सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वरोजगार

सामूहिक रूपमा स्वीटर–टोपी बुनेर आय–आर्जन गर्दैछन् साँखुका महिलाहरू (भिडियो)

आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक सहर साँखुका महिलाहरू पछिल्लो समय समूहगत रूपमा स्वीटर टोपी बुनेर आयआर्जन गर्न थालेका छन् । परम्परागत रूपमा फाट्ट–फुट्ट स्वीटर टोपी बुन्ने गरेका उनीहरू तालिम लिएर समूहगत ढंगले यो काममा लागेका हुन् । 

गत भदौं महिनादेखि हालसम्म झन्डै ८ हजार थान ऊनीको टोपी र ८ सय हाराहारी स्वीटर बुनेको काँचुली महिला समूहको उपसमूह लालुपाते महिला समूहकी ग्रुप लिडर राज्यलक्ष्मी मानन्धरले जानकारी दिइन् । झन्डै ३ वर्षअघि साँखुमा स्थापना भएको काँचुली महिला समूहले परम्परागत रूपमा स्वीटर टोपी बुन्दै आएका महिलाहरूलाई थप तालिम दिएर व्यवसायीकरणमा उन्मुख गराएको उनले बताइन् । 

महिलाहरूलाई संगठित गरेर आयआर्जनका विभिन्न तालिम दिने र सोही तालिममा सिकेका कुराहरूलाई व्यवहारमा रूपान्तरण गरी आर्थिक आयआर्जन गर्ने व्यवस्था मिलाएको काँचुली महिला समूहकी अध्यक्ष ज्ञानश्री श्रेष्ठ बताउँछिन् । सो समूह अन्तर्गत रहेको लालुपाते उपसमूहमा आबद्ध झन्डै १८ जना स्थानीय महिलाहरू आजभोलि हरेक दिन स्वीटर र टोपी बुन्न व्यस्त रहेका छन् । 

photo 001

महिला सशक्तीकरण अन्तर्गत उनीहरूले शंखरापुर नगरपालिका वडा नम्बर ६ को सहयोगमा तालिम पाएका थिए । तालिमपछि उनीहरूले गत वर्ष भदौ महिनादेखि निरन्तर टोपी र स्वीटर उत्पादन गरिरहेका हुन् । 

समूहकी ग्रुप लिडर मानन्धरले भनिन्, ‘स्वीटर बुन्ने काम त पहिला पनि गरिराखेकै थियौँ तर यसरी सबै  दिदीबहिनीहरूले काम पाउने गरी व्यावसायिक ढंगले गरिएको थिएन । हामी सबै दिदीबहिनी मिलेर यसरी काम गरौँ भनेर नगरप्रमुख रमेश नापित, वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, हाम्रो समूहको अध्यक्ष ज्ञानश्री श्रेष्ठले हामीलाई हौसला दिनुभएको छ । पहिला आफूखुसी एउटा–एउटा स्वीटर बुन्नेभन्दा सामूहिक रूपमा काम गर्नु ठिक हुन्छ भनेर हामीले काम थालेका हौ । तालिम लिएर यसरी काम गर्न सक्दा निकै हौसला बढिरहेको छ ।’ स्थानीय महिलाहरूले सामूहिक रूपमा काम गरेर धेरथोर आम्दानी लिन सफल भएकोमा खुसी लागेको राज्यलक्ष्मीले बताइन ।  

photo 01

स्वीटर बुन्छु भनेर आउने जति सबै महिलालाई ऊनको धागो दिएर पठाउने र काम नभएका महिलालाई खाली नराखेको उनले बताइन् । उनले भनिन्–‘स्वीटर बुन्न चाहनेलाई यहीँबाट स्वीटर र टोपीको धागो र डिजाइन दिन्छौँ बुनिसकेपछि त्यबापतको ज्याला दिने गरेका छौँ । हाम्रो समूहभन्दा बाहिरबाट आउनेलाई पनि दिएका छौँ । समूहमा भएको वा नभएको मान्छे भनेर छुट्याएका छैनौँ, सबैलाई समान अवसर दिने गरेका छौँ ।’  

एक जनाले एकदिनमा पाँच देखि छ वटासम्म टोपी बुन्न सक्ने उनले बताइन् । यस्तै स्वीटर बुन्नका लागि भने तीन देखि पाँच दिनसम्म समय लाग्ने गरेको छ ।  एउटा टोपी बुनेको ज्याला ४० रुपैयाँ र एउटा स्वीटर बुनेको ज्याला ६ सय रुपैयाँसम्म पाउने गरेको उनले बताइन् ।

साँखुमा बनाएको स्वीटर र टोपी ठमेलमा रहेका ३ वटा पसलले लिने गरेका छन् । उनीहरूले बनाएको एउटा स्वीटरमा व्यापारीले भित्री राख्ने र ५ हजार रुपैयाँसम्म लिने गरेको उनले सुनाइन । ती टोपी र स्वीटर विदेशी पर्यटक लक्षित रहेको उनले बताइन् । अफसिजन भए पनि २ हजार पिस टोपी र स्वीटरको माग आएकोले धमाधम काम गरिरहेको राज्यलक्ष्मी मानन्धरले बताइन् ।

खेतमा काम गरेर, घरको कामधन्दा सकेर फुर्सद भएकाहरूको खाली समय स्वीटर टोपी बुन्नका लागि प्रयोग हुने गरेको छ । जागिर नभएका र लेखपढ नभएकाहरूलाई समय बिताउन र थोरै भए पनि आय आर्जन गर्नका लागि यो रकमबाट सहयोग पुगेको उनले बताइन् । 

कतैबाट मासिक सय वटा स्वीटर बनाइदिनुस् भनेर अर्डर आएमा बनाउन सकिने उनले बताइन् । बनाएका सामग्री बिक्रीका लागि बजारको केही समस्या नरहेको उनले बताइन् । 

Photo 003

वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले महिला सशक्तीकरणका लागि आयआर्जनको बाटो खोज्ने क्रममा स्वीटर बुन्ने कामलाई छनोट गरिएको जानकारी दिए ।   २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भएका उनले  त्यतिबेला भूकम्पले भत्काएका सम्पदाहरूको पुनर्निर्माणका लागि बढी ध्यान दिनु परेकोले महिला सशक्तीकरणका लागि काम गर्न नपाएको बताए । 

अहिलेको दोस्रो कार्यकालमा आर्थिक विकासको कामलाई मुख्य प्राथमिकता दिएको बताउँदै महिलाहरूलाई व्यवसायमुखी तालिम दिने योजनमा रहेको जानकारी दिए ।  शंखरापुरका नगरप्रवक्ता समेत रहेका श्रेष्ठले आयआर्जनमा महिलालाई अघि बढाउन आफ्नै खुट्टामा उभिने खालको कार्यक्रम आवश्यक देखिएकोले स्थानीयले आफैँले सिकेको सीपलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भनेर स्वीटर टोपी बन्ने कामलाई प्राथमिकता दिएर स्वरोजगार बनाउन खोजिएको जिकिर । 

सुरुमा स्वीटर बुन्ने तालिम दिन र काम अघि बढाउनका सो समूहलाई बीउ पुँजीको रूपमा २ लाख रुपैयाँ अनुदान दिइएको र उनीहरू सफल भएपछि सो रकम अर्को महिला समूहलाई तालिम दिन खर्च गर्नुपर्ने र अर्को समूहले थप अर्को समूहलाई सहयोग गर्दै जानुपर्ने नीतिका साथ काम भइरहेको बताए । 

श्रेष्ठले भने, ‘हिजो हामीले करोडौँ खर्च गर्दा पनि रोजगारी सिर्जना गर्न सक्ने अवस्था रहेन । अहिले हामीले २ लाख रुपैयाँ सहयोग गर्दा पन्ध्र–सोह्र जनाले रोजगारी पाएर धेरै राम्रो काम गरिरहनुभएको छ । यो कार्यक्रमले उहाँहरूलाई स्वरोजगार हुनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको छ । यसलाई हामीले शंखरापुरका वडाहरूमा भएका कार्यक्रममध्ये असल अभ्यासको रूपमा लिएका छौँ ।’

उनले निकट भविष्यमा स्थानीय कृषि तथा हस्तकलाका उत्पादनहरूलाई बजार प्रवर्द्धनका लागि कोसेली घर सञ्चालनमा ल्याउन लागेको बताए । 

photo 004

काँचुली महिला समूहकी अध्यक्ष ज्ञानश्री श्रेष्ठले महिलाहरूलाई आत्मनिर्भर बनाउन स्वीटर बुन्ने, अचार उत्पादन गरेर आत्मनिर्भर बन्ने काममा लागिपरेको उल्लेख गरिन् । झन्डै ३ वर्षअघि गठन भएको काँचुली महिला समूहमा साँखुका झन्डै २०० जना दिदीबहिनी सहभागी भएको उनले बताइन् । अहिले महिलाको सङ्ख्या थपिएर २५० पुगेको बताउँदै उनले यो समूहलाई  ग्रुप लिडर बनाएर ८ उपसमूहमा विभाजन गरिएको जानकारी दिइन् । 

८ वटा उपसमूहलाई उद्यमी बनाउने सोचका साथ तालिम दिएर सोही अनुसारको काम गर्न उत्प्रेरित गर्दै आएको उनको भनाई छ । अध्यक्ष श्रेष्ठले भनिन्, ‘महिला दिदीबहिनीहरूले पहिलेदेखि नै परम्परागत रूपमा स्वीटर बुन्दै आउनुभएको थियो । परम्परागत रूपमा गर्दै आउनुभएको काममा थोरै मात्र भए पनि तालिम दिएर दक्षतामा अभिवृद्धि गर्ने काम ग¥यौँ । पहिला पहिला वहाँहरूले कसैले काम दिएको अवस्थामा मात्र फाट्टफुट्ट स्वीटर बुन्ने गर्नुभएको रहेछ । अहिले तालिमपछि सफल हुँदै गइरहनुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया