आज २०८० असार १२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
ललिता निवास प्रकरण
ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब डेढ वर्ष लामो अनुसन्धान गरेर हाइप्रोफाईलहरूलाई पक्राउ गरेको छ । मंगलबार ब्यूरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ७ जनालाई नियन्त्रणमा लियो ।
बालेनसँग लिखित जवाफ माग
सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्धको मुद्दामा लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू
नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।
शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य
नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो ।
अवहेलना मुद्दा
अदालतका न्यायाधीशले घुस खाएर आदेश दिएको आरोप लगाएका कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ ।
सांगठनिक संरचनालाई पूर्णता दिँदै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सांगठनिक संरचनालाई पूर्णता दिने गृहकार्य सुरु गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले केही दिनदेखि पार्टीका नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन् ।
धर्मगुरुको आवरणमा ठगी
आफूलाई ‘शिव सुतक गौरीभक्त’ भनेर चिनाउँथे दोलखा घर भएका पुरुषोत्तम काफ्ले । तर, उनले धर्मगुरुको नाममा ठगीधन्दा चलाउने र यौन शोषण गर्ने गरेको थाहा भएको छ ।
जसपाको विधान अधिवेशन
जनता समाजवादी पार्टी नेपाल (जसपा)को विधान अधिवेशन सम्पन्न भएको छ । असार १० देखि सुरु भएको ३ दिने विधान अधिवेशन आज विधान मस्यौदामाथि छलफल गरेर सकिएको छ । अधिवेशनमा पार्टीका अध्यक्ष एवं मस्यौदा तयारी समितिका संयोजक उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।
कर्मचारीमाथि चरम शोषण
सिरहाका भुपेन्द्र पासवानलाई ६ जनाको परिवार पाल्न धौ धौ छ । मिठोमसिनो खान चाडपर्व कुर्नुपर्छ । पासवान जनता आधारभूत विद्यालय बैरिया गुदीगाँउका कार्यालय सहयोगी हुन् । तर, मासिक ८ हजारको मात्र जागिरे भएर उनलाई चुल्हो बाल्न धौ धौ छ । त्यही रकमले उनले ६ जना परिवारको जीविकोपार्जन गर्नुपर्छ ।
गुम्बामा लुटपाट
हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हातहतियारधारी समूहहरु प्रवेश गरेर गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्त्विक सम्पदाहरू लुटेका छन् । ती बन्दुकधारीहरू सो गाउँपालिकाको वडा नं.–४ मा रहको देछेन लाब्राङ गुम्बा र ३ नम्बरमा रहेको शे–चखाङ गुम्बामा रातको समयमा प्रवेश गरी लुटपाट मच्चाएका हुन् ।
प्रतिक्रिया