आज २०८० असार १४ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
एसईईको नतिजा अन्तिम चरणमा
शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।
समलिंगी विवाह
बुधबार सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएसँगै दक्षिण एसियामा समलिङ्गी विवाहले वैधता पाउने नेपाल पहिलो राष्ट्र बनेको छ । नेपालमा समलिङ्गी विवाहलाई सर्वोच्च अदालतले पहिलो पटक कानुनी मान्यता दिएसँगै एसियामा दोस्रो राष्ट्र र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको हो । एसियाली देशहरुमध्ये ताइवानले पनि समलिङ्गी विवाहलाई मान्यता दिइसकेको छ ।
योगेश भट्टराईमाथि आक्रमणको प्रयास
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए ।
विद्यालय कर्मचारी वार्ता
विद्यालय कर्मचारी र सरकारबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन । विद्यालय कर्मचारीहरूले उठान गरेका माग सम्बोधन गर्न सरकार अनइच्छुक देखिएको छ भने कर्मचारीहरू माग सम्बोधन नभएसम्म नफर्किने अडानमा छन् । जसले गर्दा वार्ताले सार्थकता पाउन सकेको छैन । सेवा सुरक्षा ग्यारेन्टी लगायतका माग अघि सारेर देशभरका सामुदायिक विद्यालयका कर्मचारीहरू गत जेठ २० गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा छन् ।
कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी
०७० चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेसँगै विदुर नगरपालिकास्थित खम्बाली क्याम्पमा कारागार बनाउन सुरु भयो । सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउन सुरु गरिएकोमा अहिलेसम्म प्रथम चरणको मात्रै कार्य सम्पन्न भएको छ ।
कर्णालीको बजेट विवादमा
बजेट संशोधन लगायतका विभिन्न माग राखेर कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार संसद अवरुद्ध गरेको छ । प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका थियो । तर, सदन सुरु भए लगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैतृक सम्पत्ति’ बाँडे जसरी बाँडिएको भन्दै संशोधन गर्न माग राखे ।
सम्भव छ एनआरएनए मन्त्रालय ?
संवैधानिक व्यवस्थाअनुसार सङ्घमा मन्त्रिपरिषद्को सङ्ख्या २५ बाट बढाउन नपाइने नियम छ । सोहीअनुसार मन्त्रिपरिषद् गठन, विस्तार र पूर्णता दिने प्रचलन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ पटक मन्त्रिपरिषद् विस्तार गरेर आफ्नो २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने काम गत जेठ ९ गते गरेका थिए ।
शिक्षा क्षेत्रको सुधार
काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित भएसँगै बालेन्द्र शाह शिक्षा क्षेत्रको सुधारबारे निकै चासो राखे । यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा उनी निकै चिन्तित थिए । यसका लागि मेयर शाहले सुधारका हरेक कार्य अगाडि बढाउन तत्परता देखाएका हुन् । सोही आधारमा अहिले शिक्षा क्षेत्रमा नतिजा देखिन थालेको छ । यसका पछाडि मेयर शाहमात्र नभई उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा विभाग, वडाअध्यक्षहरू लगायत सिंगो महानगर एकजुट भएको छ ।
यातायात व्यवसायीको आन्दोलन
यातायात व्यवसायी तथा चालकहरुले सवारी साधनसहित प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गरेका हुन् ।
बकर इद
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
प्रतिक्रिया