आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
विचार

उपनिवेश अभ्यास : समुद्र र संस्कृतिका माध्यमबाट साम्राज्य

बिहीबार, १४ असार २०८०, १७ : १९
बिहीबार, १४ असार २०८०

उपनिवेशसँग सम्बन्धित गतिविधिको लामो इतिहास छ । अहिले हामीसँग विशेषतः युरोपेली उपनिवेशका आर्थिक, सामाजिक अनि सांस्कृतिक आयाम बुझ्न प्रयत्न गरिएका थुप्रै सामग्री छन् । उपनिवेश र साम्राज्य एक अर्कासँग नजिकैको सम्बन्ध राख्ने शब्द हुन् । यी दुवै शब्दले शक्तिशाली मुलुकले कमजोर मानिएका मुलुकमाथि कुनै पनि प्रयत्नद्वारा नियन्त्रण राखिरहने प्रक्रिया र अभ्यासलाई जनाउँछन् । 

शक्तिशाली मुलुकका शासक र तिनका संयन्त्र एक वा अनेक सञ्जालद्वारा निर्देशित भई अन्य मुलुकमाथि शोषण र आधिपत्यका जन्जिर बाँधिरहेका हुन्छन् । साम्राज्यहरू आधुनिक इतिहास सुरु हुनुभन्दा अगाडि पनि प्रशस्त मात्रामा खडा गरिएका थिए । 

खासगरी आर्थिक र व्यापारिक महत्त्वाकाङ्क्षाका कारण आफ्नो मुलुकको सीमाभन्दा बाहिर भौगोलिक एकीकरण र आर्थिक लाभका निमित्त सैनिक शक्ति परिचालन गरी अन्य भूगोलको जमिन हडप्न केन्द्रीय शासकलाई प्रेरित गर्थ्यो । यो प्रेरणा सामन्तवादकालीन सैन्य सुदृढीकरण हुँदा ज्यादा मुखरित भएको थियो । रोमन साम्राज्य, मङ्गोलियन साम्राज्य, पर्सियन साम्राज्य, इजिप्सियन साम्राज्य आदि यस्ता राज्यका उदाहरण हुन् । यिनै राज्यको आधिपत्य कायम रहेका बेला धार्मिक र सांस्कृतिक मूल्य पद्धतिमा कठोरता ल्याउन आवश्यक भएको हुँदा धार्मिक जटिलता र सांस्कृतिक मूल्य प्रणालीको व्यापकतालाई विशेष जोड दिइएको थियो । 

तिनै साम्राज्यहरू विस्तारकै क्रममा ‘कोलोनाइजर’ र ‘कोलोनाइज्ड’को सांस्कृतिक भिन्नताको पहिचान हुन गई ऊँच र नीच संस्कृतिको अवधारणात्मक वस्तु निर्माण भएको थियो । यही समयमा सांस्कृतिक पुनर्परिभाषा र नवीकरण व्यापक मात्रामा भएको थियो । 

वास्तवमा पराधीन मुलुकका मानिसले आफ्नो संस्कृतिलाई हृदयदेखि नीच र तुच्छ संस्कृतिको रूपमा लिने मनोविज्ञान निर्माण गरिएको थियो । पराधीन मुलुकका मानिसले आफ्ना सांस्कृतिक अभ्यासलाई विजेता मुलुकको मापदण्डका आधारमा हेर्ने बाह्य दृष्टिकोण निर्माण गर्न थालेका थिए । 

साम्राज्यवादको स्थापनाका सिलसिलामा स्थापित भएको भाष्य नै उपनिवेशवादी संस्कृति निर्माणको पहिलो विजय यात्राको कसौटी बनेको थियो । आधुनिक युरोपेली उपनिवेशवादको सक्कली मुहार प्रकट भएपछि ‘कोलोनाइजर’ र ‘कोलोनाइज्ड’हरूबीचको अतिरिक्त भिन्नता जातीय र लैङ्गिक अनि सघन रूपमा कलर र जातीय श्रेष्ठताका आधारमा अझै घनीभूत भएको थियो । 

वास्तवमा पुराना साम्राज्यवादी शक्तिहरू भौगोलिक महत्त्वाकांक्षाबाट बढी प्रेरित थिए भने आधुनिक युरोपेली साम्राज्यवादी शक्तिहरू तीव्र गतिमा उपनिवेश निर्माण गर्ने सांस्कृतिक महत्त्वकांक्षाबाट प्रेरित थिए । पुराना साम्राज्यवादी शक्तिहरू मूलतः सामन्तवादी सोपान तन्त्रलाई निरन्तरता दिने गैरपुँजीवादी शक्तिको वकालत गर्दथे ।

युरोपेली उपनिवेशवाद अचाक्ली नश्लीय ढाँचामा स्थापना भएको देखिन्छ र कथित आधुनिक भनिएको उपनिवेशवादले पनि वर्ण रङ र नश्ललाई नै ज्यादा प्राथमिकता दिएको थियो । १५औँ शताब्दीबाट सुरु भएको युरोपेली उपनिवेशवाद आफैँमा एउटा अनौठो किसिमको मिश्रित बनावट भएको सांस्कृतिक आधिपत्यको शक्तिशाली औजार थियो, जसमा पुरानो सामन्तवाद र हुर्कदै गरेको व्यापारिक पुँजीवादको मिश्रण हालिएको थियो । यस्ता किसिमका साम्राज्यवादी शक्तिहरू चीनको साम्राज्य र रसियाको साम्राज्यमा राम्रैसँग मिसिएका थिए भनिन्छ । 

तथाकथित आधुनिक युरोपेली उपनिवेशवादी शक्तिहरू जमिनसँग भन्दा ज्यादा समुद्रसँग सम्बन्धित औजारहरू प्रयोग गरी हुर्किरहेका थिए, जसले गर्दा युरोपेली उपनिवेशवादी शक्तिलाई आफ्नो देशको सीमा पार गरी अन्य नयाँ भौगोलिक क्षेत्रहरूमा उपनिवेश कायम गर्न धेरै सजिलो भएको थियो । सामुद्रिक शक्ति प्रयोग गरी स्थापना गरिएका उपनिवेशहरूमा बिल्कुलै नयाँ र नौला किसिमका सांस्कृतिक अभ्यास पुनरुत्पादन गरियो । उपनिवेशको यस्तो आयामबाट युरोपेलीको र जनसङ्ख्याको आकार र फैलावट विश्वभरि नै अनौठो किसिमले हुन पुग्यो । 

सामुद्रिक शक्तिका आधारमा फैलिएको युरोपेली उपनिवेशवादले नितान्त नौला सांस्कृतिक संघटकहरूको निर्माण गरायो । यति मात्र होइन उपनिवेशवाद विरुद्धका नौला किसिमका आन्दोलन, प्रतिरोध, प्रयोग र विचारधाराहरू पनि देखापर्न थालेका थिए ।

पूर्वआधुनिक स्पेनिस र पोर्चुगिज उपनिवेशहरू पराधीन मुलुकमाथिको लुटपाट र दमनमाथि आधारित थिए । स्पेनिस र पोर्चुगिजहरूले दक्षिण अमेरिकामा शोषण दमन र लुटपाटबाट आफ्नो आधिपत्य कायम गर्न भरमग्दुर कोसिस गरेका थिए । उपनिवेशको सुरुमा स्पेनिस र पोर्चुगिजहरूले दक्षिण अमेरिकाको विशाल सुनखानी कब्जा गर्न त्यहाँका आदिवासीहरूको सामूहिक हत्या र कत्लेआम गरेका थिए भनी बताइन्छ । यसरी हेर्दा युरोपेलीहरूले सुरु गरेको कथित आधुनिक उपनिवेश खासमा अरुलाई सभ्य बनाउने कथित सभ्यताको अभियानबाट प्रेरित थिएन । 

उपनिवेश बिल्कुलै शारीरिक नियन्त्रण, कब्जा, डकैती र हत्यामा आधारित थियो भनेर इतिहासकार मान्छन्, यद्यपि स्पेनिस र पोर्चुगिजहरूले गरेको भनेको हत्या र लुटपाटलाई कतिपय इतिहासकार शंकाको दृष्टिकोणले हेर्छन् । युरोपेली इतिहासकारले अहिले उपनिवेश कालमा भएका अमानवीय घटनाका शृङ्खलालाई युरोपको ऐतिहासिक बेइज्जतीमाथिको लाज ढाक्ने प्रयत्न मात्र हो भनेर बुझ्न सकिन्छ ।

१५औँ शताब्दीको अन्त्यतिरबाट भने स्पेन र पोर्चुगलले खडा गरेको उपनिवेशलाई लुटपात, सामूहिक हत्या र आदिवासीको चरम शोषण सट्टामा धर्म परिवर्तन अनि अरुलाई सभ्य बनाउने मिसनमा परिवर्तित गर्न खोजेको पाइन्छ । १७औँ शताब्दीमा निर्माण भएका तीव्र गतिका पानीजहाजले नयाँ–नयाँ भौगोलिक खोजलाई तीव्रता प्रदान गरेका थिए । 

१७औँ शताब्दीको अन्त्यतिरबाट बेलायत र फ्रान्स पनि उपनिवेशको दौडमा कसेर लागेका थिए । व्यापारिक प्रयोजनबाट थालिएको उपनिवेशको महाअभियानलाई स्पेन र पोर्चुगलले जस्तै फ्रान्स र बेलायतले पनि एकदमै महत्त्वका साथ हेर्न थालेका थिए जसबाट युरोपभन्दा बाहिर पनि उपनिवेश निर्माण गर्नका लागि युरोपेली मुलुकहरू प्रत्यक्ष प्रतिस्पर्धामा थिए भन्न सकिन्छ । 

यही अन्धो प्रतिस्पर्धाले नै कालान्तरमा पहिलो र दोस्रो विश्वयुद्धको विजारोपण गरेको थियो । युरोपबाहिर औपनिवेशिक शक्ति विस्तार गराउन युरोपेली मुलुकले आफ्ना सांस्कृतिक, वैचारिक, वैज्ञानिक र सैन्य शक्तिलाई हदैसम्म प्रयोग गर्न कुनै कसर बाँकी राखेनन् । युरोपेली मुलुकमा अनुभव गरिने वर्तमानको समृद्धि र सम्पन्नताका पछाडि उपनिवेश कालमा पराधीन मुलुकबाट लुटिएका खजाना पनि धेरै हदसम्म जिम्मेवार छन् । 

दक्षिण अफ्रिका, इन्डिया, ल्याटिन अमेरिका जस्ता भौगोलिक क्षेत्रबाट आन्ध्र महासागर पार गरेर ल्याइएका दासले युरोपेली समृद्धिको अमानवीय र क्रूर प्रतिस्पर्धामा आफ्नो रगत मात्र बगाएनन्, युगौँसम्म युरोपेली दासता र क्रूरताको साङ्लो बोकिरहे । सुर्ती, खुदो, कटहर, बडहर जस्ता चिज व्यापारिक उपनिवेशवाद अभ्यासका सिलसिलामा बेलायतीले आफ्नो उपनिवेशभरि फैलाए । 

क्यारेबियन क्षेत्रबाट ल्याइएको खुदोलाई बेलायतीले रक्सी बनाएर खान थाले । अनि आलु, चिया, कफी, चामलजस्ता खाद्यान्न सामग्री युरोपेली उपनिवेश रहेका क्षेत्रहरूमा फैलिन थाले । उपनिवेश विस्तारका क्रममा खासगरीकन बेलायत र फ्रान्सबीच ठूलो दुश्मनी पनि पैदा भएको थियो । १८औँ शताब्दीको अन्त्यतिर युरोपेली उपनिवेशभरि उपनिवेशीहरूकै भाषिक दबदबा सुरु भएको थियो । 

यही एउटा चरण थियो, जसबाट अंग्रेजी भाषाले विश्वभरि आफ्नो वर्चस्व सुरु गर्न थालिसकेको थियो । त्यही ऐतिहासिक उपनिवेश निर्माणका क्रममा एउटा सांस्कृतिक औजारका रूपमा सुरु भएको अंग्रेजी भाषाले संसारभरि नै आफ्नो कुरूप इतिहासबाट अहिले आवरणकै रूपमा सही भाषिक सुन्दरताको बगैँचा निर्माण गरिरहेको हामी देख्न सक्छौँ । यो उसको कूटनीतिक सफलता पनि हो । 

युरोपेली उपनिवेश निर्माणका सैन्य, आर्थिक र सांस्कृतिक प्रेरणाहरू मात्रै थिएनन्, बरु युरोपेली उपनिवेश निर्माणका साम्राज्यवादी मानवतावादी र परोपकारी क्रिस्चियन मिसनको पनि ठूलो हात थियो भनेर अहिले युरोपेली इतिहासकारहरू उपनिवेश निर्माणका अमानवीय पक्षलाई बिल्कुलै उपेक्षा गर्ने किसिमको गलत ऐतिहासिक व्याख्या पनि गरिरहेका भेटिन्छन् । त्यतिबेलाका औपनिवेशिक परियोजना र त्यस्ता परियोजनाले छाडेर गएका लिगेसीको रापतापमा अझै पनि युरोपेली बिल्कुलै नयाँ किसिमको ब्रेड सेकाइरहेका छन् । यद्यपि वर्तमान समय युरोपेली औपनिवेशिक कालभन्दा नितान्त भिन्न छ । 

अहिले हाम्राजस्ता विकासशील मुलुकहरू प्रत्यक्ष उपनिवेशको हस्तक्षेपमा त परेका छैनन्, किन्तु शिक्षा, संस्कृति, भाषा अनि आर्थिक सहयोगका धोक्राभित्रबाट नवउपनिवेशको बिरानो सांस्कृतिक अभ्यासमा मग्न भएका छन् । कदाचित यस्तो अवस्था सुखद भने होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द पौडेल
गोविन्द पौडेल
लेखकबाट थप