सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
आदिपुरुष विवाद

सुगौलीसन्धिपूर्व सीतामढी पनि नेपालमै पर्थ्यो

मङ्गलबार, १२ असार २०८०, १८ : ५९
मङ्गलबार, १२ असार २०८०

त्रेता युगमा मिथिला एउटा सम्पन्न, दार्शनिक तथा धार्मिक राज्य थियो । आर्य वंशीय राजा निमिद्वारा स्थापित यो राज्य पछि मिथिलाको नामबाट प्रसिद्ध भयो । ऋषि मुनिको श्रापबाट मृत्युवरण गरेका निमिको शरीर मन्थनबाट मिथिको जन्म हुन्छ । मिथिबाटै राज्यको नाम मिथिला रहन गएको हो । यही मिथिका सन्तानमध्ये शीरध्वज जनक नामका एक प्रसिद्ध दार्शनिक र धार्मिक राजा थिए । राजा शीरध्वज जनकको दरबारमा आर्यावतीय राजा–महाराजा ऋषि, मुनि र दार्शनिकको आगमन भइरहन्थ्यो । याज्ञवल्क्य, अष्टाव्रक, सुकदेवजस्ता मनीषी आई महिनौँसम्म दर्शनशास्त्रबारे शास्त्रार्थ गर्थे । 

एकपटक राजा जनकले आफ्नो राजदरबारमा दर्शनशास्त्रका मर्मज्ञ विद्वान्लाई बोलाएर शास्त्रार्थ गराए । राजा जनकको सर्त थियो, जो शास्त्रार्थमा विजयी हुन्छ, त्यस विद्वान्लाई सुनले बेरिएको १० हजार गाई प्रदान गरिनेछ । त्यस अनुसार देश–विदेशका विद्वान् दार्शनिक आए । सयौँ विद्वानले महिनौँ दिनसम्म शास्त्रार्थ गरे । तीमध्ये ऋषि याज्ञवल्क्यले सबै विद्वान्लाई पराजित गरी सुनले बेरिएको १० हजार गाई जिते । 

राजा जनकको दरबार मिथिला पुरीमा लामो समयसम्म शास्त्रार्थ चल्थ्यो, जहाँ देश–विदेशका विद्वान्को जमघट हुन्थ्यो । एकपटक राजा जनकको प्रख्यातिबाट प्रभावित भएर अष्टावक्र नामका विद्वान् दरबारमा आएका थिए । उनको आठैवटा अंग वक्र (टेडोमेडो) थियो, हेर्दा अपाङ्गजस्ता देखिने अष्टावक्र निकै ज्ञानवान् र दार्शनिक थिए । अष्टावक्रलाई देखेर दरबारमा उपस्थित अन्य विद्वान् हाँस्न थाले । हाँस्दै गर्दा अष्टावक्रले पनि जोडले हाँस्न थाले । 

त्यत्तिकैमा राजा जनकले सोधे, ‘तपाईंको आठै अंग वक्र भएकाले यी विद्वान् हाँसेका हुन् । तपाईं किन हाँस्नुभयो ?’ अष्टावक्रले भने — जति विद्वान् तपाईंको दरबारमा छन्, सबैको आँखा चर्म (छाला) ले बनेको छ । चर्म चक्षु भएकाले मेरो चर्म देखेर यी हाँसेका हुन् । ज्ञान चक्षु भएको भए हाँस्ने थिएनन् ।

अष्टावक्रको यो जवाफपछि उपस्थित सबै विद्वान् नतमस्तक भई नाजवाफ भए । त्यसपछि अष्टावक्र र विद्वान्बीच निकै शास्त्रार्थ भयो । आध्यात्मिक, दार्शनिक विषयमा शास्त्रार्थ गर्दै अष्टावक्रले ब्रह्म ज्ञानबारे सबैलाई पराजित गरी राजा जनकद्वारा पुरस्कृत भए । १० हजार सुनले बेरिएका गाई राजा जनकले उनलाई पनि प्रदान गरे ।

निरन्तर शास्त्रार्थ चल्ने हुँदा मिथिला राज्यको गौरव र गरिमा ठूलो थियो । पौराणिक मिथिलाको महात्म्यले हिन्दु वाङ्मय भरिएको छ । मिथिला राज्य जसको राजधानी जनकपुर थियो, जो राजा जनक, जानकी तथा याज्ञवल्क्यजस्ता महान् विभूतिको जन्मस्थल हो । यो ऐतिहासिक स्थल मात्र नभएर आध्यात्मिक तथा केन्द्र पनि हो । जनकपुर विश्वका करोडौँ हिन्दुको आस्थाको केन्द्रका रूपमा अहिले पनि विद्यमान छ । विवाह पञ्चमीका अवसरमा प्रत्येक साल मंसिरमा जनकपुरमा लाखौँ तीर्थालुको आगमन हुन्छ ।

त्रेता युगमा राम र सीताको विवाह जनकपुरमा सम्पन्न भएको थियो । जहाँ भगवान् रामचन्द्रले धनुष तोडी सीतालाई विवाह गरेका थिए । राम विवाह, वनगमन, राज्याभिषेक इत्यादिबारे रामायणमा उल्लेख छ । 

माता जगत्जननी सीतालाई भूमिजा पनि भनिन्छ । किनभने यो भूमिबाट जानकी प्रकट भएकी थिइन् । एकपटक मिथिला राज्यमा ठूलो अनिकाल परेको थियो । ऋषिमुनिले सल्लाह थिए — राजा जनकले आफैँ हलो जोते भने भारी वर्षा हुनेछ । त्यसअनुसार राजा जनकले आफ्नो राज्य मिथिलाको राजधानी जनकपुरदेखि दक्षिण–पश्चिम दिशामा सुनको हलोले जमिन जोत्न थाले । जोत्दै जाँदा एउटी सुन्दर नारी प्रकट भइन्, जसको नाम सीता राखियो । यसबारे बृहत् विष्णुपुराणमा यसरी उल्लेख गरिएको छ ः

दुर्गात्पश्रिमतो भागे योजनं त्रितत्पर,

यज्ञस्थलं नरेन्द्रस्य यत्र लांगल पद्वदतौ ।

समुत्पन्ना महासीता राघव वल्लभा,

जनकेन गृहे सीता साक्षात माया स्वरुपिणी ।।

अर्थात् मिथिलाको राजधानी जनकपुरदेखि तीन योजन (२४ माइल) १२ कोसको दूरीमा राजा जनकले यज्ञस्थलमा हलो जोत्दा महालक्ष्मी सीता उत्पन्न भएकी हुन्, जो माया स्वरूपिणी थिइन् । भनिन्छ, सीतामढीदेखि नजिकै पश्चिम पुनौरोमा हलकर्पण भूमि छ, जो लक्ष्मणा (लखनदाइ) नदीको किनारमा स्थित छ । यो लखनदेही नदी महोत्तरी सर्लाहीबाट बग्दै सीतामढीदेखि पश्चिम भएर गएकी छन् ।

यसरी हेर्दा माता जगत् नन्दनी सीतामाताको प्रकट स्थल सीतामढीको पुनौरो हो । उनी जन्मेकी होइनन्, भूमिबाट प्रकट (उत्पन्न) भएकी हुन् । तत्कालीन मिथिला राज्यको पश्चिम दिशामा जुन स्थानमा राजा जनकले हलो जोत्दा प्रकट भएकी थिइन्, त्यो कालान्तरमा सीतामढीको नामबाट प्रसिद्ध भएको छ । जो अहिले जनकपुरसँग जोडिएको महोत्तरी जिल्लाभन्दा पर विहारमा पर्छ, तर सीतामढी मिथिला राज्यकै एउटा स्थल हो । जुन अहिलेको राजनीतिक सीमा अनुसार विहार (भारत)मा पर्छ ।

राजा जनकले प्रकट भएकी सीतालाई आफ्नो जनकपुर दरबारमा ल्याई पालनपोषण गरे । जनकले पालनपोषण गरी हुर्काएको सीताको नाम जानकी रहन गयो । सीताको दर्जनौँ नाम छन्, जस्तै ः जानकी, भूमिजा, जनकसूता, वैदेही, मैथिली इत्यादि । 

अहिले सीताको जन्मभूमिको विषय लिएर नेपाल र भारतबीच ठूलो विवाद भइराखेको छ । केही महिनाअघि दक्षिण भारतको बम्बईमा बनेको आदिपुरुष फिल्म (जो रामायणमा आधारित छ)मा ‘सीता भारतकी छोरी हुन् भनिएको छ, जो कि निकै आपत्तिजनक मात्र नभएर सरासर झुटो हो । 

सीतामाता प्रकट भएको स्थान सीतामढी जनकको राजधानी जनकपुरदेखि पर मिथिला राज्यअन्तर्गत पथ्र्यो, मिथिला प्राचीन राजधानी जनकपुर नेपालमा पर्छ र सीतामढी सीमावर्ती विहारमा पर्छ । जो सन् १८१६ को सुगौलीसन्धिपूर्व नेपालमै पथ्र्यो । यसरी सीता नेपालको मिथिलामा प्रकट भएकी हुन् । राजा जनकले पालनपोषण गरेको हुनाले जानकी भइन् । राजा जनक नेपालको राष्ट्रिय विभूति हुन् । 

उनी छोरी सीता स्वतः नेपाली भइन् । आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले ‘सीतालाई भारतकी छोरी’ भनेर जुन दाबी गरेका छन्, त्यो झुटो हो । उक्त लेखकले नेपाल सन् १९०३ मा भारतकै अधीन थियो भनेर विवाद समेत सिर्जना गरेका छन्, यो उनको अज्ञानता र मूर्खताको प्रदर्शन हो । जसकारण आदिपुरुष फिल्म भारतमै विवादित भएको छ । चारैतिरबाट विरोधका स्वर सुन्न थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामनारायण देव
रामनारायण देव
लेखकबाट थप