‘धान दिवस’ मनाइयो : किसानका पीडा उस्तै

मकवानपुर । असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै गर्दा पनि किसानहरूको मुहारमा भने चमक आउन सकेको छैन ।
सरकारले धानको उत्पादन बढाउन भन्दै औपचारिक रूपमा असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालेका २ दशक पुरा भइसेकको छ । तर यो अवधिमा धान उत्पादन भने बढ्न सकेको छैन ।
प्रयाप्त मात्रामा वर्षा नहुँदा किसानका खेतका गह्रा सुख्खा छन् । रोपाइँ धमाधम सुरु गर्ने बेलामा किसानहरु मल र सिँचाइको अभाव भोगिरहेका छन् ।
‘पानी नपर्दा रोपाइँ हुन सकेको छैन । सिँचाइको सुविधा नहुँदा समस्या भएको छ,’ हेटौंडा–१८ राजदेवीकी मन श्रेष्ठ भन्छिन्, ‘बजारमा मल लिन लाइनमा बस्नु पर्छ । दिनभरि लाइनमा बस्यो ५ किलो मल दिन्छन् । एक विगहा खेत रोप्नु छ, ५ किलो मलले के गर्नु ।’
त्यस्तै, मकवानपुरगढी गाउँपालिका–५ का धनबहादुर घिमिरे पनि खेत रोप्ने समयमा मल नपाएको गुनासो गर्छन् ।
पछिल्लो समय खेतीपातीबाट जीविकोपार्जन गर्न समस्या भइरहेको उनको अनुभव छ । खेती लगाउने समयमा मल, बिउँ, औषधी पाउन मुस्किल छ । अन्न उत्पादन भइसकेपछि बिक्रीका लागि उपयुक्त स्थान नहुँदा सस्तो मूल्यमा बेच्न बाध्य हुनु परेको उनले बताए ।
हेटौंडा–१७ की राधिका श्रेष्ठले किसानहरुको लागि सरकारले केही गर्न नसकेको बताइन् । उनले गुनासोसहित प्रश्न गरिन्, ‘हामी किनेर हाल्छौ भन्दा त मल पाउँदैनौ भने किसानले के गरेर खाने हो ?’ बारीको मकैमा हाल्ने बेलामा एक हजार रुपैयाँको मललाई २२ सय तिर्नु परेको, धानको बीउ पनि ५५० रुपैयाँ किलोमा किन्नु परेको उनको गुनासो छ ।
मकवानपुरगढी समारीका बलराम घिमिरेको पीडा पनि उस्तै छ । समयमा नै डिएपी मल नपाउँदा उनी बिना मल नै रोपाइँ गर्दै थिए ।
हेटौंडाकी मानकुमारी श्रेष्ठले बजारमा गुणस्तरीय मल र बीउ पाउन गाह्रो हुने गरेको बताइन् । महँगो मूल्यमा बीज भण्डारबाट किनेर ल्याएको २ किलो धानको बीउ नउम्रिँदा रोपाइँ गर्नै समस्या भएको उनको भनाई छ ।
किसानलाई रोपाइँमा सजिलो, लागत कम र उत्पादकत्व बढाउने उद्देश्य अनुरुप सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा प्रविधि र कृषि यन्त्रिकरणको योजना ल्याउने गरेको छ । तर, मुख्यबाली धान रोप्ने बेलामा किसानले न मल पाउँछन्, न सिँचाई, न कृषि उपकरण र यन्त्रहरु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा