शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

बुधबार, १३ असार २०८०, २० : ३१
बुधबार, १३ असार २०८०

छेन्दु । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा बुधबार भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । 

दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचार विमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । 

यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढङ्गबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । दुवै पक्षबीच प्राकृतिक प्रकोप एवं विपद्को सामना गर्न मिलेर अगाडि बढ्ने समझदारी जुटेको छ ।   

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिलाई दोहोर्‍याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैँ समर्थन गर्दै आएकामा धन्यवाद दिए । राजनीतिक स्थिरतासँगै नेपालले आर्थिक समृद्धिमा जोड गरेको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी दिनमा नेपालको आर्थिक विकासमा चीनको सहयोग र लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । 

चिनियाँ उपप्रधानमन्त्री फोङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्त्व दिँदै आएको बताए । कोरोना महामारीपश्चात् द्विपक्षीय भ्रमण आदानप्रदान अभिवृद्धि भएको चर्चा गर्दै उनले तातोपानी नाकालाई व्यापार तथा आवातजावतमा खुला गर्नका लागि आफूले पहल गर्ने विश्वास दिलाए । 

उनले ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’मा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारका तर्फबाट सहभागिता जनाएकामा खुसी प्रकट गरेका थिए । सन् २०१९ मा चीनका राष्ट्रपति सि चिन फिनको नेपाल भ्रमणका क्रममा आफूले पनि काठमाडौँको भ्रमण गरेको स्मरण गर्दै उपप्रधानमन्त्री फोङले दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताए । द्विपक्षीय भ्रमणका आदानप्रदानबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनेको उनको भनाइ छ । 

भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, छेन्दुस्थित नेपाली महावाणिज्य दूत दिनेशकुमार घिमिरे र उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ सहभागी थिए । 

चीनको तर्फबाट उपप्रधानमन्त्री फोङ, सिचुवान प्रान्तको पार्टी सेक्रेटरी वाङ स्यायो हुई, उपमन्त्री, बेल्ट एण्ड रोड इनिसियटिभ ९बिआरआई० को उच्च अधिकारीलगायतको सहभागिता रहेको थियो । 

उपप्रधानमन्त्री श्रेष्ठ बुधबार सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेन्दु आइपुगेका हुन् । उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ्ग र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरेका थिए । 

सिचुवान प्रान्त सरकारले उपप्रधानमन्त्री श्रेष्ठलाई उच्च सम्मान दिएको थियो । उनले बिहीबार ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’को उद्घाटन सत्रलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ । 

सिचुवान एयरलाइन्सका पदाधिकारी तथा सिचुवान इन्भेष्टमेन्ट समूहसँग छलफल गर्ने कार्यक्रम छ । उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप