उपमहानगरतर्फको बजेटमा झिनो वृद्धि, जीतपुर सिमराले किन ल्याउन सकेन बजेट ?
काठमाडौँ । देशका ११ उपमहानगरमध्ये सोमबारसम्म १० वटा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएका छन् । स्थानीय पालिकाले असार १० गतेसम्म आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि ११ उपमहानगरमध्ये जितपुर सिमरा उपमहानगरपालिकाले भने बजेट ल्याउन नसकेको हो ।
बजेटको नीति तथा कार्यक्रम नगरसभामा असार २ गते नै पेस भए पनि छलफल जारी रहेका कारण बजेट ल्याउन नसकिएको जीतपुर सिमरा उपमहानगरपालिकाका ‘फोकल पर्सन’ रमेश सुवेदीले रातोपाटीसँग बताए । बजेटको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेकाले बजेट कहिले आउँछ भन्न नसकिने उनको भनाइ छ ।
तर, असार १० गतेभित्र बजेटको नीति तथा कार्यक्रम सभामा पेस भइसकेको अवस्थामा असार मसान्तसम्म पनि बजेट पेस गर्न पाउने छुट पालिकाहरुलाई रहेको उनको तर्क छ ।
तथापि, कुल ११ उपमहानगरपालिकामध्ये १० वटाले असार १० गतेभित्रै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइसकेका छन् ।
चालु आर्थिक वर्षको तुलनामा औसत ०.३७ प्रतिशतले बजेट वृद्धि गरेका उपमहानगरपालिकाहरुले आगामी आर्थिक वर्षका लागि कुल २२ अर्ब ११ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएका छन् । चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २२ अर्ब ३ करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।
कुन उपमहानगरपालिकाको बजेट कस्तो छ ?
कुल ११ उपमहानगरपालिका मध्ये ७ वटाको बजेट बढ्दै गर्दा ४ वटाको घटेको छ । घोराही उपमहानगर, हेटौंडा उपमहानगर, तुलसीपुर उपमहानगरको क्रमशः ७.४५ प्रतिशत, ४.१० प्रतिशत र ३.७६ प्रतिशतले बजेट घट्न पुगेको छ भने जीतपुर–सिमरा उपमहानगरको समेत बजेट घट्ने देखिएको छ ।
आन्तरिक स्रोत, अन्तर सरकारी वित्तीय हस्तान्तर (अनुदान) समेत घटेका कारण यस पटक बजेट केही घट्ने देखिएको जीतपुर सिमरा उपमहानगरका फोकल पर्सन सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका
११ उपमहानगरमध्ये सबैभन्दा ठूलो बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याएको छ । उपमहानगरले आगामी आर्थिक वर्षका लागि कुल २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यद्यपि, यो चालु आर्थिक वर्षको भन्दा ४.१० प्रतिशतले कम हो ।
चालु आर्थिक वर्षका लागि हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
यसैगरी, बुटवल उपमहानगरपालिकाले २ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट ल्याउँदा इटहरी उपमहानगर र घोराही महानगरले क्रमशः २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ र २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएका छन् ।
इटहरी उपमहानगरले चालु आर्थिक वर्षको तुलनामा ७.७७ प्रतिशत बजेट वृद्धि गर्दा घोराही उपमहानगरको बजेट ७.४५ प्रतिशतले घट्न पुगेको हो ।
जनकपुर उपमहानगरपालिका
मधेस प्रदेश अन्तर्गतका तीन उपमहानगरपालिकामध्ये जनकपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३ करोड ५३ लाख १८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जनकपुर उपमहानगरले चालु आर्थिक वर्षको तुलनामा १२.६३ प्रतिशतले बजेट वृद्धि गरेको हो । चालु आर्थिक वर्षका लागि जनकपुर उपमहानगरले १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
कलैया उपमहानगरपालिका
मधेस प्रदेशकै अर्को उपमहानगरपालिका कलैयाले चालु आर्थिक वर्षमा १ अर्ब ५० करोड ४२ लाख ९८ हजार रुपैयाँ बराबरको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि १ अर्ब ५३ करोड २८ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा १.८९ प्रतिशतले बढी हो ।
नेपालगञ्ज र धनगढीको बजेट वृद्धि
नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको बजेट केही बढेको छ । चालु आर्थिक वर्षका लागि नेपालगञ्जले १ अर्ब ५४ करोड ४७ लाख रुपैयाँ र धनगढीले १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए । आगामी आर्थिक वर्षका लागि नेपालगञ्जले १ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ र धनगढीले १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ बजेट ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म