तुलसी रोप्ने परम्परा र हाम्रो विश्वास
आज हरिशयनी एकादशी । आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी एकादशीका रूपमा मानिँदै आएको छ । यस दिन नेपाल, भारतलगायत विश्वका प्रायः सबै हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको मोठ बनाएर तुलसी रोप्ने र विधिपूर्वक व्रत बस्ने परम्परा रहिआएको छ ।
यो व्रत लिने भक्तजनहरूले एकादशीका दिन ब्रह्म मुहूर्तमा उठेर नित्यकर्म गरी घरको साफसफाइ गर्छन् । स्नान गरेर पवित्र जल छर्केर घर शुद्ध बनाएपछि भक्तजनहरूले घरको पूजाकोठामा सुन, चाँदी, तामा अथवा पितलको भगवान् विष्णुको मूर्ति स्थापना गर्छन् ।
हरिशयनी एकादशीका दिन तुलसीको रोपण गर्ने, सजाउने गरिन्छ । त्यस क्रममा घरको बाहिर मोठ बनाएर तुलसीको बिरुवा रोपण गरिन्छ । त्यस मोठलाई फूलमालाले सजाइन्छ । ‘आजदेखि चार महिनासम्म तुलसीमा जल चढाउने, विष्णु र तुलसीको पूजा गर्ने गरिन्छ,’ पाञ्चाङ्ग निर्णायक समिति सदस्य प्राडा देवमणि भट्टराई भन्छन्, ‘हरिबोधनी एकादशीका दिन दामोदर भगवानको पूजा गरेर तुलसी विवाह गरिदिएर यो व्रत समाप्त गरिन्छ ।’
ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन तुलसीको बिउ राखिएको हुन्छ । त्यसको एक महिनापछि अर्थात् आज आषाढ शुक्ल एकादशीका दिन तुलसीको बिरुवालाई मोठ बनाएर रोपिन्छ । हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीको यो चार महिनासम्म विष्णु भगवान् पातालमा बस्ने भएकाले आज रोपिएको तुलसीको संरक्षण, संवर्धन गरिन्छ । त्यसपछि हरिबोधनी एकादशीका दिन भगवान पातालबाट आउनुहुन्छ र विष्णु र तुलसीको विवाह सम्पन्न गरिन्छ भन्ने विश्वास हिन्दु धार्मावलम्बीहरूमा छ ।
हरिशयनी एकादशीमा व्रत बस्ने निश्चित विधिविधान छ । यस दिन सकेसम्म चामलको भात खानु नहुने मान्यता छ । ‘स्वस्थ व्यक्तिले निराहार व्रत बस्ने हो, नसके जलाहार बसे हुन्छ । त्यो पनि नसके दुग्धाहार, घृताहार र फलाहार गरेर व्रत बस्न शास्त्रले स्वीकार दिएको छ,’ वाल्मीकि क्याम्पसका प्राडा गणेशप्रसाद घिमिरे भन्छन्, ‘फलाहार लिएर व्रत बस्ने परम्परामा फल प्राप्ति चाहिँ हुँदैन, व्रत बस्ने मात्र हो ।’
ठुला ठुला धार्मिक व्यक्तित्व र साधुसन्तहरूले हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्म चार महिना जुत्ताचप्पल पनि नलगाउँदैनन् । उनीहरूमा भगवान पातालमा हुनुहुन्छ, पातालमा भएका कारणले हामीले पृथ्वीमाथि जुत्ता चप्पल लगाएर टेक्नुहुँदैन भन्ने धार्मिक विश्वास रहेको प्राडा घिमिरे बताउँछन् । तर पूजाआजा भने घरमै गरेको राम्रो हो । किनभने गृहस्थ आश्रम (घर) भनेका आफैँमा मन्दिर हो । त्यस कारण मन्दिरमा गएर सबै थोक प्राप्त हुन्छ भन्ने होइन । तसर्थ घरमै भगवानको पूजाअर्चना र कथा श्रवण गरेर यो व्रत मान्न सकिने घिमिरेको भनाइ छ ।
निराहार व्रत
हरिशयनी एकादशीको व्रत सकेसम्म निराहार बसिन्छ । तर शरीर माध्यम खलु धर्म साधनम्– शरीर रहे न धर्म गर्ने हो भन्ने शस्त्रमा छ । “सबैभन्दा पहिले शरीरको ख्याल गर्नुपर्छ, शरीरले जे गर्न सक्छ साही अनुसारको फलाहार लिएर वा नलिई व्रत बस्नुपर्छ । शरीरलाई माध्यम बनाएर धर्मको रक्षा गर्ने हो,” प्राडा घिमिरे भन्छन्, “धर्मका लागि शरीरलाई समाप्त गर्नु हुँदैन । शरीरलाई मासेर शरीरलाई दुःख दिएर, शरीरको सम्पूर्ण कुरा सुकाएर धर्म गर्न सक्दैनौँ ।” प्राणी भएकाले फलाहारका माध्यमबाट भगवानको व्रत बस्ने सन्ध्याकालीन आरतीपछि पनि सकेसम्म नुन नखाई रोटी खाएर यो व्रत बस्न सकिने बताउँछन् घिमिरे । व्रत बसिसकेपछि सन्ध्याकालीन हवन गरेर व्रत फुकाउने परम्परा छ । पूर्ण व्रत बस्ने भक्तजनहरूले द्वादशीको दिन सानो हवन गरे व्रत समापन गर्ने परम्परा पनि समाजमा प्रचलित छ ।
चार महिना शुभकार्य गरिँदैन
प्राडा देवमणि भट्टराईका अनुसार हरिशयनी एकादशीदेखि शेषशायी भगवान् विष्णु यो चार महिना विश्राम गर्छन् । ‘यो चार महिना विवाह, व्रतबन्ध, छेवर जस्ता संस्कारसँग सम्बन्धित कुनै पनि शुभकार्य गर्नु हुँदैन’ भट्टराई भन्छन्, ‘कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीसम्म (भगवान् विष्णु शयन गरेदेखि नजागेसम्म) यी कर्महरू गरिँदैनन् ।’
यो चार महिना भगवान् विष्णुको गुणकीर्तन गर्ने, श्रीमद्भागवत् महापुराण लगाउने, विष्णुपुराणको पारायण गर्ने जस्ता विशेष कार्य आयोजना गरिँदैन, वर्जित गरिएको छ । तर दैनिक सन्ध्या उपाशना र नित्य पूजाआजा नरोकिने प्राडा घिमिरे बताउँछन् ।
तर हरिशयनी एकादशीका दिन रोपेको तुलसीलाई चार महिनापछि हरिबोधनी एकादशीका दिन विवाहयोग्य मानेर तुलसीका मोठमा भगवान विष्णुको तुलसीको माध्यमबाट विवाह गरेपछि चतुर्मासमा रोकिएका यज्ञयज्ञादि कार्यक्रमहरू सबै फुकुवा हुन्छन् । त्यसैसँग जोडेर हरिबोधनी एकादशीका दिन न्वागी (नयाँ अन्न देवता र पितृलाई अर्पण गरेर खाने आरम्भ) पनि गर्छौं । नयाँ धानको चामल पिसाएर देवता पितृलाई चढाएर र होम गरेर खाने परम्परा रहेको भट्टराई बताउँछन् ।
एकादशी व्रत किन ?
हाम्रा धर्मग्रन्थ, पुराण, उपनिषद् र व्रतहरूको मुख्य उद्देश्य भनेको मन निग्रह हो । शरीरका पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र मन एघारौँ इन्द्रिय हो र मनको चञ्चलातालाई नियन्त्रण गर्नु व्रतको मुख्य उद्देश्य हो । मनले नै बुद्धि, चित्त र अहङ्कार निर्माण गर्छ भन्छन् घिमिरे ।
यो चञ्चल मनलाई एकाग्र गर्नु र एकतामा बाँध्नु भनेको एउटा चलिरहेको वायुलाई पक्रनु समान हो, त्यो सम्भव छैन भनेर भगवान् कृष्णले अर्जुनलाई भनेको प्रसङ्ग सुनाउँछन् घिमिरे । ‘एकादश इन्द्रिय मन हो, मनलाई निग्रह नगरीकन, मनलाई वशमा नराखीकन, मनलाई स्थापित नगरीकन, मनका कुरालाई नरोकीकन हामी धर्मकर्म गर्न सक्दैनौँ,’ घिमिरे भन्छन्, ‘तसर्थ हाम्रा परम्परा, हाम्रो संस्कार र हाम्रो हिन्दुमान्यतामा एकादश इन्द्रिय भनेको मन हो मनलाई वशमा राख्न र चञ्चलताबाट रोक्न यो एकादशी व्रत लिइएको हो ।’
धार्मिक दृष्टिले मात्र होइन आध्यात्मक र आयुवेर्दिक दृष्टिले तुलसीको महत्त्व धेरै छ । किनभने तुलसीका गुणहरू १०८ वटाभन्दा बढी छन् । ‘धार्मिक दृष्टिकोणका साथसाथै स्वाथ्यका दृष्टिले पनि अत्यन्त उपयोगी छ, अक्सिजनको कमी हुँदा तुलसी महत्त्वपूर्ण हुन्छ’ प्राडा भट्टराई भन्छन्, ‘मृत्यु संस्कारमा पनि तुलसीको मोठ र मञ्जरी महत्त्वपूर्ण मानिन्छ ।’
यसै गरी तुलसी जुन घरमा हुन्छ, त्यहाँ यमराजका दूतहरू नआउने विश्वास गरिन्छ । त्यस्तै अहिलेको समयमा एलोपेथिक, आयुर्वेदिक डाक्टरहरूले तुलसीको पानी खानाले शरीर स्वस्थ हुने, कुनै विकार भए निराकण हुने उनी बताउँछन् ।
तर तुलसीलाई विष्णु भगवानका रूपमै मान्नु पर्ने धारणा प्राडा घिमिरेको छ । ‘संस्कार परम्परा र सनातन परम्पराले दिएका कुराहरूमा हामीले हस्तक्षेप गर्न मिल्दैन । तुलसीबारे आयुर्वेदले एक थोक भन्ला, विज्ञानले अर्को थोक भन्ला,’ घिमिरेले भन्छन्, ‘तुलसी, पीपल, शालिग्राम, कुशलाई भगवान्का रूपमा मानिएको छ । यो हाम्रो सनातन परम्परा हो ।’
पौराणिक कथा
हरिशयनी एकादशी र तुलसीका बारेमा विभन्न पुराणका कथाहरू जोडिएका छन् । यसमा स्कन्ध पुराण, स्वस्थानी व्रतकथा, श्रीमदभागवत र देवीभागवत लगायत प्राचीन ग्रन्थका कथा प्रसङ्ग जोडिएर आएका छन् ।
अत्यन्तै दानी दैत्यराजा बलि राजाले धेरै नै दान दिई पुण्यका प्रभावले देवराज इन्द्रलाई नै आफ्नो स्वर्गलोक छाड्नुपर्ने अवस्था आएपछि देवताहरूमा हाहाकार हुन्छ । दान दिँदा पाएको पुण्यको प्रभावले शक्ति सञ्चय भई बलि राजामा घमण्ड बढ्छ । अनि ‘मेरो द्वारमा आउने जोकोहीले पनि खाली हात फर्किनुपर्दैन, जसले जे मागे पनि दान दिइनेछ’ भनी बलि राजाले व्यापक प्रचार प्रसार गराउँछन् । त्यसपछि देवराज इन्द्रसहित सबै देवता गई विष्णु भगवान्कहाँ गई प्रार्थना गर्छन् । देवताहरूको प्रार्थनाबाट प्रभावित विष्णु भगवान्ले बलिराजाको घमण्ड तोड्न वामनको रूप लिई बलि राजासँग भिक्षा माग्न जान्छन् ।
‘पुराणमा उल्लेख भएअनुसार अति दानी राजा बलिसँग भगवान् वामनले तीन पाउ जमिन माग्दा पहिलो पाउले अतल, वितल, सुतल, तलातल, महातल, रसातल सात लोक लिनुभयो, अर्को पाउले भू, भवः, स्वहः, जन, मह, तप, सत्य लिनु भयो, त्यसपछि तेस्रो पाउ कहाँ राख्ने भन्ने भयो,’ प्राडा घिमिरे भन्छन्, ‘अनि बलिले शिरमा राख्न दिए । त्यसपछि बलि पाताल पुगे ।’ बलि पाताल पुगेपछि विष्णुले तिम्रो केही इच्छा छ, छ भने माग भनेपछि बलिले आफ्नो द्वारपालका रूपमा विष्णुलाई सधैँ हेर्ने इच्छ राखे । सोही वाचाअनुसार विष्णु पाताल लोकमा बलिको द्वारपाल भएर यो चार महिना बस्छन् भन्ने विश्वास हिन्दु समुदायमा रहेको घिमिरे बताउँछन् ।
यस्तै अर्को कथा प्रसङ्ग श्रीस्वास्थानी व्रतकथामा भेटिन्छ । सो कथामा वृन्दा नाम गरेकी जालन्धरकी पत्नी अत्यधिक पतिव्रता हुन्छिन् । उनको सतितत्व अथवा नारीत्व नलुटेसम्म जालन्धरलाई मार्न सकिँदैन भगवान्हरूलाई थियो । भगवान् विष्णुले जालन्धरको रूप धारण गरेर उनको सतित्व लुटेपछि जालन्धरको मृत्यु हुन्छ । भगवान् विष्णुको यो छल थाहा पाएपछि वृन्दाले विष्णुलाई श्राप दिन्छिन् । वृन्दाले विष्णुलाई घाँस (कुश) हुनुपरोस्, झार (तुलसी) हुनुपरोस्, रुख (पीपल) हुनुपरोस् र ढुङ्गा (शिलाजित) हुनुपरोस् भनेर श्राप दिएकी थिइन् । त्यही श्रापअनुसार विष्णु भगवान तुलसीका रूपमा पृथ्वीमा आएका हुन्छन् । त्यसैले तुलसीलाई विष्णुकै रूपमा मानिन्छ । आज रोपिएको तुलसी हुँदा हरिबोधनी एकादशी (कार्तिक शुक्ल एकादशीका) दिन विवाह गर्ने परम्परा छ ।
तर विष्णुको विष्णुसँगै विवाह भएको भने होइन । तुलसी विष्णुकी पत्नी पनि हुन् । गङ्गा, लक्ष्मी र तुलसी भगवान् विष्णुका पत्नीहरू हुन् भन्ने कुरा देवीभागवत्मा लेखिएको छ । त्यसैले तुलसी तुलसीको विवाह भएको हो भन्छन् घिमिरे । तुलसीका रूपमा भगवान् विष्णु पृथ्वीमा आएको कुरा स्कन्ध पुराणमा पाइन्छ । त्यस्तै वामन भगवान् अर्थात् विष्णु पाताललोक प्रवेश गरेका कारणले हरिबोधनी एकादशीका दिन लक्ष्मीले बलिलाई भाइ बनाएर भगवान् विष्णुलाई पातालबाट छुटाएर पृथ्वी लोकमा ल्याएको कथा श्रीमद्भागवत पुराणमा रहेको बताउँछन घिमिरे ।