सफलताको स्रोत
मनमा दृढ अठोट भए असम्भव भन्ने केही पनि हुँदैन । यो काम मैले गर्नैपर्छ, गरेरै छाड्छु भनेर लाग्नुपर्छ कठिनभन्दा कठिन काम पनि सम्पन्न गर्न सकिन्छ । गर्ने त हो वा गर्न त गर्छु तर असफल हुने पो हो कि भन्न थाल्ने हो भने आधा असफलता काम सुरु गर्नुपूर्व नै मिलिसकेको हुन्छ । होइन जसरी पनि सफल हुन्छु, भएरै छाड्छु भन्ने हो भने काम सुरु गर्नुपूर्व नै आधा सफलता मिलिसकेको हुन्छ ।
भागवत्मा एउटा कथा छ । धेरै पहिलेको कुरा हो सूर्य वंशमा खट्वाङ्ग नामका राजर्षि थिए । उनी जति ज्ञानी र गुणी थिए त्यति नै पराक्रमी पनि । उनी बाहुबलले भूमण्डलमा एक छत्र साम्राज्य खडा गर्ने राजर्षिमा पर्थे । देवताहरूसमेत बेलामौकामा उनको सहयोग लिने गर्थे ।
एक पटक असुरहरूले स्वर्गमाथि आक्रमण गरे । शुक्राचार्यका शिष्य असुरहरू अजेय र अमर भएकाले देवताहरूलाई उनीहरूसमक्ष टिक्न गाह्रो प¥यो । उनीहरूबाट अमरावती सहर नै घेराबन्दीमा परेपछि देवताहरूले उनै राजर्षि खट्वाङ्गसँग सहयोग मागे । उनले पनि नाइनास्ती केही नगरी तत्कालै स्वर्गमा गएर असुरहरूलाई ललकारे ।
देवताहरूलाई सजिलै हायलकायल पार्दै आएका असुरहरू उनका अगाडि टिक्न सकेनन् र भागाभाग गर्न लागे । त्यसपछि उनले स्वर्गको राज्य देवताहरूलाई सुम्पेर पृथ्वीलोक फर्कने विचार गरेकाले देवताहरूले खुसी हुँदै भने–
‘जानै चाहनुहुन्छ भने हाम्रो भन्नु केही छैन तर यति चाहिँ भन्छौँ, स्वर्गमा आफूलाई मन पर्ने चिज केही छ भने माग्न सक्नुहुन्छ ।’
देवताहरूको कुरा सुनेर राजा खट्वाङ्ग विचार गर्न लागे– ‘यी देवताहरू भोगी छन् । यिनीहरूले दिने भनेका सुख भोगका समान नै हुन् । त्यसैले पहिले आफ्नो आयु कति बाँकी छ भनेर सोध्नु नै उपयुक्त होला । आयु धेरै नै बाँकी भए त ठिकै भयो जे मागे पनि भो । होइन कम छ भने त त्यस्तो चिज मागेर पनि के गर्नु ।’
यस्तै यस्तै सोचेर उनले भने– ‘सदाशयका लागि धन्यवाद । ठिकै छ मन परेको चिज केही भए मागौँला नै तर पहिले यो बताउनुस् कि मेरो आयु अब कति बाँकी छ ।’
राजर्षि खट्वाङ्गको कुरा सुनेर देवताहरूले आश्चर्य मान्दै भने– ‘के भन्न खोज्नुभएको हो बुझिएन । माग्ने चिजसँग आयुको के सम्बन्ध छ र यस्तो कुरा गर्दै हुुनुहुन्छ ?’
राजर्षि खट्वाङ्गले भने– ‘छ, ठुलो सम्बन्ध छ । त्यसैले भनेको हुँ ।’
‘जस्तै ?’
‘जस्तै यही कि आयु धेरै बाँकी भए जे मागे पनि भयो । होइन कम भए मागेर पनि के गर्ने । जब भोग गर्ने समय नै छैन भने त्यस्तो चिजको अर्थ नै के रहन्छ र ? उल्टै सामान भएर पनि भोग्न पाइएन भन्ने चिन्ता बढ्छ ।’
भनाइ ठिकै लागेकाले देवताहरूले उनको भाग्यरेखा पढे तर आश्चर्य उनको आयु त अब दुई घडीभन्दा बढी रहेन छ । त्यसपछि उनीहरूले अप्ठ्यारो मान्दै भने– ‘राजन् ! तपाईंको आयु त दुई घडी मात्र बाँकी रहेछ ।’
देवताहरूको कुरा सुन्नासाथ उनी तत्कालै पृथ्वी लोकमा फर्केर हिमालयको फेदीमा बसी भगवान्को पुकारा गर्न लागे । भगवान्ले पनि तत्कालै आएर आएर भने–
‘बाबु खट्वाङ्ग उठ । ज्यादै प्रसन्न छु । भन के चाहिन्छ ?’
त्यस्तो आश्वासन पाएपछि खट्वाङ्गले भने– ‘केही चाहिन्न भगवान् ! दिने नै भए आनन्द र अविनाशी वैकुण्ठ लोकमा गएर बस्न पाइने व्यवस्था मिलाई पाऊँ ।’
हुन्छ, हुन्छ, त्यस्तै हुनेछ भन्दै भगवान्ले तथास्तु भन्न के भ्याएका थिए खट्वाङ्ग मानव देह त्यागी वैकुण्ठतिर लागे ।
यस व्यास कथामा केकति सत्यता छ त्यो त व्यासजी नै जानून् तर आँटेर काममा लाग्ने हो भने जस्तोसुकै कठिन काम पनि फत्ते गर्न सकिन्छ भन्ने कुरा भने सत्य हो । खट्वाङ्गले दुई घडी समयमा केही पनि गर्न सकिन्न भनेर हिम्मत हारेका भए केही पनि पाउने थिएनन् तर त्यसो नगरी सोही प्राप्त दुई घडीलाई सदुपयोग गरेकाले वैकुण्ठमा गएर बस्न पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–बङ्गलादेशबिच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : मन्त्री खड्का
-
वित्तीय संस्थाको कर्मचारी हुँ भनेर फोन गर्नेलाई व्यक्तिगत विवरण नदिन सीआईबीको अनुरोध
-
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
-
मानव तस्करीको आरोप लागेका अधिकारीले पार्टी जिम्मेवारीबाट मुक्त गर्न दिए निवेदन
-
केबुलकार निर्माणको विषयमा झडप, ६ जना घाइते (तस्बिरहरु)
-
सहकारी पीडित भन्छन्– रास्वपाले हाम्रो बदनाम गर्यो