लुम्बिनीमा गुरुयोजना विपरीतका संरचना बढ्दो
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बनाउने क्रम निरन्तर चलिरहेको छ । २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना बनाए पनि पछिल्लो समय गुरुयोजना विपरीत संरचना धमाधम बनाइएका हुन् ।
प्रा.केन्जो टांगेले लुम्बिनी विकास कोषको १ हजार ११५ बिगाहा क्षेत्रफलभित्र तोकिएका मापदण्ड अनुसार संरचना निर्माण गर्नुपर्ने भन्दै गुरुयोजना तयार पारे पनि त्यसको विपरीत लुम्बिनी विकास कोषले मनपरी ढङ्गबाट संरचना निर्माण गरेको हो ।
लुम्बिनीमा अहिले सञ्चालनमा आएको ५ हजार क्षमताको सभा हल लुम्बिनी गुरुयोजना विपरीतको संरचना हो । यस्तै शान्ति स्तुपा, पानी ट्याङ्की लगायतका धेरै संरचना गुरुयोजना विपरीत निर्माण भएका छन् ।
गुरु योजनामा मायादेवी मन्दिरबाट सेतो गुम्बा देखिनुपर्ने उल्लेख भए पनि त्यसलाई छेक्ने गरी पानी ट्याङ्की निर्माण गरिएको छ ।
लुम्बिनी सम्बन्धी अध्येता प्रदीप आचार्यले अस्थायी सभा हल, कोरियन विहारको उचाइँ, बेबी बुद्ध, वरिपरिको पर्खाल, शान्ति घण्ट, बुद्ध मूर्तिसहितको फूलबारी, संग्रहालय अगाडिको घण्ट राख्ने स्थान, कोषको क्षेत्रभित्रको सडक कालोपत्रे जस्ता संरचना गुरुयोजना विपरीत बनेको बताए ।
लुम्बिनीमा गुरुयोजना अनुसार पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम गरी तीन भाग छ । पवित्र उद्यानमा सौन्दर्यीकरणका सीमित काम बाहेक भौतिक संरचना बनाउन पाइँदैन । तर पनि भौतिक संरचना निर्माणका काम भइरहेका छन् ।
लुम्बिनी विकास कोषको १ हजार ११५ बिगाहा क्षेत्रफलभित्र गुरुयोजना विपरीतका अनेक संरचना निर्माण गरेको संस्कृतिविद् प्रा.डा. गितु गिरीले बताए । उनका अनुसार सत्ता र शक्तिमा रहने राजनीतिक दल र तिनको स्वार्थका आधारमा त्यस्ता संरचना निरन्तर निर्माण हुँदै गएको हो ।
सरकार र विभागीय मन्त्री फेरिएसँगै विकास कोषका पदाधिकारी फेरिने र केही कर्मचारीको स्वार्थ समेतका कारण गुरुयोजना विपरीतका काम भइरहेको उनले बताए ।
लुम्बिनीका स्थानीयवासी तथा लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य फखरुद्दीन खाँले लुम्बिनीभित्र जथाभावी गुम्बा बनाउनु र होटेल चलाउनु गलत भएको बताए । उनले विश्व सम्पदा सूचीमा समावेश भएको ऐतिहासिक धरोहरमा गुरुयोजना विपरीत एकपछि अर्को संरचना निर्माण भएपछि यसको ऐतिहासिक महत्त्व संकटमा पर्ने भन्दै यस्ता कार्यलाई रोक्नुपर्ने बताए ।
विश्व सम्पदा सूचीमा रहेका सम्पदामा भौतिक पूर्वाधार निर्माण गर्दा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) लाई जानकारी गराउनुपर्ने र निषेध गरिएको क्षेत्रमा संरचना निर्माण नपाइने प्रावधान छ ।
युनेस्कोले जथाभावी संरचना निर्माण रोक्न चासो देखाए पनि कोषले वास्ता नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले जनाएको थियो ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले विगतमा समय सापेक्ष गुरुयोजनामा केही परिमार्जन गरी सानोतिनो काम भए पनि अब रोकिने बताए ।
उनले विगतमा गुरुयोजनालाई सामान्य संशोधन गर्दा पनि विज्ञ, प्राविधिक आदिको सरसल्लाहमै काम भएको दाबी गरे । अब गुरुयोजना भन्दा बाहिर नजाने उनको भनाइ छ ।
गुरुयोजना अनुसार के काम बाँकी छ ?
लुम्बिनी गुरुयोजना अनुसार काम गर्न थालेको वर्षौं भए पनि कतिपय काम पूरा हुन सकेको छैन । बजेट अभावकै कारण ती योजना पूरा हुन नसकेको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले बताए ।
निर्माण थालिएको दुई दशकभन्दा बढी हुँदा पनि अझै १४ प्रतिशत काम गर्न बाँकी रहेको कोषको भनाइ छ ।
२०३५ सालमा सुरु भएको गुरुयोजना अनुसार ६ वर्ष अर्थात् २०४१ सालसम्म सबै संरचना निर्माण गरिसक्नुपर्ने भए पनि अझै १४ प्रतिशत काम बाँकी छ । पवित्र उद्यान क्षेत्रमा मायादेवी मन्दिर, परिक्रमा पोखरी र अरू सौन्दर्यीकरणका काम गर्न बाँकी नै छ ।
हालसम्म निर्माण भएका संरचनामध्ये विहार क्षेत्रमा सबैभन्दा बढी खर्च भएको छ । गुरुयोजनाले यो क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउन प्रस्ताव गरेको छ ।
जसमध्ये एक सय बेडको सबै सुविधायुक्त होटल, १५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, २ सय बेडको साधारण आवास गृह र चार वटा क्याम्पिङ निर्माण गर्ने योजना बनाइएको थियो । ती संरचना निर्माण हुन बाँकी छ ।
डा राईले बजेट कम भएका कारण गुरुयोजना अनुसारका केही काम पूरा गर्न ढिला भएको बताउँदै बजेट उपलब्ध भएसम्मका काम भटाभट अगाडि बढाउने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे