शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘विप्लवलाई महासचिव बनाउने कुरा अफिसियल होइन’

‘सम्पूर्ण कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौँ’ : प्रकाण्ड
बुधबार, १३ असार २०८०, १० : ३९
बुधबार, १३ असार २०८०

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पहिलो पटक संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग सहकार्य गर्दैछ । चार दल सम्मिलित समाजवादी मोर्चामा नेकपा सहभागी भएको छ, जसमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल छन् ।

एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादमा जाने सपना देख्ने विप्लव नेतृत्वको नेकपा एकाएक संसदवादी दलसँग समाजवादी मोर्चामा समेटिएपछि अनेक टीका टिप्पणी हुन थालेको छ ।

विप्लव कतै मोर्चामार्फत् माओवादीसँग एकता गरेर अघि बढ्छन् कि भन्ने चर्चा पनि व्यापक छ । समाजवादी मोर्चा निर्माणको पृष्ठभूमि, माओवादीसँगको एकता र पार्टीको भावी रणनीतिका विषयमा केन्द्रित रही विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँग रातोपाटीकर्मी वीरेन्द्र ओलीले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, प्रकाण्डसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंहरुले अहिलेसम्म संसद्वादी पार्टीहरुसँग मोर्चाबन्दी गर्नु भएको थिएन । अहिले एकाएक समाजवादी मोर्चा बनाएर जानुपर्ने अवस्था कसरी आयो ?

समाजवादी मोर्चा अहिलेको राष्ट्रिय राजनीतिको सर्वाधिक चर्चित विषय बनेको छ ।  यस बारेमा सकारात्मक र नकात्मक दुवै खालका बहस भइराखेका छन् । उत्तिकै मात्रामा क्रिया प्रतिक्रिया आएका छन् । अझ हामीले मोर्चा घोषणा गरेपछि बढी मुखरित भएको महसुस गरिएको छ । यसमा राजनीतिक वृत्तमा जिज्ञासाको विषय भएको छ  । पार्टीभित्र मात्रै हैन, पार्टी बाहिरको प्रतिक्रियासमेत हेर्दैछु ।

यो समाजवादी मोर्चा अहिलेको राष्ट्रिय राजनीतिमा देखा पर्नुका दुई कारण छन् । देश  इतिहासकै सबैभन्दा बढी संकटको भूमरीमा छ । यति अप्ठ्यारो स्थिति देशले कहिल्यै भोग्नु परेको थिएन । अप्ठ्यारो भए पनि न्यून अवस्था थियो ।

यहाँ राज्य व्यवस्थाहरु परिवर्तन भएका छन् । १०४ वर्षे राणा शासन आन्तरिक समस्याका कारण सिद्धियो । अर्थात् व्यवस्थाको चरित्र निरंकुश खालको थियो । यस्तै देश र जनता विरोधी व्यवस्था थियो । जसका कारण पतन भयो ।

यस्तै, ३० वर्षे पञ्चायत व्यवस्थाको पतन, राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र त्यसैको उपज भएकाले यस्तो भयो । यी सबै व्यवस्थामा यति धेरै संकट कहिल्यै थिएन ।

राष्ट्रिय स्वाधिनताको दृष्टिकोणले विगतको भन्दा हजारौँ गुना थ्रेटमा छ । विगतमा भारतीय साम्राज्यवादीहरुबाट सैद्धान्तिक र व्यवहारिक दृष्टिकोणले थ्रेट थियो । अहिले अमेरिकी साम्राज्यवादको सबैभन्दा बढी थे्रट छ । अन्तर्राष्ट्रिय परिस्थिति बहुध्रुवीय अवस्थामा पुगेको छ । त्यसमा ९० को दशकदेखि एक धु्रवीय रुपमा रहेको अमेरिकालाई थे्रट भइराखेको छ । अमेरिकी शासकलाई ९० को दशकको  एक ध्रुवीय साम्राज्य कायम राख्नु छ ।

आफ्नो स्वार्थकेन्द्रित रणनीति, त्यसको कार्यनीति र कार्यक्रमको रुपमा अरु पावरको रुपमा देशहरु आएका छन् । उनीहरु विश्वमा आफ्नो प्रभाव जमाउन चाहन्छन् । जसका कारण विश्वको परिस्थिति जटिल स्थितिमा पुगेको छ । यस्तो खालको प्रतिस्पर्धाले दुश्मनीको रुपमा लिएको छ । यसले कोल्ड वारको रुप लिँदैछ । त्यो सबैलाई थाहा भएकै विषय भयो ।

khadga bahadur biswakarma prakand (1)

तपाईं बहकिनु भए जस्तो लाग्यो । म सोध्दै छु, समाजवादी मोर्चा बनाएर जानुपर्ने अवस्था कसरी आयो ?

म त्यसै प्रश्नमा छु । हेर्नुस्, नेपालमा छोटो समय चुनाव भएको ५ वर्षमै धेरै संकट देखिएका छन् । २०७२ सालको संविधान जारी भएको ७ वर्ष भयो । त्यसको गाइडलाइनमा भएको पहिलो चुनावको ५ वर्षमै संसदीय व्यवस्था टाट पल्टिने अवस्थामा पुग्यो ।

अहिलेको यो व्यवस्थामा राजनीति भनेकै सत्ता र कुर्सीको खेलमात्रै देखियो । आफ्नो स्वार्थको निम्ति देश र जनतालाई दाउमा राख्ने देखियो । आफ्ना नातागोता, परिवारलाई पोस्ने काम बढी भयो । युरोपमा सामन्तवादको संघर्ष गर्ने बेला त्यहाँका पुँजीवादीहरुको चरित्र जस्तो थियो, त्यो भन्दा गएगुजे्रको दलाल पुँजीवाद देखा पर्‍यो । देशको राजनीति यस्तो नराम्रो गरी बदनाम भयो कि भनिसाध्यै छैन । 

अहिलेको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगिसक्यो । आजित नभएको जनता कोही छैन । आजित नभएको कुनै क्षेत्र छैन । राज्यले आफ्नो प्रशासनिक खर्च धान्न सक्ने अवस्था छैन । नागरिकको सामाजिक सुरक्षाको अवस्थालाई हेर्ने हो भने कोही सुरक्षित छैनन् । देशको सबै क्षेत्र भयावह स्थिति छ । देशको विकास गर्छु भन्नु मान्छेलाई बेवकुफ बनाउने बाहेक केही छैन ।

देश र जनतालाई संकटबाट निकाल्न राजनीतिक पार्टीका नेता कार्यकर्ता र सामाजिक अभियन्ताहरु लाग्नु पहिलो कार्य हुन आएको छ । यो सबै संकटबाट निकास दिने भनेको पहिलो अभिभारा समाजवादी मोर्चा नै हो ।

राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले देशमा संकटमा छ भन्नुभयो । तपाईंले भन्नु भए जस्तै जसले एमसीसी पारितदेखि नातागोताहरुलाई पोस्ने काम गर्‍यो । उनीहरुसँगै  किन मोर्चाबन्दी गर्नुभयो त ?

संसदीय व्यवस्था भनेको आफ्नो चरित्र आफ्नै देश र जनतालाई घात गर्ने व्यवस्था हो । अर्थात् यसको चरित्र नै देश र जनता विरोधी हो । संसदीय व्यवस्थामा गएकाहरुको त्यस्तो चरित्र हुन्छ । तर, सबैको चरित्र शत प्रतिशत एउटै हुँदैन । उहाँहरु समेत कतै न कतै दलाल पुँजीवादबाट भिक्टिम हुनु भएको छ । उहाँहरु हामीले सोचेको भन्दा गलत ठाउँमा गयो भन्ने अवस्थामा आइपुग्नु भएको छ । यसमा हामीले कतै न कतै पुनर्विचार गर्नुपर्छ भन्ने प्रवृत्ति र सोचाई छ ।

समाजवादी मोर्चा भनेको इमानदार कम्युनिस्ट, प्रगतिशील लोकतन्त्रवादी र सच्चा देशभक्तहरुको मोर्चा बनाउन खोजिएको छ । जुन अहिलेसम्म पूरा आकार लिइसकेको छैन ।

विगतको सत्ता सञ्चालनको सन्दर्भमा मुख्य दोष राज्य सञ्चालकलाई आउने भयो । त्यसमा आफ्नो हिस्सा कति छ, आफैँ विचार गर्नुपर्ने भयो । २०६२/०६३ साल यताको राजनीतिक यात्राको समीक्षा गरौं । त्यसको सकारात्मक पक्षको रक्षा गरौं । नकारात्मक घटनाक्रम र प्रवृत्तिको निर्ममतापूर्वक करेक्सन गरौं भन्ने हाम्रो कुरा छ ।

अहिले देशमा साम्राज्यवादीको हस्तक्षेपका कारण चलखेल भयो । अर्को दलाल पुँजीवादी प्रणालीका कारण समस्या भइराखेको छ । यसबाट निकास दिन समस्या छ भन्नेमा साझा बुझाई छ । समस्याबाट निकास दिन नयाँ ढंगले सोच्नुपर्छ भन्ने सोचाई र प्रवृत्ति एक ठाउँमा छ । यति भयो भने साझा रुपमा सहकार्य गर्न सकिन्छ भन्ने हो ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र पर्याप्त भएन । यसलाई परिमार्जन गरेर वा अग्रगामी रुपान्तरण गरेर, समाजवादी गणतन्त्रात्मक लगेर समस्याको समाधान खोज्नुपर्छ । यो समाजवादी मोर्चा निर्माण प्रारम्भिक कार्य हो । नेपालका सबै कम्युनिस्टलाई समाजवादी मोर्चामा ल्याउनुपर्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनभित्र रहेका अग्रगामी डेमोक्र्याटहरुलाई संयुक्त मोर्चामा ल्याउने सोचिएको छ ।

जो दलाल पुँजीवाद र साम्राज्यवादी हस्तक्षेपबाट आजित भएका असली राष्ट्रवादीहरुलाई यो मोर्चामा ल्याउनुपर्छ । समाजवादी मोर्चा भनेको इमानदार कम्युनिस्ट, प्रगतिशील लोकतन्त्रवादी र सच्चा देशभक्तहरुको मोर्चा बनाउन खोजिएको छ । जुन अहिलेसम्म पूरा आकार लिइसकेको छैन ।

अहिलेको व्यवस्थाको ‘रेट्रो फिटिङ’ गरेर अर्थ छैन । यो व्यवस्थालाई ‘रेट्रो फिटिङ’ गर्न उहाँहरुले प्रयास गरिसक्नु भयो ।

देशमा भएका डेमोक्रेट र देशभक्तलाई मोर्चामा समेट्ने भनेको कांग्रेस, राप्रपा जस्ता शक्तिलाई समेटेर मोर्चा बनाउने उद्देश्य छ भन्न खोज्नु भएको हो ?

त्यो होइन । देशमा छरिएर रहेका असल डेमोक्रेट र देशभक्तहरुलाई समेट्ने भन्न खोजेको हो ।

बाहिर नाम जप्दा समाजवादी मोर्चा समाजवादमा पुग्ने भन्ने अनि भित्रभित्रै संसदीय व्यवस्थामा छिर्ने भर्‍याङ त बनाउन खोज्नु भएको होइन ? 

यो खालको बुझाई बाहिर छ । देशको अवस्थाले हामी संसदवादमा फस्ने खतरा छैन । हामी संसदवादमा जानुपर्ने बाध्यात्मक स्थिति होइन । संसदवादीहरु संसदवादको दलाल चरित्रबाट माथि उठ्नुपर्ने वस्तुगत आवश्यकता र जनताको माग हो । सबै संसदवादीहरुलाई अपिल छ । देश र जनता विरोधी संसदीय व्यवस्थालाई क्रस गरेर जान सबै तयार हुनुपर्छ । हामी त्यसमा तयार भएका हौँ । । अहिलेको समस्याको अग्रगामी निकास चाहिन्छ भन्ने संसदबाट भित्र छिर्ने भन्ने होइन ।

अहिलेको व्यवस्थाको ‘रेट्रो फिटिङ’ गरेर जाने होइन कि समाजवादी व्यवस्थामा पुग्ने नै हो त ?  

अहिलेको व्यवस्थाको ‘रेट्रो फिटिङ’ गरेर अर्थ छैन । यो व्यवस्थालाई ‘रेट्रो फिटिङ’ गर्न उहाँहरुले प्रयास गरिसक्नु भयो । अहिलेको राजनीतिमा भएका क्रान्तिकारी नेता र कार्यकर्ताहरुले जोड गरिसक्नु भयो । जोड गरेर पनि सफल हुनु सक्नु भएन । त्यसो भएपछि सफल हुने व्यवस्था चाहिने भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रुपान्तरण गरेर समाजवादी गणतान्त्रिक व्यवस्थामा जानुपर्छ । नेपाली जनताको स्वाधिनताको मुक्ति सुनिश्चित गर्नुपर्नेछ । नेपाली जनताको राष्ट्रिय एकतालाई कायम राख्दै प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी र देशभक्त शक्तिलाई एक ठाउँमा ल्याएर मोर्चा कायम गर्नुपर्छ ।

एकीकृत जनक्रान्तिको नाममा होस् वा वैज्ञानिक समाजवाद निर्माण गर्ने नाममा, १३ जनाले ज्यान गुमाउनु पर्‍यो । अझै कतिपय कार्यकर्ता जेलमा छन् । मुद्दा सुल्झिएको छैन । तपाईंहरुको पछिल्लो यो गतिविधिले ती नेता कार्यकर्तामाथि धोका भएन र ?

तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आयौँ । राज्यसँग भएको सहमति कार्यान्वयन नहुनु राज्यले हामीलाई धोका दियो । ओलीजीले लागु गर्नु भएन । देउवाजीले कार्यान्वयन नगर्नु धोका भयो । अहिले प्रचण्डजी सरकारको नेतृत्व गर्ने ठाउँमा आउनु भएको छ । अहिलेसम्म तीन बँुदे सहमति कार्यान्वयन नहुनुमा राज्यले धोका दियो ।

हामीलाई एक पटक वा दुई पटकसम्म धोका दिन सकिन्छ । सधैँ धोका दिन सकिँदैन । यदि यसरी धोका दिन थालिए विद्रोहमा बदलिन्छ । धोका आन्दोलनमा बदलिएर प्रतिरोधमा रुपान्तरण हुन्छ । हामी भन्न चाहन्छौँ, त्यस्तो नहोस् । हामीले प्रचण्डजीलाई सचेत गराएका छौँ ।

पहिला मुद्दा खारेज गरौं भन्ने छ । त्यसपछि प्रतिवन्धको अवधिमा सहिद भएका र जनयुद्धका सहिद परिवारको कुरा छ ।

तर, तपाईंहरुले यी धोका दिनेहरुसँग सहकार्य गर्नुभयो । कसरी तपाईंहरुले भनेका मागहरु सम्बोधन हुन्छन् ?

निर्वाचनपछि प्रचण्डको नेतृत्वमा सरकार बनेको छ । नयाँ नेतृत्व र पुरानो मुद्दा भएको हुनाले तीन बुँदे माग सम्बोधन गर्ने भन्ने छ ।  खास गरी, बन्दी साथीहरुलाई छोड्ने र मुद्दा फिर्ता लिने विषयमा कुरा भइराखेको छ ।

khadga bahadur biswakarma prakand (3)

हाम्रा माग पूरा गर्न प्रचण्डजी सकारात्मक हुनुहुन्छ । उहाँ दृढ भएर लागिरहनु भएको छ । उहाँले सहमति कार्यान्वयन गर्छु भन्नु भएको छ । हामी वेटिङमा छौँ । ओली र देउवा सरकारकै पुनरावृत्त भयो भने फाइनल धारणा बनाउने छौँ । प्रधानमन्त्रीले सकारात्मक रुपमा माग सम्बोधन गर्नुहुन्छ भन्नेमा विश्वस्त छौँ ।

प्रतिवन्धको अवधिमा मृत्यु भएका परिवारले क्षतिपूर्तिसहित अरु के के राहत पाउँछन् ?

पहिला मुद्दा खारेज गरौं भन्ने छ । त्यसपछि प्रतिवन्धको अवधिमा सहिद भएका र जनयुद्धका सहिद परिवारको कुरा छ । पछिल्लो १३ जना सहिद परिवारको कुरा छ, ती सबै विषयमा समग्र रुपमा छलफल गर्नुपर्छ भन्ने छ । पहिलो चरणमा मुद्दा खारेज गर्ने र बन्दी रिहा गर्नुस् भन्ने छ । प्रधानमन्त्री लाग्नु भएको छ । बाँकी नतिजाको पर्खाइमा छौँ ।

तर, तपाईंहरुबाट छुट्टिएर गएका धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश ओलीहरुले विप्लव, प्रकाण्डबाट केही हुँदैन, हामीले जे जस्तो अनुमान गरेका थियौँ, त्यहीँ बाटोमा लाग्नु भयो । सहिद परिवारले केही आशा नगरे हुन्छ भन्न थाल्नु भएको छ नि ?

यो आग्रह र पूर्वाग्रहको अभिव्यक्तिबाहेक केही होइन । यदि हामी संसदीय व्यवस्थामा छिरेको भए, हामी सरकारमा गएको भए, उहाँहरुले यो आरोप लगाउँदा सत्य हुन सक्थ्यो । भ्रमले सत्य प्रमाणित गर्दैन । भ्रमले सत्यलाई असत्य बनाउँदैन । हामी संसद र सरकारमा गएका छैनौँ । बरु दलाल पुँजीवादका कारण देश र जनताको स्थितिमा इतिहासकै कष्टकर र पीडादायी अवस्थामा पुर्‍याएको छ ।

एकीकृत जनक्रान्ति सञ्चालन गरेको पार्टीको राष्ट्रिय दायित्व छ । त्यस्ता पार्टीको देश र जनताप्रति दायित्व हुन्छ । एकीकृत जनक्रान्तिको नयाँ मोर्चामा नयाँ कार्यभार पूरा गर्नुपर्ने छ । उहाँहरुले भनेको तर्कमा कुनै तुक छैन । कुनै पनि क्रान्तिकारी पार्टी देश र जनता जोखिममा परेको बेला हातमा दही जमाएर बस्दैन । कोही चुप लागेर बस्दैन । यदि चुप लागेर बस्छ भने त्यो पार्टीभित्र केही गम्भीर समस्या छ भन्ने बुझ्नुपर्छ । बरु देश र जनताप्रति गम्भीर नहुने समस्या, आफ्नै रटान लगाउने समस्या हुन सक्छन् । आफ्नै मित्रविरुद्ध बन्दुक सोझ्याउने समस्या हुन सक्छन् भन्ने बुझ्नुपर्छ । 

विप्लवसहित तपाईं माओवादीका नेता जनार्दन शर्मा, वर्षमान पुन भन्दा बढी अघि सरेर प्रचण्डको प्रतिरक्षा गरिरहनु भएको छ । यसरी नजिक भएर प्रतिवाद गर्नुको खास कारण हो ? कतै पार्टी एकता गर्न थालेको हो कि ?

प्रचण्ड माओवादीको मुख्य लिडर हुनुहुन्छ । माओवादीका अरु नेताहरुमा अनन्तजीसँग पछिल्लो चरणमा कुरा हुन पाएको छैन ।  प्रभाकर, गुरुङजी, महराजी, शक्ति बस्नेत, नारायणकाजीसँग कुरा भएको छ । तीमध्ये बढी कुरा प्रचण्डसँग भएको छ । उहाँ माओवादी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री हुनुले तीन बुँदे सहमतिको कुरा गर्नुपर्ने हुन्छ ।

माओवादी अध्यक्ष हुनुले अहिले देशको राष्ट्रिय राजनीतिको वारेमा, माओवादी १० वर्षे जनयुद्ध लगेको पार्टीको भूमिका के हुनुपर्छ भन्ने सन्दर्भमा बढी छलफल भएको छ ।

कम्युनिस्ट आन्दोलनको रिभ्यू गर्ने र माओवादीको २०६२/०६३ यताको समीक्षा निर्ममतापूर्वक गरौँ । यी सबैले समय पक्कै लिन्छ ।

विगतमा हाम्रा जुन प्रयोगहरु छन्, त्यसको गम्भीर समीक्षा गर्नुपर्छ भन्ने छ । हामीलाई यो ठिक लाग्छ भनेर प्रयोग गरियो । उहाँलाई पनि यो ठिक लाग्छ भनेर प्रयोग गर्नुभयो । झण्डै डेढ दशक प्रयोग गरेर समय बितायौं । यो प्रयोग गर्दा हाम्रा सोचाई र प्रवृत्ति कति सत्य थिए ? कति देश र जनताको प्रतिनिधित्व गर्थे भन्ने कोणबाट हेरौँ भन्ने छ । त्यसैले, अब सकारात्मक पक्षको अंगालौँ, नकारात्मक पक्षको अन्त्य गरौँ भन्ने छ ।

नेपालको कम्युनिस्ट आन्दोलनकै रिभ्यू गर्ने बेला भयो । कम्युनिस्ट आन्दोलन देश र जनताको सेवामा समर्पित हुनुपर्ने हो । नेपालमा त्यसको विकृत प्रयोग भएका छन् । सबै कम्युनिस्ट पार्टीका क्रान्तिकारी नेता कार्यकर्ताको चाहना एकता  र धु्रवीकरणको अन्त्य गर्नुपर्छ भन्ने छ । यसको प्रतिनिधित्व हामीले कसरी गर्ने हो भन्ने छ । यसको लिड हामीले कसरी गर्ने भन्नेमा बहस भएको छ त ?

त्यो सबै विषयलाई हेर्दा कम्युनिस्ट आन्दोलनको रिभ्यू गर्ने र माओवादीको २०६२/०६३ यताको समीक्षा निर्ममतापूर्वक गरौँ । यी सबैले समय पक्कै लिन्छ । जनतालाई बिहान खाए बेलुका के खाउँ भन्ने छ । आज समस्या टारे भोलि कसरी टारौँ भन्ने छ ।

महासचिव विप्लवलाई माओवादी केन्द्रकै महासचिव बनाएर एकता गर्ने कुरा आइराखेको के हो ?

हाम्रो पार्टीभित्र चर्चा छैन । सत्यततिर नजिक छैन । जो जो साथीहरुले चर्चा गरे । उनीहरुको रुचि हुन सक्छ ।

khadga bahadur biswakarma prakand (2)

विप्लवलाई महासचिव बनाएर पार्टी एकता गर्न माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लागेको भन्ने चर्चा छ नि ?

इमानदार साथीहरुको पोजेटिभ कुरा हुन सक्छ । अहिले सहकार्य गर्दा नेगेटिभ सोचाई बनेको हुन सक्छ । नेगेटिभ सोचाईले तपाईंले भने जस्तो त्यो कुरा बाहिर आएको हुन सक्छ । उहाँ (विप्लव)लाई महासचिव बनाउने कुरा अफिसियल होइन । अरु साथीहरुको व्यक्तिगत धारणा हुन सक्छन् । उहाँहरुको व्यक्तिगत धारणालाई नकारात्मक रुपमा किन अर्थ्याउनु पर्‍यो ?

के विप्लवलाई महासचिव बनाउन जनार्दन शर्मा र वर्षमान पुन मान्नु हुन्छ भन्ने लाग्छ ?

यस्ता टेक्निकल कुरा गर्नु भएन । यो अर्गनाइजेसन पार्ट भयो । फेरि संगठनसमेत महत्त्वपूर्ण हुन्छ । त्यो भन्दा महत्त्वपूर्ण इमानदार नेता कार्यकर्ताहरुले देशलाई संकटबाट मुक्त गर्न ऐतिहासिक पहल लिन सोच्नुपर्छ । माओवादी धारलाई क्रान्तिकारीकरण गर्ने वस्तुगत आवश्यकता छ । त्यो गर्न एउटा बुझाईमा पुगेका छौँ ।

माओवादीसँग दीर्घकालीन रुपमा एकता गर्ने गरी सोचिएको छ ?

माओवादी केन्द्रसँग मात्रै एकताको कुरा भएन । नेपालको सम्पूर्ण कम्युनिस्ट आन्दोलनको एकता गर्ने पक्षमा छौँ । त्यसमा माओवादी, एकीकृत समाजवादी, एमाले, मसाल, नेमकिपा लगायतसँग हुन सक्छ । नेपालको कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गरेर नयाँ ढंगले अगाडि बढाउनु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप