रोपाइँको औपचारिकतामै रमाए नेताहरु
काठमाडौँ । आज २० औं राष्ट्रिय धान दिवस । ‘मानो रोपेर मुरी फलाउने’ भन्दै कृषकहरु धान रोप्न व्यस्त देखिन्छन् ।
किसानलाई धान रोप्ने चटारो स्वाभाविक पनि हो । तर, पछिल्ला केही वर्षमा धान दिवसका नाममा ठूला नेताहरु नै कृषकका खेतमा पुगेर धान रोपेकोजस्तो देखिन्छ ।
सकारात्मक रुपमा सोच्ने हो भने नेताहरुले कृषकका खेतमा कार्यकर्तासहित पुगी धान रोप्दा कृषकलाई हौसला प्रदान पनि गरेको छ । तर, बर्सेनि मलको हाहाकार र त्योसँगै अर्बौंको धान आयात हुने आँकडा हेर्दा नेताहरु खेतमा पुगेर धान रोप्ने दृश्यले कृषकलाई गिज्याए जस्तो भान हुन्छ ।
राष्ट्रिय धान दिवसकै अवसरमा शुक्रबार कृषि मन्त्री बेदुराम भुसाल ललितपुरको खुमलटार पुगेर धान रोपे । विभागीय मन्त्रीका हिसाबले औपचारिक कार्यक्रममा सहभागी हुनु स्वाभाविक भए पनि यस्ता कार्यक्रम धान उत्पादन वृद्धिका लागि कति सार्थक हुन्छ भन्नेबारे आम रुपमा प्रश्न उठिरहेको छ ।
नेपालमा अझै पनि यस्ता धेरै जमिन छन्, जहाँ सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भरमा बाली उब्जनी गर्नुपर्ने अवस्था छ । पानी, बिउ, मल, कृषि औजार र रोपार (धान रोप्ने व्यक्ति) एउटै थलोमा राखेर कृषि मन्त्रीले धान रोप्दाको अवस्था र मलसँगै बिउविजन र सिँचाइको सुविधाबाट वञ्चित कृषकहरुसँग तुलना गर्दा सरकारले मनाउँदै आएको धान दिवस कार्यक्रमले सरकारलाई नै गिज्याइरहेको त छैन भन्ने प्रश्न खडा हुन्छ ।
सरकारले त धान दिवस मनायो । तर, सरकारकै नेतृत्वमा पुगेर पनि कृषकका समस्या समाधान गर्न नसकेका केही उच्चपदस्थ नेताहरुले समेत कार्यकर्ताको लहडमा लागेर धान दिवसका नाममा गरेका गतिविधि आफैँमा अपाच्य देखिन्छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर धान रोपे । श्रीमती राधिका शाक्यलाई समेत लिएर चितवन पुगेका ओली सुविधासम्पन्न खेतमा पुगेर रोपाइँमा सहभागी बने । उनलाई असजिलो भएको जस्तो गरी सहयोगीले समातिरहेको दृश्य तस्बिरमा देखिन्छ । प्रधानमन्त्री भइसकेका नेता खेतमा रोपाइँ गर्न जाने कि आफू पदमा भएका बेला कृषकका समस्या समाधानका लागि केन्द्रित हुने भन्ने प्रश्न खडा हुन्छ ।
कृषिमै क्रान्ति ल्याउनुपर्छ भनेर जनयुद्धमा होमिएका नेत्र विक्रम चन्द ‘विप्लव’ले कपिल्वस्तुमा रोपाइँ गरे । पार्टीको केन्द्रले सुनसरी, सिन्धुली, बर्दिया, चितवन, कपिलवस्तु र सल्यान गरी ४० बिगाहामा आज रोपाइँ गरेको जनाइएको छ । जिल्ला र अन्य कार्यालयले ६० विभिन्न जिल्लाका ६० बिगाहा जमिनमा रोपाइँ गर्ने उद्घोष गरेका छन् ।
विज्ञहरुले नेपालमा धान उत्पादन योग्य अझै हजारौँ बिगाहा जमिन बाँझै रहेको बताउँछन् । यसका पछाडि सरकारले कृषकका खेतमा सिँचाइको व्यवस्था नगर्नु र बेलैमा मलको व्यवस्था नहुनु हो । धान विज्ञ डा. भव त्रिपाठी कृषकलाई चेतना अभिवृद्धि र कृषकमा लगाव बढाउन सरकार र नेताहरुले खेतखेतमा गएर रोपाइँ गरे पनि यस्ता गतिविधिले धानको उत्पादन नबढ्ने बताउँछन् ।
‘धानलाई पहिला चाहिने सिँचाइ, दोस्रोमा मल, तेस्रोमा उन्नत बिउ, चौथोमा झारपात नियन्त्रण र पाँचौं भनेको यान्त्रिक वस्तु हो,’ डा. त्रिपाठीले रातोपाटीसँग भने, ‘सरकारले जबसम्म चैते धान उत्पादन गर्न किसानलाई स्रोत सुविधा सम्पन्न गराउँदैन, तबसम्म धान आयात रोकिँदैन ।’
उनले सिँचाइका दुई ठूला प्रोजेक्टहरु सुनकोशी–मरिन डाईभर्सन र भेरी–बबई डाईभर्सन नबनेसम्म धान लगायत कृषि उत्पादनमा नेपाल अघि नबढ्ने भएकाले सरकारलाई रोपाइँको नाटक गर्नुभन्दा यी प्रोजेक्टलाई समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन सुझाए । त्रिपाठीका अनुसार चैते धानमात्रै एक लाख ५० हजार हेक्टर जमिनमा लगाउन सकियो भने पनि धानको आयातमा कमी आउने छ ।
अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले सरकारले कृषि यान्त्रिकरणमा पनि जोड दिनुपर्ने बताउँछन् त्रिपाठी ।
अर्का धान विज्ञ केके मिश्रले सरकारले कृषकलाई समयमै मल र सिँचाइसँगै कृषि औजारहरु व्यवस्थापन गर्ने हो भने केही वर्षमै सरकारले धान निर्यात गर्ने बताउँछन् । उनले भने, ‘धान दिवस एउटा पर्व हो, त्यसलाई अन्यथा नलिऊँ तर, उत्पादन बढ्दा पनि किन धान आयात भइरहेको छ भन्ने नै मूल प्रश्न हो ।’
उनले यसका लागि सरकार र राजनीतिक दलको नेतृत्व समवेदनशील हुनुपर्ने बताए ।
कहिले कति उत्पादन
२०७९/०८० – ५४८६४७२ मेट्रिक टन
२०७८/०७९ – ५१३०६३५ मेट्रिक टन
२०७७/०७८ – ५६२१००० मेट्रिक टन
२०७५/०७६ – ५६१०००० मेट्रिक टन
२०७४/०७५ – ५१५१००० मेट्रिक टन
२०७३/०७४ – ५२३०३२७ मेट्रिक टन
२०७२/०७३ – ४२९९०७८ मेट्रिक टन
धान आयातको अवस्था
२०७३/०७४ – १६३३०२ मेट्रिक टन (४ अर्ब २८ करोड रुपैयाँ बराबर )
२०७४/०७५–२१५०५१ मेट्रिक टन (५ अर्ब ९७ करोड बराबर)
२०७५/०७६–२३५१६८ मेट्रिक टन (६ अर्ब ८५ करोड बराबर)
२०७६/०७७–३४८३३६ मेट्रिक टन (१० अर्ब ४८ करोड बराबर)
२०७७/०७८–६९८०६२ मेट्रिक टन ( १९ अर्ब ५५ करोड)
२०७८/०७९–७०८३६५ मेट्रिक टन २१ अर्ब ९७ करोड बराबर )
२०७९/०८०–५५८००० मेट्रिक टन (१५ अर्ब)
बर्सेनि फेरिँदै नारा
०७९–‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’
०७८–‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’
२०७७–‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’
२०७६–‘धान खेतीमा प्रविधि र यांत्रिकीकरण चामल आयातमा न्यूनीकरण ’
२०७५–‘धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि’
२०७४–‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’
२०७३–‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’