पठन संस्कृतिको विकास कसरी गर्ने ?
एक अनलाइनमा छापिएको ‘पठन संस्कृतिमा कमी : अल्पज्ञानी बन्दै छ नेपाली समाज’ शीर्षकको लेखबाट मैले निकै प्रतिक्रिया पाएँ । ५५ जना पाठकले त मलाई हवाट्सएप, मेसेन्जर, भाइबरमार्फत आग्रह गरे — पढ्ने बानी विकासका लागि के–कस्ता उपाय हुन सक्छन् भन्नेबारे पनि लेख आओस् ।
यो लेख लेख्ने क्रममा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, इन्जिनियरिङ क्याम्पस पुल्चोक, रत्नराज्य क्याम्पस प्रदर्शनीमार्ग, सरस्वती क्याम्पस कोटेश्वरका विद्यार्थी र समाजका केही अग्रणी व्यक्तिसँग पढ्ने बानी विकास गर्न के गर्नुपर्छ वा हामी नेपालीको पढ्ने संस्कृति अभिवृद्धि कसरी हुनसक्छ भन्ने विषयमा मैले छलफल गरेको थिएँ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर शिक्षाशास्त्र संकायमा स्नातकोत्तर तह प्रथम वर्ष अध्यनरत एक बहिनीले भनिन्, ‘मैले बिएडसम्म गाउँमा पढेँ । गाउँको क्याम्पसमा शिक्षाभन्दा अर्को विषयमा स्नातक तह थिएन । त्यसैले मेरो चाहना व्यवस्थापन विषय पढ्ने हुँदाहुँदै पनि बुवाले गाउँकै कलेजमा पढ्नुपर्छ भनेपछि मैले शिक्षा विषय पढेँ । अझै मलाई व्यवस्थापन पढ्ने रहर छ । शिक्षा विषय पढेर शिक्षक जागिर गर्ने पटक्कै इच्छा छैन । जब कक्षा सकेर घर फर्कन्छु, अनि पढ्न भनेर पुस्तक पल्टाउँछु तर पढ्नै मन लाग्दैन ।’
पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल दोस्रो सेमेस्टर पढ्दै एक विद्यार्थीलाई १२ कक्षा पास गरेपछि सिए पढ्ने इच्छा रहेछ, तर बुबाआमाको जोडले उनी इन्जिनियरिङ भर्ना भएका रहेछन् । उनलाई अझ पनि सिए पढ्ने हुटहुटी जारी छ । उनी भन्छन्, ‘मेरो इच्छा एकातिर, बुवाआमाको इच्छा अर्कोतिर अनि कसरी पढ्न मन लाग्छ त । पढ्ने कुरा मेरो व्यक्तिगत चाहना अनुसार पाउनुपर्यो नि, होइन र ?’
रत्नराज्य क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अंग्रेजी विषय लिएर अध्ययन गर्दै गरेकी एक छात्रा व्यक्तिको इच्छा र चाहनाले पढाइमा फरक पार्ने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई सानैदेखि अंग्रेजी शिक्षक हुने रहर थियो । गाउँमा १२ कक्षा पास गरेर अहिले यहाँ अङ्ग्रेजी मूल विषय लिएर स्नातक पढ्दै छु ।
भारतका शिक्षाविद् जे कृष्णमूर्तिको भनाइ छ, आजका बालबालिका तीनवटा स्क्रिनमा रमाउन थालेका छन् : मोबाइलको स्क्रिन, कम्प्युटरको स्क्रिन र टेलिभिजनको स्क्रिन । पुस्तक उनीहरूको छनोटमा पर्दैन ।
गाउँको विद्यालयमा बारम्बार अङ्ग्रेजी शिक्षकको अभावका कारण मेरो अङ्ग्रेजी अहिलेसम्म त्यति राम्रो भइसकेको छैन । मैले यति मिहिनेत गरेर पढेँ कि प्रथम वर्ष ५० प्रतिशतभन्दा बढी अङ्क ल्याएर सबै विषय पास गरेँ ।’
यी तीनवटा उदाहरणबाट के प्रस्टिन्छ भने औपचारिक शिक्षा हासिल गर्ने आजको युवा पुस्ता हिजोको जस्तो बुबाआमाले जे पढ् भन्यो, त्यसैमा रमाउनेवाला छैनन् । आफ्नै छनोट अनुसारको विषय पढ्न पाउने हो भने उनीहरूले पढाइमा उत्कृष्ट नतिजा ल्याउन सक्छन् । अभिभावकले छोराछोरीले पढेनन् भनेर गुनासो गर्नैपर्दैन ।
यस वर्षको एसइई परीक्षामा संलग्न हुने केही छात्रछात्रासँग पनि कुराकानी गरेको थिएँ । मैले कुराकानी गर्दा चारजनाको समूहमा रहेका छात्रा मोबाइल चलाएर बसेका थिए । मैले सोधेँ — एसइईको तयारी गर्नुपर्ने बेला मोबाइल चलाएर बसेका छौ त ? तीनजना अलि लजाए तर एउटीले अलि सानो स्वरमा भनिन् — किताब पल्टाउन मन लाग्दैन अङ्कल, बरु किताबको कुरा मोबाइल वा टिभीमा आए म त मज्जाले सुन्थेँ ।
भारतका शिक्षाविद् जे कृष्णमूर्तिको भनाइ छ, आजका बालबालिका तीनवटा स्क्रिनमा रमाउन थालेका छन् : मोबाइलको स्क्रिन, कम्प्युटरको स्क्रिन र टेलिभिजनको स्क्रिन । पुस्तक उनीहरूको छनोटमा पर्दैन ।
यी छात्रा र शिक्षाविद्को भनाइले श्रव्यदृश्य सामग्री उत्पादन र वितरण आजको माग भइसक्यो भन्नेतर्फ संकेत गर्छ ।
‘किन पढ्ने, कसरी पढ्ने’ शीर्षकको आफ्नो लेखमा मिलन पाण्डे भन्छन्, ‘पढाइको उद्देश्य प्रस्ट हुनुपर्छ, शिक्षकले के पढ्ने भनेर मात्र सिकाउने होइन, कसरी पढ्ने पनि सिकाउनुपर्छ, (२०८० वैशाख २३ गते इकान्तिपुरमा प्रकाशित) ।’ यो लेखमा पढ्ने उपायका साथै पढ्दा लाग्ने अल्छीपनलाई कसरी हटाउनेबारे पनि उल्लेख छ ।
लेखक पाण्डेले भनेजस्तै पढाइको फाइदा के छ र किन पढ्ने भनेर न हामीले सिक्यौँ न युवा पुस्ता र बालबालिकालाई सिकायौँ । त्यसैले औपचारिक र अनौपचारिक दुवै माध्यममा पढाइको महत्त्वका बारेमा उजागर गर्नु अनिवार्य भइसकेको छ ।
उदाहरणका लागि पढाइले ज्ञान र सीपमा वृद्धि गर्छ । आफू र आफ्नो परिवेश अनि संसारलाई चिन्न मद्दत गर्छ । मगजलाई तन्दुरुस्त र स्वस्थ राख्छ । पढाइले कुनै पनि विषयमा ध्यान केन्द्रित गर्ने बानीको विकास गर्छ । स्मरण शक्तिमा वृद्धि गर्छ र सञ्चार सीपको विकास गर्छ ।
नियमित पढ्ने बानी भएका र नभएका व्यक्तिमा गरिएको लामो समयको अनुसन्धानको निष्कर्ष छ — पढ्ने बानी भएका व्यक्तिहरू दुई वर्ष बढी बाँच्छन् र लेखपढमा नियमित समय दिने व्यक्तिलाई अल्जाइमर्स (बिर्सने रोग) जस्तो घातक रोग हुने सम्भावना ५० प्रतिशतले कम हुन्छ ।
यी र यस्तै फाइदाका बारेमा जानकारी हुने हो भने व्यक्तिले अवश्य पनि पढ्नका लागि समय दिनेछ ।
विद्यार्थीको पठन संस्कृति ह्रास भएको र पठन सीप समेत कमजोर भएको महसुस गरी यसको अभिवृद्धिका लागि आधारभूत तहदेखि नै सरकारले पठन सीप विकास गर्ने कार्यक्रम लागु गरेको छ । सो कार्यक्रममा विज्ञका रूपमा काम गरेका शिक्षाविद् धनसिंह धामी भन्छन्, ‘कक्षा कोठामा शिक्षण सिकाइका क्रममा पढाइलाई प्राथमिकता दिने, रुचिपूर्ण पढ्ने सामग्रीमा विद्यार्थीको पहुँच बढाउने, घरमा अभिभावक र परिवारका सदस्यले बालबालिकालाई पुस्तक पढ्न अभिप्रेरित गर्ने हो भने बालबालिकामा पढ्ने बानीको विकास हुन्छ । यो बानीले जवान हुन्जेलसम्म निरन्तरता पाउँछ ।’
औपचारिक शिक्षा हासिल गर्ने क्रममा व्यक्तिले जबर्जस्ती पढ्ला, तर जब ऊ कामको संसारमा छिर्छ, उसको पढ्ने बानी क्रमशः हराउँदै जान्छ । आजको नेपाली समाजको रुचि सामाजिक सञ्जालमा आउने भिडियो लगायत सामग्री अनि युटुब, नेटफिक्स आदिका भिडियो सामग्रीमा आदिमा बढी देखिन्छ ।
अनलाइनमा प्रकाशित हुने छोटा लेख र समाचार समेत पूरा पढ्न अल्छी मान्न थालेको छ, आजको समाज । मात्र शीर्षक हेर्यो अनि त्यसबारे धारणा बनायो, जुन धारणा अपूरो र सत्यमा आधारित नहुन सक्छ ।
बिनानियमन र बिनापरीक्षण विभिन्न व्यक्ति र संस्थाले यस्ता सामाजिक सञ्जालमा पोस्ट गर्ने तथ्यहीन, अश्लील र कपोलकल्पित सामग्रीले व्यक्ति र समाजलाई नै पथभ्रष्ट बनाउँदै लगेको छ ।
यसै सन्दर्भमा अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर भन्छन्, ‘संसार श्रव्यदृश्यको संस्कृतितर्फ बढ्दै गर्दा यस्ता सामग्रीमा वस्तुनिष्ठ तथ्य र गहन विश्लेषणका तत्त्व हराउनेछन् ।’
औपचारिक परीक्षा दिनुपर्ने व्यक्तिले तोकिएकै पुस्तक र पाठ्यपुस्तक पढ्नुपर्ने हुन्छ, तर जो व्यक्ति ज्ञान, सूचना र मनोरञ्जनका लागि मात्र पढ्छ, उसले आफूलाई मन परेका पुस्तक पढ्न पाउनुपर्छ ।
त्यसैले औपचारिक रूपमै सरकारको आधिकारिक संस्थाले व्यक्ति, समाज र राष्ट्रका लागि उपयोगी छोटाछोटा पाठ्य सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्न ढिला भइसक्यो ।
व्यक्तिको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था र परिस्थिति फरक–फरक हुन्छ । इच्छा चाहना र प्राथमिकता फरक हुन्छ । त्यति मात्र होइन, मानिसको दिमाग समेत फरक हुन्छ ।
यो तथ्यलाई हृदयङ्गम गरी लेखकले पुस्तक, लेख–रचना आदि सिर्जना गर्नुपर्छ । व्यवसायमा कसरी सफल हुने भनेर छटपटिएको व्यक्तिले शिव खेराको पुस्तक पढ्लान् । पठनपाठन कसरी सुधार्ने भनेर लागेको व्यक्तिले गिजुभाइ वा जे कृष्ण्मूर्तिको पुस्तक पढ्लान् । त्यसकारण व्यक्तिको रुचि अनुसारको पुस्तकको उपलब्धताले पनि पढ्ने बानीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
औपचारिक परीक्षा दिनुपर्ने व्यक्तिले तोकिएकै पुस्तक र पाठ्यपुस्तक पढ्नुपर्ने हुन्छ, तर जो व्यक्ति ज्ञान, सूचना र मनोरञ्जनका लागि मात्र पढ्छ, उसले आफूलाई मन परेका पुस्तक पढ्न पाउनुपर्छ ।
कुनै बेला मलाई उपन्यास खुब पढ्न मन लाग्थ्यो, धेरै पढेँ पनि । आज मेरो इच्छा र प्राथमिकता परिवर्तन भएको छ । अहिले म दर्शनसम्बन्धी पुस्तक, व्यक्ति, समाज र देशको विकास र समृद्धिसम्बन्धी पुस्तकका साथै पेसा, व्यवसाय, राजनीति आदिमा सफल र असफल दुवै किसिमका व्यक्तिका जीवनी र सामाजिक तथा आध्यात्मिक विषयमा लेखिएका पुस्तक र लेख–रचना पढ्न रुचाउँछु । आफूलाई मनपर्ने विषयवस्तु भएको पुस्तक पढ्ने हो भने पठन संस्कृति र सीप स्वतः अभिवृद्धि हुन्छ र व्यक्तिलाई पढ्न जाँगर पनि लाग्छ ।
हिजो पुस्तकका पाना पल्टाउनैपर्ने बाध्यता थियो, तर आज इलेक्ट्रोनिक किताब कम्प्युटर र मोबाइलमा पढ्न सकिन्छ । युट्युबमार्फत् कम्प्युटर र मोबाइलमा आफूलाई मनपरेको पुस्तकको पाठ्यवस्तु सुन्न पाइन्छ ।
त्यसकारण आफूलाई जुन माध्यम सहज, सरल र उपयुक्त लाग्छ, त्यही माध्यमबाट विषयवस्तु ग्रहण गर्यो भने हामी अज्ञानी र अल्पज्ञानी भइरहनुपर्दैन । पढाइमा प्रविधिको प्रयोग गर्नका लागि भने प्रविधि र इन्टरनेटमा सर्वसाधारणको पहुँचको सुनिश्चितता अनिवार्य छ ।
जुनसुकै माध्यमबाट पढे पनि त्यस समयमा पाठकको मन अस्थिर, चञ्चल र विविध विषयमा छरिएको भने हुनुहुँदैन । शान्त, स्थिर र जिज्ञासु व्यक्तिले मात्र विषयवस्तु बुझ्न र ग्रहण गर्न सक्छ । एकाग्र भएर पढ्नका लागि प्रायः सबै विज्ञ र बौद्धिक व्यक्तिले सिफारिस गरेको एउटा विषय के हो भने पढ्ने समयमा अन्यत्र ध्यान लैजान हुँदैन वा त्यस्तो वातावरणमा पढ्नु हुँदैन ।
परीक्षाको तयारी गर्ने क्रममा समूहमा बसेर पढ्दा आपसी छलफलबाट बढी बुझ्न सकिन्छ, तर ज्ञान, विज्ञान, सूचना र मनोरञ्जनका लागि पढ्दा सबैको रुचि एउटै विषयमा नहुन सक्छ । त्यसैले औपचारिक कक्षाका पुस्तकभन्दा बाहेकका पुस्तक पढ्दा एकान्त वातावरण अत्यावश्यक हुन्छ ।
लामो समय गाडी र जहाजमा यात्रा गर्ने व्यक्तिले यात्राको त्यो समयलाई पढ्नका लागि उपयोग गर्न सक्छन् । मैले टोनी हेगेनको ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड’, अमत्र्य सेनको ‘एन अनसर्टेन ग्लोरी’, जे कृष्ण मूर्तिको ‘शिक्षा क्या हे’, शिव खेराको ‘यु क्यान विन’, रोबर्ट कियोसाकीको ‘धनी बुबा गरिब बुबा’जस्ता धेरै पुस्तक गाडी र जहाजको यात्रामा पढेको छु ।
पाठ्य सामग्रीको उपलब्धता पनि पाठकका लागि महत्त्वपूर्ण हो । आफूले पढ्न चाहेको पुस्तक सबैले किन्न सक्छन् भन्ने छैन । त्यसैले सहरका प्रत्येक टोलमा र गाउँका कम्तीमा पनि एउटा वार्डमा एक सानो सार्वजनिक पुस्तकालय हुनु जरुरी छ ।
अहिले त पुस्तक बोक्नु पनि पर्दैन । कतिपय पुस्तक युट्युबमा पाइन्छ । बस मोबाइलको एअर फोन कानमा राख्यो मजाले सुन्यो ।
पुस्तकमा भएको विषयवस्तुले पनि व्यक्तिको पढाइलाई असर गर्छ । कस्ता पुस्तक पढ्ने भन्ने सन्दर्भमा लेखक जीवन क्षेत्री लेख्छन्, ‘किताबले सत्यको ढोका यसरी उघारोस्, पाठककका आँखा यसरी खोलिदेओस् कि त्यसपछिका दिनमा आँखा चिम्लिँदा पनि उसका अगाडि झल्झली त्यो सत्यको मार्ग प्रकट भइरहोस् । त्यो मार्ग बिर्सन खोजेर पनि उसले बिर्सन नसकोस् ।’
उनी अझ थप्छन्, किताबले पाठकका सीमित जिज्ञासालाई शान्त मात्र पार्ने होइन कि असीमित जिज्ञासाका लागि बाटो खोलिदिओस् । सत्य यो मात्रै हो भनेर हैकम जमाउनुको सट्टा सत्यको खोजीमा आफैँ लाग्न प्रेरित गरोस् र त्यो खोजीलाई सार्थक बनाउन आवश्यक शिल्प बाँडोस् किताबले ।
पाठ्य सामग्रीको उपलब्धता पनि पाठकका लागि महत्त्वपूर्ण हो । आफूले पढ्न चाहेको पुस्तक सबैले किन्न सक्छन् भन्ने छैन । त्यसैले सहरका प्रत्येक टोलमा र गाउँका कम्तीमा पनि एउटा वार्डमा एक सानो सार्वजनिक पुस्तकालय हुनु जरुरी छ ।
पढाइ बिथोल्ने वस्तु र सामग्रीबाट टाढा रहने इच्छाशक्ति महत्त्वपूर्ण छ, योसँगै
व्यक्तिको रुचि अनुसारको पाठ्य सामग्रीको उपलब्धता, पढ्न सहज लाग्ने माध्यममा पहँुच, गाउँ टोलमा पुस्तकालयको व्यवस्था, औपचारिक शिक्षाको आधारभूत तहदेखि नै पढाइको महत्त्व र फाइदाको जानकारी दिने प्रणालीको विकास आदि भयो भने पठन संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’