रातोपाटी ब्रिफिङ : जलहरीबारे वास्तविकता पत्ता लगाउन दुई दिन लाग्ने, न्यायाधीश नियुक्तिबारे अझै अन्योल
आज २०८० असार ११ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा जलहरीबारे वास्तविकता पत्ता लगाउन दुई दिन लाग्ने, न्यायाधीश नियुक्तिबारे लागेन टुङ्गो, कोशीमा नयाँ सरकार गठनको कसरत, जसपाको नयाँ विधानबारे समूहगत छलफल, पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव विरुद्ध मुद्दा, पाँच वर्षसम्म यही गठबन्धन रहने प्रचण्डको दाबी, नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ लगायत छन् ।
१. जलहरीबारे वास्तविकता पत्ता लगाउन दुई दिन लाग्ने
पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोलीले वास्तविकता पत्ता लाग्न अझै दुई दिन लाग्ने जनाएको छ । आइतबार टोलीले तौल गर्दा जलहरी १०६.४३२५ केजी मापन गरेको थियो भने जलहरी कस्न बनाइएको किलाकाँटी १.०३७५ किलो भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकृतका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै दुई दिन लाग्ने छ ।
२. न्यायाधीश नियुक्तिबारे लागेन टुङ्गो
न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षबिनै सकिएको छ । न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भए पनि अर्काे बैठकमा थप छलफल गर्ने गरी सोमबारको बैठक सकिएको हो ।
३. कोशीमा नयाँ सरकार गठनको कसरत
कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएलगत्तै नयाँ सरकार गठनको कसरत सुरु भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ । उक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरेको कांग्रेस नेता केदार कार्कीले जानकारी दिए ।
४. जसपाको नयाँ विधानबारे समूहगत छलफल
जनता समाजवादी पार्टी नेपालको नयाँ विधानबारे समूहगत छलफल भइरहेको छ । जारी विधान अधिवेशनमा प्रस्तावित विधानमाथि समूहगत छलफल भइरहेको हो । विधानमा ७० वर्षे उमेर हदका साथै पदाधिकारीले एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरिएको छ ।
५. पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव विरुद्ध मुद्दा
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
६. पाँच वर्षसम्म यही गठबन्धन रहने प्रचण्डको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्षसम्म जाने बताएका छन् । सोमबार धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उदघाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
७. नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन खोजेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी छन् ।
८. कोरिया रिटर्नीहरुको समस्या समाधानका लागि पहल
कोरिया रिटर्नीहरूले उठान गरेका मागका विषयमा नेपाल सरकारले कूटनीतिक पहल थालेको छ । भाषा परीक्षा पास गरेर पुनः कोरिया जाने तयारीमा रहेका श्रमिकहरूको समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कूटनीतिक पहल थालेको हो ।
९. मन्त्रीसँगै जेनेभा पुगेका ट्रेड युनियनका नेता स्वदेश फर्केनन्
स्विजरल्याण्डको जेनेभामा आयोजित ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा सहभागी हुन मन्त्रीसँगै गएका ट्रेड युनियनका नेता उतै बसेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगै गएका मधेश ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कुलबहादुर खड्का नेपाल नफर्केका हुन् ।
१०. बजेट ल्याउन नसक्ने उपमहानगरमा जीतपुर सिमरा एक्लो
देशका ११ उपमहानगरमध्ये सोमबारसम्म १० वटा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएका छन् । स्थानीय पालिकाले असार १० गतेसम्म आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि उपमहानगरपालिकामध्ये जीतपुर सिमरा उपमहानगरपालिकाले बजेट ल्याउन नसकेको हो ।