चर्चित बैंकर अनिलकेशरी शाह केही समयअघि मात्रै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शाहले किन रास्वपा नै रोजे ? रास्वापामा शाहको अबको लक्ष्य के ? त्यहाँ नेतृत्व विकास गर्ने काम कसरी गर्छन् ? यिनै प्रश्नहरुमा केन्द्रित रहेर रातोपाटीले शाहलाई प्रश्न गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
अनिल केशरी शाहलाई अब राजनीतिज्ञ भन्ने कि बैंकर ?
अनिल शाह मात्र भन्ने । एउटा नेपालको छोरा अनिल शाह । किनभने हामी सबैको अनेक रूप हुन्छ । छोराको रूप हुन्छ, बुवाको रूप हुन्छ, दाजुभाइको रूप हुन्छ । तर सर्वप्रथम मैले नेपालको छोराको रूपमा आफ्नो पहिचान गर्न खोजेको छु । अरू तपसिल हुन् । फोटोग्राफर थिएँ, बैंकर थिएँ । तर जहिले पनि यो देशको नाम रोशन गर्ने छोरा कसरी बन्ने भनेर मेरो अध्याय पनि त्यतैतिर लम्किरहेको छ ।
नेपाल, नेपाली र अनिल शाह यति भए काफी छ ?
काफी छ ।
पछिल्लो समय राजनीतिक दलका नेतालाई गाली गरेको सुनिन्छ । दलप्रतिको विकर्षण पनि त्यति नै देखिन्छ । तर, साथै आकर्षण पनि त्यही देखिन्छ । तपाईंहरु जस्तो बैंकर, कलाकार पनि पार्टीमा गएको देखिन्छ । यसमा तपाईंको धारणा के छ ?
अरू किन प्रवेश गरे म त्यसमा विश्लेषण गर्न चाहन्नँ । त्यो उहाँहरूलाई नै सोध्नु होला । मेरो विषयमा म भन्छु । ३१ वर्ष वित्तीय क्षेत्रमा काम गरेँ । त्यसमा १७ वर्ष सीईओ भएँ । त्यसमा एउटै कुरा नेतृत्व गर्न सिकेँ । ३१ वर्ष त्यो अनुभव गरिसकेपछि हाम्रो देशमा पसिना बगाउने, बुद्धि चलाउने नेपालका छोराछोरीको केही कमी छैन भन्ने महसुस गरे । कुनै कमी छ भने नेतृत्वमा कमी छ । त्यो राजनीतिक नेतृत्व मात्र होइन अन्य ठाउँमा पनि नेतृत्वको कमी छ । त्यसपछि एक वर्ष अगाडि मैले वित्तीय क्षेत्रको अध्याय बन्द गरेर नयाँ अध्याय सुरु गरेँ । त्यो अध्याय भनेको नेपालमा राम्रो नेतृत्व विकास कसरी गर्ने भनेर सुरु गरेको थिएँ । नेतृत्व विकाससम्बन्धी एउटा संस्था खोलेर प्रशिक्षण दिने काम पनि गरेँ । तर, धेरैले राजनीतिक नेतृत्व राम्रो नहुञ्जेलसम्म नेपालमा बसेर राम्रो गर्ने वातावरण बन्दैन अनिलजी भनेर भने । भरखर मेरो छोरीको ग्राजुएशन भयो । अरू ग्राजुएटसँग पनि कुरा गर्न पाइयो । धेरैले अनिलजी हाम्रो पोखरी फोहोर छ । यसरी फोहोर भयो, यसरी सफा गर्नुपर्छ भनेर विश्लेषण गरेको वर्षौँ भइसक्यो । एउटा अनुरोध छ कि यो विश्लेषण गर्न छोडिदिनुस् वा पोखरीभित्र बसेर आफैले सफा गर्ने प्रयास गर्नुस् भनेपछि मेरो मन होइन आत्मै छोयो । अब आफैँले केही गर्नुपर्यो भन्ने सोचबाट रास्वपामा प्रवेश गरेको हो ।
रास्वपामा पनि प्रशिक्षण विभाग हेर्नेगरी प्रवेश गरेको छु । लीड नेपालको नेतृत्व विकास भने जस्तै रास्वपामा पनि त्यही गर्न लागेका छौँ । रास्वपा नयाँ दल हो । नेपाली जनताको आशा आकांक्षा बोकेको दल हो । केही गर्छ भनेर धेरैले चाहना बोकेको दल हो । २०८४ सम्म समय छ । अहिले नै गृहकार्य गर्नुपर्यो । स्थानीय, प्रदेश र संघमा सक्रिय राजनीतिमा आइसकेपछि गर्ने के भन्ने होइन । अगाडि के गर्ने भनेर सिकेपछि काम गर्न सजिलो हुन्छ ।
तर मानिसहरूले भन्छन् – एक समय तपाईं एमालेसँग नजिक हुनुभयो । त्यहाँ छिर्न छिर्न लागेपछि ब्याक हुनु भएको हो ?
यो एउटा भ्रम मात्र हो । कुनै बेला म ओली सर, प्रचण्ड सर, देउवासरसँग बसेर गफ गरेपछि त्यो त अब छिर्नै लाग्यो है भन्ने आउँछ । हुँदाहुँदा अब यो गभर्नर नै हुन्छ भन्ने पनि आएको थियो ।
मैले एमालेको चुनावको घोषणापत्र सार्वजनिक गर्ने मौका पाएको थिएँ । मैले चार पाँच वटा प्रश्न सोधेँ । उहाँले जवाफ दिनुभयो । अनि हल्ला चल्यो, एमाले जान लागेको । म यस्तो मान्छे हुँ, जो आफैँ गृहकार्य नगरी कहीँ पनि हाम्फाल्दैन ।
अहिले तपाईं जुन पार्टीमा प्रवेश गर्नुभयो, त्यहाँ तपाईंको नीति, विचार, सिद्धान्त केही पनि मिल्दैन । तर त्यही रोज्नुको कारण के हो ?
यसमा मेरो विमति छ । नेपाल भनेको सबैको हो । धनीको पनि हो, गरिबको पनि हो । मेरो जुन क्षमता छ, त्यसले रास्वपामा केही योगदान गर्न सक्छ कि सक्दैन भनेर मैले विचार गरेँ । म रास्वपामा यो क्षेत्रमा टिकट दिनुस्, म जित्छु, मलाई मन्त्री बनाउनुस् भनेर आएको होइन । म नेतृत्व विकासको लक्ष्य बोकेर आएको हुँ । रास्वपाले भन्यो हामीलाई यो चाहिएको छ है ।
तपाईंलाई सबै पार्टीले बोलाएकै थिए । तर रास्वपा नै किन छान्नु भयो ?
अरू पार्टीले यो देशलाई धेरै गर्नुभएको छ । तर हामी केही गरेनौँ मात्र भन्छौं । बाटो, पुल, अस्पताल त्यसै आएको होइन । धेरैले धेरै काम गर्यो । यत्रो महामारी, भूकम्प आयो । कुनै पनि पार्टीले केही गरेन म भन्दिनँ । तर अरू पार्टीको एउटा सिद्धान्त बनिसकेको छ । एउटा हिँड्ने शैली बनिसकेको छ ।
रास्वपा नयाँ पार्टी हो । त्यहाँ नयाँ किसिमको अनुभव हुन्छ । कसैले लेखेको किताबलाई पढेर कार्यान्वयन गर्ने होइन, यहाँ त हामी किताबै लेखिरहेको छौँ । यो जस्तो मौका मान्छेले कहिले पाउँछ ? हामीले मेगा बैंक हलोदेखि हाइड्रो भनेर स्थापना गरौँ । अरू बैंक स्थापना भइसकेका थिए । मेरो बैंकिङ करियरमा आज पनि मलाई तपाईं ‘हलोदेखि हाइड्रो’ होइन ? भन्छन् । अब रास्वपालाई पनि त्यस्तै बनाउने हो ।
इतिहास पढ्ने त हुँदै हो । के आफैँ लेख्नुपर्छ भन्ने हो ?
कुनै पार्टीको नेतालाई भेट्दा रातो, निलो, हरियो, पहेँलो किताब दिनुहुन्छ । उत्तर, दक्षिण, पश्चिम, पूर्वतिर हाम्रो सिद्धान्त हो भन्नुहुन्छ । हामी यो सिद्धान्तबाट अघि बढ्नुपर्छ । हामी लेफटिस्ट, राईटिस्ट, अफटिस्ट, डाउनटिस्ट यो भनेर भनिन्छ । मलाई लेफटिस्ट हो कि राईटिस्ट हो भन्दा हाम्रो पार्टी नेपालीस्ट हौँ । हामी नेपाललाई हुने किताब लेख्दैछौँ । नेपाललाई सान्दर्भिक हुनुपर्यो । त्यो भएमा हामी अघि लम्किन्छौँ । हामी कतै बाँधिएका हुँदैनौँ । तपाईं यो वा त्यो भनेर कसैले कार्यक्रम ल्याउन सक्दैन ।
३१ वर्ष बैंकिङ क्षेत्रमा बिताउनु भयो, झण्डै १७ वर्ष नेतृत्वमा बस्नुभयो । राम्रा बैंकलाई अझमाथि पुर्याउनु भयो, कुनैलाई शून्यबाटमाथि पुर्याउनुभयो । तपाईंहरुले नाफा नहुने क्षेत्रमा लगानी गर्नुभएन । यहाँ पनि केही जिम्मेवारी वा अन्य कुनै लाभको पद पाउने भएर यो पार्टीमा प्रवेश गर्नु भएको हो ?
म महात्मा होइन । मेरो नेपाल आमाले अनिल शाह भनेर हेर्दा राम्रो बैंक चलायो । करोडौँ नाफा गर्यो । यो योगदानलाई कसैले लिएर जान सक्दैन । मलाई यत्तिले मात्रै पुगेको छैन । मैले लामो समय नेतृत्व गरेको नेपाली आमालाई जुन चिजको अभाव छ । मेरो दिमागमा जुन प्रतिभा छ । त्यसलाई भित्रै राख्ने वा बाहिर नबाँड्ने हुँदैन । मैले आफूभित्र भएको प्रतिभा लुकाउनु पाप हुन्छ । म पाप गर्न सक्दिनँ । मेरो हातमा नेतृत्वको मैनबत्ती बलिराखेको छ । जतिसक्दो त्यति धेरै मैनबत्ती बाल्ने अभियानमा लाग्नुपर्ने छ । आज पो अन्धकार छ । भोलि वरिपरि लाखौँ बत्ती बल्यो भने मेरो मैनबत्तीको कुनै अर्थ हुँदैन । अहिले अँध्यारो भएको बेला नेतृत्वको मैनबत्ती भएर बल्नुपर्छ ।
मेरो नाम आफैँमा छ । मलाई अनिल शाह भनेर नचिन्ने कमै होलान् । मसँग दाम पनि छ । किन आनन्दसँग बसेन भन्दा नेतृत्व गर्ने क्षमता हुँदाहुँदै नगरेर पाप गर्न चाहन्न । मलाई नेतृत्वको बारेमा जति ज्ञान छ, यो सयौँ होइन लाखौँ युवामा बाँड्न चाहन्छु । सकिन्छ रास्वपामा आउनुस् । वा अरू कुनै दलमा जानुस् । बाटो बनाएपछि अनिल शाह मात्रै हिँड्ने होइन सिंगो देशका नागरिक हुन् ।
अनिल शाहले डुब्ने ठाउँमा लगानी गर्दैन भन्नेलाई जवाफ के छ ?
नेपाल आमालाई राम्रो गर्छु भने किन अरू रिसाउनु पर्यो । यदि कसैले राम्रो गर्यो भने सबै खुसी हुनुपर्यो । यदि कसैले राम्रो गर्यो भने सबैलाई राम्रो हुन्छ । देश बनाउन मैले नै गर्नुपर्छ भन्ने छैन । अरूलाई पछाडि पारौँ वा मिचौँ भन्ने हैन । मिलेर काम गरौँ भन्ने लाग्छ ।
कसैको कोखबाट जन्मिएर राजनीति गर्छु भन्ने दिन गए । संविधान सभाबाट संविधान निर्माणपछि नेता नेपाली जनताले जन्माउँछन् । स्थानीय, प्रदेश र सङ्घीय चुनावबाट भोट गरेर नेता जन्मिन्छन् । कसले आफ्नो सपना पुरा गर्छ त्यसैलाई जनताले भोट गर्छन् । त्यो जनताले गत चुनावमा देखाइसकेका छन् । मेरो पुर्खाले यो पार्टीमा काम गरेका मेरो पार्टी भन्ने दिन गए । यो चुनावबाट सिद्ध भइसकेको छ । जसले आफ्नो सपनाको साकार गर्न सक्छ त्यसैलाई जनता भोट दिएर जिताइसकेका छन् । जनताले बुझिसकेका छन् । हामीले जसलाई भोट दिएको नेता नै कुर्सीमा बस्ने रहेछ ।
तपाईं राजनीति आउनु भन्दा अघि कुनै न कुनै पार्टीमा भोट गर्नु भयो होला । तर, ती तपाईंले भोट गरेका पार्टीले यस्तै भनेका हुन सक्छन् । अब तपाईंले गर्न सक्छु भन्ने जनतालाई कसरी विश्वस्त पार्नुहुन्छ ?
अब हामीले केही गरेन भनेर भन्ने गल्ती नगरौँ । नेताले केही गरेन भन्ने हो भने बाटो बनेको छ । धारामा पानी आएको छ । बिरामी भए हेल्थपोष्ट छन् । पढ्ने विद्यालयहरू छन् । यदि उहाँहरूले योगदानै नगरेको भए यी विकास कसरी भयो ? यो गणतन्त्र ल्याउन धेरै योगदान गर्नुभएको छ । तर, अब रास्वपा नयाँ बाटोमा गएको छ । पुरानो बाटो हिँडेकालाई नराम्रो भन्दिनँ । अबको युगलाई चाहिने नयाँ बाटो त्यो भनेको रास्वपा हो ।
हामीले स्कुल पढ्दा गुरुहरू एकदमै राम्रो हुनुहुन्थ्यो । हामीलाई कक्षा १० सम्म राम्रोसँग पढाउनुभयो । हामीले प्लस टू हुँदै मास्टर्स गर्यौँ । हामीले अहिले आएर कक्षा १० पढाउने शिक्षकलाई केही जान्नु भएको रहेनछ भन्नुहुँदैन । हामीले उहाँहरूले जग बसाल्नुभयो भन्नुपर्छ । पृथ्वीनारायण शाहदेखि अहिलेसम्मका शासकले केही गरेकै हुन् । उहाँहरूले केही नगरेको भन्ने होइन । यदि कसैले बाटो बनायो र आफ्नो नाम राख्यो भने हामीले नाम परिवर्तन गर्ने होइन । बाटोमा नाम राख्नु छ भने नयाँ बाटो, स्कुल, कलेज, हस्पिटल बनाउनुपर्छ । जसले जे बनायो त्यसको कदर गरौँ । यदि हामीले यसरी कदर गर्यौँ भने भोलिका दिनमा हामीलाई पनि कदर प्राप्त हुन्छ ।
तपाईं आफै राजघरानाको छोरा राणाकै ज्वाइँ हुनुहुन्छ । राप्रपाजस्तो यति शक्तिशाली पार्टी राजा फर्काउन लागिपरेको छ । कतै रास्वपालाई राजावादीतिर फर्काउन थालेको हो कि भन्ने आशंकालाई के भन्नुहुन्छ ?
म पनि नेपालको एउटा नागरिक हुँ । एउटा जनता हुँ । मेरो आफ्नो सोच, त्यो चाहे राजतन्त्रप्रति होस्, वा गणतन्त्रप्रति होस् । सबैले आ–आफ्नो सोच राख्न पाउँछन् । र बहुमतले जे सोच राख्छन्, त्यो देशको सोच हो । कसैलाई हक छैन कि मेरो सोच आएन पड्काइदिन्छु, हान्दिन्छु हिँड्दिन्छु भन्ने । त्यो प्रजातन्त्र होइन ।
प्रजातन्त्र भनेको स्पष्ट मैले मेरो सोच राख्ने हो । मेरो सोचप्रति बहुमतले मान्यो भने त्यो सोच अगाडि बढ्यो । होइन भने बहुमतले जे सोच मान्यो त्यो सोचमा म हिँड्नुपर्छ । संविधानसभाबाट संविधान लेखेर गणतन्त्र ल्याएका छौँ । सबैलाई गणतन्त्रमा विश्लेषण गर्ने ठाउँ दिएको छ । कुनै एउटा पार्टीले मात्र भनेर वा अनिल शाहले यो हुनुपर्छ, यो हुनुहुँदैन भनेर हुने कुरा होइन, यो गर्ने नेपाली जनताले हो ।
त्यही भएर मेरो आफ्नो सोच होला, तपाईंको आफ्नो सोच होला । गणतन्त्र, प्रजातन्त्र मान्छेले नबुझेको जस्तो लाग्छ । यो त बहुमतको खेल हो । बहुमत आइसकेपछि द्याट ईज इट, द्याट ईज डिसिजन अफ द पिपुल । ५९÷४९ प्रतिशत आओस् या ८०÷२० प्रतिशत आओस् ‘बहुमत इज बहुमत’ । अनि त्यसपछि त्यो कार्यकाललाई त्यतातिर जानुपर्छ ।
ठुलो ठुलो मुद्दा संविधानलाई परिवर्तन गर्ने मुद्दाहरू अमेन्डमेन्ट हुनुपर्छ । त्यो गर्नुपर्छ भनेर त्यसमा लागेर मात्र हुँदैन । म स्पष्ट भन्न चाहन्छु । कोही मान्छेलाई राजतन्त्र फर्काउने ठुलो कुरा होला । तर, मलाई धेरै ठुलो कुरा हो, स्वास्थ्य उपचार पुर्याउने, शिक्षा पुर्याउने, पेट पाल्ने आर्थिक वातावरण बनाउने । किन भने आज नेपाली छोराछोरीहरू जो खाडीमा पसिना बगाउन गाछन्, जो यूरोप अमेरिकामा गएका छन् उहाँहरूलाई सोध्नुहोस्, तपाईं के राजनीति यस्तो स्थिति भएर जानुभएको हो ? होइन । धर्मले गर्दा भाग्नुभएको हो ? होइन । सामाजिक प्रेसर जानुभएको हो ? होइन । अनि किन जानुभएको हो ? भनेर भन्दा सबै जना ९९.९ प्रतिशतले भन्ने कुरा भनेको आर्थिक पक्ष हो । भनेपछि आर्थिक मुद्दालाई समाधान गर्नतिर नलागेर अरू तपसिलतिर लाग्यौँ भने हाम्रो छोराछोरी अझै पनि पेट पाल्नका लागि विदेश नै जानुपर्छ ।
तपाईंको विगतको इतिहास र रवि लामिछानेको इतिहास हेर्दा । तपाईंहरूबीच तालमेल नै मिल्ने खालको थिएन तर आज त्यहीँ व्यक्तिलाई अध्यक्ष मानेर केन्द्रीय सदस्य पनि नभएर एउटा विभागको प्रमुख भएर राजनीतिमा आउनुभयो । राजनीति भन्या कस्तो रहेछ भन्ने लाग्दैन ?
मेरो उद्देश्य पार्टीलाई हडप्छु भन्ने भएको थियो भने तपाईंले भने जस्तै रविभन्दा मै थिएँ भन्ने हुन्थ्यो । अहिले त म भनिरहेको छु मात्र केही दिनपछि गर्छु पनि । म गएको नेतृत्व विकासको लागि हो । म गाको पार्टीलाई यो गर्छु, त्यो गर्छु भोलि प्रधानमन्त्री भएर जान्छु भन्ने होइन ।
रास्वपाका हजारौँ व्यक्ति जितेर भोलि, प्रान्तीय सरकार बन्यो, केन्द्र्र सरकार बन्यो भने र एकदम पावर पोजिशनमा पुग्यो भनेदेखि मेरो मन त्यसमा खुसी हुन्छ । उद्देश्य त्यो भएकाले रवि लामिछानेजी र जसले पार्टी स्थापना गर्नुभयो । एक वर्ष अगाडि हेर्नुहोस् त जंगलै जंगल थियो । उहाँहरूले जंगल फाडेर गोरेटो बाटो बनाइदिनुभयो । गोरेटो बाटो छ म त्यसमा हिँडिरहेको छु । हाम्रो उद्देश्य ६ लेनको हाइवे बनाउने हो । तर जंगल फाँड्ने काम त उहाँहरूले गर्नुभयो नि । उहाँले केही नहुँदा शून्यबाट यहाँसम्म ल्याउनुभयो । देशलाई एउटा विचार दिनुभएको छ ।
त्यही भएर मैले अघि नै भने जसले जे गरेको छ त्यसको कदर गरौँ । रविजीले देशमा विदेशमा रहेका नेपालीहरूको लागि परिकल्पना गर्नुभएको छ ए अब केही हुन्छ कि भन्ने सानो भएपनि विश्वास ल्याइदिनुभएको छ नि त्यो ठुलो कुरा हो । त्यो धेरै कम मान्छेले गर्न सक्छन् ।
त्यही भएर मैले भन्ने गरेको जीन्दगीमा कहाँबाट सुरु गर्यो भन्दा पनि कहाँबाट अन्त्य भयो भन्ने कुरा प्रमुख हो । त्यो मान्नलाई कुनै संकोच नै छैन ।
निकै नै निश्कलंक मान्छे, रविजस्तो विभिन्न आरोप, बहुपत्नीको आरोप, २ वटा नागरिकता, २ वटा पासपोर्टको मुद्दा । आर्थिक अपारदर्शीताको कुरा त्यक्तिकै छ । अनिल शाहजस्तो निश्कलंक मान्छे कसरी त्यहाँ अटाउन सक्छ ? भनेर एकजना तपाईंको शुभचिन्तकले प्रश्न गरिदिनु भन्नुभएको थियो ।
यहाँ र उहाँलाई भ्रम भयो कि मैले रविजी सँग बिहे गर्न लागेको भनेर । मैले उहाँसँग बिहे गर्न लागेको होइन । हामी सबै जनाको पर्शनल लाइफ हुन्छ । सबैको पर्शनल इश्युजहरू होला । म, रविजी, शिशिरजी, स्वर्णीमजी, तोषिमाजी सबै जनाको देश बनाउने सोचसँग लगाव गरेको हुँ ।
हामी सबै नेपालको छोराछोरी हौँ, हामी सबै अगाडि सँगै बढौँ । लक्ष्य के हो देश बनाउने लक्ष्य । रास्वपाबाट रास्वपा बनाउने होइन, देश बनाउने लक्ष्य हो । देश बनाउने लक्ष्यमा हामी सबै अगाडि बढौँ भनेर सगै अघि बढ्न खोजेको हुँ ।
मुहानै फोहोर भयो भने तलको पानी तपाईंले सफा गरेर सफा हुन्छ त ?
त्यो म मान्दिनँ, त्यो बेला ३ हजार ५०० रूपैयाँ तलब खाँदा तैँले तेरो बाआमाको लेभलमा पुग्न जुनी लाग्छ भन्थे । असिस्टेन्ट लेभलको मान्छेलाई के सीईओ बनाउने भनेको भए म कहिल्यै सीईओ बन्ने थिएनँ । त्यो मौका दिएर म सीईओ बन्न पाएँ । मैले सबै नकारात्मक मात्र हेर्ने भए देशै छोडिसकेको हुने थिए । पार्टीमा आबद्ध हुनु आवश्यक नै थिएन ।
म जहिल्यै पनि भन्छु, अनिल शाहले ग्रिन कार्ड, पीआर नपाएर यो देशमा बसेको होइन, यो मेरो इच्छा हो । मेरो इच्छा हो रास्वपामा जान चाहन्छु भनेर गएको हुँ । कसैले बाँधेर, केही थाहा नभएर गएको होइन् । सबै चिज थाहा भएर गएको हुँ ।
मलाई विश्वास छ आउने दिनहरू हिजोको भन्दा राम्रो हुनेछ । हाम्रो पहिलो वर्षको कार्यक्रममा दुई चिज गरियो । गल्ती भएको क्षमा माग्यो र अर्को धन्यवाद दियो । आउने दिनमा राम्रो काम गर्छौँ, त्यो रास्वपाको लागि होइन्, नेपालको विकासको लागि हुन्छ ।
तपाईंको विगत हेर्दा जुन बैंकमा छिर्नुभयो, त्यो बैंकमा फस्टम्यान नभएर निस्कनुभएको छैन । यहाँ छिरेपनि फस्टम्यान हुने आवश्यक लक्ष्य छ होला । तपाईं, स्वर्णिमजी मिलेर अहिलेका अध्यक्षलाई कतै खतरा त बढ्यो कि ?
सर्वप्रथम छलकपट गरेर रास्वपामा गएको होइन । हाम्रो सभापतिजीले नै आउनुहोस् सँगै काम गरौँ भनेर भन्नुभएको छ । चुनावअगाडि नै आउनुहोस् पार्टी स्थापना गरेर सँगै अगाडि बढौँ भन्नुभएको थियो । त्यो बेला मै पछि हटेको हुँ । त्यो बेला मौका नलिए पनि अहिले पनि आउनुहोस् सँगै मिलेर काम गरौँ भनेर तपाईंले प्रशिक्षण नेतृत्व विकास हाम्रो पार्टीमा आएर गर्नुहोस् न त भनेर उहाँले नै बोलाउनुभएको हो । उहाँलाई मेरो कुर्सी नै धरापमा पर्छ भन्ने लागेको भए किन बोलाउनुहुन्थ्यो होला । उहाँ र हामीलाई पार्टी होइन, देश बनाउनु छ । २–५ जनाले सक्दैनौँ । त्यसका लागि सयौँ–हजारौँ जना चाहिन्छ । नेपालमै भएका नेपाली चाहिन्छ । विदेशमा भएका नेपाली चाहिन्छ । त्यही भएर कोही कोहीसँग डराएको छैन ।
जबसम्म थालमा भात बढ्दैन र खाने मुखमात्र बढ्छ । हामी त यो देशलाई नै अझ राम्रो बनाउने विचार गरिरहेका छौँ । देशको नक्सामा गर्व गरौँ । नेपाली पासपोर्ट लिएर विदेश जाने होस् वा यहाँ नेपालको बारेमा कुरा गर्दा मानिस सकारात्मक होउन् । जर्मनी, स्वीजरल्याण्ड वा भारत र चीनसँग कुरा गर्नुस्, उनीहरू गर्वका साथ हामी यो देशको हौँ भन्छन् । त्यो अवसर नेपालका छोराछोरीले पनि पाउन् न । मैले नपाएपनि मेरा छोराछोरी र त्यो पुस्ताले पाओस् ।
त्यो सम्भव छ ?
किन छैन ? छ ।
सबैले यही भन्दै आएका हुन् । जनता यस्ता कुरा सुन्दा सुन्दा वाक्क नै भैसकेका छन् नि ?
हो, म त्यही भएर हाम्फालेको हो । नेपालको एउटा पहाडमा सानो राज्य चलाइरहेको मान्छेले यो सानो राज्यले हुँदैन, तलतिर बेलायतीहरू आइसकेका छन्, ठुलो राज्य बनाउनुपर्छ भनेर पृथ्वीनारायण शाह नेपाल बनाउने लक्ष्यमा लम्कनुभयो । पृथ्वीनारायण शाह त्यो लक्ष्यमा लम्किदा उहाँकै इष्टमित्रहरूले भने– ए यो के गरेको ? यो पागलपन, कहाँ नेपाल बनाउने ? आफ्नै गोरखा बनाएर बस न भने । त्यसपछि शाह वंश चलिरहेका बेलामा जङ्गबहादुर राणा हामी चलाउँछौ यो देशलाई भनेर आउनुभयो । उहाँ जागेर नै राणा शासन सम्भव भयो ।
त्यसपछि राणा शासनको अन्त्य गर्नुपर्छ भनेर एउटा सानो नेपालीहरूको समूह उठ्यो । त्यसक्रममा कति सहीद बने, कति के भए । त्यो देखेर कतिले पागलहरू हेर बरबाद गरे पनि भने । उनीहरूले आफू त वरवाद भए परिवार पनि बरबाद गर्छन् भने । तर उहाँहरूको आँटले प्रजातन्त्र आयो । अर्को आँटले पञ्चायत आयो । ३० वर्षको पञ्चायतपछि फेरि प्रजातन्त्र आयो । फेरि एउटा सानो समूहले यो मल्टीपार्टी भएन, राजतन्त्र पनि भएन हामीलाई संविधानसभा र गणतन्त्र चाहिन्छ भन्दा हामी पनि हाँस्यौ कसले ल्याउँछ, गणतन्त्र र संविधानसभा नेपालमा भनेर । तर भयो नि त ।
भनेपछि आज रास्वपाले नयाँ लक्ष्य बोकेर अब हामी यसलाई अझ राम्रो बनाउँछौँ भन्दा म भन्छु धेरै विदेश हेर्नुपर्दैन । हाम्रै नेताहरू हेरौँ, नेपालकै सोच बोकेको छोराछोरीहरू हेरौँ, जसले हामीलाई यहाँसम्म ल्याए । अब हामीलाई पनि मौका दिनुस्, विश्वास गर्नुस् किनभने रास्वपामा आज हेर्नुस् त म बैंकर, डा. स्वर्णिम वाग्ले, मनिष साहले के देखाउँछ ? रास्वपाको हाम्रो भन्ने कुनै वर्ग कुनै जात कुनै सोचमात्र कोही छैन । हामी मात्र राम्रो हेर्छौँ ।
रास्वपामा धैरै क्षेत्रका अब्बल मानिसहरू हुनुहुन्छ । तर धेरै बिराला भए मुसा मार्दैन भन्ने भनाइ थाहा छैन ?
एउटामात्रै मुसा भए त्यो हुन्थ्यो होला । तर धेरै मुसा भएकाले मारेरै सकिँदैन कि भन्ने छ मलाई त ।
तपाईंको राजनीतिको लक्ष्य सांसद मन्त्री बन्नेबाहेक केही छ ?
लक्ष्य भनेको नेतृत्वको विकास हो । यसमा म प्रस्ट छु । अनिल शाहले जित्यो भने यहाँ आएर गर्वमात्रै गर्नेछैन ।
नेतृत्व विकासको धेरै कुरा गर्नुभयो, त्यसको अलिकति व्याख्या गरिदिनुुस् न कसरी गर्दै हुनुहुन्छ नेतृत्व विकास ?
जुनपनि संस्थामा म थिएँ, सीईओ भएर वा टीम लिडर भएर म्यानेजर भएर काम गरेँ । के त्यो अनिल शाह भएर बस्ने बित्तिकै त्यो राम्रो भयो होला र ? होइन योगदान त टिमको थियो । आज जुन संस्थामा म छैन तर पनि राम्रो त गरिरहेका छन् नि ! किनभने टिमको विकास भएर हो । म जुन प्रशिक्षण विभागको नेतृत्व लिएर बसेको छु, त्यो नेतृत्वमा गएर म आफ्नो सिट जित्छु भनेर मात्र होइन ।
नविल वा मेगा बैंकको सीईओ बनाइदियो रे । त्यहाँ उसको कार्ययोजना त सोधिन्छ नि ! हाम्रो पनि अबको चुनावसम्म समय छ । जो आउनुहुन्छ उहाँहरूको नेतृत्व विकास हामीले गर्ने । ताकि जितिसकेपछि अब के गर्ने भन्ने होइन । जित्नुभन्दा धेरै अगाडि उहाँलाई थाहा हुन्छ कि अब के गर्ने र कसरी गर्ने ? त्यसमा योगदान गर्ने अनिल शाह र हाम्रो पुरै टिम छ । त्यसमा अनिल शाह मात्रै होइन, सभापति रवि लामिछानेदेखि अरू नेता पनि हुनुहुन्छ । हामी हाम्रो भिजन, मिसन र कल्चर अनुसार चल्छौँ ।
पार्टीको नीति, विचार र सिद्धान्त पढाउनुहुन्छ कि देश कसरी बनाउने वा सांसद मन्त्री बनेपछि कसरी काम गर्ने भनेर सिकाउने हो ?
त्यो सबै सिकाउनुपर्छ । वडाध्यक्ष बनेपछि वडा कसरी बनाउने ? प्रदेशमा आउनुभयो भने कसरी काम गर्ने ? सरकारमा भए के, प्रतिपक्षमा भए के गर्ने ? राष्ट्रियस्तरमा आयो भने गर्ने के ? सबै चिज आफूले भनेजस्तै भयो भने त किन चाहियो र राम्रो नेतृत्व ?
तपाईं वडाध्यक्ष हुनुभयो अब तपाईंले के गर्ने त ? सरकार बनाएनौँ भने सबै भताभुङ्ग बनाउँछौ भन्ने त होइन । देश त त्यसरी बन्दैन । पार्टी होइन हामी त देश बनाउने भनेर लागेका हौँ नि । हामीले आफ्नो भ्वाइस कसरी राख्ने, हाम्रो सोच स्थानीय, प्रदेश र केन्द्रीयस्तरमा भन्ने सबै कुराहरू सिकाउने हो । त्यसका लागि यो चार वर्षमा हामीले धेरै काम गर्नुछ किनभने रास्वपा माथि जनताले जे आशा राखेका छन्, त्यो अरूमा भन्दा फरक छ ।
फरक त होइन बढी होला ?
हो बढी नै छ । जस्तै अनिल शाहले मेगा बैंक सुरु गर्यो । त्यो बेलामा अरू आठ नौ वटा बैंक पनि सुरु भए । धेरैले आशा पनि राखे आक्रोश पनि राखे मेगा बैंकसँग किनभने मेगामा अनिल शाह छ, त्यसले त केही गर्नुपर्यो नि त ! अरू बैंकहरु मिलाउन लागे । मेगा अलिकति चिप्लियो भने ओ हो मेगा चिप्लियो भन्ने हुन्थ्यो । भनेपछि हामी रास्वपा अहिले त्यही ठाउँमा छौँ । देश विदेशमा भएका जनताको आशा, भरोसा र आँखा रास्वपा माथि छ भने हामीले केही न केही फरक गर्नुपर्यो । त्यो कसरी हुन्छ ? पुजा गरेर र सपना देखेरमात्रै त हुँदैन, त्यो प्रशिक्षणबाटमात्र हुन्छ र त्यही प्रशिक्षणको मार्गबाट हामी चलेका छौँ ।
अहिले काठमाडौका मेयर बालेन शाहले यो अदालतसदालत मान्दिनँ भनेर स्टाटस नै लेख्नुभयो । त्यस्तै सोच रास्वपामा पनि कताकता देखिन्छ । यसले मुलुकलाई अराजकतातिर लैजान्छ कि भन्ने चिन्ता छ नि ?
देश आउट अफ ट्रयाक जाँदैन । म रास्वपामा आउने र रास्वपाले मलाई ल्याउने पनि कारण छन् । म योङ, युथ होइन । ममा परिपक्वता र सहनशीलता छ किनभने वित्तीय संस्था चलाउन सक्ने भनेको धेरै सहनशीलता चाहिन्छ । नेतृत्वमा त्यो परिपक्वता हुनैपर्छ । बालेनजीले धेरै गर्नुभएको छ । यत्रो ठुाले महानगरको नेतृत्व लिएर धेरै कामहरु गर्नुभएको छ ।
तर विधि मान्दिनँ भन्न त पाइँदैनन नि ?
त्यो उहाँको कुरा उहाँलाई सोध्नुहोला । मान्नेनमान्ने उहाँमै भर पर्ने हो । हाम्रोमा संविधान र न्यायलय छ तर कुनै कानुन राम्रो लागेन भने प्रक्रियाबाट त्यो कानुन परिवर्तन गर्नतिर लाग्नुपर्छ भन्ने मेरो भनाइ हो । जबसम्म कानुन रहन्छ तबसम्म त्यसको पालना गर्नुपर्छ । नागरिकताकै कुरा गरौँ न । अहिले परिवर्तन भएको छ, जो हिजो गाह्रो थियो ।
रुल अफ लमा विश्वास गर्नुपर्छ भन्ने तपाईंको कुरा ?
हो । यसमा शङ्कै छैन । सिस्टममा कतै शङ्का लाग्यो भने त्यो विधिबाटै परिवर्तन गर्नुपर्छ । यो भ्रममा अनिल शाह छैन कि मैले भनेको नै हुनुपर्छ । म एउटा नागरिक हुँ । यो कुनै सिस्टम ठिक छैन भने मैले जसरी सक्यो, अधिकांश नेपालीले पनि मेरो सोचमा विश्वास गरुन् र उहाँहरूले भोट गर्दा परिवर्तनको महसुस गरेर नै भोट गरुन् अनि मात्र परिवर्तन आउँछ ।
यो देश बनेन भन्ने चिन्ता सबैतिर छ, गुनासो पनि छ । तपाईंको बुझाइमा चाहिँ यो देश किन आशा अनुसार बनेन र अब कसरी बन्छ ?
यसको जवाफ खोज्न धेरै टाढा जानुपर्दैन । काठमाडौँको नजिकै रहेको चन्द्रागिरिसम्म मोटरमा जानुस्, टिकेट किन्नुस्, केबलकार चढेर माथि जानुस्, त्यहाँबाट निस्कनेवित्तिकै एउटा सेल्फी खिच्ने ठाउँ छ । बाहिर हाम्रो शहर हेर्नुस् । म जन्मिदा यो शहरमा आज भएको घरको सानो प्रतिशत पनि थिएन, सबैजसो ठाउमा खेतबारी थियो । आज घरैघर छ खेत देखिँदैन । नेपाली जनताले पसिना बगाएर, बुद्धि चलाएर धन उत्पादन गरेर ती घरहरु बनाएका हुन् ।
त्यही भएर नेपालीहरू अल्छी छन् गर्न सक्दैनन् भन्ने भ्रममा नपर्नुहोला । पसिना बगाउनुभएको छ, बुद्धि चलाउनुभएको छ र यत्रो सहर बनाउनुभएको छ । तर फेरि यो सहरमा गएर हेर्नुस्, प्लानिङ छैन, बाटोघाटो छैन । त्यो भनेको नेपाली जनताको भूल होइन हाम्रो नेतृत्व थिएन । नेतृत्व राम्रो भएको भए यो उपत्यका स्वर्ग नै हो । गर्मीमा धेरै गर्मी हुँदैन, जाडोमा धेरै जाडो पनि हुँदैन । खाडी क्षेत्रमा हाम्रा दाजुभाइ जो पसिना बगाउनुहुन्थ्यो त्यो नरक थियो र पनि उहाँहरूले त्यहाँ स्वर्ग बनाउनुभएको छ । हामीलाई भगवान्ले स्वर्ग दिएको थियो तर हामीले त्यसलाई नरक बनाउने प्रयास गरिरहेका छौँ । यो भनेको नेतृत्वको अभाव हो ।
प्रतिक्रिया