आज २०८० असार १३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
बजेट पारित
सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ ।
ललिता निवास प्रकरण
ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।
रवि लामिछानेलाई राहत
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् । उनको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो ।
राष्ट्रपति डिस्चार्ज
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार दिउँसो डिस्चार्ज भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
बाढी पहिरोका १८२ घटना
प्युठानमा प्युठान नगरपालिका–१० छेपानकी १४ वर्षीया सबिना घर्तिमगर मंगलबार स्कुलबाट घर फर्कँदै गर्दा फुसवाङ खोला तर्ने क्रममा बगायो । उनलाई उद्धार गरी जिल्ला अस्पताल प्युठान लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो ।
रास्वपाले सम्पर्क सांसद
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी तोकेको छ । रास्वपाले देशभरका जनताको आवाज सांसदसम्म पुर्याउन सांसदहरूलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिएको हो ।
बालेनको निर्देशन
पछिल्लो समय सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि काठमाडौँ महानगरले मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । आज एक सूचना जारी गर्दै महानगरले तोकिएको समयमा सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबार बारे जानकारी गराउन आग्रह गरेको छ ।
जनस्वास्थ्य निरीक्षकले जोडे सवा करोडको अवैध सम्पत्ति
सर्लाही बलरा नगरपालिकाका कौशलेन्द्र मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौँ) पदका मिश्रको विगत रोचक छ ।
‘मिटरब्याज’ मा उजुरी
जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी सिर्जना खड्काले विभिन्न व्यक्तिसँग करोडौँ रकम उठाएर ठगी गरेको पाइएको छ । निजगढ, सिमरा, जीतपुर, पथलैया, अम्लेखगञ्ज, हेटौंडा, वीरगञ्ज लगायतका क्षेत्रमा दर्जनौं व्यवसायी, औद्योगिक करिडोरमा कार्यरत मजदुर तथा कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनले ठगेको पाइएको हो । व्याजको लोभ देखाएर दर्जनौं व्यक्तिहरुसँग लाखौं रुपैयाँ उठाएर खड्काले रकम अपचलन गरेको बताइन्छ ।
विश्वासको मत खोज्दै
कोशी प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि डाकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने मुख्य उद्देश्यका लागि डाकिएको उक्त प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा भने सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया