सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो

बुधबार, १३ असार २०८०, १७ : ३८
बुधबार, १३ असार २०८०

विराटनगर । कोशी प्रदेश सरकारले चार महिना अघि गठन गरेको प्रशासन सुधार कार्यदलले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई  प्रतिवेदन बुझाएको छ । कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरूलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

उनले कार्यदलले दिएका सुझावहरू कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको महत्त्वपूर्ण भूमिका हुने जानकारी गराउँदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरूलाई निर्देशन गरे । उनले सङ्घीयताको महत्त्वपूर्ण हिस्साको रूपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै तर प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्पणीहरू हुनु दुःखद भएको बताए । प्रदेश संरचनाप्रति जनस्तरबाट विभिन्न प्रश्नहरू उठिरहेको बेला कार्यदल मार्फत आएका सुझावहरूले त्यसको समाधान दिने विश्वास व्यक्त गरे । 

कोशी प्रदेश सरकारले चार महिनाअघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरूमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रहेका थिए । कार्यदलले चार महिना लगाएर तयार पारेको २२८ पेज लामो प्रतिवेदनमा १५२ वटा सुझावहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप