६ महानगरको बजेट : आधाको घट्दा भरतपुरको व्यापक वृद्धि
काठमाडौँ । आइतबार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेट ल्याएका छन् । असार १० गते भित्र ७५३ वटा स्थानीय तहले नै अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुरूप नै पालिकाहरूले बजेट ल्याएका हुन् । तथापि, अधिकांश पालिकाहरूले भने १० गतेभित्र बजेट ल्याउन सकेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आइतबार बेलुका ७ बजेसम्ममा जम्मा ६० वटा मात्र पालिकाहरूले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । बाँकी ६९३ वटा पालिकाहरूको बजेट क्रमशः आउँदैछ । यद्यपि, बजेट ल्याएर पनि मन्त्रालयको वेबसाइटमा प्रविष्ट भइनसकेका पालिकाहरूको तथ्याङ्क सिस्टममा नदेखिएको हो ।
६ वटै महानगरपालिकाको बजेट सार्वजनिक
कूल ७५३ स्थानीय तहहरू मध्ये जम्मा ६ वटा मात्र महानगरपालिका रहेका छन् । बागमती प्रदेश अन्तरगत तीन वटा महानगरपालिका काठमाडौँ, ललितपुर र भरतपुर रहेका छन् भने पूर्व कोशी प्रदेशबाट विराटनगर महानगरपालिका, लुम्बिनी प्रदेशबाट वीरगन्ज र गण्डकी प्रदेशबाट पोखरा महानगरपालिका रहेका छन् । यी ६ वटै महानगरपालिकाहरूले आइतबारसम्ममा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइसकेका छन् ।
कुन महानगरको कस्तो आयो बजेट ?
काठमाडौँ महानगरपालिका
संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । झन्डै एउटा प्रदेशकै जत्रो बजेट ल्याएको काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा ०.५० प्रतिशतले बढी बजेट ल्याएको हो ।
चालु आर्थिक वर्षका लागि महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
ललितपुर भर्सेस भरतपुर
यो पटक दुई महानगरपालिका ललितपुर र भरतपुरको बजेट ल्याउने सवालमा एकअर्कामा प्रतिस्पर्धा जस्तै देखिएको छ । चालु आर्थिक वर्षका लागि जम्मा ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको भरतपुर महानगरपालिकाले यसपटक बजेट वृद्धिलाई तीव्रता दिँदै ललितपुर महानगरपालिकाकै हाराहारीमा आफूलाई उभ्याएको छ ।
भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा ९.९९ प्रतिशतले बजेट वृद्धि गर्दै बजेटको आकार ६ अर्ब ३१ ७९ लाख ९० हजार रुपैयाँ पुर्याएको छ ।
यता ललितपुर महानगरपालिकाले भने चालु आर्थिक वर्षको भन्दा जम्मा २.३२ प्रतिशतले मात्र बजेटको आकार बढाउँदै आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
चालु आर्थिक वर्षका लागि ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
पोखरा महानगरपालिकाको बजेटमा पहिरो
तुलनात्मक ६ वटा महानगरपालिका मध्ये आगामी आर्थिक वर्षका लागि ठूलो बजेट घट्नेमा पोखरा महानगरपालिका पहिलो बनेको छ । आगामी आर्थिक वर्षका लागि महानगरपालिकाले कूल ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा १८.५२ प्रतिशतले कम हो ।
चालु आर्थिक वर्षका लागि नै पोखरा महानगरपालिकाले ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
आन्तरिक स्रोत, राजस्व, विविध आय आर्जन र केन्द्र र प्रदेशबाट समेत पाउने अनुदान घटेकाले महानगरको बजेट घटाउनु परेको महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनाले रातोपाटीलाई जानकारी दिए ।
यस्तै, बजेट घट्नेमा अर्को दुई वटा महानगरपालिकाहरू समेत रहेका छन् । चालु आर्थिक वर्षको तुलनामा विराटनगर महानगरपालिका र वीरगन्ज महानगरपालिकाले पनि बजेट घटाएका छन् ।
चालु आर्थिक वर्षका लागि क्रमशः ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँ र ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको बजेट ल्याएका यी दुई महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि एवम् रितले ३ अर्ब २८ करोड ५० लाख ८० हजार रुपैयाँ र ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएका छन् । यी दुई महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा क्रमशः ९.३९ प्रतिशत र ३.६८ प्रतिशतले बजेट घटाएका हुन् ।
६ वटा महानगरपालिका मध्ये ३ वटाको बजेट बढ्दा र ३ वटाको घट्दै गर्दा समग्रमा महानगरपालिकाहरूको बजेट २.३२ प्रतिशतले घट्न पुगेको छ । ६ वटा महानगरपालिकाले चालु आर्थिक वर्षका कूल ५३ अर्ब २५ करोड ६८ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट ल्याएकामा आगामी आर्थिक वर्षका लागि बजेट घटाएर ५२ अर्ब १ करोड ६५ लाख ३९ हजार रुपैयाँमा झरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म