सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

हर्क साम्पाङका आँशु !

सोमबार, ११ असार २०८०, १२ : ०५
सोमबार, ११ असार २०८०

झट्ट हेर्दा गहुँगोरो त्यस्तै साढे पाँच फिट उचाइ भएको हल्का चिम्से आँखा थेप्चो नाक भएको अधबैँसे ठिटो । जब्बर, हम्मेसी कोही कसैसँग नझुक्ने । बडो साहसी युवा । जिन्दगीको केही समय वैदेशिक रोजगारको सिलसिलामा परदेशमा बिताएर स्वदेश फर्केको ।

आफ्नै देशमा  केही गर्छु भन्ने हुटहुटी बोकेको । उनको दृढ सङ्कल्प देख्दा त लाग्छ किराती देउता पारुहाङले बास बसेको छ उनको हृदयमा । सामाजिक कार्यमा लाग्दा लाग्दै कतिबेल उनको मनमस्तिष्कमा राजनीति प्रवेश गरे भन्ने कुराको साबित स्थानीय चुनावमा मेयर पदको उम्मेदवारले पुष्टि गर्छ ।

उनीसँग दल थिएन । अघिपछि हिँड्ने कार्यकर्ता थिएनन् । उनी स्वतन्त्र थिए । चुनावी मेलामा प्रयोग हुने साम, दाम, दण्ड र भेद सिङ्गो एक्लै आफूमा सीमित रहेर अघिल्लो चुनाव लाडे तर जितेनन् । केही सय मत पाए । त्यसैमा चित्त बुझाए । तर मनभित्र सल्केको राजनीतिको आगो निभेको थिएन । 

उनले आफ्नो प्रयासलाई बिसाएनन्  । जनताका सुखदुःखको पछाडि निरन्तर लागिरहे ।  केही समय बित्यो, पुनः चुनाव हुने भयो । त्यो चुनावका लागि तयारी गर्नु थियो । तयारी साथ लागे चुनावी प्रचारप्रसारमा । उनीसँग  हजारौँ सङ्ख्याको हुल थिएन । उनीसँग थियो त एउटा हातेमाइक र सग्लो अटो ।

चोकचोक पुगेर आफ्नो प्रतिबद्धता प्रचार गरे । बिस्तारै बिस्तारै  उनी धराने जनताको मनमा डेरा जमाउन सफल भए । उनको नाम धेरैले चिने । चुनाव भयो । 

 चुनावमा भारी मत ल्याएर धरान उपनगरपालिकाबाट विजय भएरै छाडे । उनी प्रयास गरे असम्भव केही हुन्न भन्ने कुराको उदाहरण बने ।

चुनावसँगै देखाएको एउटा ठुलो सपना थियो उनको । जसरी भए पनि धराने जनतालाई पानी ख्वाएर छाड्ने उनको प्रतिबद्धता पूरा गर्न कोसिसको पछि लागे । धरान नजिकै भएको पानीको मुहान र जरुवा छान मारे । खोलाखोल्सीका ढुङ्गासँग मितेरी गाँसे । उजाड बगरलाई बगैँचा बनाउन नानाथरी फूल रोप्न थाले । भू–क्षयले नाङ्गिएका पाखापखेरीमा वृक्षरोपण गर्न सबैलाई हौसाए ।

अनि लेख्छन् हर्क साम्पाङ...

 सुतेको मान्छे मौन बस्ती 

  भ्रष्ट र दुष्टको शासन  छ मस्ती

   गिद्ध र हुँडारको छ लुछाचुँडी

   देशको माया के लाग्दो रहेछ र ?

   पार्टीकै भक्ति भाव ठुलो ।

   हिमाल ढलोस् सीमा सरोस् 

   बस्ती जलाउँदै बगाउँछन्  ।

   लोकतन्त्र भन्दै दासत्वभित्र

  झन्डाले आँखा छोपेर हिँड्छ्न्  ।

यस्तै यस्तै क्रियाकलापमा सहभागी हुँदै गर्दा हर्क साम्पाङको प्रशंसा धरानमा मात्रै सीमित रहेन । पूरै सिङ्गो नेपालका नेपालीको मुखमा जनताको नेता भनेको त हर्क जस्तो हुनुपर्छ भनेर सामाजिक सञ्जालमा ट्रोल बने, मिम बने ।

उनका खुटट्टा तान्नेको कमी थिएन तर उनले कसैको पर्वाह गर्दै गरेनन्  । उनले आफ्नै सिद्धान्तको प्रतिपादन गरे । शनिबारलाई श्रम बारमा परिवर्तन गराएर हरेक शनिबार केही न केही श्रम गर्नका लागि जनतालाई जुटाए ।

जनता जुटे पनि । एक थुकी सुकी, हजार थुकी नदी भन्ने उक्तिलाई यथार्थमा सत्य साबित गराएर छाडे ।

निक्कै आए उनको बाटो छेक्न तगारो बनेर । तर तगारालाई तहसनहस गरेर अघि बढिरहे बगेको नदी जस्तै बनेर ।

उनीसँग सेवा–सुविधा टन्नै थियो । तर आफ्ना लागि सदुपयोग गरेनन् । उनीसँग पावर थियो । व्यक्तिगत स्वार्थमा लागेको भए आफ्ना लागि जे गर्न पनि सक्थे । तर त्यो बाटोमा लागेनन् । बरु चुनावताका जनतालाई बाँढेको सपना पूरा गर्न खटिरहे । अरबमा खटेको नेपाली युवा जसरी ।

पानीको समस्या हल गर्न पकुवा खोलामा बाँध बाँधे । त्यति पानीले मात्रै पुग्ने थिएन । त्यसैले धारानदेखि चालिस बयालिस किलोमिटर टाढाको  कोकाहा खोलामा नजर पर्यो । सजिलो थिएन त्यति टाढादेखि पानी ल्याउन । अफ्ठ्यारोमा पनि सजिलो पहिल्याउँदै जान्ने जानकार अनि प्राविधिकको सरसहयोगमा कोकाहा खोलाको पानी पकुवा खोलामा झार्ने शपथ खाए ।

खाएको शपथ पूरा गरिछाडे । हजारौँ जनताको श्रमदानद्वारा । स्वदेशमा भएकाले भौतिक रूपमै उपस्थित भएर श्रमदान गरे । परदेशमा हुनेले आर्थिक सहयोग गरेर हर्कको सपना पूरा गरे ।

उनी बगरमै सुते । सुटेट बुटेट भएर हिँड्न पाउने अवसर हुँदाहुँदै माटो र ढुङ्गासँग खेलेर धुस्रे र मुस्रे बनेर सच्चा नेपाल आमाको सपूत बनेर देखाए ।

कोशीका पुलहरु तर्दैतर्दै लगभग सय दिनको हाराहारीमा कोकाहा खोलाको पानी पकुवा खोलामा मिसिएर धरानमा आइपुग्यो । त्यो पानी ल्याउन कति धेरै मान्छे थुप्रै पसिना बगाए । ती सबै पसिना जम्मा  गर्न पाएको भए सायद पोखरी नै बन्थ्योे होला । 

थाहा छैन आँशुको प्रकार हुन्छ कि हुन्न । कतिपयको भनाइलाई विश्वास गर्ने हो भने आँसु सुखको र दुःखको हुन्छ रे ।

सम्भवतः सुख अर्थात् खुसीको आँसु हुँदो हो हर्क साम्पाङको । कोकाहा खोलाको पानी धरान आइपुगेर धरानको माटो चुम्दा खुब रोएको देखियो साम्पाङ । हुन सक्छ उनको आँसु हर्षको आँसु हो । श्रमदानसँगै आइपुगेको पानीसँगै आँसु बर्षे बरररर आँखाबाट ।

ती आँसु पानी सँगै मिस्सिएर बग्दैबग्दै खोला बनेर टाढा पुग्यो होला । तर आँसु बगाउने मान्छे त्यहीँ छ, पहिला जहाँ थियो । अझै बाँकी छन् उनका धेरै सपना । पूरा हुन्छ होला समयसँगै  । निःस्वार्थ मान्छेलाई साथ दिन जानेको छ नेपाली जनताले ।

उनको पसिनाले भानुचोकको मैलो पखालेको छ । कोकाहा र पकुवा खोलाको पानी सँगै हर्क साम्पाङको आँशुले । सडक वारिपारि गमलमा फूल फुलेर हाँस्दै छन् । सँगसँगै अकबरे खुर्सानी उम्रिँदैछन् । पकुवा खोलाको बगरभरि मखमली र सयपत्री खुलेर फुल्न आँट्दैछ । धाराने जनताको आशाका किरण बन्दैछ अटल हिम्मत भएको हर्क साम्पाङ ।

देश र जनतालाई केही गर्छु भन्नेको खुट्टामा छिर्के लाउनेको कमी नभएर होला । उनले गरेको पुण्य कामबापत उच्च अदालतमा मुद्दा परेको छन् । आशा छ जित सत्यकै हुन्छ ।

पाँचखाल, काभ्रेपलाञ्चोक 

 हाल : लिमासोल, साइप्रस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप