आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
कथा

डोली दिने बेला

शनिबार, ०९ असार २०८०, १४ : ००
शनिबार, ०९ असार २०८०

आज छोरीको विवाह भइरहेको छ । मुटु फुट्लाजस्तो पीडा छातीमा छ । तर, आएका पाहुनाहरूमा आँखा डुलाउनै पर्ने, स्वागतमा मुस्काउन देखाउनु पर्ने बाध्यता हरेक आमाको झैं मेरो पनि छ । 

“आहा कति सुहाएको जोडी, कस्तो राम्रो ज्वाइँ पाए । केटी पनि आफ्नै खुट्टामा उभिएकी । दुवै मिलेपछि जिन्दगी कति सहज ।” भीडबाट यस्तै यस्तै आवाज आइरहेको छ । 

भएकी एउटा छोरी पनि पठाउनु पर्दा कम्ती सकस हुँदैन । त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । गोपाललाई हेर्छु । उनका आँखा पनि उनले टाउकोमा बेरेको रातो फेटासँग रङ मिलाउन खोजे जस्तै लाग्छ । 

अघि कन्यादान गर्दा पनि मेरा भन्दा उनका हातमा बढी कम्पन देखेकी थिएँ । गोडा धुन पानी राख्दा बेस्सरी हात कमाएका थिए । मुखको मुस्कान पाहुनातर्फ फाल्न भने कुनै कन्जुस्याइँ थिएन गोपालमा । 

गोपाल र मैले बराबर दुःख गरेर हुर्काएको छोरी हुन् । त्यसैले त हामी दुवै बाबा र आमालाई उत्तिकै माया गर्थिन् छोरीले । 

“ए रोशन बाबु, खाना खाने ठाउँमा याद गर्दै गर्नु ल । आजको दिनमा इज्जत जोगाइदिनु ।”  रोशन बाबुलाई देखेर भनेँ । 

“भाउजू हजुरहरूले चिन्तै लिनु पर्दैन । जन्ती र माइती पक्षका सबै पाहुनालाई स्वागत सत्कार राम्रैसँगै भएको छ । उता शाकाहारीलाई पनि पल्लो माइला दाइको घरमा चमेना र फलफूल व्यवस्था गरिएको छ ।” 

रोशन बाबुले यसो भनेपछि सबै ढुक्क भयो । 

“माइतीहरूले हेर्नु भएन । लुक्नुहोस् त ।” जग्गेबाट पण्डितजी कराए । 

“सिन्दूर राख्ने समय भएछ क्यारे ।” अनुमान लगाएँ । 

गोपाल पनि भित्र आए । नजिकै थिए । मैले गोपालको आँखा हेर्दै हात समाएछु । मेरो आँखा फेरि रसायो । 

“छोरीको बिहे सबैले गर्छन् । सबैका छोरीले आफ्ना बाबाआमा छोड्ने हुन् । यस्तोमा पनि रुने हो । आजबाट छोरीको नयाँ जीवनको सुरुवात हो । ज्वाइँ प्रतिभा सम्पन्न छन् । परिवार सम्पन्न र संस्कार भएका छन् । छोरी आफैँ सक्षम छे ।” 

यसरी गोपाल मलाई त सम्झाउँछन् तर बेला बेलामा आफैँ मुख कुच्याउँछन् । 

“हो त डोली दिने बेला भएकै छैन, अहिलेबाटै काकी रुन थाल्नु भयो । मन अलि दरो बनाउनु पर्छ ।” कल्पनाले भनिन् ।

यहाँ बसाइँ सरेर आएको पनि पन्ध्र वर्ष भएछ । नयाँ ठाउँमा आए पनि सबै आफन्त जस्तै छन् । नयाँ छन् तर प्यारा छन् सबै छिमेकीहरू । सबैको सहयोग छ । पुरानो ठाउँमा अबोध छोरीले बेला बेलामा सोध्ने प्रश्नहरूले हामीहरूको मुटु छेड्थे । 

अन्तिम पटक छोरीको प्रश्नले हामी बसाइँ सर्ने नै निर्णयमा पुगेका थियौँ । 

‘मामु हजुरहरूले मलाई कहाँ भेट्टाउनु भएको हो ?” छोरीको प्रश्न थियो उतिबेला । 

“किन नचाहिने प्रश्न गर्न लागेको नानु । तिमीलाई कसले के सुनाउँछ ?” गोपालले भनेका थिए । 

“अघि बिहान स्कुल जाँदै गर्दा भनेको सुनेको ।” छोरीले भनेकी थिइन् । 

“के सुन्यौ छोरी ?” मैले सोधेकी थिएँ । 

“मैले धेरै माया पाएँ रे । आफ्नै छोरा छोरीले पनि यस्तो माया पाउँदैन रे । अरू के के हो के के ।” छोरीले जवाफ दिएकी थिइन । 

अनायास मेरो हात छोरीको टाउकामा गयो । उसको शिरमा हात राखेर भनेकी थिएँ, “तिमी यही घर जन्मेकी हौ छोरी । यस्ता कुरामा मन नडुलाउनु ।” छोरीको कसम खाएपछि छोरी मुसुक्क हाँसेकी थिइन् । 

उ आफ्नो कोठामा गएपछि गोपालले भनेका थिए, “कति पटक कसम खान्छ्यौ ?” 

मैले भनेकी थिएँ, “मैले झुटो कसम खाएकी छैन ।” 

“यस्तै हो भने हामीले कुनै दिन झुटो कसम पनि खानु पर्छ अथवा छोरीलाई सबै साँचो भन्नु पर्दछ ।’ उनले भनेका थिए । 

रातभर न उनी निदाए, न म नै सुत्न सकेँ । बिहानपख उनले भनेका थिए, “अब हामी बसाइँ सराइ गरेर अन्यत्र जाऊँ । जहाँ हाम्रो छोरीबारे कसैले केही नभनोस् ।” त्यसपछि हामी एक घण्टा ढुक्कले निदाएका थियौँ ।

...

“काकी बाहिर काकाले बोलाउनु भयो ।” कल्पनाको बोलीले म वर्तमानमा फर्केँ । बाहिर गएर गोपाल भए ठाउँमा पुगेँ । 

‘सम्धिनीज्यू पनि आउने हुनु भयो । ल भित्र ठिक पार्न लगाऊ । ढोकभेट फुकाए पछि काम आजै उम्किन्छ ।” गोपालले सुस्तरी कानमा भने । म भित्र आएँ । 

“कल्पना, ल एक जनालाई लिएर आऊ त । सम्धिनीज्यूलाई दिने कुरा ठिक पार्नु पर्‍यो ।” भन्दै म दराज खोलेर सम्धिनीज्यूलाई दिन ल्याइएको बस्तुहरू निकाल्न थालेँ । 

दराज माथिबाट छोरीले सानोमा खेल्ने गरेको गुडिया खस्न पुग्यो । आफ्नो लगाउँदै गरेको कोटहरू बरु रामबहादुरलाई जडौरी दिए । तर, छोरीका प्रत्येक बस्तु ल्याएका थिए गोपालले बसाइँ सर्दा पनि । 

“यहाँ त छोरीले गुडिया खेलाउन छाडेको चार वर्ष भइसक्यो किन लैजाने ?” मैले भन्दा “छोरीको केही पनि छोड्ने हैन ।” भनेका थिए गोपालले । 

यही गुडिया देखेर छोरीलाई सोधेका थिए रे गाउँलेले, “कति धेरै माया गर्छन् है तिमीलाई, जसको छोरी भए पनि ?” 

“बोल्न नजान्ने मान्छे भएर जे पायो, त्यही बोलेका हुन् ।” मैले छोरीलाई त्यसबेला आश्वस्त पारेकी थिएँ । 

सँगै पढेको गोपाल र मैले जीवन पनि सँगै बिताउने निर्णयमा दुबैका अभिभावकको चित्त नबुझे पछि हाम्रो संघर्षका दिन सुरु भएका थिए । कठोर देखिए पनि गोपालका बुबाआमा करिव एक डेढ वर्षमा पग्लनु भयो । तर के गर्नु सेवा गर्न छ महिना पनि लेखेको रहेनछ । 

“मैले तिमीलाई एक डेढ वर्ष बुबा आमाबाट अलग्याएँ । मलाई माफ गर ल ।” म भावुक भएकी थिएँ । “म त कमसेकम छ महिना त बाबाआमासँगै भएँ । के गर्नु दैवको लेखा त्यस्तै भयो । तिम्रो त बुबा आमा भन्दा दाइ भाइ कठोर बनेपछि हाम्रो के लाग्छ र ।” उनले भनेका थिए । 

...

“काकी कुन बास्केट ठिक हुन्छ होला ?” कल्पनाले सोधेपछि म झस्के जस्तै भएँ । 

“ ल काकी कति टोलाउनु भएको हो ।” उनले फेरि भनिन् । 

“ठुलोमा राख न सबै अट्नु पर्‍यो ।” मैले भने । 

“ल है, आमालाई लिन भनेर गाडी पठाएँ ।” भीडबाट एकजनाले ढोकामा जनाउ दिएर गए । 

“ल यताको काम सकियो । अब त्यता टीका लगाउने काम गरे हुन्छ ।” पण्डितजी जग्गेबाट कराए । 

“रोशनजी कता हुनुहुन्छ ?” गोपाल बोलेको सुनियो । 

“म यतै छु दाजु ।” उनले भने । 

दाजु भाइ भनेको रगतको नाता मात्र हैन रहेछ । आपसी सहयोग, सद्भाव राख्ने भए पछि रगतको साइनो भन्दा कडा सम्बन्ध हुँदो रहेछ । रोशनबाबु नभएको भए हाम्रो बसाइँ सराइले निरन्तरता पाउँदैनथ्यो कि जस्तो लाग्छ यहाँबाट पनि । 

‘भाउजू बाहिर कुर्ची र टेबल त ठिक पारियो । ल अब सम्धीज्यूको सामान पनि निकाल्नु पर्‍यो । अरू त दाइले बोक्नु भएको झोलामा नै होला ।” रोशन बाबुले भन्नु भयो । 

“म के जान्दछु र हजुरको दाजुभाइले किनेर ल्याउनु भएको सबै यहीँ छ । कसलाई के दिने हो, मिलाएर लैजानु न । ए सुमन, उमेश, प्रीतम । ल यता आएर रोशन अंकललाई सहयोग गर ।” मैले भने ।

सम्धिनीज्यू आएपछि सबै प्रक्रिया आजै पूरा गरियो । गालामा रातो अबिर दलेर टाउको ठोक्कियो । अब बाटोघाटोमा भेटे पनि ढोगभेट फुक्यो । सबै जन्तीका निधार राता भए । 

सम्धी पर्नेहरू सेतो फेटामा यताउता गर्दै थिए । ज्वाइँका नजिकका नातेदारको टाउकोमा नयाँ टोपी देखिन्थ्यो । 

मैले दराज खोलेँ, एउटा जेब्रा ब्याग निकालेँ । 

“कसलाई पठाउने उता सँगै ?” मैले सोधेँ । 

“काकी पनि कुन जमानामा हुनुहुन्छ ? खुरुक्क ज्वाइँसाहेब र छोरीलाई बोलाएर जिम्मा लगाउने हो । अब त उनीहरू सल्लाह गरेर काम गर्छन् ।” कल्पनाले भनिन् । मैले छोरीले घरमा मुख देखाउँदा दिनुपर्ने सामान र दक्षिणा ठिक्क पारेँ ।

जग्गेको काम सकिएपछि छोरीभित्र आइन् । डोली दिने बेला हुन आँट्यो । अब केही समय मात्र छोरी यस घरमा हुनेछिन् । मन बटारिएर आयो । कसैले मुखबाट हात घुसारेर मुटु चुडाल्न खोजेजस्तो भयो । छोरी पनि रुन थाली । गोपाल भित्र पसेपछि भक्कानिएर रुन थाले । 

म आमालाई सम्झाउने दुबैको बाँध फुटेपछि मलाई कसले रोक्न सक्ने ? भित्रको हाम्रो कोलाहल बाहिरको नरसिङ्गाले अलि फिका बनाएको थियो । 

“के गर्या यस्तो काका काकीले ? उनीहरूको खुसीको लागि हामीले त हाँसेर पो विदा गर्नुपर्छ । ” कल्पना सम्झाउन थाल्छिन् ।

“मेरी महान आमा, संसारमा सबैभन्दा ठूला बाबा आमा मेरै बाबा आमा हुन् ।” छोरीले आँसु पुछ्दै भनिन् । 

“आफ्ना बाबा आमा सबैका लागि ठूला हुन्छ्न् नानु,” कल्पनाले भनिन् । 

छोरीले म तिर हेरेर भनिन्, “मलाई सबै थाहा भयो आमा । त्यसैले त हजूरहरू अन्य आमा भन्दा महान हुनुहुन्छ ।”

जुन रहस्य लुकाउन हामीले भाग्दै हिँड्यौ । जसलाई थाहा दिन चाहेनौ उनैले थाहा पाइछन् । 

म पुनः पुरानो दिनमा हराएँ । हाम्रो विवाह भएको पाँच वर्ष भएको थियो । हामी दुबैको बच्चालाई माया गर्ने स्वभाव भए पनि ईश्वरले पत्यार गरेका थिएनन् । एक पटक काठमाडांै गएर जँचायौं । परीक्षण गराउँदा दुबैको कमजोरी देखियो । 

दुबैको कमजोरी देखिएपछि एक अर्कोको अझ माया लाग्दो रहेछ । एक पटक साँझमा एक जना महिला सानो दुई वर्षकी बच्चा च्यापेर बास माग्न आइन् । बाहिर स्टोर कोठा खाली थियो बस्न दिएँ । 

भोलि पल्ट बिहान उनलाई निकै कमजोर देखें । काखमा र कोखमा एक एक वटा बच्चा लिएकी उनको गन्तब्य उनैलाई थाहा थिएन । 

प्रेम विवाह पछिको डेराको बसाइँ, लोग्नेको दुर्घटनामा मृत्यु भएसँगै सकिएको रहेछ । लोग्नेले गाउँ लगेनन् । पछि नाम सोधपुछ गर्दै जाँदा कसैले चिनेनन् । सायद बाध्यता परेर हो वा कसरी हो उसको लोग्नेले आफ्नो गाउँको नाम पो ढाँटेको थियो कि ? 

“एक दुई दिन आराम गर त्यसपछि जाउली ।” मैले भनेकी थिएँ । 

करिव तीन दिनपछि बच्चा नजन्मने हाम्रो घरमा पनि स्टोर कोठामा नै भए पनि यौटा नानीले जन्म लिइन् । गाउँमा सुत्केरी भेट्न जानु पर्दा पनि विचार गरेर जानु पर्ने म बाँझीले नै ती मातृशिशुको स्याहार गर्नु परेको थियो । 

करिव एक हप्तापछि विहानै आफूले ल्याएको बच्चा लिएर हाम्रो घरमा जन्मेको नानी हाम्रो दैलो अगाडि छोडेर गईछन् । यताउता खोजियो, टाढै पुगिछन् क्यारे, भेटाउन सकिएन । मुचुल्का उठाइयो । सदरमुकाम गइयो र प्रक्रिया पूरा गरेर काखमा लिएर छोरीको नाम राखियो उषाप्रभा ।

“काकी, ल अब रुमालमा बलियो गाँठो पार्नु पर्‍यो ।” कल्पनाले भनेको सुनेर मलाई तन्द्राबाट बिउँझे जस्तो भयो । डोली दिने बेला भएछ ।

पोखरा–७ मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप