरा गरे मात्रै भयो । यस्तै अर्को पक्ष — देशमा शारीरिक श्रमलाई दोस्रो दर्जाको नागरिक सम्झिइयो । 

देशमा वैधता पाएका जति पनि विभेदकारी संस्कृति छन्, तिनलाई बदल्न कम्युनिस्टहरुले विचार र शिक्षाले कति काम गरे ? ठोस रूपमा भन्दा कुनै कम्युनिस्ट पार्टीले जात व्यवस्था समाप्त पार्ने कार्यक्रमै बनाएनन् । जात व्यवस्था रहुन्जेल अर्थात् जनता विभाजित हुन्जेल राष्ट्रिय एकता वा देशभक्ति कसरी हुन सक्छ ? देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन सबै नागरिकलाई राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा समान ढंगले अगाडि बढाउने भन्ने छ । त्यसमा जान जात व्यवस्थाले छेकिहाल्छ । जबसम्म जात व्यवस्थालाई उन्मूलन गरिँदैन, उन्मूलन गर्ने कार्यक्रम ल्याइँदैन, जबसम्म लोकतान्त्रिक क्रान्ति कसरी पूरा हुन्छ ? 

कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय आयाम हो । अन्तर्राष्ट्रिय भाइचारा र सम्बन्धबाट जब कट्न थाल्छ, त्यसपछि यो भुत्ते हुन थाल्छ । हामीले नेपालको मौलिक संस्कृतिसँग यो राजनीतिक संस्कृतिलाई जोड्न सक्नुपर्छ । 

हामीकहाँ कम्युनिस्ट आन्दोलन कसरी र कहाँ चुक्यो ? 

कम्युनिस्टहरूले आफूलाई सधैँ नवीकरण र पुनर्निर्माण गरी राख्नुपर्छ । जब कम्युनिस्ट आन्दोलन साइन्टिफिक हो भने पुराना इतिहासलाई रेफरेन्सका रूपमा राख्ने र नयाँ ढंगले संश्लेषण गर्नुपर्छ । पुरानो इतिहास, संस्कृतिलाई नयाँ रूपमा अध्ययन व्याख्या गर्नुपर्छ । मार्क्स, लेनिन, रोजा सबैलाई उनीहरूको परिप्रेक्ष्य, ऊबेलाको इतिहास, इतिहासले थुपारेका बाध्यता सबै कोणबाट अध्ययन गरिनुपर्छ र त्यसलाई पुनर्भाष्य दिनुपर्छ ।

कम्युनिस्टहरूले जनतालाई सधैँ क्रिटिकल बनाइराख्नुपर्छ । क्रिटिकल पार्टीले आफ्नो चेतनालाई आलोचनात्मक बनाइराख्नुपर्छ ।

यहाँ राप्रपाबाट चुनाव उठेको नेता रातारात कम्युनिस्ट पार्टीमा आएर चुनाव जित्छ । ऊ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा आउँछ भने कहाँबाट कम्युनिस्ट घोषणापत्र पढ्नु ? कहाँबाट इतिहासको रिभिजिट गर्नु ? 

आफूलाई नवीकरण गर्न नसकेपछि, अगाडिको बाटो हराउँदा नयाँ बाटो खोज्ने साहस कम हुँदै गएपछि कम्युनिस्टहरू पुरानै बाटो हिँड्न थालेका छन् । हामीले गाउँघरमा देख्छौँ — जसले नयाँ पेसा अपनाउँछ, नयाँ काम गर्छ, उही नयाँ ठाउँमा पुग्छ । त्यस्तो क्षमता नभएकाहरू बाउबाजेको जे छ, त्यहीँ थातथलोमा बसेर गुजारा चलाउँछन् । यस्तो खालको नयाँ पनि विचारमा आउनुपर्छ । आन्दोलनमा झन् आउनुपर्छ, सचेत र सबल रूपमा जबर्जस्त रूपमा आउनुपर्छ । 

कम्युनिस्टहरूले जनतालाई सधैँ क्रिटिकल बनाइराख्नुपर्छ । क्रिटिकल पार्टीले आफ्नो चेतनालाई आलोचनात्मक बनाइराख्नुपर्छ । पार्टी र नेतृत्वको वरिपरि बस्नेहरूले औँला उठाउन सक्नुपर्छ । आज्ञाकारी कार्यकर्ता तयार पारेर आन्दोलन अघि जान सक्दैन ।

ram karki (3)

हाम्रो सन्दर्भमा मार्क्सवादलाई नयाँ ढगले सान्दर्भिक बनाउन नसकेपछि पुरानै बाटो हिँड्नुपर्ने भयो । 

नेपालको कम्युनिस्ट आन्दोलन यथास्थितिमा रहन्छ कि नयाँ बाटो खोजेर अघि बढ्ला ?

हामी चाहन्थ्यौैँ, नयाँ पुस्ता नयाँ विचारसहित हाम्रै आन्दोलनबाट जन्मिओस् । इतिहास हामीले भने जस्तो गरेर हिँड्दैन । इतिहास कसैलाई पर्खिएर रोकिँदैन । यो चारैतिर नाच्दै अघि बढ्छ । 

यतिखेर हामीले नसोचेका मान्छे राजनीतिमा देखिएका छन् । जब नेताहरूले इतिहासको माग पूरा गर्न सक्दैनन्, त्यस्तो अवस्थामा अझ बढी हावाहुरीसहित अन्य शक्ति आउँछन् । चुनावमा जनताले पुराना दलप्रति आक्रोश दर्ज गराएका छन् । 

अहिले राजनीतिक बदला लिन आएकाले पुरानै व्यवहार र चरित्र देखाए वा इतिहासको माग पूरा गरेनन् भने इतिहासले फेरि अर्को सन्तान जन्माउँछ । हामीले आँखा छोप्नासाथ संसार अँध्यारो हुँदैन । आन्दोलन विभिन्न प्रकारले अघि आउँछन् । मलाई लाग्छ, अब जनताको माग पूरा गर्नेले विचारको हतियार लिएर आउनैपर्छ । विचार भनेको सचेतना हो, त्यसले गाइड गरेको हुनुपर्छ । तपाईंका इन्द्रीय ज्ञानेन्द्रीयलाई दिमागले गाइड गरेजस्तै राजनीतिक पार्टी र संगठनलाई विचारले गाइड गरेको हुन्छ ।

पेरिस कम्युनमा नेतृत्व चक्रीय प्रणाली थियो । त्यतिबेला त्यसलाई लेनिनले आदर्श व्यवस्था भनेर प्रशंसा गरे । यस्ता तमाम विषय बहस र छलफलमा आएनन् ।

एउटा व्यक्तिले लामो समयसम्म नेतृत्व नछाड्ने हुँदा कम्युनिस्ट आन्दोलनको विकासमा अवरोध गर्‍यो भन्न मिल्छ ?

त्यो परम्पराजस्तै हुन पुग्यो । हाम्रो अध्ययन, सिकाइ र विचार स्टालिन, माओहरूमा गएर रोकियो । अर्को खालको सोच पनि थिए, जस्तै :एन्टोनियो ग्राम्सीले प्लेखानोभ, लेनिन र स्टालिनको भन्दा भिन्न विचार राख्थे । स्टालिनले भनिदिए — एक–अर्काको स्वार्थ बाझिएको समाजमा मात्रै भिन्न पार्टी हिँड्न सक्छन् । हाम्रो समाजमा त्यस्तो स्वार्थ बाझिएको छैन, त्यसो हुनाले यहाँ एउटै पार्टी हुनसक्छ ।

ram karki (4)

स्टालिनलाई काउन्टर गर्न ट्राटस्कीले भने — हरेक वर्गभित्र पार्ट हुन्छन् । एउटै वर्गभित्र कोही अगाडि हिँड्ने र कोही पछाडि हिँड्ने हुन्छ । त्यसो हुनाले विभिन्न फ्राक्सन र विभिन्न पार्टी हुन सक्छन् । ट्राटस्कीलाई धेरैले पढेकै छैनन् । स्टालिन मात्रै पढियो, तर स्टालिनले आफू बाँच्दासम्म नेतृत्व छाड्न मानेनन् । मैले नेतृत्व छोड्दाबित्तिकै क्रान्ति डगमगाइहाल्छ भन्ने उनलाई भयो । त्यो सोच हाम्रो संस्कृतिसँग मेल खायो । 

अरु देशमा नेतृत्व रोटेसनमा भयो । पेरिस कम्युनमा नेतृत्व चक्रीय प्रणाली थियो । त्यतिबेला त्यसलाई लेनिनले आदर्श व्यवस्था भनेर प्रशंसा गरे । यस्ता तमाम विषय बहस र छलफलमा आएनन् ।

रोमानियाका कम्युनिस्ट नेता निकोलाय चाउसेस्कुलाई गोली हानेर हटाइयो । सोभियत संघमा पोलिटब्युरो सदस्यहरूलाई टाई समाएर सडकमा घिसारेर बिदा दिइयो । त्यसैले आजको अवस्थामा नेतृत्व प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने देखिएको छ । 

जुन घरमा बाउआमाले तिमीहरू हुर्किसक्यौ भनेर छोराहरूलाई जे जति छ त्यो बाँडिदिन्छन्, त्यहाँ धेरै झगडा हुँदैन । बाउआमाले पनि छोराछोरीबाट सधैँ सम्मान पाइराख्छन् । जहाँ घरको सबै व्यवहार चलाउँछु भनेर बाउआमा लाग्छन्, त्यहाँ झगडा, मुद्दा–मामिला, लफडा असन्तोष भइरहन्छ । छोरा रिसाउने, बुहारी ठुस्किने भइन्छन् । परिवारको प्रगति पनि हुँदैन । कम्युनिस्ट नेतृत्व पनि एउटै व्यक्ति लामो समय हुँदा समस्या पैदा हुन्छ । 

माओवादीले गत वर्ष महाधिवेशन गर्‍यो । मोटो दस्तावेजमा सबै कुरा गरेका छौँ । जनताले खै के बुझे ? माओवादीले नेपाली समाज कस्तो बनाउन खोजेको हो भन्ने सबैले बुझ्नु पर्‍यो नि !

पञ्चायतकालमा कम्युनिस्टहरू संगठन निर्माणमा केन्द्रित भए, सँगसँगै चुनाव बहिष्कार गर्ने र उपयोग गर्ने द्वैध नीति लिए । अहिले पनि कम्युनिस्ट पार्टीले विचारै नमिल्नेसँग तालमेल गरेको देखिन्छ, यस्तो द्वैध चरित्रलाई कसरी व्याख्या गर्नुहुन्छ ?

हामीले एउटा रणनीति बनाउनुपर्ने हो । चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०४९ सम्म यो गर्ने भनेर रणनीति बनाएको छ । हाम्रो पनि आगामी २० वर्षमा कस्तो समाज बनाउने, त्यस अनुरूपको विकास रणनीति कस्तो हुने, कति र कस्ता खालका डाक्टर–इन्जिनियर चाहिने हो ? आदिबारे हामीले रणनीति बनाउनुपर्ने हुन्छ । 

पार्टीका कार्यकर्ताको भविष्य सुनिश्चित बनाउनुपर्‍यो । मैले यति वर्ष पार्टीका काम गरेपछि मेरो भविष्य सुनिश्चित हुन्छ भन्ने हुनुपर्‍यो । यहाँ त पार्टीमा काम गरिरहेपछि सुनिश्चित होइन, अनिश्चित हुने अवस्था छ । 

माओवादीले गत वर्ष महाधिवेशन गर्‍यो । मोटो दस्तावेजमा सबै कुरा गरेका छौँ । जनताले खै के बुझे ? माओवादीले नेपाली समाज कस्तो बनाउन खोजेको हो भन्ने सबैले बुझ्नु पर्‍यो नि ! हामी दुई–चार जनाले मात्रै बुझेर भएन । 

रणनीति सुहाउँदो कार्यनीति समेत बनाउनुपर्ने हुन्छ । अहिले कार्यनीति मात्रै भयो, रणनीति भएन । कार्यनीति मात्रै भयो भने अवसरवाद हुन्छ । नेता, कार्यकर्ता र जनताले बुझ्ने गरी रणनीतिक लक्ष्य पार्टीले बनाउनुपर्छ । त्यसअनुरूप कार्यक्रम बनाउँदा आचरणको माग गर्दछ । ढोँगी र पाखण्डी कुरा गर्नुभन्दा आचरण लागू हुने खालको बनाउनुपर्‍यो, तर बोल्न मिल्ने गर्न नमिल्ने आचारसंहिता बनाएर काम छैन ।

नेपालका कम्युनिस्ट पार्टीले रसिया वा क्युबाले जस्तो नीति ल्याएनन् । यहाँ चुनाव लड्ने, जित्ने र कुर्सीमा पुग्ने बढी भयो । चुनाव महँगो बनाइयो । चुनावलाई कम खर्चमा जित्ने कुनै पार्टीले आँट गर्नुपर्‍यो । यसपालिकै चुनावमा खर्च नगर्ने नेतालाई जनताले जिताए । नेपाली जनताले मासुभात आदि खाएर मात्रै भोट दिने रहेनछन् । बरु खुवाउने राजनीति खराब रहेछ । 

राज्यलाई बचाइराख्न तिनले कतै न कतै काम गरिराखेका हुन्छन् । एउटाले शक्ति प्रयोग गर्छ र अर्कोले महसुस हुने गरी मानिसको मन फेर्ने गर्छ । यो फेर्न पहिलो पाइला शिक्षा व्यवस्था परिवर्तन गर्नुपर्ने हुन्छ ।

यस्तो शिक्षा, स्वास्थ्य, सेवा बनाउनुपर्छ भनेर संसद्मा भनिदिनुस् भन्ने जनता हुनुपर्ने हो । जनतालाई दूध, दही, मही माछा, मासु गेडागुडीमा कसरी आत्मनिर्भर बनाउनेमा छलफल हुनुपर्ने हो । त्यो विषयमा संसद्मा छलफलै हुँदैन । 

बहुदलपछि कुर्सीका लागि जस्तो खिचातानी भयो, आज गणतन्त्रमा पनि त्यो कायमै छ । यस्तो खालको प्रवृत्तिले कहाँ पुर्‍याउला ? 

मार्क्सवाद भनेको अनुभवमा आधारित र अनुभवद्वारा सिद्ध गर्ने विज्ञान हो । राज्यका दुई पाखुरा हुन्छन्, १) प्रहरी–प्रशासन, जेलनेलको पाखुरा । २) स्कुल, कलेज, विश्वविद्यालय मन्दिर, चर्च, गुम्बा, मस्जिदको पाखुरा । 

राज्यलाई बचाइराख्न तिनले कतै न कतै काम गरिराखेका हुन्छन् । एउटाले शक्ति प्रयोग गर्छ र अर्कोले महसुस हुने गरी मानिसको मन फेर्ने गर्छ । यो फेर्न पहिलो पाइला शिक्षा व्यवस्था परिवर्तन गर्नुपर्ने हुन्छ ।

ram karki (5)

हामी शान्ति प्रक्रियामा आएको १६ वर्षभन्दा बढी भयो । हामीले सुरुदेखि नै शिक्षा व्यवस्था फेर्ने कोसिस गरेको भए धेरै परिवर्तन हुने थियो । अहिलेसम्म हाम्रो पाठ्यक्रम विज्ञानसम्मत छैन । विश्वासमा आधारित पाठ्यक्रम छन् । ती पितृ सत्तात्मक र रूढिवादी विषयवस्तुले भरिएका छन् । त्यसलाई विज्ञानसम्मत र विवेकसम्मत बनाउनुपर्ने थियो । यी काम धेरै उग्र कुरा नगरेरै गर्न सकिन्थ्यो । शिक्षकलाई तालिम दिएर अभिप्रेरित गर्न सकिन्थ्यो । सहकारी खोल्न, पार्टी कमिटी चलाइदिन, घडेरी नाप्दै हिँड्नेहरुलाई पढाउने काममा मात्रै केन्द्रित गर्न सकिन्थ्यो । 

तालिम दिनका लागि चीन, भारत, बेलायत, अमेरिका लगायत विश्वभरबाट शिक्षक बोलाउन सकिन्थ्यो । प्राथमिक उपचार केन्द्रका जनस्वास्थ्यकर्मीलाई तालिम समेत दिन सकिन्थ्यो । त्यसको समग्र रूपमा पार्टीले अनुगमन गर्ने परिपाटी बनाउन सकिन्थ्यो । 

अहिले शिक्षकले नियुक्तिपत्र पाएपछि किताबै पढ्न छाडिदिन्छन् । बरु सहकारी वा पार्टीको सर्कुलर पढेका हुन सक्छन्, तर पढाउने कुरा पढेकै छैनन् । यस्तो हुनुमा शिक्षकलाई दोष दिएर हुँदैन । यी सबै राजनीतिले गाइड गर्ने कुरा हुन् । हाम्रो ध्यान शिक्षा फेर्ने, शिक्षकलाई तालिम दिने, अनुगमन गर्ने जनस्वास्थ्यलाई परिचालन गर्नेतिर जान सकेन । 

उसो भए कमजोरी कहाँ भयो ? 

नेपालको शिक्षा कस्तो हुनुपर्छ भनेर छलफल गर्न देशभर जाने र सबै कमिटीमा बसेर छलफल गरेर सुझाव लिए कति राम्रो हुन्थ्यो ! त्यो छलफलबाट जति सुझाव आउँछन्, त्यो विश्लेषण गरेर तयार गरेपछि मात्रै दस्तावेज बन्छ । जसबाट यति धेरै वैचारिक ऊर्जा प्राप्त छ, कल्पनै गर्न सक्नुहुन्न । जस्तै :जात व्यवस्था कसरी खतम गर्न सकिन्छ भन्नेमा देशैभर छलफलमा लाग्न सकिन्छ । त्यसमा दलित, गैरदलित सबै छलफलमा सहभागी गराए धेरै ज्ञानसँगै भौतिक ऊर्जा प्राप्त हुन्छ । यसरी माओवादीले दस्तावेज तयार गर्न थालेको भए शिक्षा, स्वास्थ्य, कृषिसम्बन्धी नयाँ कार्यनीति ल्याएको भए देशकै कायापलट हुन्थ्यो । पार्टी समेत नयाँ ढंगले अघि बढ्ने थियो ।

जब नयाँ संस्कृतिको निर्माण गर्नबाट कमजोर हुनासाथ पुरानो संस्कृतिमा डुब्नुपर्छ । पार्टीमा नयाँ समाजवादी संस्कृतिको विकास गर्न हामी लाग्नुपर्ने हो, त्यसमा लाग्दै लागिएन ।

एउटा सानो कमिटीले मस्यौदा मात्रै तयार गर्न सक्छ, तर दस्तावेज लेखेर तयार गर्न सक्दैन । निश्चित व्यक्तिको विचार राखेर दस्तावेज भनिन्छ । दस्तावेज हुन जनस्तरबाटै सबैको कुरा समेट्नुपर्छ, त्यो कहिल्यै हुँदैन ।

ram karki (6)

सबै कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय हुन् । नेपाल मात्रै होइन, विश्वभर स्टालिनको यति धेरै प्रभाव पर्‍यो कि पार्टी एक ढिक्का हुनुपर्छ, सर्वोच्च नेताले जे भन्छन्, त्यो सबै लागू हुनुपर्छ भनी धर्मकै रूपमा प्रचार भयो । हामीमा एक खालको जडसूत्रवादी चिन्तन हाबी भयो । त्यसलाई स्वीकार गर्ने हाम्रो प्रचलित संस्कृति छ । 

हाम्रो संस्कृतिमा जिउँदो मान्छेभन्दा मरेको मान्छेलाई बढ्दा महत्त्व दिइन्छ । बाउआमालाई जिउँदो हुँदा खुवाएको वा नखुवाएको छिमेकीले वास्ता गर्दैन तर मरेपछि राम्रो श्राद्धे गर्न बाहुन बोलाए कि बोलाएनन्, काजकिरिया राम्रोसँँग गरे कि गरेरनन् भन्ने हेरेर बस्छ । डोरबहादुर विष्टको भाग्यवाद र विकास अध्ययन गर्दा धेरै कुरा पाउन सकिन्छ ।

जब नयाँ संस्कृतिको निर्माण गर्नबाट कमजोर हुनासाथ पुरानो संस्कृतिमा डुब्नुपर्छ । पार्टीमा नयाँ समाजवादी संस्कृतिको विकास गर्न हामी लाग्नुपर्ने हो, त्यसमा लाग्दै लागिएन ।

 अहिले तीनजना विद्यावारिधि गरेकालाई बजेट बनाउन लगाइन्छ, त्यसपछि हुने यस्तै हुने हो । विगत २०–२५ वर्षदेखि नीति तथा कार्यक्रम टाइप गर्ने मान्छे एउटै छ भन्छन् । सबै शब्द एउटै हुन्छ अंक मात्रै फेरिन्छ । त्यो नीति तथा कार्यक्रमलाई कतै दराजमा ताला लगाएर नयाँ लेखिनुपर्छ । नीति तथा कार्यक्रममा ६–७ पेज लेखे भइहाल्छ । अत्यास लाग्ने गरी २–३ घन्टासम्म पढ्नै पर्दैन । तल्लो वाक्यसँग माथिल्लो वाक्य जोडेर कामै छैन । शब्दको जञ्जाल मात्रै भयो । अर्थतन्त्रलाई सबैले बुझिने बनाउनुपर्‍यो ।

हामी संघीयतामा जाने भनेको तलै स्थानीय तहमा कर उठाउ र स्थानीय तहमै खर्च गर भन्ने हो । हामीले हरेक वस्तु किन्दा कर बुझाउँछौँ । नबुझेका जनताले मैले कहिल्यै कर तिरेको छैन भन्छन् । हरेक जनताले कर तिरिराखेका छन् । तलबाट उठाएको कर माथि ल्याउने फेरि तल पठाउने मात्रै भयो । जस्तै :एक करोड कर उठाउनमै ७० लाख खर्च हुने भयो । जनतामा ३० लाख मात्रै पुग्ने भयो । संघीयता भनेको तलको कर काठमाडौंसम्म ल्याउने होइन, तल उठेको कर तलै खर्च गर्नुपर्‍यो भन्ने हो ।

ram karki (7)

पञ्च यति धेरै गति छाडा हुँदासम्म गुणगान गाउने भेटिन्छन् भनेर कांग्रेसले गति छाड्यो । यस्तो कांग्रेसलाई जनताले यति भोट दिन्छन् भने हामी काङ्ग्रेजस्तो हुँदा के बिग्रन्छ भनेर एमाले बिग्रियो । एमालेको यति भोट छ, यति शक्तिशाली पार्टी छ भनेर हामीले त्यसै गरियो, हामी बिग्रियौँ । वास्तवमा देशमा भएका तमाम समस्याको नेतृत्व माओवादीले गर्नुपर्ने थियो । 

नेपालमा एक्स्ट्रा अल्ट्रा लेफ्ट छैन । सोचमा कहिल्यै अल्ट्रा लेफ्ट देखिएन ।

हामीलाई २०६४ सालमा जुन खालको जनमत हासिल भयो । त्यो जनमतलाई कदर गर्दै नवीन बाटोतिर जान खोजेको भए एमाले अलि वामपन्थी हुन्थ्यो, कांग्रेस अलि प्रजातान्त्रिक बन्थ्यो । राप्रपाले टाउको उठाउने नै थिएन । हामीले गणतन्त्रको स्याहार–सम्भार नगरेकाले गणतन्त्रलाई मार्छु भन्ने आउन थाले । दुब्लो–पातलो गणतन्त्र देखेर सबैले हेप्न थालेका छन् । 

नेपालमा एक्स्ट्रा अल्ट्रा लेफ्ट छैन । सोचमा कहिल्यै अल्ट्रा लेफ्ट देखिएन । झापा विद्रोह भारतको चारु मजुमदारको प्रभावले भयो । हाम्रोमा जडसूत्रवादी खालको बढी भयो । २०६४ सालपछि जडसूत्रबाट मुक्त हुने अवसर माओवादीलाई थियो । नयाँ रूपमा मार्क्सवादको बहस गर्ने अवसर पाएका थियौँ, त्यसमा हामी चुक्यौँ । 

चे र फिडेलहरू सत्तामा आएपछि दुनियाँभरका ज्ञानी मान्छेलाई बोलाएर छलफल गरे । त्यो बेला उनीहरू ३२–३४ वर्षका थिए । संसारभरका मार्क्सवादीलाई बोलाएर छलफल गरे । चेले सबै मन्त्रीलाई त्यहाँको एउटा भवनमा बोलाएर मार्क्सको पुँजी ल्याएर पढाउँथे । अर्थशास्त्रीहरू बोलाएर कसरी समाजवादतिर जाने भनेर बहस र छलफल गर्थे । २०६४ सालपछि हामीले बोलाएको भए अमेरिका, बेलायत, चीन, भारत सबैतिरका मार्क्सवादी आउँथे । शिक्षा, स्वास्थ्य अर्थशास्त्र सबै क्षेत्रमा संसारभरका मार्क्सवादीले पढाउने थिए । त्यो बेला हामी पल्टनबाट आएका पेन्सनधारी लाहुरेजस्तै भयौँ । सबै काम सकियो भनेर फुक्काफाल भयौँ, जसले गर्दा सबैतिर डुबान भयो । 

ram karki (8)

जनयुद्धले एक ढंगले जनतालाई जगायो । पछि तिनै मान्छे माओवादीदेखि भड्कन थाले ? 

हाम्रो तराईतिर उखान छ । तातो दूधले मुख पोलेको बिरालोले मोही पनि फुकेर खान्छ । हामीप्रति सुकुम्बासी, दलित, जनजाति थुप्रै उत्पीडित समुदाय आकर्षित भए । जसलाई हामीले चिनेकै छैनौँ, बुझेकै छैनौँ । उसले हाम्रो पक्षमा देशैभर माहोल बनायो । त्यो बेला पढे–लेखेका भनिएका उच्च वर्गको समेत आकर्षकको केन्द्र बन्यो माओवादी । जो पौरखी छन्, जोसँग धन छैन, उनले निसर्त सहयोग गरे । जनताको जे अपेक्षा थियो, माओवादीले नेतृत्व गरेको सरकारको नीति तथा कार्यक्रमा त्यो प्रकट भएन । पुरानै कपी–पेस्ट भएजसरी कार्यक्रमहरू आए । त्यसपछि धेरैलाई लाग्यो, यो माओवादी पनि पुराना पार्टीजस्तै रहेछ । यसरी निराशा बढ्दै गएपछि जनता हामीबाट टाढा भए । 

अझै हाम्रो कार्यकर्ता तहमा थोरै भए पनि आशा, भरोसा जगाउन सकियो भने नयाँ आन्दोलन अघि लग्न सकिन्छ भन्ने छ । आशा–भरोसा जगाउन आचरण, व्यवहार, सम्पर्कमा इमानदारिता देखिनुपर्‍यो । 

तर्कपूर्ण ढंगले आलोचना गर्ने युवालाई चेले सल्लाहकार बनाउँथे । हाम्रा मन्त्रीहरूले कस्तालाई सल्लाहकार राख्छन् ? आलोचना गर्ने तर्कपूर्ण रूपमा कुरा राख्ने युवालाई देखिसहँदैनन् ।

नेताको दिनभरको भेटघाट पनि सुधार हुनुपर्छ । नेताले दिनभरि ठेकदार, जग्गा व्यापारी म्यानपावरवाला, घरमा आफन्त, नेता, कार्यकर्ता कोसँग भेट्यो भन्नेमा डायरी मेन्टेन गर्नुपर्छ । दैनिक भेटघाटमा प्रदूषित हुँदै छु कि म स्वच्छ हुँदै छु भन्ने डायरी मेन्टेन गर्नुपर्‍यो । अब जनताको बीचमा बसेर आफूलाई रचनात्मक बनाउनुपर्‍यो । नेतृत्वले आफ्नो वरिपरि नेतृत्वमाथि औँला उठाउने र प्रश्न गर्न सक्नेलाई राख्नुपर्‍यो । 

चीनमा माओसँग जसले गम्भीर मतभेद राख्थे, दस्तावेजमा हेर्दा माओले तिनलाई मारे होलान् भन्ने लाग्छ । लिलिसान, वाङमिङ, चाउ एन, देङ स्याओपिङ आदि आलोचना गर्नेहरु माओको कमिटीमा थिए । उनीहरूको सोच र चिन्तनलाई माओले खण्डन गरेका छन् । खण्डन पढ्दा गोली ठोकेर मारियो होला भन्ने लाग्छ, तर माओले कसैलाई मारेनन् ।

चे ग्वेभारासँग २४–२५ वर्षका युवा बहस गर्थे, असहमति राख्थे, उनीहरूसँगको बसाइमा चेले सोभियत अर्थतन्त्रले ठीक ठाउँमा लाँदैन भन्थे । त्यो एक दिन पुँजीवादमा जान्छ भन्थे । तर्कपूर्ण ढंगले आलोचना गर्ने युवालाई चेले सल्लाहकार बनाउँथे । हाम्रा मन्त्रीहरूले कस्तालाई सल्लाहकार राख्छन् ? आलोचना गर्ने तर्कपूर्ण रूपमा कुरा राख्ने युवालाई देखिसहँदैनन् । आफ्नो स्वार्थले भरिएकालाई सल्लाहकार बनाएका हुन्छन् ।

ram karki (1)

कांग्रेस एमाले लगायत दलहरूले योभन्दा अघि जान सकिँदैन, यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्छ भन्दै आएका छन् । यही व्यवस्थामै बस्ने कि अघि बढ्नुपर्छ भन्ने, यहाँलाई के लाग्छ ? 

अन्तिममा गम्भीर कुरा उठाउनुभयो । नेपाल भन्ने घडेरीमा दलाल पुँजीवाद कायम रहने नयाँ समाजवादी व्यवस्था निर्माण गर्ने भन्ने हुँदैन ।पोलिटिकल हाउजिङको एक–एक अंशलाई भत्काउँदै जानुपर्छ । पूरै घर भत्काएर नयाँ घर बनाउने भन्नेमा हामी थियौँ । अहिले आएर ‘रेट्रो–फिटिङ’ गरेर जाने अवस्थामा आइपुगेका छौँ । यसमा सडेको भाग शिक्षा हो । हामीकहाँ जुन शिक्षाको पिलर छ, त्यसमा नयाँ मजबुद समाजवादी पिलर हाल्नुपर्‍यो । त्यसपछि स्वास्थ्य, कृषि लगायत क्षेत्रमा समाजवादी पिलर हाल्नुपर्‍यो । अब हाम्रो जग्गा फ्याक्ट्री बन्न सक्दैन । विगत ७० वर्षदेखि हामीले जग्गालाई फ्याक्ट्री बनाउने भनेर नारा लगायौँ । खेती गर्ने जग्गा फ्याक्ट्री बन्न सम्भव छैन । 

हामीले गलत छलफललाई प्रवेश गराएका छौँ । बिजुली बेचेर धनी हुने कुरा प्रवेश गराएका छौँ । विद्युत् बेचेर कुनै देश धनी हुँदैन, यो त देशलाई कंगाल बनाउने कुरा हो । हामीले विद्युत्लाई जति बढी उपयोग गर्न सक्छौँ, त्यति राम्रो हुन्छ । जस्तै :यातायात, कृषि लगायत हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्न सकिन्छ । 

मेरो साधारण अब्जर्भेसनमा देशका डाँडा भत्काएर हिमाललाई दछारेर, चुरे भत्काएर काम छैन । हामीले दुई डाँडाको बीच रोप–वे बनाउनुपर्छ । डाँडामा १० घर छन्, त्यहाँ डोजर लगाएर बाटो बनाइराखेका छौँ । डाँडाको फेदीबाट अर्को डाँडामा तार बिछ्याएर बिहान–बेलुका रोप–वे बनाउन सके कति राम्रो हुन्थ्यो । हामीले यातायातमा विद्युत् मार्ग बनाउन थाल्यौँ भने २० हजार मेगावाट विद्युत्ले पुग्दैन । जुन बेला हामीले १० हजार मेगावाट विद्युत् प्रयोग गर्न थाल्छौँ, त्यो बेला हामीले आफूलाई गरिब भन्न छाड्छौँ । जब हामीले १० हजार मेगावाट विद्युत् बेच्न थाल्छौँ, हाम्रो हालत खराब हुन थाल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप