आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
उपन्यास समीक्षा

सत्ता प्राप्ति, लावन्तीको निधन र मन्त्रीको आत्महत्या

शनिबार, ०९ असार २०८०, १८ : २३
शनिबार, ०९ असार २०८०

नेपाली राजनीति र जनताको पीडादायी अवस्थाको चित्रण गर्दै तयार पारिएको उपन्यास हो कालपात्र । खासगरी प्रजातन्त्र पुनरागमनपछि नेपाली राजनीतिमा देखिएका विकृति र विसङ्गतिलाई ‘पात्र’ नायकमार्फत यो उपन्यास वर्णनात्मक शैलीमा प्रस्तुत गरिएको छ । यसमा सर्जकले देखेभोगेका राजनीतिक विकृतिलाई सरल, सम्प्रेष्य भाषामा लेखिएको छ । 

यस उपन्यासका सर्जक पुरुषोत्तम दाहाल साहित्यिक व्यक्तित्वले भन्दा पत्रकार व्यक्तित्वले नेपाली समाजमा बढी चिनिन्छन् । तर पनि उनका धेरै वटा कृति नेपाली साहित्य जगत्मा छरिएर रहेका छन् । तसर्थ यो कालपात्र उपन्यास उनको पहिलो साहित्यिक कृति होइन । यसअघि उनका ‘केही कवि केही कविता’, ‘साँघु’, ‘अन्धकारको यात्री’, ‘काला बादलमा उज्याला पाइला’ कविता सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । त्यस्तै ‘शान्ता’ उपन्यास, ‘प्रक्षेपण’ निबन्ध सङ्ग्रह, ‘मेरो पत्रकारिता’, ‘शिखरवृत्त’, ‘मानवअधिकार : लोकतन्त्र शान्ति र अहिंसाको आधार’ (सहलेखन) यसअघि नै प्रकाशित गरिसकेका छन् । हालसम्म प्रकाशित यी कृतिहरूलाई नियाल्दा उनी साहित्यका प्रारम्भिक सर्जक होइनन् । उनलाई गहन, जिम्मेवारपूर्ण र विश्वासिला लेखक हुन् भन्न कसैले धक मान्नुपर्दैन । 

यति धेरै सिर्जनात्मक कृतिहरू हुँदाहुँदै दाहाल आफूलाई उच्च कोटिको सर्जक हुँ भन्न अझ धकाउँछन् । ‘म कुनै आख्यानकार होइन । कल्पनाशील पनि त्यति छैन । मैले देखे र भोगेका परिघटनाहरूलाई शब्दमा उतार्ने प्रयास गर्छु ।’ उनी भन्छन्, ‘कुनै कविता भएर आउँछन् त्यस्ता शब्दहरू कुनै समय कथा जस्तो भएर । कुनै दिन उपन्यास जस्तो र कुनै दिन अनुभवजस्तो भएर आउने गर्छन् ।’ 

उनका उल्लिखित भनाइका आधार यो उपन्यास उनका जीवनका भोगाइका वास्तविक क्षणहरू हुन् । किनभने यो उपन्यासँग जासको स्वाभाव, आचरण र व्यवहार मिल्छ ती सबैको छाया हो समेत उनले भनेका छन् । यस कारण पनि यो उपन्यास नेपाली राजनीतिको विकृति र विसङ्गतिको चित्रण हो । त्यसैले यो उनको समकालीन राजनीतिमा आधारित भएर तयार पारिएको यथार्थवादी उपन्यास हो, यद्यपि विभिन्न प्रसङ्गमा पात्रले आध्यात्मिक दृष्टिबाट आफ्नो र सम्पूर्ण मानवको लोभ, लालच, माया, मोह, व्यभिचारको मूल्याङ्कन पनि गरेको छ । उही पात्रमार्फत उनले यस कृतिमा ‘आफ्नै माटोमुनिबाट उत्पन्न ऊर्जाले मानिसलाई निष्कलङ्क, परिवर्तनशील, विवेकी र ज्ञानी बनाउन सकोस् भन्ने उद्देश्य राखेका छन् ।  

कालपात्रको कथावस्तु

उपन्यास कालपात्र शीर्षकबाट प्रारम्भ हुन्छ । पात्र बसेको स्थान मसान घाट हो । त्यसको वर्णन यसरी गरिएको छ– ‘भर्खरै एउटा चितास्थल पखालिएको छ । कोइला, खरानी र मानवमासुको दुर्गन्ध एकै पटक नाकमा आउने क्रम भने टुटेको छैन....।’ 

मसान घाट नियाल्दै बसेको पात्र आमाबुवा दुवै गुमाएको व्यक्ति हो, उसले मसानघाटको चौतारीमा बसेर सांसारिक मानवको जीवनबोध गरिरहेको छ । उसले मसानघाटमा ल्याएको शव, त्यहाँ उपस्थित मान्छेका व्यवहारहरू चित्रण गर्दै धन, सम्पत्ति, पद, प्रतिष्ठा, लोभ, लालच, आफन्त पराया सबैको तटस्थ मूल्याङ्कन गरेको छ । अनि उसले आफ्नो र समग्र मानव जीवनको अर्थ खोज्ने प्रयास गरेको छ । 

हेर्दाहेर्दै त्यहाँ एउटा लासको चिता पखाली नसक्दै घाटमा अर्को एक सम्पन्न मानिसको शव ल्याउँछन् । फूलैफूलले ढाकेर त्यसको चिता तयार गर्छन्, थुप्रै मलामी र आफन्तजन उसको मृत्युमा रोइरहेका हुन्छन् । त्यो परिवेशलाई नियालेर सो पात्रले जीवनको निष्कर्ष निकाल्छ– “श्रीसम्पत्ति, गाईवस्तु, जग्गा जमिन सास रहेसम्म हो, ती हलचाल गर्दैनन् र सास सकिए पनि तिनले कुनै शोक मनाउने हुँदैन । प्राणप्रिय पत्नी ढोकासम्म साथ दिने गर्छिन्, स्वजन र मलामीहरू घाटसम्म जान्छन् र साथ छाड्छन् । शरीर पनि भष्म हुन्छ । अनि मेरा बन्धुबान्धव छन्, श्रीसम्पत्ति छ, मेरो पद र शक्ति छ भनेर गर्व गर्नु र अहङ्कार गर्नुको के अर्थ रहन्छ र ?”     

गाउँको सामान्य साक्षार किसानको छोरो हुन्छ उपन्यासको पात्र । उसकी आमा श्यावन्तीको टिबीका कारण गाउँमा उपचार नपाएर देहान्त हुन्छ । त्यसको शोकले उसको बुवाको पनि देहान्त हुन्छ । एउटा परिचयपत्र समेत नहुँदै उसका बाआमाको देहान्त भएको हुन्छ । त्यसपछि नागरिकताको सिफारिसका लागि गाविस सचिवकहाँ पुग्छ । तर सचिवले जन्मदर्ता, स्कुलको जन्ममिति र वडाध्यक्षको सिफारिस माग्छ । यी सबै ल्याउन नसक्ने भएपछि पात्र विलखबन्दमा पर्छ । केही क्षणमै एक नेतापुत्र आएर वडाध्यक्ष र आफूलाई लोकल रक्सी, तरुनीको व्यवस्था गरे पात्रलाई सिफारिस दिने आश्वासन दिन्छन् तर यी उसको क्षमताभन्दा बाहिरको कुरा हुन्छ । केही गर्न सक्दैन र निराश बन्छ । 

उसले सबै सरकारी कार्यालय राजनीतिले गाँजेको देख्छ । बाहिर सुरक्षाकर्मी राखेर कार्यालय समयमा नागरिकका काम नगरी मिटिङ भन्दै नेता र नेतापुत्रसँग राजनीतिक गफ गरेर जाँड रक्सी लिप्त भएका कर्मचारीहरु देख्छ । 

वडाध्यक्षको सिफरिस नपाएपछि ऊ परिचयपत्र बनाउन जिल्लामा पुग्छ । त्यहाँ पनि उसले वडाकै अवस्था देख्छ । गार्डले भित्र मिटिङ छ भनेर हाकिमलाई भेट्न जान दिँदैन । धेरैबेर कुरे पछि पात्र आक्रोशित भएर कराउँछ, ‘अब त अति भयो, म गरिबले हाकिमलाई भेट्न नपाउने ? भित्र एक जना नारी र एक जना पुरुष त छिल्लिएका गफ गरिरहेको सुनिन्छ । मिटिङ भनेको फोहोरी कुरा गरेर बस्नु हो ?’ उसको आक्रोश भित्र हाकिमले सुनेपछि बोलाउँछ । भित्र जान्छ । भित्र पस्दापदस्दै उसले एक महिला नेत्रीलाई देख्छ र नमस्कार गर्छ । ती महिला नेत्री पात्रकै टाढाको नाता पार्ने दिदी हुन्छिन् । 

परिचयपत्र नपाएर भौँतारिरहेको सो पात्रलाई ती नारीले भन्छिन्, ‘ए पात्र तिमी मेरो पार्टीमा काम गर्छौ त ? म जे भन्छु त्यही गर्नुपर्छ । तिम्रो परिचयपत्र बन्छ । चिन्ता गर्नु पर्दैन ।’ त्यसपछि सो पात्रले परिचयपत्र पाउँछ । उसले राजनीतिक दलहरूले प्रशासनका कुनै नीति नियम र कानुनको पालना गर्दैनन् भन्ने थाहा पाउँछ । पैसा, पावर र जाँड रक्सीले नेपालको प्रशासन चलेको रहेछ भन्ने जानकारी उसले पाउँछ । 

त्यसपछि पात्र तिनै महिला नेत्रीको कार्यालयमा सहयोगीका रूपमा काम गर्न थाल्छ । त्यसपछि उसले गैरकानुनीकाम गर्ने जिम्मा पाउँछ । हिजोसम्म आफ्नै परिचयपत्र पाउन नसकेको पात्र अब एकाएक अरूको परिचयपत्र बनाइदिन सक्ने हुन्छ । परिचयपत्र बनाउने कार्यालयको प्रमुख पनि पात्रको आदेश भुइँमा खस्न नपाउँदै पालना गर्ने हुन्छ । तिनै नेत्री (लावन्ती) को कार्यालय सहयोगी पात्र बिस्तारै पार्टीको सल्लाहकारमा नियुक्त हुन्छ । 

सत्ता प्राप्तिका लागि लावन्तीको र कुकर्मका दुई पार्टी एकीकरणपछि कुकर्म मन्त्री हुन्छ । बुवा मन्त्री भएको दिन अपकर्म जसरी पनि राजधानी पुग्नुपर्ने भन्दै मुटुको उपचार गर्न हिँडेका शिक्षकको टिकट क्यान्सिल गराउँछ अपकर्मले र भोलिपल्ट शिक्षकको मृत्युसमेत हुन्छ । यस्ता विकृति हरेक क्षेत्रमा भएको उपन्यासमा देखाइएको छ ।

मन्त्री बनेपछि पार्टीका नजिकका मानिस, आफन्त सबैलाई जागिरको व्यवस्था गर्छ । गाउँमा तीन कारोडमा निर्माण हुन सक्ने बाटोलाई मन्त्रीको पावरले १० करोडको ठेक्का पार्छ । वर्षभरि खर्च हुन नसकेको बजेट जेठ र असारमा निकासा भएर काम हुन्छ तर सबै बाढीले बगाउँछ । मन्त्री जिल्ला भ्रमणमा आउँदा पनि त्यस्तै गरी धेरै फजुल खर्च गर्छ पात्रले ।  

पावरमा पुगेका मन्त्रीले राजनीतिमा टिक्न र प्रभाव विस्तार गर्न न्यायालयमा पनि आफ्ना मानिस भर्ती गर्छन् । सरुवा बढुवामा उनले दबाब दिन थाल्छन् । न्यायाधीश पनि मुद्दाका कामतिर नलागी मन्त्रीको चकडीमा पुग्छन् । त्यसपछि न्याय क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन थाल्छ । 

न्याय क्षेत्रमा मात्र होइन गाउँमा सरकारी विद्यालय हुँदाहुँदै पनि मन्त्रीले प्रधानाध्यापकलाई नजिकै बोर्डिङ स्कुल खोल्न र केही लगानी आफूले गर्ने सल्लाह दिन्छन् । धेरै बोर्डिङहरू खुल्छन्, बोर्डिङका सङ्गठनहरू निर्माण हुन्छ । अनि सबै सरकारी विद्यालयहरू धराशायी बन्न थाल्नछ । शिक्षामा मात्र होइन मेडिकल शिक्षा अध्ययनका लागि विद्यार्थी बाहिर पठाउने कन्सल्टेन्सी खोल्छन् । एक विद्यार्थी तिनै नेताले खोलेको कन्सल्टेन्सीबाट अध्ययनका लागि विदेश गएका हुन्छन् । तर त्यो विश्वविद्यालयको वैधता नभएपछि धेरै विद्यार्थी फिरेका हुन्छन् । एक विद्यार्थीले अध्ययन गर्न नपाउँदा विदेशमै आत्महत्या गरेको र आमाबुवा छोराको लास कुरिरहेको परिदृश्य जस्ता दुःखद् घटना यसमा छ । 

देशमा अध्ययन मात्र होइन रोजगारीका अवसरहरू पनि नभएपछि युवा जति सबै विदेशिएका छन् । अध्ययनका लागि, रोजगारीका लागि हरेक दिने हजारौँको सङ्ख्यामा विदेशिएकोे तथ्य त्रिभुवन विमानस्थलमा गएर हेरे पुग्छ । अरू प्रमाण चाहिँदैन । गाउँघर युवाविहीन भएका छन् । यी यावत् परिदृश्यबाट पात्र दिक्क हुन्छ । ‘गाउँका खोतबारी बाँझै छन् । गाउँका वृद्धवृद्धाहरू निरीह छन् । कोही मर्यो भने लास बोक्ने कोही हुँदैन, कोही बिरामी भयो भने उपचार गर्न अस्पताल वा स्वास्थ्य चौकीसम्म पुर्याउने मान्छे भेटिँदैनन्,’ भन्दै पात्र एक दिन पार्टीको बैठकमै उफ्रिन्छ । 

आफ्नो गाउँठाउँ र निर्वाचन क्षेत्रमा देखिएका यावत समस्या देखेर पात्र वाक्क दिक्क भएको हुन्छ । यसपछि पात्र जनहितका कामका लागि समर्पण हुने निर्णय गर्छ, मन्त्रीको विरोध गर्छ । उसलाई अभर पर्दा सहयोग गर्ने दिदीलाई पनि सचेत गराउँछ । जसरी माछाले आफ्ना बच्चाको रक्षा गर्छन्, कछुवा, चराले आफ्ना बच्चाको भरणपोषण गर्छन् त्यसरी नै नागरिकको रक्षा र भरणपोषण नेताले गर्नुपर्छ भन्छ ।

पात्रले आम सर्वसाधारणको गुनासो सुन्छ । कसैलाई बोक्सीको आरोप लगाएर पार्टीका कार्यकर्ताहरूले दिसा खुवाएर कुटी कुटी मारेका, छोरीलाई डाक्टर बनाए पनि दाइजोको कारण देखाएर कुटपिट गरेको र छोरीले जलेर आत्महत्या गरेको  आदि इत्यादि गुनासा पात्र सामु आउँछन् । हुँदाहुँदा उसको उद्धार गर्ने नेत्री लावन्तीको देहान्त हुन्छ । मन्त्रीसँगको नाजयज सम्बन्धबाट रहन गएको बच्चालाई जन्मदिने विषयमा विवाद हुँदा उनको मृत्यु भएको आशङ्का गरिएको छ । 

लावन्तीको देहान्त भएपछि मन्त्रीमाथि आफ्नै कार्यकर्ताहरूबाट प्रश्न उठ्छ । मन्त्री र मन्त्रीपत्नीबिच यो विषय लुकाउन सहमत हुन्छन् । तर केही दिनमै मन्त्री पनि झुण्डिएको अवस्थामा मृत फेलापर्छन् । पात्रको  विभिन्न शङ्का र उपशङ्का बिच उपन्यासको अन्त्य भएको छ । 

औपन्यासिक कलाको प्रखर प्रस्तुति 

कुनै विशेष स्थानको उल्ललेख नभए पनि उपन्यासको भावभूमि नेपाली राजनीति र भूगोल हो । यसमा नेपाली राजनीतिक नेताहरुले गरेको शक्तिको दुरुपयोग छाया बनेर आएको छ । हामीले देखेभोगेका घटनालाई नै सर्जकले कलात्मक ढङ्गले प्रस्तुत गरेका गरेका छन् । त्यसबारे कलानिधि दाहाल लेख्छन्, ‘मन्त्री कुकर्म जसको चौतर्फी सफलतामा लावन्ती मुटु बनेकी थिई र लावन्तीको सफलतामा पनि पात्र मुटु बनेको थियो पात्रको मार्ग परिवर्तन एवं लावन्तीको अनायासको निधनले आहत मन्त्री आफैँ आत्महत्याको निर्णयात्मक कठघरामा उभिनुले अहिलेका राजनीतिका सत्तासीन शिखर नायकका मनोवृत्तिलाई एक इन्च पनि फरक नपारी, तलमाथि नगरी ध्वन्यात्मक किसिमले यस उपन्यासले प्रस्तुत गरेको छ । यो सन्दर्भ औपन्यासिक कलात्मक प्रस्तुतिको प्रखर पक्ष हो ।’ 

उपन्यासमा विकासोन्मुख देशका राजनीतिक अवस्था तथा सामाजिक आर्थिक पक्षको कारुणिक चित्रण यसमा गरिएको छ । उपन्यासमा लोककल्याण गर्ने सज्जनलोक पार्टी छ । ऊ सत्ताको उपभोग गरिरहेको छ । त्यस पार्टीका नेता कार्यकर्ता र सामान्य आसेपासेको धाक धम्की, लवाइखुवाइ अत्यन्तै विलासी देखाइएको छ । उनीहरुको जीवनशैली रवाफी मोजमस्ती, अहङ्कार कहाँबाट उत्पन्न भयो कुरा उपन्यासमा प्रस्ट देखाइएको छ । आफ्नै पार्टीका पहुँचवालाबाट आफ्नै समर्थक कमजोर सदस्यहरूमाथि भएका दर्दनाक पेलाइको पर्दा उघ्रनासाथ फोहोरी राजनीति देखेर आत्मसम्मानको यात्रा हिँड्ने निर्णयमा पुगेको पात्रको परिस्थितिबाट यी सबै कुरा प्रस्ट हुन्छन् । पाठकको हृदयमा चित्रबिम्ब बन्ने गरी यसरी प्रस्तुत गर्न सक्नु दाहालको अर्को औपन्यासिक कला हो । 

अतः दुर्गम एउटा गाउँपालिकाको वडा कार्यालयबाट सुरु भएको भ्रष्टाचारको जालो कहाँसम्म कसरी रहेको छ भनी खोतल्ने काम उपन्यासमा भएको छ । गाउँको एउटा  अनाथ केटो कसरी सत्ताको नजिक पुग्छ र उसले थाहै नपाई आफूलाई कसरी हरेक कुराको हर्ताकर्ता बनिएको थाहा पाएर अचम्मित हुन्छ । अनि राजनीतिक क्षेत्रमा शिखर चुमेकाहरूको अवसान कसरी हुन्छ भन्ने कुरा यसमा प्रस्ट पारिएको छ । 

उपन्यासले सत्ताको उन्मादले सर्वसाधारण जनताको जीवनमा खेलबाड गर्नेहरुको अवसान नराम्रो हुन्छ भन्ने सन्देश दिन उपन्यास सफल छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप