बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

निजामती सेवा ऐनको मस्यौंदा संसदमा छिट्टै पेश हुन्छ : मन्त्री मोदी

सोमबार, ११ असार २०८०, १४ : ४१
सोमबार, ११ असार २०८०

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेश गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री मोदीले सरकारमा सत्तारुढ दलहरू फेरबदल भएका कारण सो ऐनको मस्यौदा संसदमा पेश गर्न ढिलाइ हुन गएको स्पष्टीकरण समेत दिए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूको सहकार्यमा बनेको समीकरण परिवर्तन भई काँग्रेस, माओवादीसहितको समीकरण बनेकाले सो ऐनको मस्यौदा संसदमा पेश गर्ने काममा ढिलाइ हुन गएको मन्त्री मोदीको भनाइ छ  ।

मन्त्री मोदीले सो ऐनको मस्यौदामा देखिएको समस्या पनि यहीँ असार १५, १६ र १७ गते बस्ने प्रधानमन्त्रीसहितका उच्चस्तरीय छलफलबाट टुङ्गो लाग्ने योजना रहेको पनि जानकारी गराए । उनले ऐनको मस्यौदा तयार पार्न सम्बद्ध सबै पक्षको सुझाव लिइएको भन्दै आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै दुई वटा कुराको मिसनमा लागेको बताए ।

‘सङ्घीय निजामती सेवा ऐन ल्याउन पूर्व प्रधानमन्त्रीहरू, पूर्वमन्त्रीहरु, पूर्व प्रशासक, संवैधानिक निकायहरूसँग र विभिन्न ट्रेड युनियनहरूसँग छलफल गरेर त्यसको मस्यौदा ड्राफ्ट गरेर कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ’ उनले भने, ‘त्यसकारण त्यो किन रोकियो भनेर जो प्रश्न गर्नु भएको छ । सम्बन्धित मन्त्रालयमा ताकेता गरिरहेका छौँ ।’

मन्त्री मोदीले कर्मचारी सरुवा, बढुवामा आफ्नो मन्त्रालय मातहतका कुनै अधिकारीले भ्रष्टाचार गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिए ।

‘कर्मचारी सरुवा, बढुवामा भ्रष्टाचारको कुराहरू कहिलेकाहीँ सुन्छु । हामी भ्रष्टाचारसँग जोडिएका कयौँ कुराहरू हामीलाई भन्नुस् । हामीले थाहा पाउँदा चाहिँ कारबाही गर्छौ भनेर पटक पटक सार्वजनिक रूपमै भनेको छु । यो मेरो मात्रै विषयको कुरा होइन’, उनले भने, ‘मैले एक्लै सुधार गर्ने । यो चाहिँ विभिन्न मन्त्रालयहरू, विभिन्न तहका कर्मचारीहरू । जस्तो हामी सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका कर्मचारी खटाउने क्रममा अरू मन्त्रालयहरूले पनि एउटा प्रतिबद्धता जाहेर गर्नु पर्दछ कि हामी यो देशको भ्रष्टाचार निर्मूल गर्नका निम्ति सबैको हातेमालो चाहिन्छ भनेर जानकारी गराउन चाहन्छु ।’

मन्त्री मोदीले कर्मचारी सरुवा, बढुवामा भ्रष्टाचार हुन नदिन आफूले सार्वजनिक अभिव्यक्ति समेत दिँदै आएको पनि स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप