कथा : पतन
काठमाडौँ सहरमा अलिशान घर भएका ब्रिटिस सेनाका अवकाशप्राप्त लाहुरे गुरुङलाई चिने जानेकाले कर्नेल साहेबको उपनामले चिन्दछन् । सेवानिवृत्त जीवनमा आफ्नो घरजग्गा बैंकमा धितो राखी करोडौँको ऋण लिएर आयात–निर्यातको व्यवसाय गर्दै आएका कर्नेल प्रायः आफूभन्दा आधा उमेर कान्छी श्रीमतीलाई लिएर आफ्नै बिलासी बिएमडब्लु कारमा हुइँकिरहेका भेटिन्छन्।
दानदातब्य गर्न एवं चन्दा दिन माहिर कर्नेल विभिन्न संघसंस्थामा आबद्ध हुनुका साथै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन्। धनाढ्य भएर पनि सादगी जीवनशैलीमा रम्न मन पराउने कर्नेल राजधानी सहरका एक अब्बल व्यवसायी हुनुका साथै एक प्रतिष्ठित व्यक्तित्व पनि मानिन्छन्।
खाइलाग्दा पल्टने कर्नेलसँग बेलायतमै प्रेमविवाह गरेर उनकी अर्धाङ्गिनी बनेकी गुरुङ्सेनीलाई चिन्ने जान्नेहरूले कर्नेल्नी म्याडम भनेर बोलाउँछन्। उनी बेलायतमै जन्मेर उतै पढीबढी गरेकी एक बेलायतका रैथाने लाहुरेकी एक्ली सन्तान हुन्।
सानैमा बाबुआमा गुमाएर टुहुरी बनेकी कर्नेल्नीलाई उनैकी स्वर्गवासी फुपूले लालनपालन गरी हुर्काएकी हुन्। आधुनिक पश्चिमेली पाराको जीवनशैलीमा हुर्किएकी कर्नेल्नीका दैनिकीहरू प्राय रमझममय हुन्छन्।
दौँतरीहरूसँग सिनेमा हेर्न जानु, रात्रीक्लबमा गएर डिस्को नाच्नु एवं रेस्टुरेन्टमा बियर पिएर साथीसंगीसँग होहल्ला गर्दै रमाइलो गर्नु जस्ता क्रियाकलाप कर्नेल्नीका लागि सामान्य मानिन्छन् ।
बाबुआमाको एक्लो सन्तान भएर पुल्पुलिएको सम्भ्रान्त कर्नेल दम्पतीको ठिटौलो छोरो ज्याकीको चालामाला नै बेग्लै किसिमको हुन्छ । बेलायतमै जन्मी हुर्की गरेर पुर्ख्यौली थलो नेपालमै बस्न आएको ज्याकी प्राय कलेज जान छोडेर साथीभाइसँग अल्लारिएर डुलिरहन्छ । रेस्टुरेन्ट, पब र डिस्को क्लबमा गई मस्ती गर्न सौकिन ज्याकी आफ्नो हार्ले डेविड्सन बाइक हुइँक्याउँदै टाढा टाढा घुम्न जान मन पराउँछ ।
आफ्ना शौक पुरा गर्न ज्याकीलाई कहिल्यै पनि पैसाको कमी महसुस गर्नु परेन । छोराको खुसीको लागि सम्झौता नगर्ने बाबुआमाले ज्याकीका हर इच्छा पुरा गर्न कुनै पनि कसर बाँकी राख्दैनन् ।
समय बित्दै जान्छ । बुढ्यौली उमेरमा मधुमेह र पक्षाघात भएर रुग्ण भएका कर्नेलको जोशजाँगर हराउँदै जान्छ । फलस्वरूप, उनी निष्क्रिय हुँदै जान्छन्। जवानीमा देशविदेश घुमिरहने अनि खानपिनका शौकिन कर्नेल हाल एउटी ठिटौली उमेरकी तलबी नर्सको निगरानीमा घरमै बसी आराम गर्छन्।
आफ्नो नाफामूलक ऊनजन्य उत्पादनको आयात निर्यात गर्ने व्यावसायिक फर्ममा पनि अब उनको त्यति लगाव हुँदैन। व्यापारी तथा ठुलाबडाको जमघट र भोजभतेर भइरहने कर्नेल निवासमा आजकल मानिसहरूको चहलपहल नै हुँदैन । परिवार भएर पनि बेसहारा भएका असहाय कर्नेल साख गुम्दै गएको आफ्नै निवासमा कोचिएर विगतका मिठा पलहरू सम्झी झस्किरहन्छन्।
उता अझै तरुनी देखिने कर्नेल्नी मोजमस्तीमै रमाइ रहन्छिन् । आफ्ना पाका पतिबाट आफ्ना प्राकृतिक चाहना पुरा हुन नसकेपछि कर्नेल्नी भौँतारिन पुग्छिन्। उनको आफ्नै व्यक्तिगत ड्राइभरसँग हिमचिम बढ्न थाल्छ । अनि उनले त्यो हट्टाकट्टा युवक ड्राइभरलाई रुपैयाँ पैसाले पोसेर उसैसँग अवैध सम्बन्ध राख्न थाल्छिन्।
आफ्नी जोई ड्राइभरसँग लहसिएको सुइँको पाएर पनि अनदेखा बन्न बाध्य निरीह कर्नेल भित्रभित्रै कुँडिँदै आफ्नो असक्षमतालाई धिक्कार्न थाल्छन्। बिस्तारै परिवारमा आफ्नो हैकम गुमाउँदै गएका लाचार कर्नेलको फर्ममाथि रौसे कर्नेल्नी एवम् धूर्त ड्राइभरको बोलबाला बढ्न थाल्छ।
कर्नेल्नीले ड्राइभरलाई फर्मको मेनेजर बनाउँछिन्। लालची ड्राइभरले आफ्नो कामुक मालिक्नीको लापरवाहपनको फाइदा उठाएर फर्मको आम्दानीमा ब्रम्हलुट गर्न थाल्छ ।
बाबुआमाद्वारा छोरालाई भविष्यप्रति उत्तरदायी हुन प्रोत्साहन गर्नुको साटो उल्टै उसले भनेजति फर्माइस पुरा गरिदिएको कारणले बेलगाम र गैरजिम्मेवार बनेको छोरो ज्याकीले आफ्नो बाबुको दयनीय हालत र मनोमानी गर्दै हिँड्ने आमाको बाइफालेपनबारे केही मतलब राख्दैन ।
लफंगा भएर बरालिरहने ज्याकी लागु पदार्थको दुर्व्यसनमा फँसेर हरहमेसा नशामा डुबिरहन्छ। नशालु पदार्थ किन्न आफूले लगाएको सुनको सिक्री र पियागेट ब्रान्डको महँगो घडी बेचिसकेको ज्याकीले घरमा जे भेट्यो, त्यही बेचेर आफ्नो लत पुरा गर्न थाल्छ। हेर्दाहेर्दै ऐश्वर्यताले भरिपूर्ण कर्नेल निवास भित्रभित्रै मक्किएर दिनानुदिन खोक्रो हुँदै जान्छ ।
सप्ताहव्यापी व्यापार बैठकको बहानाबाजी गर्दै कर्नेल्नी आफ्नै प्राडो गाडी र प्रेमी ड्राइभर लिएर पोखरातिर लाग्छिन् । त्यो प्रेमालीन जोडीले पोखरामा खुब मनोरञ्जन गर्छ। ज्याकी पनि आफ्ना ट्यापे साथीहरूसँग मोटरसाइकल लिएर जोमसोम घुम्न गएको हुन्छ ।
उता घरमा कर्नेललाई स्याहार गर्ने नर्स, भान्से बज्यै र नोकर कान्छो मात्रै हुन्छन् । रोगले थलिएका कर्नेललाई मडारिएर रातदिन बिस्तरामा पल्टिरहनुपर्दा पट्यार लाग्न थाल्छ । साँझपख उनलाई घरको तल्लो बार्दलीमा गएर टहल्न मन लाग्छ । उनी बिस्तराबाट उठी खुट्टा कमाउँदै तल ओर्लन खोज्छन् तर असन्तुलित भएर बैसाखीसहित सिँढीबाट तल खँदारिएर मुर्छित हुन्छन्।
सदा झैं आफ्नो ड्यूटी पुरा गरेर कोठामा आराम गरिरहेकी नर्सलाई सिँढीमा कोही लडेजस्तो भान हुन्छ । उनको मनमा चिसो पस्छ । उनी अत्तालिँदै सिँढीतर्फ कुद्छिन् अनि सिँढीको फेदमा लडेर इन्तु न चिन्तु भएका कर्नेलको हालत देखेर आत्तिँदै चिच्याउन थाल्छिन्।
‘हरे राम !,के भयो हजुरलाई, हजुर किन एक्लै सिँढीबाट तल झर्नु भएको ?’ ती नर्सले बेहोस कर्नेललाई बेस्सरी झक्झकाएर मुखमा पानी छर्किदिन्छिन् । तैपनि कर्नेल बौरिदैनन्। घरका कामदारहरूको सहयोगमा नर्सले उनलाई तत्कालै नजिकैको अस्पताल लैजान्छिन्। टाउकोमा गहिरो चोट लागेर अत्यधिक रक्तस्राव भएकाले अस्पताल पुग्ने बित्तिकै उनको मृत्यु हुन्छ।
कर्नेल मरेको खबर उनकी श्रीमती र छोरालाई फोनद्वारा जानकारी गराउने प्रयास गरिन्छ तर उनीहरूसँग सम्पर्क हुन सक्दैन। जीवनभर पुण्यकर्म गरेर सबैको मन जित्न सफल भएका दानवीर कर्नेलको अस्पताल प्राङ्गणमा राखिएको शवलाई राजनीतिज्ञ, व्यापारी एवं संघसंस्थाका प्रतिनिधि जस्ता सहरका गण्यमान्य व्यक्तिहरूले अन्तिम श्रद्धाञ्जली दिन्छन्।
मान्छे मरेको तीन दिन बितिसक्दा पनि मृतकका परिवारले लास बुझ्न नआएपछि सेवालाई धर्म मान्ने छोरी समान नर्सको अगुवाइमा अस्पताल प्रशासनले कर्नेलको शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गर्छ।
यसरी जीवनको अन्तिम घडीमा आफ्नी श्रीमती र छोरालाई एक पलक पनि हेर्न नपाएर छटपटाइरहेको कर्नेलको अतृप्त आत्मा चिताबाट मडारिएर आकाशतिर उठिरहेको धुवाँमा सवार हुँदै स्वर्गतिर महाप्रस्थान गर्छ।
आआफ्नो घुमघाम सकेर आमाछोरा टुप्लुक्क घर आइपुग्छन्। आफ्नो श्रीमान् अचानक बितेको दुःखद खबर थाहा पाउँदा कर्नेल्नी एकछिन निस्तब्ध हुन्छिन्। उनेको मनभित्र जे बिते पनि लोकाचारको खातिर मराउ पराउमा उपस्थित छिमेकीहरूका अघि पतिको शोकमा गोहीको आँसु बहाउँदै बिलौना गर्न थाल्छिन्।
आफ्नो मालिक बितेको दुःखद घडीमा ड्राइभरले पनि शोकाकुल भएको नाटक गर्दै उसैलाई हेरिरहेकी कर्नेल्नीलाई पुलुक्क हेर्छ। दुबैका नाटके शोकाकुल अनुहारहरू अचानक अर्ध–लुप्त खुसीमा परिवर्तित हुन्छन्।
आफ्नो बीचको तगारो आफैँ पन्सिएपछि दुबैले मनका लड्डु घिउसँग खान थाल्छन्। यता बाबु गुमाएको ज्याकी पनि ज्यादै दुःखी हुँदै भित्तामा टाँगिएको बाबुको फोटो हेर्दै भक्कानिएर रुन थाल्छ। गुरुङ संस्कारबमोजिम आमाछोराले स्वर्गीय कर्नेलको काजक्रिया विधिपूर्वक सम्पन्न गर्छन्।
कर्नेल बितेको पनि वर्ष दिन पुग्छ। कर्नेल्नीका विश्वासपात्र भनाउँदो ठग ड्राइभरले फर्मको आम्दानीमा गर्ने गरेको आर्थिक हिनामिनाका साथै कर्नेल्नीको असीमित फजुल खर्चको कारणले गर्दा फर्म नै धरासायी बन्छ। फर्मले बैंकलाई बुझाउनु पर्ने नियमित मासिक किस्ता बुझाउनु त परै जाओस्, आफ्ना कर्मचारीलाई तलब पनि दिन सक्दैन। अन्ततः कुनै बेलाको नामी फर्म टाट पल्टिन पुग्छ।
फर्मको गोदामलाई धरी शिलबन्दी गरेको बैंकले कर्नेलको घरलाई पनि लिलामी गरेर आफ्नो लगानी असुलउपर गर्छ। कर्नेल्नी र ज्याकी बेघर हुन पुग्छन्। खाना र आश्रयका खातिर खर्चिला आमा छोराले बाँकी जायजेथामध्ये बेच्न शेष रहेका दुईवटा गाडी र एउटा मोटरसाइकल पनि बेच्छन् । अनि, त्यसबाट आएको पैसा पनि वर्ष दिन नपुग्दै खर्च गरिसक्छन्।
बिन्दास कर्नेल्नीको भरोसामाथि कुठाराघात गर्दै करोडौँ कुम्ल्याएको कृतघ्न ड्राइभर अन्ततः सुकुम्वासी बनेकी कर्नेल्नीको साथ छोडेर त्यो रंगीन शहरबाट पलायन हुन्छ।
बेखर्ची बनेर पाटीमा बास बसिरहेका आमाछोरालाई लिलामीमा उनीहरूकै घर सखार्ने एक दयालु ब्यक्तिले देख्छन् र उनीहरूलाई आफ्नो घरमा लगी आश्रय दिन्छन्। नियतिको खेलमा हारेका आमाछोरा आफू नोकर बस्न बाध्य महलको भित्तामा कुँदिएको स्वर्गीय कर्नेलको अमिट तस्विर हेर्दै पश्चातापको आँसु बहाइरहन्छन्।
सुनिन्छ, आजकल कर्नेल्नी र ज्याकी अतितमा आफूले ढलिमली गरेको त्यही घरमा भान्से र मालीको काम गर्छन् रे। त्यस्तै आर्थिक घोटाला र परस्त्री गमनको अभियोगमा पक्राउ परेको ड्राइभर पनि जेलमा चक्की पिस्दैछ रे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको