शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जीतपुरसिमराद्वारा २ अर्ब १ करोड ८० लाखको बजेट सार्वजनिक

बिहीबार, १४ असार २०८०, ०९ : ४२
बिहीबार, १४ असार २०८०

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ । बुधवार उपमहानगरको आठौं नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले २ अर्ब १ करोड ८० लाख ४८ हजार ४११ रुपैयाँको बजेट  सार्वजनिक गरेका हुन् ।

उपपप्रमुख अधिकारीले सडक, कृषि, शिक्षा , स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता राखेको बताएका छन् । १ अर्ब ७० करोड ६ लाख ६५ हजार ५ सयको आयमा संघीय तथा प्रदेश सरकारको सिलिङ अन्तरगतको सशर्त अनुदान ५१ करोड ४३ लाख मुख्य आयको श्रोत रहेको छ । संघीय र प्रदेश सरकारको विशेष अनुदान ३ करोड २५ लाख, समपुरक अनुदान ४ करोड ५० लाख , राजश्व बाँडफाँड, मालपोत, ढुँगागिट्टी बालुवा लगायत राजश्व बाँडफाँडबाट ३९ करोड ७३ लाख ३२ हजार ४ सय पनि उपमहानगरपालिको मुख्य आयमा देखाइएको छ ।

कूल बजेटमध्ये ३५ करोड १० रकम नगरस्तरीय ठुला योजनामा खर्च गर्न ५८ वटा योजना अघि सारिएको छ । बजेटमा २० लाख देखि २ करोड सम्मका योजनामा समावेश गरिएको छ । नगर स्तरीय योजनामा जीतपुर बकुलिया अमाडार खैरहवा फत्तेपुर बडहर्वा सडक कालोपत्रे देखि वडा नं. १४ मा सहिद पार्क निर्माण सम्मका योजना समेटिएका छन् ।

उपमहानगरपालिकाले आगामी वर्षको बजेटमा नगर प्रहरी भर्ना गर्ने योजनामा उल्लेख छ ।  जसका लागि ६० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । यस्तै महिला पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने, युवा स्वरोजगार प्रोत्साहन कार्यक्रम ,हरुवा चरुवाको तथ्याङ्क सङ्कलन जस्ता नयाँ कार्यक्रममा पनि बजेट विनियोजन गरेको छ ।

माध्यमिक र आधारभूत तहका विद्यालयहरूमा नगरस्तरीय स्वयम् सेवक शिक्षक राख्न ३ करोड २ लाख २५ हजार बजेट विनियोजन गरेको नगरले पालिका भित्रका ३५ वटा माध्यमिक, ३० वटा निम्न माध्यमिक र २५ वटा प्राथमिक गरी ७५ वटै विद्यालयमा यो सेवा सञ्चालन गर्ने भएको हो ।

जीतपुर सिमरा सहित ईनर्वासिरा, मनहर्वा, अम्लेखगञ्ज र डुमरवानमा बर्थिङ सेन्टर सञ्चालन, मानसिक स्वास्थ्य कार्यक्रम, प्रसूति र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवालाई समेत बजेटमा समेटेको छ । ६५ वर्ष पुरा गरेका महिला स्वयम् सेविकालाई बिदाइ गर्ने, स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने, मोबाइल ल्याब सञ्चालन गर्ने योजना सहितको बजेट व्यवस्था उपमहानगरले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप