निगुरो काट्न चाहिँदैन बन्चरो
मदन भण्डारी
सङ्ग्रहालयतिर देखिन्छ, राजामहाराजाहरू मरेको बाघमा टेकेर फोटो खिचाउँदा रहेछन् । भनिन्छ, सिकारीहरूले बाघ मार्थे अनि हातमा बन्धुक समातेर राजामहाराजाहरू फोटो खिचाउँथे । आज जनप्रतिनिधिहरू स्विपरसँग फोटो खिचाउँछन् । कुचो–खरेटो समातेर सञ्चार सञ्जालमा छाउँछन् । ‘नेपाली हुँ वीर, झुक्दैन हो शिर... !’ गीत गाउँछन् । जनताले काकाकुल हुनुपर्छ । तल नदी छ, माथि टारीबारीले तड्पिई–तड्पिई रुनुपर्छ । यै हो मेरो देश हजुर, यै हो मेरो देश नेपाल ।
रामबहादुर चौधरी यतिखेरका हट्केक । राधा चौधरी हट्इस्यु । खुबै लेखिएका छन्, बोलिएका छन् । छापा वा इलेक्ट्रोनिक मिडियामा सबैतिर यही चर्चा छ । मानौं, अब चाहिँ अन्धविश्वास, रुढी र कुसंस्कार पूरै मासिने भो । नेपाल ह्वातै समृद्धिको शिखरमा पुग्ने भो । नेपालमा पत्रकारभन्दा पुलिस ठूला हुन्थे, यतिखेर पुलिस रक्षात्मक, पत्रकार आक्रामक देखिएका छन् । ‘पुलिसले के हेरे ?’ पत्रकारले पुलिससँग सोधपुछ गर्दा मज्जा आउँछ । देहातका रामबहादुर चौधरी ‘भोले बाबा’को करामत देखाइन्छ, सहरका गुण्डागर्दी र भ्रष्टाचार झनै ओझेलमा पर्छन् । जनताको ध्यान अन्यत्रै मोडिन्छ । नगरका पुरुष यौनकर्मीहरूले आफ्नो पोर्न फिल्म डिलिट गर्ने मौका पाउँछन् । युट्युमा गुण्डाका काला कर्तुत आउँदैन । सर्वत्र रामबहादुर चौधरी देखिन्छन् । रामको छवि धमिलिन्छ, रविको छवि झनै उज्यालिन्छ ।
त्यसो त रविको छवि उज्यालै हो । उहाँ काम गर्नुहुन्छ । यहाँ काम गर्नेकै कुरा काटिन्छ । कामै नगरी हसुर्ने, घिच्ने र छोरीज्वाइँका लागि अकूत सम्पत्ति थुपार्नेहरूको भ्रष्टाचार देखिँदैन । ती जनकल्याणका कुरा गर्छन्, विश्वकल्याणका कुरा गर्छन् । स्वास्नी बेच्छन् । आमालाई त दलालहरू सधैँ दाउमा राख्छन् । यतिखेर सजिलो छ । ‘समृद्धि’ देखाउने दाँत छ, चपाउने दाँत अर्कै छ । भ्रष्टचार विरुद्धका असल अभियन्ता रवि लामिछाने गाउँ देहातमा पुग्छन् । यो रमाइलो पक्ष हो । गाउँका रामबहादुर धामीभन्दा सहरका ‘कामी’ पुरुषहरू झनै डरलाग्दा छन् । रामबहादुर चौधरी, ममताप्रसाद चौधरी, किस्मती चौधरी, राधा चौधरी निङ्रा (निउँरा) हुन् । भ्रष्टाचारले सतीसाल भएर सहरमै जरा गाढेको छ । चौधरीहरू समाइदा पौड्याल, प्रसाद र शर्माहरू उम्किई रहन्छन् । सिधा कुरा गरौँ ‘यहाँको रामबहादुरसितको अन्तरवार्ता निगुरोमाथि बन्चरो जस्तै लाग्यो !’
पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परिचित अन्धविश्वासीहरू हुन् । कम्युनिस्ट खोलका ‘यस्ता’हरू कति होलान् ? मनमोहन अधिकारीलाई कालो बोकोको बलि चढाएरै एमालेले प्रधानमन्त्रीको पद सम्हाल्न पठायो । शिक्षामन्त्री हुँदा मोदनाथ प्रश्रित भुँडी पल्टाएर पूजामा बसे । राजालाई दाम राखेर ढोगेकैले माधव नेपालले चुनाव हारे । प्रचण्डले भैँसी पूजा गरेर कुख्याती कमाए । आजका राष्ट्रपतिले पूजामा राजा र रामवरणकै विरासत थामेकी छन् । यही कडीमा रामबहादुर चौधरी जोडिएका छन् । महानगरमा पोर्न फिल्म देखाएरै प्रोभोक गरेर नयाँलाई जागिर बाँडिदैछ । रविले त्यस्तो भिडियो देखेकै होलान्, पक्कै । तर अदालतले भिडियोलाई प्रमाण मान्दैन क्यारे ! यसैले सहरका ‘मान’हरूले अहिलेसम्म अपमान खेप्नु परेको छैन । पोखरामा मध्यरातमा सहिदको सालिक भत्काइँदा पत्रकारहरू निदाउनै पथ्र्यो, निदाएकै थिए । फेरि चलखेलले ठड्याइँदा मुखको दहीले बोल्न छेक्यो । बोलिएको छैन ।
रामबहादुर ठूला अग्रजका सानो अनुज हो । पार्टीका गुन्डाहरूलाई ‘सङ्गठित अपराध ऐन’ लाग्दैन । त्यहाँ भिडियोको पहुँच गाह्रो हुन्छ । ममतामाथिको गोली सङ्घीयतामाथि प्रहारको सुरुआत हुनुहुँदैन ।
‘अजब नेपालमा गजब–गजब हुन्छ !’ भीमनिधि तिवारी लेख्थे । उनी सङ्घीय गणतन्त्र नेपालको ‘गजब’ देख्नुभन्दा धेरै पहिले बिते । अहिले मिडियाहरूले भनेका छन्, ‘मेयर ममताप्रसादको नाम निष्ठुरीप्रसाद हुनुपर्ने ।’ मिडियाले भन्यो, ‘जननिर्वाचित अध्यक्ष र सदस्यले मिलेरै कुखुरा चोरेछन् !’ ‘वामको कामको खबरदारी गर्ने !’ पोखरा काङ्ग्रेस निर्णय गर्छ, उसैको प्रतिनिधि पात्र काङ्ग्रेसी हाकिमले चरम भ्रष्टाचार गरेको देख्दैन । छायाँ सरकारका काङ्ग्रेसीहरू भ्रष्टका अगाडि म्याउँ–म्याउँ गर्दै पाउमा लुटपुटिन्छन् । विप्लवलाई अदालतले पक्राउ पुर्जी काटेको छ । यसले गुन्डाहरूको मनोबल झनै बढेको छ । सर्वोच्चको गाईजात्रा राम चौधरीको भन्दा बढी महत्वको मानिएन । राष्ट्रपतिले गोपालप्रसाद पराजुलीसँगै शपथ ग्रहण गरिन् ।
२२, २५ वर्षे अपठित देहाती रामबहादुर चौधरीलाई रविजीले समाउँदा बिरालोले मुसा समाएजस्तै देखियो । बूढी मरेकीमा भन्दा काल पल्किने डरसँग होसियार हुनुपर्छ । सीके लाल ‘पहाडिया बाहुनवाद’का विरुद्ध लेखेका लेखेकै छन् । सरकारको दुई तिहाइको खोजमा गगन थापा झस्केका छन् । ‘वाम गठबन्धनमा सिद्धान्तको सङ्कट’ युग पाठक चिच्याउँछन् । प्रसान्त झा ‘भारत टुलुटुलु हेरेर बस्दैन’ भन्छन् । के यी लेखाइमा, झस्काइमा, चिच्याइमा, भनाइमा तुक छैन ? छ । एउटा पत्रिकाले ब्यानर न्युज बनाएछ, ‘महानगर कर्मचारीको भर्ती केन्द्र, २०० कर्मचारी विधि विपरीत !’ यी बदमासी डकैती हुन्, यसको सापेक्षतामा रामबहादुर चौधरी आरु चोर जस्तै हुन् । चुनाव जितेकी किस्मती सहरमा किस्मतको धाक लाउँछिन् । सङ्घीयताको समस्या यहीँ छ ।
समयको यही सरोफेरोमा काठमाडौँमा ‘म्याड म्यान्स डायरी’ नाटक प्रदर्शन भयो । त्यसबारे ‘रातोपाटी’ले बृहत् छलफल चलायो । मान्छेको मासु खान नहुने सन्देश सम्प्रेषण गरियो । ‘धार्मिक’हरू नै नानीहरूलाई मान्छेको मासु खान सिकाउँछन् । काठमाडौँमै ‘बलि’ चढाइन्छ । महानगरमा प्रतिभाको हत्या गर्नेहरू हिरो हुन्छन् । जनजाति र खसको द्वन्द्वलाई तिखार्ने र जुधाउने पोलेमको नेतृत्व भीमसेनकै स्वरमा स्मार्ट सिटीको गीत गाउँछ । ‘वाम गठबन्धनको सरकारले फेल खाए कम्युनिस्ट फेल हुन्छ’ झलनाथ खनाल भन्छन् । यो सफेद झुट हो । पञ्चायतलाई निर्विकल्प भन्नु जस्तै हो । एउटा नभए अर्को आउँछ । विप्लव मच्चिन्छ । अरु डाक्टर वैद्यहरू अगाडि सर्छन् । सृष्टिको गति रोकिँदैन । स्थानीय सरकारको रवैयाले केन्द्र सरकार पूरा आयू बाँच्दैन ।
रामबहादुर चौधरी मरेको बाघजस्तै हो । जिउँदा ‘बाघ’हरू सहरमा बौलाएका छन् । वाम जितको अहंकार र काँग्रेसको लघुताभास चिन्ता र चिन्तनको विषय हुनुपर्छ । देखियो; पायोनियर, पाइलटा वा एउटा प्रमुखको गल्तीमा धेरैले रुनुपर्छ । फेरि दोहो¥याऊ, रवि सर ! निगुरोलाई बन्चरो चाँहिँदैन । सहरमै झ्याँगिएको भ्रष्टाचारको जरा उखेलिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले भन्यो– हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो
-
कृषि विकास रणनीति परिमार्जनबारे छलफल, किसानमैत्री रणनीति हुनुपर्नेमा जोड
-
सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री
-
निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च
-
कर्णाली डेभलपमेन्ट बैंकले निम्त्याएको प्रश्न– नेपालका बैंक तथा वित्तीय संस्थाको रिपोर्टिङ सही छ ?
-
अवैध उत्खननको आरोपमा खानी मुद्दा खेप्दै पाल्पा सिमेन्ट