जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सह्य हुँदैन : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन् ।
शुक्रबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिचानको नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताइन् ।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीबार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताइन् । उनले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताइन् । केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै उनले नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने बताइन् ।
उनले भनिन्, ‘पहिचानको नामकरणको विषयलाई लिएर तत्कालिन प्रदेश नम्बर १, र अहिलेको कोशी प्रदेशका विषयमा जसरी बाहिर कुराहरु उठे, घटना भयो, त्यतिमात्रै होइन, आन्दोलनका क्रममा एक जनाको ज्यानसमेत गयो । प्रधानमन्त्रीज्युले बालुवाटार बोलाएर यस्ता आन्दोलन नगर्न पनि आग्रह गर्नुभयो । तर पछिल्ला केही दिनमा यस्ता गतिविधि आइरहेका छन् । यसमा मेरो के भन्नु छ भने सरकारको तर्फबाट भन्दा कसैले पनि लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्ष पोषण गर्न पाउँछ, आफ्नो ठाउँमा छ तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्नेकुरा राम्रो कुरा होइन । त्यो गर्नु हुँदैन । अराजकतामा जानु हुँदैन, प्रदेशका मुख्यमन्त्री, सांसदहरुसँग छलफल गर्नुपर्छ । यसको निकास खोज्ने कुरामा हामी गम्भीर छौँ ।’
मन्त्री शर्माले ठूला वा सानाभन्दा पनि सरकारले अनियमितता गर्ने व्यक्तिलाई नछोड्ने बताइन् । उनले भ्रष्टाचारका घटनामा प्रमाण पुगेपछि घटनामा संलग्न दोषी नउम्किने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला