‘मान्छे मात्र होइन, भवन पनि बूढो हुन्छ !’
काठमाडौँ । माइतीघरबाट थोरै उत्तर लागेपछि पुरातत्त्व विभागको कार्यालय भवन आउँछ । पुरातत्त्व विभागको त्यही भवन छेउबाटै सुरु हुन्छ, सिंहदरबारको दक्षिण गेटतर्फ जाने सडक । अनि, पूर्वतर्फ सोझिएको त्यही सडकलाई समाएर अघि बढ्दै जाँदा सिंहदरबार प्रवेश गर्ने दक्षिण गेट पुग्नुभन्दा करिब ५० मिटरअगावै दायाँतर्फ देखिन्छ, ‘हुलाक प्रशिक्षण केन्द्र’ लेखिएको बोर्ड ।
प्रवेशद्वारमा राखिएको बोर्ड जति नयाँ छ, त्यति नै पुरानो र जीर्ण छ कार्यालय परिसरभित्रको अवस्था । नियमित सरसफाइको अभावमा कार्यालय परिसरभित्र चारैतिर झाडी र ससाना बुट्यानले साम्राज्य विस्तार गर्दै लगेको भान हुन्छ ।
चार रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको त्यही कार्यालय परिसरभित्र ठिङ्ग उभिएको छ, ऐतिहासिक राणाकालीन भवन । समयसँगै जीर्ण बनिसकेको त्यो ऐतिहासिक भवनले विभिन्न कालखण्डको थुप्रै कथा–ब्यथा आफूभित्र समेटेको छ ।
करिब एक सय वर्ष भन्दा पुरानो त्यही ऐतिहासिक धरोहरमा सञ्चालित छ, हुलाक प्रशिक्षण केन्द्रको कार्यालय पनि । ‘मान्छेमात्र हो र, भवन पनि त बूढो हुन्छ नि !,’ कुनै जिज्ञासा राख्नुअघि नै ठट्यौली पारामा भन्छन्, हुलाक प्रशिक्षण केन्द्रका प्रशिक्षक प्रदीपमणि शर्मा चौलागाईं ।
नेपालमा डाक सेवाको इतिहास निकै लामो छ । तर, २०१९ सालमा हुलाक ऐन लागू भएपछि भने देशको डाक सेवा कानुनी परिधिभित्र बाँधिएर सञ्चालित हुँदै आएको छ । ६१ वर्षअघि हुलाक ऐन लागू भएपछि नै स्थापना भएको हो, हुलाक प्रशिक्षण केन्द्र पनि ।
हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालिम दिन स्थापना गरिएको हो, ‘हुलाक प्रशिक्षण केन्द्र’ । २०१९ साल मङ्सिर १ गते स्थापना भएको प्रशिक्षण केन्द्र सुरुमा कमलपोखरीस्थित भाडाको घरबाट सञ्चालित थियो ।
त्यसपछि प्रशिक्षण केन्द्रका लागि आफ्नो छुट्टै भवन बनाउन जग्गाको खोजी सुरु भयो । अनि त्यो खोजीले पूर्णता पायो, बबरमहलको यही परिसरमा आएर । प्रशिक्षण केन्द्रका लागि १९२२ सालमा बबरशमशेर राणासँग चार रोपनी १२ आना जग्गा खरिद गरिएको थियो ।
त्यही परिसरमा पहिलेदेखि नै उभिएको थियो, अहिले प्रशिक्षण केन्द्रको कार्यालय रहेको भवन पनि । त्यो भवनको ऐतिहासिकता भने कतैबाट पुष्टि हुन सकेको छैन । तर, त्यो भवन एक सय वर्षभन्दा पुरानो रहेको विभिन्न तथ्यले देखाएको छ ।
थुप्रै घामपानी सहेको त्यो भवन जीर्ण बन्दै गएपछि त्यहाँबाट निस्किएका इँटामा विसं १९८० लेखिएको पाइएको छ । त्यसले पनि भवनको ऐतिहासिकताले पुष्टि गर्छ ।
त्यसैले, पुरानो भवन भत्काएर त्यहाँ नयाँ शैलीको भवन निर्माण गर्ने छलफल सुरु भएपछि पुरातत्त्व विभागले समेत त्यसको अध्ययन गरेको थियो । अहिले भने पुरातत्त्व विभागले त्यहाँ नयाँ भवन निर्माण गर्न अनुमति दिएको छ ।
राणाकालमा चन्द्रशमशेरले घोडा तबेलाका रुपमा प्रयोग गरेको यो भवनबाट २०२२ साल फागुन ९ गतेदेखि हुलाक प्रशिक्षण केन्द्र सञ्चालन हुँदै आएको छ । यो ऐतिहासिक भवनले देशको हुलाक सेवामा बिर्सिनै नसकिने गुन पनि लगाएको छ ।
‘यही ऐतिहासिक भवनबाट हुलाक सेवाका हजारौँ कर्मचारीले प्रशिक्षण लिइसकेका छन् । यहीँबाट हुलाक सेवाका थुप्रै दक्ष कर्मचारी उत्पादन भएका छन् । यो भवनले नेपालको हुलाक सेवामा बिर्सिनसक्नुको गुन लगाएको छ,’ प्रशिक्षण केन्द्रका प्रशिक्षक चौलागाईं भन्छन् ।
हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको छ, हुलाक सेवा विभाग । यही हुलाक सेवा विभागले देशको हुलाक सेवालाई सञ्चालित र निर्देशित गर्दै आएको छ । विभागअन्तर्गत हाल देशभर ७० वटा जिल्ला हुलाक कार्यालय छन् ।
यसै गरी, विराटनगर, पोखरा, सुर्खेत र दिपायलमा गरी चारवटा हुलाक निर्देशनालय छन् । काठमाडौँमा गोश्वारा हुलाक छ भने आठ सय ४२ वटा इलाका हुलाक कार्यालय रहेका छन् ।
यसका अतिरिक्त देशभर तीन हजार ७४ वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् । यी कार्यालयमा हजारौँ जनशक्ति कार्यरत छन् । यी सबै जनशक्तिलाई प्रशिक्षण दिने थलो भनेकै यो प्रशिक्षण केन्द्र हो ।
अहिले आएर सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने तथा पाँचवटालाई पुनर्संरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
सोही अनुसार, अतिरिक्त हुलाक कार्यालय पनि खारेजीमा पर्ने भएको छ । फिलाटेलिक तथा टिकट व्यवस्थापन कार्यालय र केन्द्रीय धनादेश कार्यालय खारेज गरी हुलाक सेवा विभागबाट कार्य सम्पादन गरिनेछ भने जिल्ला हुलाक कार्यालय र इलाका हुलाक कार्यालयलाई पुनर्संरचना गरी एक स्थानीय तह एक हुलाकमा सीमित गरिनेछ ।
कुनै समय देशको सबैभन्दा प्रभावशाली माध्यम थियो, हुलाक सेवा । इतिहासको कुनै कालखण्डमा सूचना आदान प्रदानको निर्विकल्प माध्यम थियो, डाक सेवा । देशका दूरदराजका गाउँवस्तीमा त हुलाक सेवाको अझ बढी महत्त्व हुन्थ्यो । गाँस, बास र कपासको जोहो गर्न आफ्नो गाउँवस्तीबाट टाढिएकाहरू चिठीपत्रमा मनको वह पोखेर हुलाकमार्फत आफन्तजनलाई पठाउँथे ।
भौगोलिक रूपले समेत विकट रहेको नेपालमा त हुलाक सेवाको अझ बढी महत्त्व थियो । हप्तौँ लगाएर हुलाकीहरू कठिन बाटाहरू छिचोल्दै देश–विदेशमा रहेकाहरूको सन्चो–विसन्चोको खबर बोकेर दूरदराजका गाउँवस्तीमा पुग्थे । आफ्ना प्रियजनको खबर बोकेर आउने हुलाकीलाई देखेर निराश र हताश अनुहारहरूमा खुसीको रेखा कोरिन्थ्यो ।
वर्षौँ आफ्ना प्रियजनको अनुहार देख्न नपाउनुको पीडामा पिल्सिएकाहरू हुलाकीलाई देख्दा पनि देश—विदेशबाट कोसेली बोकेर आफन्त नै आएझैँ मिठो अनुभव गर्थे ।
सहजै अनुमान गर्न सकिन्छ, इतिहासको कुनै कालखण्डमा यो भवनले नेपाली समाजलाई कति ठुलो गुन लगाएको थियो भनेर । तर, अहिले विज्ञान र प्रविधिको द्रुततर विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ ।
विकट गाउँवस्तीसम्मै मोबाइल फोन र इन्टरनेटको सहज पहुँचले पुरानो प्रविधि (हुलाक सेवा) लाई ‘एकादेशको कथा’ बनाउने स्थितिमा पुर्याएको छ । अर्थात्, बदलिँदो समय र परिवेशसँगै हुलाक सेवामा पनि संरचनागत सुधारको आवश्यकता खट्किएको छ ।
जसरी हुलाक प्रशिक्षण केन्द्रको एक सय वर्ष लामो इतिहास बोकेको भवन जीर्ण बनेको छ, अहिले देशभित्र हुलाक सेवाको अवस्था पनि त्यस्तै दयनीय देखिन्छ । एकातिर पुरानो भवन भत्काएर नयाँ र आधुनिक शैलीको भवन निर्माण गर्नुपर्ने अवस्था छ भने अर्कोतिर पुरानो शैलीको हुलाक सेवालाई पनि समय सापेक्ष र प्रतिस्पर्धात्मक बनाउँदै लैजानु आवश्यक छ ।
‘सुरुमा भवनको अवस्था राम्रो थियो । यही भवनबाट छोटो र लामो अवधिको आवासीय तालिमसमेत सञ्चालन गरिन्थ्यो । तालिम त अहिले पनि सञ्चालन हुन्छन् तर यो भवनबाट आवासीय तालिम सञ्चालन नभएको वर्षौँ बितिसकेको छ,’ चौलागाईं भन्छन् ।
लोक सेवा आयोगबाट हुलाक सेवामा सिफारिस भएर आएका कर्मचारीहरूलाई ३० दिन लामो सेवाकालीन तालिम यही भवनबाट दिइन्छ भने अल्पकालीन अवधिका तालिम पनि सञ्चालन हुँदै आएका छन् ।
प्रशिक्षक चौलागाईंका अनुसार, हल्कारा उत्प्रेरणा, काउन्टर तथा डाक व्यवस्थापन, हुलाकी पुनरताजगी, कर्मचारी क्षमता अभिबृद्धिजस्ता छोटो अवधिका तालिम हुन् । छोटा अवधिका तालिम बढीमा सात कार्य दिनका हुन्छन् । यस्ता तालिममा सहभागीलाई पायक पर्ने स्थानमा गएर दिइँदै आएको छ । तालिम सञ्चालनका लागि हाल केन्द्रमा एक मुख्य प्रशिक्षक र तीनजना प्रशिक्षक रहेका छन् ।
भवनको अवस्था जीर्ण भएपछि अहिले परिसरभित्रै प्रि–फ्याबको संरचना निर्माण गरेर कार्यालयको काम सञ्चालन गरिँदै आएको छ । २०७० सालमा नयाँ भवन बनाउन माटो परीक्षणसमेत गरिएको थियो । तर, त्यतिबेला नयाँ भवन निर्माणको योजनाले मूर्तरुप लिन सकेन ।
सेवाग्राहीको खासै ओहोरदोहोर नहुने र हुलाकमा कार्यरत कर्मचारीमात्र बेलाबखत तालिममा सहभागी हुन आउने भएकाले पनि यो कार्यालयप्रति सम्बन्धित निकायको समेत ध्यान पुग्न नसकेको हुनुपर्छ । अत्यन्तै जीर्ण अवस्थामा पुगिसक्दा पनि नयाँ भवन निर्माण गर्नेतर्फ सरकारले चासो नदेखाउनुको पछाडि यो पनि एक कारण हो ।
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारनजिकै चार रोपनीभन्दा बढी जग्गा रहेकाले उक्त परिसरमा अन्य सरकारी निकायले समेत आँखा लगाएका थिए । नेपाल प्रहरी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतकै नेपाल दूरसञ्चार प्राधिकरणले पनि सरकारसँग त्यो जग्गा माग गर्दै आएको थियो ।
त्यसपछि २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले त भवनको अवस्था झनै दयनीय बनेको छ । अहिले भने एक सय वर्षभन्दा लामो इतिहास बोकेको पुरानो भवन भत्काएर नयाँ शैलीको भवन बनाउने योजना अन्तिम चरणमा पुगेको प्रशिक्षक चौलागाईं जनाउँछन् ।
प्रशिक्षण केन्द्रकै छेउमा रहेको सहरी विकास तथा भवन निर्माण विभागले नयाँ भवन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ । ‘नयाँ भवन बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । छिट्टै पुरानो भवन भत्काएर नयाँ भवन बनाउन सुरु गरिने छ,’ गोलागाईंले भने ।
सहरी विकास तथा भवन निर्माण विभागकी इन्जिनियर निशा केसीका अनुसार पुरानो भवन भत्काएर त्यहाँ बेसमेन्ट र भुइँतलाका अतिरिक्त साढे पाँच तले नयाँ भवन बनाइने छ । नयाँ बनाइने भवन आधुनिक शैलीको हुनेछ । हालको पुरानो भवन भने ‘एनईओ क्लासिकल’ शैलीको हो ।
प्रशिक्षण केन्द्रका प्रशिक्षक चौलागाईंका अनुसार, नयाँ भवन निर्माण भएपछि त्यहाँ हुलाक प्रशिक्षण केन्द्रका अतिरिक्त अन्य सरकारी निकायको कार्यालय पनि राखिने भएको छ । हुलाक सेवा विभाग, प्रमाणीकरण विभाग, मुद्रण विभाग र सेक्युरिटी प्रिन्टिङ प्रेसको प्रशासनिक कार्यालय पनि सोही भवनबाट सञ्चालन हुनेछ ।
पुरानो भवन भत्काइने भएपछि यतिबेला प्रशिक्षण केन्द्रका कर्मचारीहरू कार्यालयको पुस्तकालयमा रहेका पुस्तक जोगाउने अभियानमा जुटेका छन् । आवासीय तालिम दिन बन्द भएपछि कार्यालयमा रहेको कम्प्युटर प्रयोगशाला र पुस्तकालयसमेत लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका थिए ।
पुस्तकालयमा हुलाकसँग सम्बन्धित ऐतिहासिक पुस्तकसँगै अन्य विषयका पनि सयौँ महत्त्वपूर्ण पुस्तक र दस्ताबेज रहेका छन् । ती वर्षौँदेखि प्रयोगमा आएका छैनन् ।
‘पुरानो भवन भत्काइने भएपछि अहिले हामीलाई महत्त्वपूर्ण पुस्तक र दस्ताबेज जोगाउने चिन्ताले पिरोलेको छ । सबै कर्मचारी मिलेर दराजमा रहेका पुस्तक निकालेर मिलाउँदै छौँ । विभिन्न विषयमा निकै पुराना पुस्तक भेटिएका छन्,’ चौलागाईं भन्छन्, ‘हामीले भर्खर एउटा दराज खोलेका छौँ, त्यसमा भएका किताब सुरक्षित छन् । तर, अन्य दराजका पुस्तकको अवस्था कस्तो छ, अहिले नै भन्न सकिन्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय