सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश : गठबन्धन दलको बैठक

विश्वासको मत फेल गराउने र आफूहरुको नेतृत्वमा सरकार बनाउने निर्णय

सोमबार, ११ असार २०८०, १७ : ५७
सोमबार, ११ असार २०८०

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएलगत्तै नयाँ सरकार गठनको कसरत सुरु भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ ।  उक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राख्ने विश्वासको प्रस्ताव फेल गराउने नर्णय गरेको कांग्रेस नेता केदार कार्कीले जानकारी दिए ।

यस्तै बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता उद्दव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद प्रदिपकुमार सुनुवार र कार्की, नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलका नेता इन्द्रबहादुर आङ्बो, नेताहरु दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र राजेन्द्र कार्की सहभागी थिए । जसपाको तर्फबाट भने निर्मला तावा लिम्बू सहभागी थिइन् । 

नेकपा (एकीकृत समाजवादी) ले भने उक्त निर्णयमा सहमति जनाएको कार्कीले जानकारी दिए । बैठकको समयमा समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग फोनमा कुराकानी भएको र उनले सहमति जनाएको उनको भनाइ छ । यता, यसअघि जेठ ३१ गते बजेट अधिवेशन स्थगित भएको थियो । सरकारको सिफारिसमा असार १४ गतेका अर्को अधिवेशन आह्वान गरिएको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदका् बैठकको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका हुन् । 

सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यहरुमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । काँग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको पहल सुरु गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप