धमाधम मेसीका सहकर्मी भित्राउँदै इन्टर मियामी

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेसी आबद्ध हुने पक्का भएपछि अमेरिकी क्लब इन्टर मियामीले उनका सहकर्मीहरुलाई पनि धमाधम क्लबमा आबद्ध गर्न थालेको छ । मेजर लिग सकर क्लब इन्टर मियामीले आफ्नो प्रशिक्षकका रुपमा जेरार्डो मार्टिनोलाई भित्राएको छ ।
इन्टर मियामीमा आबद्ध हुनुअघि मार्टिनो मेक्सिकोको राष्ट्रिय टोलीका प्रशिक्षक थिए । मार्टिनोको इन्टर मियामी आगमन सात पटकको बालन डीओर विजेता मेसीका लागि पनि खुसीको विषय हो । मेसीले यसअघि पनि मार्टिनोको प्रशिक्षकत्वमा थुप्रै खेल खेलिसकेका छन् ।
बार्सिलोना र अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक ६० वर्षीय मार्टिनो र मेसीबीचको सम्बन्ध पनि सुमधुर रहेको समाचारमा जनाइएको छ । मार्टिनोले सन् २०१३ देखि एक सिजन स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । मार्टिनोका प्रशिक्षकत्वमा बार्सिलोनाले ४० खेलमा जित, ११ खेलमा बराबरी र आठ खेलमा हारको नतिजा निकालेको थियो ।
मार्टिनोको प्रशिक्षकत्वमा बार्सिलोनाले स्पेनिस सुपर कलको उपाधि चुमेको थियो । त्यतिबेला मेसी पनि बार्सिलोनाबाटै ब्यवसायीक फुटबल खेल्थे । बार्सिलोना छाडेपछि मार्टिनो अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए । उनी सन् २०१४ देखि सन् २०१६ सम्म अर्जेन्टिनाको प्रशिक्षकको भूमिकामा थिए । मार्टिनोको प्रशिक्षकत्वमा मेसीसहितको अर्जेन्टिनी टोली दुई पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, दुबै पटक अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसपछि मार्टिनाले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
मार्टिनो आफै पनि अर्जेन्टिनाका पूर्वखेलाडी हुन् । गत मंगलबार राति मेसी र प्रशिक्षक मार्टिनोबीच न्युवेल्स ओल्ड ब्वाइज रंगशालामा भेट भएको थियो । न्युवेल्स ओल्ड ब्वाइज मेसी र मार्टिनो दुबैको पूर्वक्लब हो । मार्टिनोले त न्युवेल्स ओल्ड ब्वाइजमा प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए ।
प्रशिक्षक मार्टिनो पहिलो पटक अमेरिकी ब्यवसायीक लिगमा आबद्ध भएका भने होइनन् । यसअघि सन् २०१७ मा उनले मेजर लिग सकर क्लब एटलान्टा युनाइटेडमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् २०१८ मा उनी एटलान्टा युनाइटेड छाडेर मेक्सिकोको प्रशिक्षक बनेका थिए ।
इन्टर मियामीले मेसीकै पूर्वसहकर्मी स्पेनिस मिडफिल्डर सर्जियो बुस्केट्सलाई पनि क्लबमा भित्राएको छ। ३६ वर्षीय मेसी र ३४ वर्षीय बुस्केट्सले लामो समय बार्सिलोनाबाट खेलेका थिए । बुस्केट्सले भने गत मेमा बार्सिलोना छाड्ने घोषणा गरेका थिए ।
बुस्केट्स बार्सिलोनाको ‘बी’ टिम हुँदै सन् २००८ मा सिनियर टोलीमा आबद्ध भएका थिए । मेसी भने बार्सिलोनाको ‘बी’ टिम हुँदै सन् २००४ मा सिनियर टोलीमा आबद्ध भएका थिए । मेसी र बुस्केट्सले सन् २००८ देखि सन् २०२१ सम्म १३ सिजन एकसाथ बार्सिलोनामा बिताएका थिए ।
यी दुबै खेलाडीले बार्सिलोनालाई तीनवटा च्याम्पियन्स लिगको उपाधि चुमाएका थिए । मेसी र बुस्केट्सले बार्सिलोनालाई आठवटा स्पेनिस ला लिगा र ६ वटा कोपा डेल रेको उपाधि पनि जिताएका थिए । मेसीलाई जस्तै बुस्केट्सलाई पनि साउदी अरेबियाको ब्यवसायिक क्लबबाट प्रस्ताव आएको थियो । तर, बुस्केट्सले साउदी लिग छाडेर इन्टर मियामीलाई नै रोजे । इन्टर मियामीका मालिकहरुमध्ये एक, आफ्नो समयका चर्चित फुटबलर डेभिड बेकह्याम हुन् । मेसीलाई जस्तै बुस्केट्सलाई इन्टर मियामीमा भित्र्याउन पनि बेकह्यामको महत्वपूर्ण भूमिका रहेको समाचारमा जनाइएको छ ।
अब कुनै समयका तीन सहकर्मी प्रशिक्षक मार्टिनो, प्रभावशाली स्ट्राइकर मेसी र अनुभवी मिडफिल्डर बुस्केट्समाथि ठूलो चुनौति थपिएको छ । अहिले मेजर लिग सकरमा इन्टर मियामीको प्रदर्शन खासै गतिलो छैन । इन्टर मियामको इतिहास पनि केवल पाँच वर्ष पुरानो छ । त्यसैले निराशाजनक प्रदर्शन गर्दै आएको इन्टर मियामीलाई लिग तालिकाको माथिल्लो स्थानसम्म उकास्ने जिम्मेबारी मार्टिनो, मेसी र बुस्केट्सकै काँधमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध