आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
भ्रष्टाचार

जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचार मुद्दा

सम्पत्ति दुईजना पत्नीको नाममा
मङ्गलबार, १२ असार २०८०, २१ : ००
मङ्गलबार, १२ असार २०८०

काठमाडौं । जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रको विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

निज मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने विषयमा परेको उजुरीमाथि छानबिन गर्दा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता दाहालका अनुसार मिश्र २०५७ असार ८ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सो अवधिदेखि २०७८ कार्तिक २६ सम्मको अवधिमा उनको पारिश्रमिक, बचत, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, उनको नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्त रकम, दैनिक भ्रमण भत्ता, विभिन्न बैठक भत्ता, स्थानीय भत्ता, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बीमा परिपक्व भई प्राप्त रकमसमेत गरी एक करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ ४३ पैसा बराबरको आम्दानीको स्रोत खुलेको पाइएको आयोगले जनाएको छ ।

जबकि सो अवधिभित्र जग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, घर निर्माण खर्च, शैक्षिक खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, सवारी साधन खरिद, सेयर खरिद, उद्योग व्यवसायमा लगानी गरी जम्मा दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च देखिन्छ । स्रोत खुलेको आम्दानीको तुलनामा खर्चमा देखिएको बढी रकमलाई आयोगले स्रोत नखुलेको सम्पत्तिका रूपमा बिगो कायम गरी मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्रको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप