बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय
विचार

सेलिब्रेटीहरूको पार्टी प्रवेश

मङ्गलबार, १२ असार २०८०, १२ : ४७
मङ्गलबार, १२ असार २०८०

राजनीति धेरै आकर्षक थलो भयो । विभिन्न पेसा अपनाएका मानिस राजनीतिप्रति अतिरिक्त मोह राख्छन् । आफ्नो पेसा, व्यवसायमा अब्बल सफल र सर्वत्र वाहा वाहा पाएका व्यक्तिलाई पनि पार्टी प्रवेशको रहर लागेको देखिन्छ । कलाकार, साहित्यकार, पत्रकार, समाजसेवी, खेलाडीलगायत समाजमा विभिन्न क्षेत्रमा चिनिएका र सार्वजनिक सम्पत्ति बनेका मान्छेहरू पार्टी राजनीतिको दलदलमा आफ्नो भविष्य उज्ज्वल देख्छन् । झन् नयाँ पार्टी र उसको सत्ता सयरको सम्भावना देखेपछि त्यता जाने र पार्टी राजनीतिमा लाग्ने कुनै पदको मिठो लोभ पालेर राजनीतिमा लाग्न हतार गर्नेको सङ्ख्या विशाल हुन्छ ।

बैङ्कर भनेर ख्याती कमाएका महँगो पारिश्रमिक लिने र बैङ्कलाई छिटो नाफामा पुर्‍याउने खुबी भएका र बैङ्कहरूले आफूसँग राख्न तानातान गर्ने व्यक्तिका रूपमा चिनिएका चर्चित पात्र अनिलकेशरी शाहको रास्वपा प्रवेशमा देखिएको उत्साह र टिप्पणीप्रति आलोचनात्मक विमर्शका लागि यो आलेख तयार गरिएको हो । 

अनिल शाहलाई व्यक्तिगत रूपमा राम्रो र क्षमतावान् मान्छे मान्छु । मैले बुझेको, सुनेको र पढेको उनको क्षमता पुँजीवादी अवधारणा अनुसार बैङ्कको उन्नतिका लागि साहुको लगानीलाई अधिक नाफा दिलाउन कामयाबी छ । उनी उत्कृष्ट व्यवस्थापकीय क्षमता प्रदर्शन गर्ने थोरै बैङ्करभित्रका ब्रान्ड अनुहार हुन् । त्यसो भन्दैमा उनी सर्वत्र उत्कृष्ट बन्छन् भन्ने होइन । एउटा मान्छेमा ईश्वरीय गुण देख्नु हाम्रो सामाजिक मनोविज्ञान हो । वास्तविकता त्यस्तो नहुन सक्छ । यसको मतलब उनी राजनीतिमा असफल नै हुन्छन् भन्ने होइन । उनलाई राजनीतिमा पनि आफूलाई श्रेष्ठ साबित गर्ने समय छ । मेरो विशेष आग्रह हो, अनिल असफल नबनून् । अपवाद बन्ने छुट उनलाई छ । 

पेसा व्यवसायमा अब्बल सबै पार्टी राजनीतिमै आउनुपर्छ भन्ने हुन्न । देशको सेवा आफू रहेको ठाउँमा इमानदार भएर पनि गर्न सकिन्छ ।

उनका बारेमा यसरी विमर्श गर्न पनि सकिन्छ– अनिल केशरी शाहले बैङ्कलाई धनी बनाउन जानेका छन्, बनाएका छन् र सक्छन् पनि । उनी राम्रो बैङ्कर हुन् । यसमा दुईमत छैन तर भुइँ तहका मान्छेको दुःख र अप्ठ्यारो, बैङ्कका कारण घरबास उठिबास, उद्योगधन्दा चौपट भएका मान्छेको बारे सायद उनी जान्दैनन् । उनलाई पैसा कमाउने तरिका थाहा छ । पैसा कमाउन नजानेको मान्छेको दुःख थाहा छैन । केशरीले प्राइभेट कम्पनीको नाफाघाटाको हिसाब गर्न सक्छन् । राजनीतिमा देशको बृहत्तर हितको हिसाब निकाल्नुपर्छ, त्यो उनले आजसम्म गरेकै छैनन् । आम मान्छेको समस्या र देशको मूलभूत समस्याबारे कुनै विचार बनाएका नै छैनन् । 

केशरी सम्भ्रान्त हुन् । भुइँ तहबाट उठेर त्यो तहमा पुगेका मान्छे होइनन् । रास्वपाले ग्रासरुटबाट काम गर्दै सफल बनेर उच्च लेबलमा पुगेको मान्छेलाई आफ्नो प्रमुख प्रशिक्षक नियुक्त गर्नु जति प्रभावकारी हुन्थ्यो त्यति अनिलको नियुक्तिले नहुन सक्छ । प्रशिक्षक मात्रै दिएर उनलाई राजनीति सिकाउँदै सिक्दै गर्ने अवसर थियो । तर रास्वपाले अर्को सेलिब्रेटी अनुहारलाई भित्र्याउन प्रमुख राजनीतिक प्रशिक्षक जस्तो विशेष पद सहजै हस्तान्तरण गर्‍यो  । राजनीतिक प्रशिक्षण दिन पूर्वसचिव भीम उपाध्याय, कुलमान घिसिङले सक्छन् । उनीहरूमा राजनीतिक बोध छ । भीम उपाध्यायमा आलोचनात्मक विमर्शको ज्ञान छ । राजनीतिक दर्शन बारे सुझबुझ छ । अनिल शाहसँग केवल सेलिब्रेटी अनुहार मात्रै देखिन्छ । बैङ्कर उत्पादन उनको क्षेत्र हो, राजनीतिक क्याडरलाई अनुशिक्षण उनको विषय होइन । 

पेसा व्यवसायमा अब्बल सबै पार्टी राजनीतिमै आउनुपर्छ भन्ने हुन्न । देशको सेवा आफू रहेको ठाउँमा इमानदार भएर पनि गर्न सकिन्छ । राजनीति भनेको पार्टीमा पस्नु र बस्नु मात्रै हो भन्ने धारणा छ । तर राजनीति भनेको आफूले काम गर्ने जुनसुकै क्षेत्रमा पनि सुयोग्य ढङ्गले गर्न सकिन्छ । आफ्नो कर्तव्यमा दत्तचित्त भएर फलदायी निष्कर्ष निकाल्नु पनि राजनीति हो । यस मानेमा बैङ्कको सफल व्यवस्थापन गरेर अनिल केशरी शाहले राम्रो राजनीति गरेका थिए । त्यही राम्रो राजनीतिको कारण उनी सफल बैङ्कर भनेर चिनिएका हुन् । अतः राजनीतिको परिभाषा पार्टीमा बसेर राजकीय पदका लागि काम गर्नु मात्र नभएर आफू संलग्न क्षेत्रमा परिणाममुखी काम नीतिसङ्गत गर्नु पनि राजनीति हो । 

नायिका रेखा थापाको राजनीति फ्लिमी दुनियाँमा जति चर्चित थियो त्यति माओवादीमा रहँदा होस् या अहिले राप्रपाको राजनीतिमा उस्तो जमेको छैन ।

फल फलाउनुदेखि फूल गोड्नु, गाई पाल्नुदेखि मल फाल्नु, खेल खेल्नुदेखि गीत गाउनु, चुलोको काम गर्नुदेखि धुलोको काम गर्नु राजनीति हो । त्यसैले पार्टीमा लाग्नु मात्रै राजनीति होइन । राजनीतिको परिभाषा गलत बनेको छ । नराम्रो काम गर्नुलाई राजनीति भन्न थालिएको छ । कसैले नराम्रो काम कहीँ गर्दैछ भने फलानोले फलानो ठाउँमा राजनीति गर्न लाग्यो भनिन्छ । यसरी राजनीतिको गलत भाष्य तयार भएको छ । त्यो भाष्य चिर्न पनि सम्बन्धित पक्षले आफ्नो काम आआफ्नो ठाउँमा बसेर निष्ठापूर्वक गर्नु हो । 

असल काम कुशल ढङ्गले सम्पन्न गर्नु वास्तवमा राजनीति भनिनुपर्छ । समाजसेवी अनुराधा कोइरालाको सामाजिक नाम र पहिचान जति असल राजनीति थियो । त्यति नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेर प्रदेश प्रमुख बन्दा भएन । कोमल वली जसरी नेपाली लोक सङ्गीतमा जमेकी थिइन् र जस्तो उनको चर्चा थियो एमाले प्रवेश गरेर राष्ट्रिय सभाको सदस्य बन्दा त्यति चर्चा भएन । 

नायिका रेखा थापाको राजनीति फ्लिमी दुनियाँमा जति चर्चित थियो त्यति माओवादीमा रहँदा होस् या अहिले राप्रपाको राजनीतिमा उस्तो जमेको छैन । कोइराला, वली र थापा केवल दृष्टान्त हुन् । यिनीहरूको राजनीतिमा प्रवेशको उपादेयता देखिएन । २०६४ सालतिर माओवादीमा प्रवेश गर्ने थुप्रै लोकप्रिय र सार्वजनिक व्यक्तिहरू पार्टीमा जम्न सकेनन् । जतिबेला सबै कलाकार, सबै सेलिब्रेटी माओवादी मात्रै हुन् कि जस्तो हुने गरी पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेशको लहर चलेको थियो, चलाइएको थियो ।

एउटा व्यावहारिक र नेपाली राजनीतिमा देखिएको उदाहरण के हो भने बिपीले जति नेपाली काङ्ग्रेसमा सुवर्ण शमशेर राणाले जनभावना बुझ्न सकेका थिएनन् । कारण थियो बिपी भुइँ मान्छेसँग जोडिएर राजनीतिमा थिए । सुवर्ण प्रतिशोध र बदलाको कारण आफ्नै दाजुभाइको प्रताडना खप्न नसकेर राजनीतिमा जोडिएका थिए । 

माटो छोएर राजनीति गर्ने र माटै नदेखेको, नछोएको मान्छेले गर्ने राजनीतिमा आकाश जमिनको फरक हुन्छ । पहाडको कृषि नीति निर्माण गर्न मधेसमा काम गरेको मान्छेले जान्दैन । त्यस्तै पहाडको कृषि निर्माताले मधेसको नीति निर्माण गर्दा अपूर्ण हुन्छ । अनिल रास्वपाका लागि हाल आकर्षण हुन्, दीर्घकालीन नेता बन्ने सम्भावना देखिन्न । यिनी भिरकोटे राज खान्दान हुन् । कहिल्यै दुःख नदेखेका राज खलक । दुःखले खारिएको मान्छेमा चोट सहने क्षमता अधिक हुन्छ । दुःख नदेखेको मान्छे सामान्य चोटमा बेस्सरी अतालिन्छ । राजनीतिमा चोटहरू आइरहन्छ । खापिरहनु र जुधिरहनुपर्छ । चोटसँग जुध्ने क्षमता भुइँ छोएर हिलोमैलो पचाएर आएका मान्छेसँग ज्यादा हुन्छ । 

राजनीतिक पार्टीको प्रमुख प्रशिक्षक भनेको सामान्य पद होइन, जुन पदले नवसंस्कृति निर्माणदेखि नीतिगत कुरा माथिदेखि तलसम्म र तलका दुःख साङ्गाठानिक अप्ठ्यारा तलदेखि माथिसम्म सम्प्रेषण गर्नुपर्ने दायित्व हुन्छ । 

अनिल इन्टेलेक्चुयल हुन् । अग्र्यानिक इन्टेलेक्चुयल होइनन् । यिनी परम्परागत बुद्धिजीवी हुन् । इटालियन चिन्तक ग्राम्सीका अनुसार परम्परागत बुद्धिजीवीको काम परम्परागत सत्ताको भाष्यकार बन्नु र परम्परागत सत्तालाई बलियो बनाउने वैचारिकीको समर्थन गर्नु हो । प्रकारान्तरले अनिल अहिलेको पुस्ताले खोजेको परिवर्तन र संस्कृतिको खिलाफमा जान सक्छन् यो उनको आफ्नो स्कुलिङको प्रभाव हो । उनको सामाजिक मनोविज्ञान हो । 

पार्टीको प्रमुख प्रशिक्षकका रूपमा गाउँ गाउँ जानुपर्छ । त्यहाँ उनका लागि केही दिन रमाइलो होला तर असहज हुन्छ । लामो समय नेपालका कुना कन्दरा गएर सामान्य मान्छेसँग घुलमिल गरेर बस्न त्यति सहज हुन्न । सहरमा अभ्यस्त एउटा सफल बैङ्कर राजनीतिज्ञ बनेर गाउँ कति पचाउला ? राजनीतिक पार्टीको प्रमुख प्रशिक्षक भनेको सामान्य पद होइन, जुन पदले नवसंस्कृति निर्माणदेखि नीतिगत कुरा माथिदेखि तलसम्म र तलका दुःख साङ्गाठानिक अप्ठ्यारा तलदेखि माथिसम्म सम्प्रेषण गर्नुपर्ने दायित्व हुन्छ । 

अझ रोचक कुरा त के लाग्यो भने रास्वपा सांसद स्वर्णिम वाग्लेले अनिलको पार्टी प्रवेशमा खुसी हुँदै भने– ‘उहाँ कुनै पदको बार्गेनिङ नगरी सामान्य पद पार्टीको प्रमुख राजनीतिक प्रशिक्षक बनेर आउन राजी हुनुभयो ।’ पार्टीको प्रमुख प्रशिक सामान्य पद भन्ने राजनीतिक चेतना कस्तो हो ? उहाँले नबुझ्नु भएको हो कि मैले नबुझेको कुनै पनि पार्टीको प्रमुख प्रशिक्षक पद सामान्य पद होइन, जुन पदले पार्टी हिँड्ने बाटो देखाउँछ । त्यस्तो पद सामान्य कसरी हुनसक्छ ? सो पद राजनीतिक चेत राजनीतिक दर्शन, पार्टीको नीति र सिद्धान्तलाई प्रधान रूपमा बोकेर हिँड्ने पद हो । बाटो देखाउने पद हो । अरूको पछि लाग्ने पद होइन । अरूलाई पछि लाएर आफू अघि हिँड्ने पद हो ।

विगतमा नीर शाहलगायत थुप्रै मान्छे माओवादीको राजनीतिमा लामो समय रहन सकेनन् । राजनीतिमा समान विश्वदृष्टिको अपेक्षा गरिन्छ । असमान विश्वदृष्टिहरू परस्पर टक्कराउँछन् । असमान विश्व दृष्टिबिच निषेध र प्रतिकारको स्थिति बन्छ । समान पृष्ठभूमि समान सोच र समान व्यवहारले समान विश्वदृष्टिको निर्माण हुन्छ । असमान सोच शैली सीमा र सामथ्र्यले असमान विश्व दृष्टि अर्थात् आफ्नै बुँताको विश्वदृष्टिको निर्माण गर्छ । त्यसैले समान विश्व दृष्टि भएका राजनीतिकर्मीको यात्रा दीर्घकालीन र फलदायी हुन्छ ।

अग्र्यानिक बौद्धिकले अस्पष्ट देखिएका कुरालाई स्पष्ट पारिदिने हो । भ्रमको पर्दा उघारिदिने हो । वर्चस्वशालीले खडा गरेको तन्त्रको विरुद्ध प्रतितन्त्र लेख्ने बोल्ने र सिर्जना गर्ने हो । अग्र्यानिकसँग बृहत्तर देशको स्वार्थ हुन्छ । परम्परागत बौद्धिकसँग सत्ताको ताबेदारी गर्ने र आफ्नो हितमा सत्तालाई प्रयोग गर्ने खोटो नियत हुन्छ । जैविक बुद्धिजीवीको काम, परम्परागत सत्ताको भाष्यलाई प्रतिकार गर्नु हो । स्थापित गलत भाष्यविरुद्ध प्रतितन्त्र लेख्नु, बोल्नु र सिर्जना गर्नु हो । उसो त बुद्धिजीवीहरू मौका परस्त हुन्छन् । अवसर ढुकेर बस्छन् र रङ्ग फेर्न सिपालु हुन्छन् । नेपालमा जैविक बुद्धिजीवी अत्यन्तै न्यून र परम्परागत बुद्धिजीवी प्रशस्त छन् । त्यस्तै परम्परागत बुद्धिजीवी हुन् । हालै रास्वपा प्रवेश गरेका सेलिब्रेटी बैङ्कर अनिल शाह । परम्परागत बुद्धिजीवीले निमुखाको हित प्रवद्र्धन गरेको इतिहास विरलै पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप