हिउँभन्दा चिसो : यस्तो डाक्टर, जसले गुडियाको उपचार गर्छ
बच्चाको उपचारका लागि डा. सिद्धान्त आचार्य कर्णाली भेगका गोपी नेपालीको घरमा पुग्छन् । जहाँ दुई–चारवटा घरले बनेको एउटा गाउँ छ, तर गोपीको बाहेक अरु घर रित्ता छन् । गोपी जागिरका सिलसिलामा बजारतिर बस्छन्, यस गाउँको कुरुवाजस्तै छन्, गोपीकी श्रीमती नौरती ।
जनयुद्धका बेला सुरक्षाका खातिर गाउँ छाडेकाहरू फर्किसकेका छैनन् । गाउँमा बस्दै आएका बुढापाका बितिसके । यो अनकन्टार गाउँको घरको स्वरूप र घरमा राखिएका भेडाका सिङले जनाउँछन् — यो कर्णालीतिरको कुनै गाउँ हो, जहाँ मष्टोपूजक बस्छन् र उनीहरूको आफ्नै आस्था र विश्वास छ ।
गोपी दम्पतीले घरलाई मर्न नदिन गाउँ छाडेका छैनन् । उनीहरूको रैथाने दर्शन छ — चुलो बलेन, बत्ती बलेन भने घर मर्छ र घर मर्नु भनेको मानिसहरू विस्थापित हुनु हो, देशको लय बिग्रनु हो ।
प्रसंग हो, काठमाडौंको थापागाउँस्थित मण्डला थियटरमा मञ्चित सोमनाथ खनाल निर्देशित नाटक ‘हिउँभन्दा चिसो’को । यो नाटक भारतीय लेखक, निर्देशक तथा अभिनेता सौरभ शुक्लाले लेखेको नाटक ‘बर्फ’को लगभग अनुवाद हो । ‘हिउँभन्दा चिसो’को चर्चा गर्नुअघि ‘बर्फ’कै चर्चा गर्नुपर्ने हुन्छ ।
अभिनेता शुक्लाले नाटक ‘बर्फ’मा कस्मिर क्षेत्रको एक गाउँको कथा बुनेका छन् । बर्फको कथा अनुसार, गुलाम असुलको गाउँमा सुरक्षाका कारण मानिस बस्दैनन्, गुलामका दम्पतीबाहेक । डा. सिद्धान्त पल उनीहरूकै बच्चाको उपचार गर्न त्यस गाउँमा पुगेका हुन्छन्, तर जसलाई बच्चा भनिएको हुन्छ, त्यो चिनियाँ खेलौना (गुडिया) हुन्छ ।
गुलामकी पत्नी नफिसाले खेलौनालाई नै बच्चा मान्दै आएकी छन्, अर्थात् उनलाई कुनै प्रकारको मानसिक समस्या छ ।
डा. सिद्धान्तको सुझाव रहन्छ — गुडियाको होइन नफिसाकै उपचार गर्नुपर्छ । यसमा गुलामको जवाफ हुन्छ — ती व्यक्ति जो मजार (महापुरुषको चिहान)मा चादर चढाएर कामना गर्छन्, ती व्यक्ति जो मन्दिरमा पत्थरलाई प्रसाद चढाएर आफ्ना दुःखसुख बाँड्छन्, के तपाईंले उनीहरूलाई भन्नुहुन्छ — तिमीहरू उपचार गर । मेरी श्रीमतीलाई किन उपचार गर्न भन्नुहुन्छ ? उनले मजार र पत्थरलाई होइन, एक रबरको गुडियालाई माया गर्छिन् ।
डा. सिद्धान्त भन्छन्, नफिसाले बाँचेको जीवन सत्य होइन । गुलाम भने आ–आफ्नो सत्यको कुरा गर्छन् ।
शुक्लाले यो नाटक राजनीतिक र धार्मिक रूपले संवेदनशील भूमि कस्मिर क्षेत्रलाई लिएर लेखेका हुन् । जसको इतिहासको पिँधमा धार्मिक आस्था र धार्मिक आस्थाकै कारण कलह दुवै थियो र छ ।
बर्फ नाटकमा खास हेतु र प्रयोजनमा चिकित्सकको नाम सिद्धान्त राखिएको बुझिन्छ । यस नाटक उत्तरआधुनिकतावाद (पोस्टमोडर्निजम्)तिर ढल्केको छ । शुक्लाले कुनै ‘सिद्धान्त’ वा विज्ञानलाई थुप्रै सत्य (खासमा तथ्य, गुलाम र नफिसाले बाँचेको जीवन)बाट लगभग पराजित गराएका छन् ।
नाटक बर्फमा अर्को सशक्त संवाद छ, नफिसा भन्छिन् — निदाएका मानिस शान्त हुन्छन्, किनभने उनीहरूले सोच्दैनन् । धेरै सोच्दा नै चिन्ता बढ्ने हो ।
सोच, विचारकै उच्च रुप हुन्, सिद्धान्तहरू । अहिलेको विश्व खास–खास व्यवस्था वा सिद्धान्तमै चल्दै आएको छ, ती सिद्धान्त आफैँमा असल हुन् वा खराब । खराब सिद्धान्त वा अवधारणाको असर समाजमा छ भने सामाजिक न्यायमा आधारित सिद्धान्त बनाउनुपर्ने वा त्यस्तो सिद्धान्त लागु हुनुपर्ने नै आजको विश्वको आवश्यकता हो ।
शुक्लाले बर्फ नाटकमा गुडियालाई मोहको प्रतीकका रूपमा ल्याएको बुझिन्छ । मानिसका मोहहरू क्षणभङ्गुर र भ्रमपूर्ण छन्, केटाकेटीका बिग्रने खेलौनाजस्तै तर मानिसले भ्रमपूर्ण मोह छाडेको छैन र संसारमा अशान्ति छ । एकातिर यति सुन्दर दर्शन हुँदाहुँदै शुक्लाले अर्कोतिर नाटकलाई किन उत्तरआधुनिकतावादतिर नाटकलाई ढल्काए ? यसमा उनका आफ्नै सीमा र बाध्यता हुन सक्छन् र उत्तरआधुनिकतावादतिरको उनको झुकाव पनि हुन सक्छ ।
विशेषगरी बर्फको कथा डाक्टरको गाडीको चाबीमा अल्झिएको छ । उनको चाबी नफिसा अर्थात् एक मानसिक रोगीको कब्जामा पर्छ र कथा अल्झिन्छ । यस नाटकको सशक्त प्रतीक वा विम्ब नै चाबी हो । यसले घर, समाज, संस्था, सरकार आदिको चाबी कस्तो व्यक्तिको हातमा हुनुपर्छ भन्नेतिर पनि संकेत गरेको छ ।
एउटा वस्तुलाई अर्कै रूपमा ग्रहण गर्ने नफिसाको मानसिक समस्याको पहिचान वा उपचार नहुने होइन, आजको विज्ञान यति पछाडि छैन । मानसिक रूपमा नफिसा स्वस्थ भएपछि नाटकमा खेलौनाको ठाउँमा वास्तविक बच्चा नै ल्याउन सकिने थियो, बच्चा हुने किसिमको उपचार गरेर, वा यस्तो सम्भव नभए धर्म–सन्तान ल्याउन सकिन्थ्यो, तर नाटकको हेतु वा साहित्यिक मूल्य छोइने जीवनको सत्यसम्म पुग्दैन, त्यसदेखि टाढा भाग्छ ।
यही कथासारलाई लगभग हुबहु रूपमा स्थान अनुसारका पात्रमा ढालेर निर्देशक खनालले ‘हिउँभन्दा चिसो’ नाटक मञ्चन गरेका छन् । नाटक नाटककै लागि सशक्त बनेको छ । नाटकको दर्शन वा साहित्यिक मूल्यलाई छाडेर हेर्दा अभिनय, मञ्च साजसज्जा, प्रकाश र ध्वनि यति बान्किलो ढंगले प्रस्तुत छ, खोट लगाउनेतिर सोच्नै दिँदैन । खासगरी कर्णाली लबजमा गोविन्द सुनार (गोपी) र रेनुनाथ योगी (नौरती)को अभिनयले नाटकलाई जीवन्त बनाएको छ । यो हदसम्मको कथा सुहाउँदो अभिनय रहेको नाटक हामीकहाँ कमै मञ्चन हुन्छन् । नाटकमा डा. सिद्धान्तको भूमिका निभाउने अभिनेता भोलाराज सापकोटाको अभिनय प्रखर हुँदाहुँदै चरित्र नसुहाएको वा चरित्रमा नभिजेको हो कि जस्तो आभास हुन्छ, अर्थात् एउटा डाक्टरको हाउभाउ र संवादमा कताकता केही नपुगेको जस्तो लाग्छ ।
यो खासगरी थ्रिलर शैलीको नाटक हो । मञ्चमा प्रतीकका रूपमा निर्देशकले भेडाको साँढका सिङ जस्ता तन्त्रका प्रतीक राखेका छन् । कर्णालीतिर भूतप्रेत आदि नकारात्मक शक्तिबाट घरको रक्षाका लागि मानिसले दैलोमा भेडाको साँढ सिङ वा यस्तै काठका आकृति राख्ने गर्छन् । बोका (छाग) र भेडा खस जातिको संस्कृतिसँग जोडिएका छन् ।
यस्तै मानिसका आत्मा वा भूतप्रेतको आभास दिन नाटकमा पुतलीका आकृति पनि राखिएका छन् । नाटकमा एक ठाउँमा हिमपातको दृश्य पनि आउँछ । नाटकको कथा अगाडि बढेसँगै मलाई लागेको थियो — मञ्च अर्थात् गोपीको घर हिउँले पूरै छोपिनेछ । यो आभास भने हिउँ परेको दृश्यले गराउँदैन ।
हामीकहाँ फिल्म र नाटकको समीक्षा साहित्यिक मूल्य वा प्रयोजनमा भएको पाइँदैन, अर्थात् हामीकहाँ सही ढंगले वैचारिक वा सैद्धान्तिक बहस कमै गरिन्छ । खासगरी नाटक वा फिल्म चल्दैन कि भन्ने डरले ‘सबै राम्रो’ समीक्षाको अपेक्षा गरिन्छ । अब नेपाली रंगमञ्च वैचारिक र सैद्धान्तिक बहससँग डराउनु हुँदैन ।
जसरी छोइने गरी चिसो हुन्छ हिउँ, उसरी नै मानिसको अनुभव र चिन्तनबाट बनेका कतिपय विचार, अवधारणा र सिद्धान्त पनि जीवनसँग छोइने खालका छन् र हुनुपर्छ ।
निर्देशक खनालले ‘बर्फ’बाट लिएको हुनाले यस नाटकको दर्शनलाई बदल्ने वा साहित्यिक मूल्य दिने कोसिस गरेका छैनन् । खेलौनाप्रतिको मोह अर्थात् भ्रम नै सहीमा नाटक टुंगिएको छ । साहित्यको हेतुका खातिर नाटकमा नौरतीको उपचार हुनुपथ्र्यो । ढुंगाको मूर्तिमाथि विश्वास होस् वा खेलौनामाथिको, जो भ्रमपूर्ण नै हो । यद्यपि आस्था, विश्वास वा उपासनाले मानिस मानसिक रुपमा बलियो पनि बनेका छन् । समाजलाई मार्गदर्शन गर्न साहित्यले आस्था र विश्वासहरुको विज्ञान पनि स्पष्ट रूपमा भन्न सक्नुपर्छ । प्रगति र न्यायका लागि कसैले कुनै आस्था र विश्वास पाल्न सक्छन् तर द्वन्द्व र विभेदका लागि होइन । हामीले यतातिर पनि सोच्नुपर्नेछ ।
छोइने र महसुस हुने गरी मानिसलाई रोगी बनाएर झुटो विश्वासमा किन राख्ने ? यस्तो कला–साहित्य आउँदा पाठक वा दर्शकले त्यही ठीक मान्न सक्छन् । उसै त हामीकहाँ साहित्य र पाठक जोडिन सकेका छैनन् । नाटक हलमा नहाँस्नुपर्ने ठाउँमा दर्शक हाँसिरहेका हुन्छन् । यस्तो समस्या साहित्यमा मात्रै होइन, पत्रकारितामा पनि छ । हलुका वा मिथ्या खबरतिर मानिसहरुको आकर्षण देखिन्छ । यी सबै देख्दा लाग्छ, हामीले समाजलाई मार्गदर्शन गर्ने हेतुले काम गर्न धेरै बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता