आर्थिक सूचकहरू सकारात्मक दिशातिर अघि बढ्दै छन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक दिशातिर अघि बढ्दै गएको बताएका छन् । संसदमा जवाफ दिँदै प्रचण्डले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दाबी गरे ।
आर्थिक सूचक सकारात्मक हुनु सरकारको उपलब्धि भन्दा पनि राष्ट्रकै उपलब्धिको भएको प्रचण्डले बताए । ‘अहिले सबै जसो आर्थिक सूचकहरू सकारात्मक दिशातिर अगाडि बढ्दै छन् । पछिल्लो ६ महिना कुल विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । अब वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा पुगेका छौं’ प्रचण्डले भने, ‘कुल व्यापार घाटामा १५ दशमलव २ प्रतिशतले कमी आएको छ । विप्रेषण उल्लेख्य मात्रामा वृद्धि भएको छ । गत वर्षको यसै अवधिमा पर्यटक सङ्ख्या दोब्बर बढेको छ । बैङ्कको ब्याजदर क्रमशः घट्दै गएको छ ।’ वित्तीय क्षेत्रको लगानीको वातावरणको सम्बन्धमा सकारात्मक सुधार आएको प्रचण्डले दाबी गरे ।
राजस्व चुहावट नियन्त्रण भएपछि राजश्व सङ्कलनमा क्रमशः सुधार आउँदै गएको बताए । विद्युत् प्राधिकरण र नेपाल आयल निगम, नेपाल वायु सेवा निगम नाफामा गएको प्रचण्डले उल्लेख गरे । ‘संसारभर कूटनीतिक तथा आर्थिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालन गरिएको छ । ठुला लगानी कर्तासँग प्रधानमन्त्री तहमा अग्रसरता लिएको छु त्यसबाट सकारात्मक सङ्केत देखिएको छ’ प्रचण्डले भने, ‘उद्योगको क्षेत्रमा २७४ परियोजना मार्फत ३५ अर्ब लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको छ । विभिन्न ६ जलविद्युत आयोजनाका लागि १ खर्ब ६७ अर्ब लगानी सुनिश्चित भएको छ ।’ अर्थतन्त्रको सुधारले आमजनतामा आशा जगाएको प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने सरकारको तयारी रहेको पनि बताए । आयोगलाई सरकारको विशिष्टीकृत संस्थाको रूपमा विकास र यसको भूमिका थप सशक्त र प्रभावकारी बनाउन आवश्यक सुधार एवम् पुनर्संरचना गरिने उनले बताए ।
‘राष्ट्रिय योजना आयोगलाई सरकारको विशिष्टीकृत संस्थाको रूपमा विकास गर्दे यसको भूमिकामा थप प्रभावकारी बनाउन पुनर्संरचना गर्ने तयारी रहेको म जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले संसद्मा भने ।
उसो त सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत नीति तथा कार्यक्रममा समेत राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरिने उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
-
न्युयोर्कको सबवेमा सुतिरहेकी महिलालाई आगो लगाइयो
-
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
-
कोशी प्रदेश सरकारले निर्माण गर्ने ३८५ सडकको सूची सार्वजनिक
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल