मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

आइतबार, १० असार २०८०, २१ : ०१
आइतबार, १० असार २०८०

आज २०८० असार १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा स्थानीय तहहरुले ल्याए बजेट, पशुपति मन्दिरमा रहेको जलहरी परीक्षण गर्दै अख्तियारको टोली, जसपा नेपालको विधान अधिवेशन सुरु, कोरिया जान नपाएपछि ईपीएस कार्यालयमा धर्ना, न्यायपरिषदको संरचनाबारे पुनर्विचार गर्नुपर्ने पक्षमा प्रधानन्यायाधीश, नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने ओलीको टिप्पणी, सेयर बजारमा छलाङ लगायत छन् ।

१. स्थानीय तहहरुले ल्याए बजेट
विभिन्न स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । महानगरहरु, उपमहानगरहरु, नगरपालिकाहरु र गाउँपालिकाहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेका हुन् ।

२. पशुपति मन्दिरमा रहेको जलहरी परीक्षण गर्दै अख्तियारको टोली
पशुपति मन्दिरमा रहेको जलहरीमा राखिएको सुनको परिमाण तथा शुद्धताका बारेमा विभिन्न आशंका प्रकट भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलहरी परीक्षण प्रक्रिया अघि बढाएको छ । आइतबार आयोगको टोली पशुपति मन्दिर परिसरमा पुगेर आवश्यक परीक्षणका प्रक्रिया अघि बढाएको हो ।

३. जसपा नेपालको विधान अधिवेशन सुरु
जनता समाजवादी पार्टीको विधान अधिवेशन सुरु भएको छ । विधान अधिवेशनको उदघाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् । विभिन्न पार्टीसँग एकीकरण गर्दै बनेको जसपा नेपालले अन्तरिम विधानलाई संशोधन गर्न विधान अधिवेशन बोलाएको हो ।

४. कोरिया जान नपाएपछि ईपीएस कार्यालयमा धर्ना
कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् । कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्काेस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।

५. न्यायपरिषदको संरचनाबारे पुनर्विचार गर्नुपर्ने पक्षमा प्रधानन्यायाधीश
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषदको संरचनाबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायपरिषद्को चुस्तताका लागि परिषद्को संरचनाका विषयमा पुनरावलोकन हुनुपर्ने बताएका हुन् ।

६. नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने ओलीको टिप्पणी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित एक पुस्तक लोकर्पण गर्दै ओलीले नेकपा   विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए । 

७. सेयर बजारमा छलाङ
आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । आइतबार नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ मा उक्लिएको हो । 

८. अस्ट्रेलिया जाने खर्च उठाउन चोरी !
प्रहरीले काठमाडौंमा विभिन्न चोरीका घटनामा संलग्न एक जोडीलाई पक्राउ गरेको छ । ‘लिभिङ टुगेदर’मा बस्दै आएको यो जोडीले अस्ट्रेलिया जाने खर्चका लागि चोरी गर्दैै आएको बयान प्रहरी समक्ष दिएको छ ।

९. नेपालमा लागुऔषध कारोबारमा ‘एलएसडी’को जालो 
नेपालमा लागुऔषध कारोबारमा लाइसर्जिक एसिड डाइथेरामाइड (एलएसडी) को जालो बढ्दै गएको तथ्य प्रकाशमा आएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले नेपालमा अहिलेसम्मको सबैभन्दा धेरै लागुऔषध ‘एलएसडी’ स्टिकर बरामद गरेको छ ।

१०. खनिज इन्धनको आयात घट्यो
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट आयात हुने सम्पूर्ण खनिज इन्धनको आयात २० अर्बले खुम्चिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्मको अवधिमा २० अर्बले सम्पूर्ण प्रकारको खनिज इन्धनको आयात घटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप