‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर उपहार दिनेभएकाे छ । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँसरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो ।
‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँसरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँसरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ । शनिबार भएको गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ ।
समुदायमा आधारित समूहको दिगो व्यवस्थापनमा एक घर एक धारा कार्यक्रमलाई थप बस्तीमा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको बजारोन्मुख बस्ती पलाँसे चैनपुर, राक्सिराङ, अठारे, चौकीटार र सिलिङ्गेमा व्यवस्थित बस्ती विकास र नक्सापाससहितको पक्की भवन निर्माण गर्न सहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड कार्यान्वयन गरिने नीति पनि गाउँपालिकाले लिएको छ ।
दुर्गम वडामा विद्युतीकरण, काठको पोल विस्थापन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । सडक गुरुयोजना पुनरावलोकनमार्फत स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका केन्द्रमा स्थापित आधारभूत अस्पताललाई सुविधा सम्पन्न बनाएर वडाहरुबाट अस्पतालसम्म निःशुल्क बस सेवा सञ्चालन गरिने छ । स्थानीय रोजगार योजना तर्जुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास विधि र संस्थागत सुदृढीकरणका लागि काम थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा