म्यान्मार हवाई हमलामा १० सर्वसाधारणको मृत्यु

बैंकक । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् ।
म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पु¥याएको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ ’पिपुल्स डिफेन्स फोर्सेज’सँग लडिरहेको छ ।
अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीहरूको सामूहिक सजायको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा मङ्गलबार अपराह्न एक सैनिक विमानले तीनवटा बम खसालेको उक्त गाउँका विद्रोही लडाकू को जाउ तुनले जानकारी दिए ।
उनले सेनाको आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको र आठ जना घाइते भएको बताए । “त्यहाँ कुनै झगडा भएको थिएन, तर उनीहरू गाउँमा बम विस्फोट गर्न आएका थिए,” उनले एएफपीसँग भने ।
आक्रमणमा ११ घर ध्वस्त भएका स्थानीयले बताएका छन् । न्याउङ कोनका एक बासिन्दाले एएफपीलाई बताएअनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ ।
उनले र अन्य स्थानीयले सोही साँझ मृतकको अन्त्येष्टि गरिएको बताउँदै सेनाले प्रतिशोध लिने डरले समाचारमा आफ्नो नाम प्रयोग नगर्न आग्रह गरे । उनले भने,“सेनाको नयाँ अबको योजना के हो हामीलाई थाहा छैन । त्यसैले हामीले जतिसक्दो चाँडो उनीहरूको अन्त्येष्टि गर्यौं ।”
बिबिसी बर्मेली र अन्य स्थानीय सञ्चारमाध्यमले पनि हवाई आक्रमणभएको जानकारी दिएका छन् भने केही सञ्चारमाध्यमले नौ जनाको मृत्यु भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा मानिसहरूले भग्नावशेष र भग्नावशेषमा रहेको एउटा ठूलो भवनको आगो निभाउने काम गरिरहेको देखिएको छ ।
एएफपीका डिजिटल भेरिफिकेसन रिपोर्टरहरूले ती तस्बिरहरू मङ्गलबारसम्म अनलाइनमा नआएको पुष्टि गरेका छन् । ‘कू’ सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि सेनाले आफ्नो शासनको प्रतिरोधलाई दबाउने कठिन लडाइ गरिरहेको छ ।
विशेषज्ञहरू भन्छन्, “जमीनमा तीव्र विरोधको सामना भएपछि सेनाले गोलावारूद आक्रमण र हवाई शक्तिको सहारा लिइरहेको छ ।” संयुक्त राष्ट्रसङ्घले गत वर्ष सेनाले ३०० भन्दा बढी हवाई आक्रमण गरेको बताएको थियो ।
सागाइङ जुन्टा विरोधी प्रतिरोधको हटस्पटको रूपमा देखा परेको छ । गत अप्रिलमा सेनाले सागाइङमा भएको एक भेलामा बम प्रहार गरेको थियो जसमा मिडिया र स्थानीयले करिब १७० जनाको ज्यान गएको बताएका थिए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका जायज मागहरू पुरा गर्न त्रिवि स्ववियुको माग
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा