एकान्त झाडीमा डुङ्गा चिया घर अर्थात् ‘झाडी आर्ट’
थोत्रो डुङ्गा अस्तव्यस्त रूपमा त्यसै फालिएजस्तो देखिन्थ्यो, तर यसमाथि चढ्न र बस्न भने सकिन्थ्यो । त्यो डुङ्गाभित्र एउटा सानो टि–टेबल राखिएको थियो । दुवैतिर बस्न मिल्ने किसिमका स–साना मुढा र कलाका केही पुस्तक राखिएका थिए । नजिकै अस्थायी चियापसल खोलिएको थियो ।
सानो चिया पसलमा चाहिने सबै सामग्री थिए । त्यहाँ चिया बेचेर पैसा कमाउने बहिनी पनि कलाको सहपात्र थिइन् । कुनै बेला भावक त्यहाँ पुग्दानपुग्दै, चिया भन्दानभन्दै उनले चिया पकाएर ल्याइसकेकी हुन्थिन् । उनको भूमिका यही थियो ।
भावक मुढामाथि बसेर किताब पढ्दै चिया पिउन सक्थे । भावकलाई यथार्थ, स्वाभाविक र नैसर्गिक क्रियाकलापमा आबद्ध भइरहूँ लाग्न सक्थ्यो । भावकले जे गर्थे, त्यो क्रियाकलाप किमार्थ नाटक थिएन, तथापि अर्को भावकले हेर्दा पहिलो भावक आफैँ कलाको एक भाग बनिरहेका हुन्थे । पहिलो भावक आफैँ कला सिर्जनामा लीन भएझैँ लाग्थ्यो । जसलाई हामी पर्फर्मेन्स कला भन्छौँ । अर्को भावकले पहिलो भावकलाई पर्फर्मेन्स कला गरिरहेजस्तो देख्छ ।
कलाकार रविन्द्र श्रेष्ठले यसपालि ‘इन्टर्याक्टिभ आर्ट इन्स्टलेसन’का रूपमा कला प्रदर्शनी गरे । जेठ १५–३० सम्म चलेको यस प्रदर्शनीको नाम थियो — ‘डुङ्गा चिया घर’ ।
नितान्त शान्त वातावरणमा झाडीको बीचमा उनले यो कला प्रदर्शन गरेका थिए । यो के होला भनी आम भावकमा कुतूहल जाग्न सक्थ्यो । मूलतः यो रविन्द्र श्रेष्ठको अत्याधुनिक कलाको रूप हो । यस्ता कलालाई अनेकौँ नामले पुकार्ने चलन छ । विश्व कला बजारमा चिनाउनुपर्दा यसलाई इन्टर्याक्टिभ इन्स्टलेसन र पर्फर्मेन्स कलाको उपमा सुहाउँदो हुन्छ । सामान्य भाषामा यसलाई स्ट्रिट आर्ट भनिन्छ । अब बिस्तारै समय, अवस्था र कलाको प्रकृतिले गर्दा यसैको नाम पनि परिवर्तन हुन सक्ने देखिन्छ । यसैले यस्ता कलालाई यो स्ट्रिट नभएर झाडीमा भएकाले झाडी–आर्ट भने पनि भयो ।
स्थान
नक्सालमा अवस्थित राणाकालीन महल (सीता भवन), जहाँ पहिले ललित कला संस्था (नाफा) रहेको थियो । तत्कालीन युवराज वीरेन्द्रको अध्यक्षतामा २०२२ सालमा खोलिएको यो सानो तर औपचारिक कला संस्था थियो, जसले नेपाली कलाको संस्थागत विकासमा टेवा पुर्यायो ।
त्यो खुला चौर अनि घना जंगल आज चोक्टा चोक्टामा विभाजित भएको छ, यसैको सानो कुनामा साना–साना टहरा बनाएर आजको ललित कला प्रज्ञा प्रतिष्ठान बसेको छ ।
औपचारिक प्रतियोगितात्मक रूपमा पहिलो राष्ट्रिय कला प्रदर्शनी यही महलमा आयोजना गरिएको थियो, २०२२ सालमा । त्यसैको निरन्तरता स्वरूप त्यस्तै स्वरूपका राष्ट्रिय कला प्रदर्शनी आज पनि यहाँ हुने गर्छन् । अचेल पुरस्कार बढेका छन्, कलाका विषय र क्षेत्र थपिँदै गएका छन्, तर कला प्रदर्शनीको मूल स्वरूपमा परिवर्तन भएको छैन ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल पनि यही महलभित्र बस्यो । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान गठन भएपछि पहिलोपल्ट राष्ट्रिय ललित कला प्रदर्शनी २०६८ आयोजना भयो । यस बखतसम्म यसको पश्चिमतर्फ विशाल खुला चौर र दक्षिणतर्फ ठुल्ठुला रुखले घेरिएको घना जंगल थियो । जान–आउन रमाइलो ठाउँ, शान्त वातावरणमा महलभित्रका ठुल्ठुला कलात्मक कक्षमा कला अवलोकन गर्नुको स्वादै अर्कै ।
यसैभित्र वीरेन्द्र आधुनिक कला सङ्ग्रहालय पनि राखिएको थियो । ठूलो प्रदर्शन कक्षमा पचासौँ समसामयिक कलाकारका चित्र वा मूर्ति स्थायी रूपमै प्रदर्शित भइरहँदा भावकका लागि कला अवलोकन गर्ने गतिलो ठाउँ भएको थियो । आज यो वातावरण भद्रगोलमा भरिएको छ ।
त्यो खुला चौर अनि घना जंगल आज चोक्टा चोक्टामा विभाजित भएको छ, यसैको सानो कुनामा साना–साना टहरा बनाएर आजको ललित कला प्रज्ञा प्रतिष्ठान बसेको छ ।
यहाँको दक्षिणपट्टिको घना जंगल हराएर अहिले उदासलाग्दो भएको छ, अहिले यहाँ साना–ठूला १०–१५ वटा रुख छन् । चारैतिरबाट अग्लो पर्खालले घेरिँदा यो अत्यासलाग्दो भएको छ । घेरिएको पर्खालबाहिर पनि रूख देखिन्छन् । जे–जस्तो भए पनि नाफा परिसरमा बचेखुचेको अलि खुला ठाउँ यही हो । यही ठाउँमा कलाकार रविन्द्रले कला प्रदर्शन गरेका हुन् ।
सपालिको उनको काम ‘कन्सेपचुअल’ र ‘इस्यु बेस’मा आधारित होइन, सामाजिक र राजनीतिक सवाल यहाँ देखिँदैन ।
नेपाली सामसामयिक कलाले सन् २००० को उत्तराद्र्धमा नयाँ मोड समात्यो । त्यसपछि नेपाली कला सीमाहिन भएर अनेकौँ स्वरूपमा देखापर्न थालेको छ । यसैको पराकाष्ठाको रूपमा रवीन्द्रले आफ्नो यो कलालाई पस्केका थिए ।
विश्व कला बजारमा अहिले चल्दै आएको समसामयिक कलाको नवीनतम प्रवृत्तिको एकदमै नजिक रहेको यो रवीन्द्रको काम हरेक दृष्टिकोणबाट अब्बल छ । उनले यस्तायस्तै काम १३–१४ वटा गरिसकेका छन् भने थुप्रै अन्तर्राष्ट्रिय कला प्रदर्शनी, कला मेला (आर्ट फेस्टिभल) आदिमा भाग लिइसकेका छन् ।
यसपालिको उनको काम ‘कन्सेपचुअल’ र ‘इस्यु बेस’मा आधारित होइन, सामाजिक र राजनीतिक सवाल यहाँ देखिँदैन । यस्तै उनलाई मन पोलेका सन्दर्भ, उनका दुखेसा, विरोधाभास आदि केही पनि यहाँ देखिँदैन । उनैले गरेका पहिलेका कलाभन्दा यो नितान्त फरक ढंगबाट आएको छ ।
यसपालि एक पाइलाअघि सरेर उनले आफ्ना सोच र अनुभवलाई कलाको पृष्ठभूमि बनाएका थिए । एउटा स्पेस उपलब्ध गराएका थिए भावकका लागि । अनौठो ‘कोल्याबोरेसन’ यो कलाको मूल विशेषता बन्न पुगेको थियो । निश्चित समय, निश्चित स्पेसमा भावक रमाउन सक्थे, अन्य थप कार्यक्रम वा क्रियाकलाप समेत गर्न सक्थे । जस्तो : कलाकार रविन्द्रले भन्थे — आउनुस्, सबै सँगै बसेर गफ गरौँ, खाऊँ–पिऊँ, पुस्तक पढौँ, गितार बजाऔँ, रमाऔँ आदि । यस्तो आग्रहका साथ कलाकार आफैँले चिया बनाई सबैलाई खुवाउँथे । उनको यस्तो क्रियाकलाप इन्स्टलेसन कलामा थप अर्कै एउटा पफर्मेन्स कला जोडिएर आएझैँ देखापरेको थियो । कलालाई पस्कने यो उनको तरिका फरक ढंगको देखिन्थ्यो ।
नेपालमा वैकल्पिक कला प्रवृत्ति
नेपालमा सन् २००० को उत्तरकालमा वैकल्पिक कलाको प्रवृत्तिका रुपमा इन्स्टलेसन, पर्फर्मेन्स, अर्थ–वर्क आदि कलाले प्रवेश गरेका थिए । अनेकौँ विधा–उपविधालाई एकै ठाउँमा जोड्ने अनि संयुक्ततामा मिलेर प्रस्तुत गर्ने वातावरण सिर्जना गरिएको थियो । यसबखत गीत, नाच, संगीत, वाद्यवादन, फोटोग्राफी, साहित्य, नाटक आदिका कलाकार र सम्बन्धित विज्ञ एकै थलोमा जम्मा हुन्थे ।
त्यस बखत कलामा कन्सेपचुअल र कन्टेक्सचुअल कलाको यथेष्ट मात्रामा प्रयोग हुने गथ्र्यो । अभिव्यञ्जनालाई पछि धकेल्दै कलाकारका विचारलाई प्राथमिकतामा राखी सम्बोधन गर्ने वा गराउने वातावरणको परिकल्पना गरिएको थियो । पछिपछि यस्ता कलामा ‘कन्सेप्ट’ हुनैपर्ने जस्तो भएर देखापरे । कति कलाकार आज पनि जस्तोसुकै कलामा यो ‘कन्सेपचुअल’ शब्दलाई छाड्न खोजेको देखिँदैन । यसपछि सामाजिक र राजनीतिक सवालमा धेरै कला बन्दै गए, जुन अद्यावधि कायमै छ । पछि केही कलाकारले आफ्नै अनुभव, आफ्नै घरका पाका मानिसले भोगेका अनुभवलाई मूल विषय बनाएर काम गर्न थाले । कलालाई अर्थसँग जोडेर बढीभन्दा बढी काम गर्न थाले । बिस्तारै समसामयिक कला, परम्परागत कला, लोककला, व्यावसायिक कला, उपयोगी कला हस्तकला आदिमा फरक देखिन छाड्यो । सबै कला एकै ठाउँमा प्रदर्शित हुन थाल्यो । यसैको विकसित रूपमा कुनै सवालबिनाको, कुनै सन्देश नबोकेको, कुनै दुखेसो नबोकेको, अहिले चलिरहेको जीवनलाई मात्र खुसी पार्ने अवयवमा कला बन्न थालेका छन् । कलाकार रविन्द्रले यस्तायस्तै सोचलाई अगाडि बढाउन खोजिरहेको देखिन्छ ।
दर्शक घना जंगल र झाडीभित्र घुम्दै जाँदा लडेर छरिएका कैयौँ मान्छे (प्रतीकात्मक विम्बको रूपमा स–साना माटाका मूर्ति) देख्न सक्थे ।
आजभन्दा झन्डै बीस वर्षअगाडि नेपाली कलाको इतिहासमा यस्तै नौलो प्रवृत्तिले प्रवेश गरेको प्रसंग यहाँ सान्दर्भिक होला । त्यस बखत कलाको एक प्रकारको आन्दोलन भएजस्तो गरी केही कलाकारले प्रयोगात्मक काम यथेष्ट रूपमा गर्न थालेका थिए ।
यही ठाउँमा कलाकार अस्मिना रञ्जितले अचम्मको कला प्रदर्शन गरेकी थिइन् । अस्मिनाले यो काम गर्दा नाफा परिसरमा यथेष्ट जग्गा थियो । सीता भवनको दक्षिणी भागमा भएको घना जंगलको सम्पूर्ण भाग नै कलाको थलोे (कलापट) बनेको थियो । त्यतिबेला देशले द्वन्द्व भोगिरहेको थियो, मरे या मारे भन्ने समाचारबाहेक केही नसुनिने भयावह अवस्था थियो । विस्फोट, मुठभेड, आक्रमण भइरहन्थ्यो । यही कन्टेस्टलाई लिएर वैकल्पिक कलाको नवीनतम धार उनले प्रस्तुत गरेकी थिइन् । एम्बुसको प्रतीकात्मक विम्बका रूपमा उनले ‘साउन्ड आर्ट’ लाई प्रयोग गरेकी थिइन् । आम दर्शकलाई आफ्नो कलाभित्र एक पात्रको रूपमा ओराल्ने उपक्रम त्यो कलामा छँदै थियो, भावकको प्रतिक्रिया समेतलाई समावेश गराउँदा यो कला अब्बल बनेको थियो ।
दर्शक घना जंगल र झाडीभित्र घुम्दै जाँदा लडेर छरिएका कैयौँ मान्छे (प्रतीकात्मक विम्बको रूपमा स–साना माटाका मूर्ति) देख्न सक्थे । घाँस र परालले छोपिएको खाल्टामाथि अचानक खुट्टा पर्दा थर्काउने गरी ठूलो बम पड्केजस्तो आवाज आउँथ्यो, दर्शकहरू भागाभाग हुन्थे । क्षणमै यो त वास्तविकता होइन रहेछ भनेर थाहा पाएपछि दर्शक हाँस्दै पुनः कलालाई अवलोकन गर्न थाल्थे । यसभन्दा पहिला यस्ता खाले कलाको प्रचलन नहुँदा यो एउटा अचम्मको कला मात्र बनेन, कलालाई हेर्ने आममान्छेको दृष्टिकोण पनि यसै अनुसार परिवर्तन हुन थाल्यो । समसामयिक अवस्थालाई सटीक रूपमा देखाउन उठेको कला पनि थियो यो ।
१५ नोभेम्वर २००३ मा अस्मिनाले गरेको यस काम मात्र इन्स्टलेसन स्वरूपमा देखापरेको थिएन, प्रत्यक्ष भावकको संलग्नता अनि घरीघरी थप भइरहने अर्को कलागत क्रियाकलापले गर्दा यो कला विशेष गरेर इन्टर्याक्टिभ कलाका रूपमा स्थापित भएको थियो । इस्टलेसन अर्थ वर्कको स्वरूप बोकेको यो कलाले समसामिक घटना, दुर्घटनालाई पस्कन्थ्यो ।
रविन्द्रको डुङ्गा पात्र
यसपालि रविन्द्रले आफ्नो कलामा जुन डुङ्गा पात्रलाई प्रयोग गरेका छन्, यही पात्रसँग अन्यत्र साक्षात्कार भयो भने अचम्म मान्नुपर्दैन । यस डुङ्गालाई कतै यात्रामा लगिनेछ अनि अर्कै कलाको रूपमा हामीले यसलाई पुनः हेर्न सक्नेछौँ, अर्कै रूपमा व्याख्या–विश्लेषण गर्न समेत सक्नेछौँ ।
तत्कालका लागि कलाकार रविन्द्रको यो डुङ्गा एउटा शक्तिशाली पात्र बनेको छ । यही पात्रलाई लिएर उनले यसअघि काठमाडौंको माइतीघरस्थित बीच सडकमा स्ट्रिट–इन्स्टलेसन कलाका रूपमा कला प्रदर्शन गरिसकेका छन् । अन्तर्राष्ट्रिय राजनीतिक सवाल सवाल उठाइएको यस कलाको विषयमा यथेष्ट बहस भइसकेका छन् ।
अहिले कलाकार रविन्द्रले उही पुरानो काठको डुङ्गालाई प्रयोग गरेका छन् । मिल्काइरहेको झाडीभित्रको त्यो काठको डुङ्गा देखेपछि दर्शकले यसमाथि खेल्ने, उफ्रने, बस्ने वा अनेकादि गरेको देखिन्छ । कलाकारको चाहना पनि यही हो ।
आफूलाई अन्य भावकले कलाको रूपमा अवलोकन गरिरहेको त्यहाँ संलग्न भावकले पछि मात्र महसुस गर्न सक्छ । भावक आफैँले थाहा नपाउँदै ऊ त्यस प्रदर्शनीमा एउटा बलियो पात्रका रुपमा स्थापित भइसकेको हुन्छ ।
विश्वमै जब इन्स्टलेसन आर्टको अवधारणा विकास भयो, यसको ध्येय थियाो — आम मानिसलाई कलामा संलग्न गराउने, कलाकारको काममा आम मान्छे अपनत्व महसुस हुने गरी समावेश गराउने । यसैकारण विदेशमा स–साना इन्स्टलेसन काम बन्दैनन्, ठुल्ठूला बन्छन् । जसमा भावक स्वयं समावेश हुन सकून् वा भित्र–बाहिर तलमाथि गर्न सकून् ।
यस्ता इन्स्टलेसन कलामा भावक नजिक होस् भन्ने चाहना सर्जकको हुने गर्छ । दर्शकले छोइदेला कि भनेर अनेक किसिमको बार लगाएर दर्शकबाट टाढा राखेर प्रदर्शित गरिने कलाभन्दा यो नितान्त फरक छ । यस्ता इन्सटलेसन कलालाई दर्शक छोएर वा अनेक तरहले अनुभव गर्न सक्छन् । यसर्थ अहिले सामाजिक सञ्जालमा पचासौँ दर्शकले डुङ्गा तल–माथि बसेर किसिम किसिमका फोटो खिच्न रुचि देखाएको देखिन्छन्, जुन आफैँमा कलाको दोस्रो रूप हो भन्ने विश्वास गरिन्छ ।
आफूलाई अन्य भावकले कलाको रूपमा अवलोकन गरिरहेको त्यहाँ संलग्न भावकले पछि मात्र महसुस गर्न सक्छ । भावक आफैँले थाहा नपाउँदै ऊ त्यस प्रदर्शनीमा एउटा बलियो पात्रका रुपमा स्थापित भइसकेको हुन्छ । ऊ गइसकेपछि त्यहाँ अर्को कोही बस्न सक्थ्यो, गितार बजाउन सक्थ्यो, कला र धर्मका बारे प्रवचन दिन, कविता वाचन गर्न समेत सक्थ्यो ।
घरीघरी परिवर्तन भइरहने यस्ता कलालाई घुम्ती पर्फर्मेन्स कला भन्न पनि सकिन्छ । भोलि यो अर्कै ठाउँमा अर्कै समय र सन्दर्भमा अर्कै दृश्य लिएर उदाउन पनि सक्नेछ । स्पेस र टाइम, सर्जक र भावकलाई साथमा लिएर घुमिरहने यस्ता कलाको कहिल्यै अन्त हुँदैन । सधैँजसो एउटा प्रक्रियामा आबद्ध भएर देखापर्ने कलालाई कलाकार स्वयंले फाइनल प्रडक्ट भन्दा प्रोसेजमा हेरिदिन आग्रह गर्छन् । यो विश्व कला बजार नवीनतम कलाको नमुना हो । यहाँ नेपालमा यस्ता यस्तै कला बनाएर गतका वर्षदेखि कलाकार रविन्द्र श्रेष्ठ चर्चाको शिखरमा छन् ।
यसपालि रविन्द्रको कला राष्ट्रिय कलाको अभिन्न भागका रूपमा यहाँ प्रदर्शित थियो । बर्सेनि हुने गरेका यस्ता राष्ट्रिय कला प्रदर्शनीमा सामान्य चित्रकला, मूर्तिकला, वास्तुकला, लोककला आदि–इत्यादि प्रदर्शन भइरहन्छन् । कहिलेकाहीँ रविन्द्रजस्ता प्रयोगधर्मी कलाकारले आँटै गरेर, प्रशस्तै पैसा खर्च गरेर दुःखकष्ट गरी यस्ता कला बनाउने गर्छन् ।
यस्ता कला एउटा रमाइलो वस्तु वा बखतजस्तो भएर देखिन्छ — हेर्न मिल्ने, यसमाथि कुद्न मिल्ने, हिँड्न र बस्न मिल्ने । हामीकहाँ यस्ता कलामाथि विचार–विमर्श भनै कम हुने गरेको छ । प्रदर्शनपछि यस्ता प्रयोगात्मक कला त्यत्तिकै हराएर जान्छन् ।
विदेशतिर भने यस्ता कलाबारे यथेष्ट मात्रामा लेख्ने र प्रशस्त फोटोग्राफी गरेर राख्ने चलन छ । इन्स्टलेसन स्वभाव भएकाले यस्ता कलालाई नाश गर्नुपर्ने हुन्छ, नाश हुन्छन् नै । पछि हेर्न र बुझ्न खोज्दा यसबारे लेखिएका कुरालाई आधार मानेर बहस गर्नुपर्ने हुन्छ । यस कारण पनि यस्ता कलाबारे बढीभन्दा बढी लेखिनुपर्छ, अभिलेखन हुनुपर्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
-
सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार