बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
प्रदेश

सुकुम्वासी वस्तीको पीडाः हाम्रो वस्तीमा सरकार कहिले आउँछ ?

मङ्गलबार, १२ असार २०८०, १८ : ०२
मङ्गलबार, १२ असार २०८०

दाङ । आधा गिट्टी कुटिएको छ, आधा कुट्न बाँकी ढुङ्गा बाँकी छन् । गिट्टीको थुप्रोमाथि बोरा बिछ्याई एक हातमा गिट्टी कुट्ने हथौडा समाई बसेकी छन् हिमकला चन्द । सँगै छन् उनका छिमेकी शान्ता कुँवर योगी र दिलकुमारी घर्ती पनि । 

सेतै फुलेको कपाल, चाउरी परेको गाला र बुढेसकालको दुुःख–सुखका कुरा पोखिरहेका छन् उनीहरू । 

हिमकला खोला किनारमा गिट्टी कुट्छिन् । शान्ता बजारमा मकै र तरकारी डुलाउँदै बेच्छिन् । उता दिलकुमारी बृद्धावस्थामा चोक चोकमा माग्दै हिँड्छिन् । 

खोला किनारको ऐलानी बगरमा योगी र घर्तीको सानो टिनको टहरा बारेर बसेका छन् । तिनका श्रीमान् ओछ्यानमै थला परेका छन् । उपचारको अभावका कारण  छट्पटाउदै काललाई पर्खिरहेका छन् । 

चन्दको घरवास छैन । दिनभर गिट्टी कुटी तीन साना छोराछोरीसहित वस्तीको बास मागी रात काट्छिन् । चन्दले भनिन्–‘मेरो त बस्ने बास पनि छैन । श्रीमान् बितेपछि घर पनि भत्क्यो । भत्किएको घर उठाउन धेरै हारगुहार गरे । कसैले सुनेनन् । दिनभर गिट्टी कुटेर गाँस र बास माग्दै बसेकी छु ।’ 

353775061_965749944664672_3094961197186264784_n

घोराही बजारको पश्चिमी छेउ सेवार खोला किनारमा अवस्थित शुुभबिहानी टोलमा बस्छन् तिनैजना । उनीहरूको बास पनि कतिबेला खोलाले लैजाने हो भन्ने त्रास उनीहरूको मनमा खेलिरहन्छ । 

चन्दले थपिन्–‘कोही नहुनेलाई सरकारले राहत दिन्छ भन्थे । खै त, यो बस्तीमा अझै सरकार आएको छैन । चुुनावको बेला नेता आएका थिए । चुनावपछि वस्तीमा न नेता फर्किए, न  जनप्रतिनिधि नै ।’

सेवार खोला किनारमा रहेको शुुभबिहानी र दुुर्गाभवानी टोलमा करिब एक सय १५ घरपरिवार सुुकुुम्वासीको बसोबास छ । जसमध्ये ७० घरपरिवार दलित, वादी तथा अन्यमा प्रायः मगर जातिका रहेका छन् । 

स्थानीय रन्जिता नेपाली वादी भन्छिन्, ‘गरिबको वस्तीमासरकार कहिले आउला ?’ 

‘यो वर्ष पनि पानी आएन’

खोला किनारको उक्त वस्तीलाई खानेपानीको भर पनि त्यही खोलाकै छ । वर्षेनी वस्तीमा खानेपानीको धारा ल्याउने वडादेखि उपमहानगरपालिकासम्मले योजना ल्याउँछ तर वस्तीमा खानेपानीको धारा कहिल्यै पुुग्दैन । 

स्थानीय नन्दकला विकले भनिन्–‘डर पनि खोलाकै, भर पनि खोलाकै छ ।’ शुद्ध खानेपानीसमेत वस्तीवासीले खान नपाउँदा पीडामाथि पीडा झेल्नुु परेको उनले सुनाइन् । 

‘न हाम्रो कोही छ, न केही छ । पाखुुरा चल्दासम्म जेनतेन खाएका छौं । त्यो पनि सबैको हालत माग्ने  हो । अरूले हामीलाई माग्ने वस्तीका मान्छे भन्छन् ।’ उनले दुःखेसो पोखिन् । स्थानीय सरकारले अन्यत्र सबैथोक पुु¥याए पनि बजार छेउकै वस्तीलाई अझै छुन नसकेको स्थानीयहरूको दुःखेसो छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप