आशिषको निर्णायक गोलमा नेपालले पाकिस्तानलाई हरायो
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा मंगलबार नेपालले पाकिस्तानलाई १—० गोलले हराएको छ । जारी साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । नेपालका लागि निर्धारित समयको ८०औं मिनेटमा आशिष चौधरीले पहिलो गोल गरेका हुन् ।
आशिषले सिनियर राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । जारी साफ च्याम्पियनसिपमा भने नेपाली खेलाडीले गरेको यो दोस्रो गोल हो । यसअघि कुवेतविरुद्धको पहिलो खेलमा नेपालका लागि अनुभवी खेलाडी अञ्जन बिष्टले पहिलो गोल गरेका थिए ।
साफ च्याम्पियनसिपको १४औं संस्करण भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा भइरहेको छ । नेपाल र पाकिस्तानबीचको खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा नेपालले पाकिस्तानलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा नेपालले गोल गर्ने केही गतिला अवसर खेर फालेको थियो ।
विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन् । नेपाल र पाकिस्तान दुबैले समूहगत चरणको आफ्नो अन्तिम खेलेका हुन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तान यसअघि नै उपाधिको होडबाट भने बाहिरिइसकेका थिए ।
उक्त समूहबाट आयोजक भारत र कुवेत सेमिफाइनलमा पुगेका छन् । नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ३—१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भारतले नेपाललाई २—० गोलले हराएको थियो । पाकिस्तान भने आफ्नो पहिलो खेलमा भारतसँग ४—० गोलले हारेको थियो । दोस्रो खेलमा कुवेतले पाकिस्तानलाई ४—० गोलले हराएको थियो ।
साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष साफ च्याम्पियनसिपमा यस पटक साफ च्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, मालदिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् ।
फिफाको प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यस पटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रूपमा सहभागी गराइएको हो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो ।
सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । साविक विजेतासमेत रहेको भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ । मालदिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले भने एक—एक पटक उपाधि जितेका छन् । अफगानिस्तान यस पटक प्रतियोगितामा सहभागी छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोल्दा पनि जनता हाँस्न थाले : प्रचण्ड
-
‘सरकारसँग जनता दुखी र बिचौलिया र स्वार्थ समूहहरू खुसी !’
-
सरकारले रवि लामिछानेलाई सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडायो : प्रचण्ड
-
विद्युत् प्राधिकरणमा जे भयो त्यो सरकारमा माफियाहरूको नियन्त्रणको सबैभन्दा नांगो टेस्ट केस् हो : प्रचण्ड
-
भूमिसम्बन्धी अध्यादेश भू–माफियाका लागि हो : प्रचण्ड
-
प्रचण्डको प्रश्न– भ्रष्टाचारका काण्डहरूको छानबिन कहाँ पुग्यो ?