बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : असार १५

जलवायु परिवर्तन र धानको खाद्यसत्तामा सङ्कट

जलवायुको जोखिमसँग जुध्न सक्ने नेपालका धेरै खालका बिउ लोप भए
शुक्रबार, १५ असार २०८०, ०६ : ५६
शुक्रबार, १५ असार २०८०

आज असार १५ । हरेक वर्ष उत्पादन, उत्पादकत्वलाई प्रोत्साहन गर्न र किसानको मनोबल उच्च बनाई श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले २०६१ सालदेखि असार १५ गते धान दिवस मनाउँदै आएको छ । सधैँ झैँ यो वर्ष पनि धान दिवस हर्षाेल्लासका साथ मनाइँदै छ ।

किसानले मानो खाएर मुरी उब्जाउने महिना असारमा खेतमा रोपाइँ गरी दही चिउरा खाने दिनलाई सरकारले राष्ट्रिय धान दिवस भनेर घोषणा गरेको हो । घोषणा भएयता कृषि मन्त्रीको अनैतिक हर्कतले होस् या गमलामा धान रोपेको विषयले होस् धान दिवस निकै चर्चामा रहने गरेको छ । यो वर्ष सरकाले धान दिवस मनाउन ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सार्वजनिक गरेको छ । यही वर्ष लामो हिउँदे खडेरी झेलेका किसानलाई पर्याप्त पानीको अभावले धानको बिउ राख्न र जोगाउनै सकस परेको छ । अघिल्लो वर्ष धान भित्र्याउनै लाग्दा बाढीले धान नष्ट गरेको चोट भरिइसकेको छैन । 

धान नेपालको मुख्य खाद्य बाली हो । नेपालमा करिब १४ लाख ७३ हजार हेक्टर जमिनमा धान खेती गरिन्छ । कुल खेती गरिएको जमिनको ४७.६६ प्रतिशत हिस्सा ओगटेको धानको क्षेत्र खाद्य बालीमध्येको सबैभन्दा बढी हो । धान नेपालको मात्र नभएर विश्वको आधा जनसङ्ख्या र एसिया महाद्वीपका बहुसङ्ख्यक मानिसको प्रमुख खाद्य बाली हो । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको हिस्सा २५.८३ रहेको छ भने कृषिको हिस्सामध्ये २० प्रतिशत धानले मात्र ओगटेको छ । यसरी हेर्दा हाम्रो देशको अर्थतन्त्र पनि केही हदसम्म धान उत्पादनसँग जोडिएको देखिन्छ । हरित क्रान्तिको विकाससँगै विकसित डिजिओ जिनको विकासले छोटो र वर्णसङ्कर धानको प्रयोग र प्रसारमा वृद्धि आयो । त्यसयता उल्लेखनीय रूपमा नभए पनि नेपालको धानको उत्पादकत्व केही बढेको पाइन्छ । पछिल्लो वर्ष नेपालमा धानको उत्पादकत्व ३.८१ टन प्रतिहेक्टर रहेको छ । जुन छिमेकी देशहरूको भन्दा तुलनात्मक रूपमा कम नै हो । 

धानको उत्पादनमा केही वृद्धि भए पनि आर्थिक वर्ष २०३९–४० यता नेपालले धान आयात गरिरहेको छ । धान आयातको मात्रा हरेक वर्ष बढ्दै गहिरहेको छ । पछिल्लो ५० वर्षमा धानको उत्पादन दोब्बरले बढे पनि पछिल्लो १३ वर्षमा नै आयात दोब्बर भएको छ । यो आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै नेपालले ३० अर्ब बराबरको धान र चामल आयात गरेको छ । 

यो तथ्याङ्क हेर्दा कृषि प्रधान भनेर चिनिने देशले आफूले उत्पादन गर्ने प्रमुख बाली धानको चामल नै प्रतिदिन ११ करोड रुपियाँको आयात गरेको देखिन्छ । यसरी आयात र उत्पादन दुवैको वृद्धि हुनको कारण बढिरहेको जनसङ्ख्या मात्रै एकल हैन । हाम्रो भान्सामा वृद्धि भएको चामल र यसका परिकारहरूको प्रयोग पनि हो ।

विविध राजनीतिक परिवर्तनसँगै हाम्रो देशमा प्रजातन्त्र, लोकतन्त्रको स्थापना र विकास भयो । संविधानमै स्वतन्त्र, अविराज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा चिनारी दिइएको देशको भान्सा भने निरङ्कुश र अलोकतान्त्रिक बन्दै गहिरहेको छ । गहुँ, मकै, कोदो, फापर, उवा लगायत स्वउत्पादित खाद्यान्नहरू मिलाई मिलाई पाक्ने भान्साहरूमा अहिले  धान, चामल र चामलजन्य उत्पादनको रजगज छ । नेपालमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण हरेक गाउँगाउँमा चामल पुगेको छ । 

नेपालको माथिल्लो पहाडी र हिमाली क्षेत्रमा धानको उत्पादन हुँदैन । केही दशक अगाडिसम्म भान्सामा कोदोजन्य बाली, जौ, फापर, उवा, आलु उपस्थिति हुने गरेका ठाउँमा पनि समयक्रमसँगै त्यहाँको भान्सामा पनि चामलको सत्ता चल्न थालेको छ । खच्चडलाई बोकाएर होस् या आफैँले बोकेर, भोकमरी लाग्ने क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर चडेर होस् या हवाइजहाज चडेर चामल अहिले दुरदराजसम्म पुगेको छ । सामाजिक रूपमा चामलसँग वर्ग जोडिएकाले पनि भान्सामा चामलको उपयोग बढेको पाइन्छ । ग्रामीण समाजमा धान फल्ने खेतलाई सम्पन्नताको परिपूरकका रूपमा लिने गरिन्थ्यो भने धानलाई कुलीन वर्गको खाद्यान्न । यसैले भात खाने प्रचलन खाद्यान्नको कुलीन वर्गीय खाद्य प्रचलनका रूपमा विकसित भयो । अहिले स्टिम गरेको चामल महिनौँ लगाएर भारतबाट ओलाङ्चुङगोला र डोल्पो पुग्दै छ । यसले हाम्रो खाद्य सम्प्रभुता निरन्तर जोखिममा परेको छ । त्यहाँका स्थानीयको पोषण सन्तुलन र मानव स्वास्थ्यमा प्रतिकूल असर पनि परेको छ । बढ्दो आयात, धराशायी खाद्य लोकतन्त्र र पोषणसँगै जलवायु परिवर्तले बढ्दो धान उत्पादन र उपभोगको यो प्रणालीमा थप ठुलो सङ्कट थपेको छ । 

धानको उत्पादन तापक्रम, प्रकाशसँगै पानीको उपलब्धता र गुणस्तरसँग धेरै निर्भर रहन्छ । धानको उत्पादकत्व वृद्धिका लागि समयमै मनसुन सुरु हुनु, टिलरिङ हुनेबेला पानी हुनु, गेडामा दूध पस्ने बेलामा पानी हुनु र धान भित्र्याउने बेला पानी नपर्नु आवश्यक हुन्छ । हाम्रो जस्तो पर्याप्त र वर्षैभरि सिँचाइको सुविधा नभएको देशमा झन् मनसुन ठिक समयमा हुनु, बेला बेला हल्का वर्षा हुनु र माटोमा चिस्यान भइरहनु धेरै आवश्यक हुन्छ । जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मनसुन समयमा नहुने, हिउँदमा लामो समय खडेरी हुने, एकैचोटि भारी वर्षा हुनेजस्ता समस्या नेपाली किसानले भोग्दै आइरहेका छन् । यसै वर्ष हिउँदमा परेको लामो खडेरी र मनसुनको ढिलाइले कतिपय किसानले धानको बिउसम्म जोगाउन सकेका छैनन् र धेरैजसो क्षेत्रमा रोपाइँ हुन सकेको छैन । विज्ञहरूले यो वर्ष ४० प्रतिशत कम पानी पर्ने आकलन गरेका छन् । त्यसको प्रत्यक्ष असर धानको उत्पादनमा पर्ने देखिन्छ । 

नेपालमा पानीको मुख्य स्रोत भनेकै हिमशृङ्खला, जमिनको सतहमुनि भएको संरक्षित पानी, बङ्गालको खाडीबाट प्रवेश गर्ने बादल र स्थानीय रूपमा निर्माण हुने बादल नै हुन् । पछिल्लो समय बढेको अव्यवस्थित बसोबास र कङ्क्रिटको अत्यधिक प्रयोगले स्थानीय रूपमा बादल निर्माण हुने क्रम ढिला भएको छ भने जथाभावी जमिनमुनिको पानीको प्रयोग र पानी सञ्चित हुने क्षेत्रको विनाशले जमिनको सतहमुनि भएको पानी सकिँदै गहिरहेको छ । एक अध्ययन अनुसार २०१५ मा भएको पेरिस सम्झौता अनुरूप विश्वको औसत तापक्रम वृद्धिदर १.५ मा मात्र सीमित हुने हो भने पनि नेपालले अहिले भएको एक तिहाइ हिउँ गुमाउने छ भने ४० भन्दा बढी हिमताल विस्फोटको नजिक पुग्ने छन् । यसले अहिले भएको आधा पानीको स्रोत गुम्ने जोखिम देखिन्छ । 

पानीको चरम अभावसँगै बढ्दो तापक्रमले जमिनमा भएको पानीको तापक्रममा वृद्धि, रोग किराको प्रकोपमा वृद्धि र लामो खडेरीलाई सघाउने निश्चित छ । यसले हाम्रो प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा धेरै गिरावट आउने सम्भावनालाई नकार्न सकिँदैन । यो वर्ष सरकारले धान दिवस मनाउन ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको छ । तर नारा अनुरूपमा कुनै कार्यक्रमहरू घोषणा भएको पाइन्न । जताभाबी रसायन र विषादिको प्रयोगले माटोको उर्वराशक्ति त घटाएको छ नै माटोको पानी सोच्ने शक्ति र चिस्यान जोगाउने शक्तिमा पनि भारी गिरावट ल्याएको छ । उत्पादकत्वलाई मात्र केन्द्रमा राखेर बनाइएका आधुनिकीरण, यान्त्रिकीकरण, बिउ प्रतिस्थापन जस्ता कार्यक्रमले जलवायु अनुकूलन क्षमतालाई ह्रास गर्दै गहिरहेको छ । अहिले प्रायजसो क्षेत्रमा चिनियाँ र भारतीय वर्णसङ्कर बिउको उपयोग बढी रहेको छ भने सरकारले पनि जनदबाब भन्दै प्रायः बिउहरूलाई सूचीकृत गरिसकेको छ । यसले गर्दा हामीसँग भएका रैथाने र जलवायुको जोखिमसँग जुध्न सक्ने धेरै खालका बालीका बिउहरू गुमाइसकेको छौँ । बाँकी रहेका बिउहरू गुमाउने क्रममा छौँ । यसले एकातर्फ परनिर्भता बढाइरहेको छ भने अर्काेतर्फ जलवायु परिवर्तनको जोखिम पनि बढाइरहेको छ । 

यसरी यो वा त्यो रूपमा हामी खाद्य सङ्कटको जोखिममा होमिँदैँ छौँ । जलवायु अनुकूलनलाई नारामा मात्र सीमित नराखी हाम्रो बारीदेखि भान्सासम्म उत्पादन र उपभोगको पुरानो लोकतन्त्रलाई फर्काउनुपर्छ । हामीसँग भएको स्थानीय धानका स्रोतहरूको संरक्षण, गुणस्तर र उपयोग बढाउन आवश्यक छ । साथै माटोको संरक्षण गर्न जैविक खेती अवलम्बन गर्न अत्यावश्यक छ । पानीका स्रोतहरूको संरक्षण गर्ने, जमिनमुनि धेरैभन्दा धेरै पानी सङ्कलन गर्न पोखरी र चुरे क्षेत्रमा वृक्षरोपण गर्ने र धानको उपभोग सकेसम्म कम गर्ने हो भने मात्र हामीकहाँ आउन लागेको खाद्य सङ्कट टार्न सक्छौँ । हैन भने जलवायु परिवर्तनले धान र धानको खाद्यसत्तालाई सङ्कट पारेसँगै हामीसँग ठुलो खाद्य सङ्कटको सामना गर्न तयार हुनुको विकल्प हुने छैन । 

लेखक कृषि प्रसारका विद्यार्थी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपेश नेपाल
दिपेश नेपाल
लेखकबाट थप