सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
विकास निर्माण

बागमती प्रदेशका १० शीत भण्डार निर्माण अन्तिम चरणमा, हस्तान्तरणका अझै समय लाग्ने

शनिबार, ०९ असार २०८०, ०६ : २४
शनिबार, ०९ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले निर्माण सुरु गरेको १० वटा शीत भण्डार अन्तिम चरणमा पुगेका छन् । प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको अधिकांश शीत भण्डारहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

सरकारले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकहरूलाई लक्षित गरी शीत भण्डार निर्माणको काम सञ्चालन गरेको थियो । निर्माण कार्य सुरु गरेको ४ वर्ष पूरा भइसकेको अवस्थामा ती शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रदेशका १० मध्ये ३ वटा शीत भण्डारको परीक्षण समेत भइसकेको छ भने ५ वटाको निर्माण कार्य सम्पन्न भई परीक्षणको तयारीमा रहेका छन् । २ वटा शीत भण्डारको काम भने अझै जारी रहेको छ ।

शीत भण्डार निर्माणको अन्तिम चरणमा रहे पनि केही व्यवस्थापकीय काम गर्न बाँकी नै रहेकाले हस्तान्तरणमा भने अझै केही समय लाग्ने भएको छ । उक्त शीत भण्डार निर्माण सम्पन्न भई सञ्चालनमा आए पश्चात् मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । ती शीत भण्डारको परीक्षण कै क्रममा रहेकाले अझै हस्तान्तरणमा अझै केही लाग्ने भएको हो ।

उक्त शीत भण्डार निर्माण भएपश्चात् व्यावसायिक कृृुषितर्फ कृषकको आकर्षण बढ्ने र कृषकले कृषि उपजको उचित मूल्य प्राप्त गर्ने उद्देश्यका साथ मन्त्रालयले काम अघि बढाएको थियो । स्थानीय सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अघि बढाएको हो । प्रदेश सरकारले सहकारी निजी सहकार्यमा कुल लागतको निश्चित प्रतिशत रकम व्यहोर्ने गरी शीत भण्डार निर्माणको सम्झौता गरेको थियो ।

बागमती प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र साझेदार संस्थाहरूको सहकार्यमा निश्चित रकम साझेदार संस्थाले व्यहोर्ने गरी संयुक्त लगानीमा शीत भण्डार निर्माणको काम सुरु गरिएको मन्त्रालयका सचिव शरणकुमार पाण्डेले जानकारी दिए ।

सरकारले चितवनको खैरहनी नगरपालिका वडा नम्बर–६, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका वडा नम्बर–७, रसुवाको कालिका गाउँपालिका वडा नम्बर–२, सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–५, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–७, सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका, दोलखाको जिरी नगरपालिका वडा नम्बर–५, रामेछापको मन्थली नगरपालिका, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–५ र नुवाकोटकै बेलकोटगढी नगरपालिका वडा नम्बर–१० मा शीत भण्डार निर्माण सुरु गरेको थियो ।

sitb

प्रदेश सरकार गठनपछिको पहिलो बजेटमा नै सो कार्यक्रम समावेश गरेर गत २०७५ सालमा शीत भण्डार निर्माणको लागि डिपिआर तयार पारेर ठेक्का आह्वान गरेको थियो । मन्त्रालयले २०७६ असारमा शीत भण्डार निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता गरेको करिब ६ महिना पछि प्रदेश सरकारले शीत भण्डारहरूको निर्माणको शिलान्यास गरेको थियो ।

सरकारका तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले दोलखाको जिरी पुगेर गत २०७६ सालमा शीत भण्डार निर्माणको शिलान्यास समेत गरेका थिए । दोलखाको जिरी नगरपालिका वडा नम्बर–५ मा नगरपालिका र जिरी कृषि सहकारी संस्थाको सहकार्यमा प्रदेश सरकारले ५०० मेट्रिक्टन क्षमताको शीत भण्डार निर्माण सुरु गरेको थियो । 

प्रदेश सरकारले अधिकांश शीत भण्डारको निर्माणको लागि २ वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेर काम सुरु गरेको भए पनि कोरोनाका कारणले समयमा नै काम सम्पन्न गर्न कठिन भए पनि २ पटक म्याद थप गरिएको थियो । कोरोनाका कारण २ वर्ष निर्माणमा खासै प्रगति हुन सकेन । जसका कारण शीत भण्डार निर्माण सम्पन्न गर्ने अवधि थप भएर आगामी असार मसान्तसम्म निर्धारण गरिएको छ ।

सरकारको अस्थिरता, कोरोना महामारी, साझेदार स्थानीय तह र सहकारीलाई सम्झौता अनुसार निर्माणको लागत मूल्य दाखिला गर्न समस्या भएपछि निर्माण कार्य सुस्त भएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव पाण्डेका अनुसार कोरोना, निर्वाचन, सरकार परिवर्तन, अख्तियारमा मुद्दा पर्दा र सहकारीले शीत भण्डार निर्माणमा सह लगानी गरे बापतको रकम दाखिला गर्न नसक्दा केही समय निर्माण कार्य नै रोकिएको थियो ।

‘अहिले अधिकांश शीत भण्डार निर्माणको अन्तिम चरणमा पुगेको छ । केही शीत भण्डारको परीक्षण समेत भएर सञ्चालनमा आइसेका छन् । समग्र रूपमा भौतिक निर्माणको काम सम्पन्न भइसकेको छ । विद्युत् जडानको काम बाँकी रहेको थियो । त्यसका लागि स्थानीय तहले व्यवस्थापन गर्ने गरी काम अघि बढेको छ ।’ सचिव पाण्डेले भने, ‘२ वटा शीत भण्डार भने केही ढिला गरी निर्माण सुरु गरिएकोका कारणले समय लाग्न गएको छ । सो शीत भण्डारको पनि करिब ७० प्रतिशत जति काम सम्पन्न भइसकेका छन् । शीत भण्डारको भित्री मेसिन औजार र उपकरणहरू जडानको काम बाँकी छ ।’

निर्माण सम्पन्न भएका शीत भण्डारहरूमा विद्युत् जडानको काम हुन नसक्दा सञ्चलनमा आउन केही समय लागेको र हाल सो समस्या पसिन समाधान भइसेको उनले बताए ।

‘शीत भण्डारमा विद्युत् जडानको काम सम्बन्धित साझेदार संस्थाले गर्नु पर्ने थियो । त्यसमा केही अलमल भयो । त्यसले पनि सञ्चलनमा आउन समय लागेको हो । अहिले त्यो समस्या हल भइसकेको छ । अधिकांश शीत भण्डार परीक्षण गर्ने तयारीमा रहेको छ ।’ उनले भने ।

यस्तो छ शीत भण्डारको वर्तमान अवस्था

मन्त्रालयका अनुसार खैरहनी नगरपालिका वडा नम्बर–६ मा मन्त्रालयले नगरपालिका र साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा निर्माण भएको शीत भण्डारको भौतिक संरचनाको काम सम्पन्न भई विद्युत् जडानको काम भइसकेको छ । उक्त शीत भण्डारमा विद्युत् जडान पश्चात् परीक्षण गर्ने तयारी भइसकेको छ । मन्त्रालयले सो स्थानमा १ हजार ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको लागि कुल १२ करोड ९४ लाख ४२ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । जसमा मन्त्रालयबाट ९ करोड ६ लाख ९ हजार रुपैयाँ, ३ करोड ८८ लाख ३२ हजार र स्थानीय तहबाट २ करोड ५० लाख रुपैयाँ बेहोर्ने गरी सम्झौता भएको थियो । उक्त शीत भण्डार निर्माणमा मन्त्रालयले हालसम्म ११ करोड ५२ लाख ३४ हजार रुपैयाँ खर्च भुक्तानी दिइसकेको छ भने १ करोड ४२ लाख ७ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

त्यस्तै बेनीघाट रोराङ्ग गाउँपालिकामा पनि १ हजार ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा निर्माणको काम सुरु गरेको थियो । मन्त्रालयबाट ८ करोड ९८ लाख ५९ हजार रुपैयाँ र साझेदार संस्थाबाट ३ करोड ८५ लाख ११ हजार रुपैयाँ बेहोर्ने गरी कुल १२ करोड ८३ लाख ७० हजार रुपैयाँ लागतमा सम्झौता गरेको थियो । हालसम्म सो शीत भण्डारको भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको छ । उक्त शीत भण्डारमा विद्युत् जडान पश्चात् परीक्षण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सो शीत भण्डार निर्माणमा हालसम्म १० करोड ९८ लाख ६४ हजार रुपैयाँ खर्च भुक्तानी भइसकेको छ भने १ करोड ८५ लाख ५ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

यसैगरी रसुवा जिल्लाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको काम सुरु गरिएको थियो । उक्त शीत भण्डार परीक्षण सम्पन्न भई सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयबाट २ करोड ५९ लाख २४ रुपैयाँ, साझेदार संस्थाबाट १ करोड ११ लाख १० हजार रुपैयाँ बेहोर्ने गरी कुल ३ करोड ७० लाख ३५ हजार रुपैयाँ लागतमा निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीबाट उक्त शीत भण्डार हस्तान्तरणको चरणमा रहेको मन्त्रालयको भनाई छ । उक्त शीत भण्डार निर्माणमा हालसम्म ३ करोड १८ लाख ६७ हजार रुपैयाँ खर्च भुक्तानी भइसकेको छ भने ५१ लाख ६८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।  

सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको मन्त्रालयले ५ करोड ३० लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको थियो । जसमा मन्त्रालयले ३ करोड ७१ लाख ५६ हजार रुपैयाँ, साझेदार संस्थाले १ करोड ५९ लाख २४ हजार र सम्बन्धित स्थानीय तहले १ करोड ५९ लाख २८ हजार रुपैयाँ लागत बेहोर्ने सम्झौता अनुसार निर्माण भएको उक्त शीत भण्डारको भौतिक संरचना निर्माणको काम सम्पन्न भई विद्युत् जडान र परीक्षणको काम भइरहेको जनाइएको छ । सो शीत भण्डार निर्माणमा हालसम्म ४ करोड ७९ लाख ९७ हजार रुपैयाँ खर्च भुक्तानी भइसकेको छ भने ५० लाख ८३ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–७ मा गोल्मुथान कृषि सहकारी संस्थासँगको साझेदारी शीत भण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । ५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि मन्त्रालयले ३करोड ७४ लाख ६२ हजार रुपैयाँ, साझेदार संस्थाबाट १ करोड ६० लाख ५५ हजार रुपैयाँ र स्थानीय तहबाट १ करोड ६ लाख ५१ हजार रुपैयाँ लागत साझेदारीमा कुल ५ करोड ३५ लाख १७ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो । हालसम्म सो शीत भण्डार निर्माणको काम सम्पन्न भई परीक्षणको भइरहेको छ । सो शीत भण्डार निर्माणमा हालसम्म २ करोड ६५ लाख १० हजार रुपैयाँ खर्च भुक्तानी भइसकेको छ भने २ करोड ७० लाख ७ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकामा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको लागि मन्त्रालयले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ, साझेदार संस्थाले १ करोड ६० लाख ६४ हजार रुपैयाँ र स्थानीय तहले ९५ लाख रुपैयाँ बेहोर्ने गरी कुल ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको थियो । उक्त शीत भण्डारको भौतिक संरचना निर्माणको काम सम्पन्न भई विद्युत् जडान र परीक्षणको काम भइरहेको मन्त्रालयले जनाएको छ । सो शीत भण्डार निर्माणमा मन्त्रालयले हालसम्म ४ करोड ८९ लाख ३४ हजार रुपैयाँ खर्च भुक्तानी भइसेको छ भने ५० लाख ८३ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

रामेछापको मन्थली नगरपालिकामा ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको लागि मन्त्रालयबाट ३ करोड ७१ लाख ६६ हजार रुपैयाँ, साझेदार संस्थाले १ करोड ५९ लाख २८ हजार रुपैयाँ र स्थानीय तहले १ करोड ५९ लाख २८ हजार रुपैयाँ बेहोर्ने गरी कुल ५ करोड ३० लाख ९५ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । सो शीत भण्डारको हालसम्म भौतिक संरचना निर्माणको काम सम्पन्न भई विद्युत् जडान र परीक्षणको काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त शीत भण्डार निर्माण बापतको ४ करोड ८२ लाख ३८ हजार रुपैयाँ खर्च निर्माण कम्पनीलाई भुक्तानी भइसकेको भने ४८ लाख ५७ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा जिरी नगरपालिका वडा नम्बर–५ मा कुल ५ करोड ३७ लाख १६ हजार रुपैयाँ लागतमा ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सो शीत भण्डार निर्माणका लागि मन्त्रालयले ३ करोड ७६ लाख १ हजार रुपैयाँ, साझेदार संस्थाले १ करोड ६१ लाख १४ हजार रुपैयाँ र पालिकाले १ करोड २५ हजार रुपैयाँ बेहोर्ने सम्झौता रहेको छ । उक्त शीत भण्डारको निर्माण सम्पन्न भई परीक्षण समेत भइसेका मन्त्रालयले जनाएको छ । सो शीत भण्डार हस्तान्तरणको चरणमा रहेको छ । मन्त्रालयले सो शीत भण्डार निर्माण बापत ३ करोड ६२ लाख ५६ हजार रुपैयाँ निर्माण कम्पनीलाई खर्च भुक्तानी गरिसकेको छ भने १ करोड ७४ लाख ५९ हजार रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।

२ शत भण्डारको काम अझै बाँकी

मन्त्रालयले नुवाकोटको दुई वटा नगरपालिकामा मन्त्रालयले सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा ७० प्रतिशत रकम मन्त्रालयले बेहोर्ने गरी दुई ठुला शीत भण्डार निर्माणको ठेक्का सम्झौता गरेको थियो । मन्त्रालयले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–५ र बेलकोटगढी नगरपालिका वडा नम्बर–१० मा ५००० मेट्रिक टन क्षमताका शीत भण्डार निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

विदुर नगरपालिकामा साझेदार कम्पनी र मन्त्रालयको कुल १९ करोड ८५ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढी नगरपालिकामा कुल २० करोड ३९ लाख ६८ हजार रुपैयाँ लागतमा शीत भण्डार निर्माण ठेक्का सम्झौता भएको थियो । हालसम्म ती दुवै शीत भण्डारको भौतिक संरचनाको काम नै सकिएको छैन । ती शीत भण्डारको ७० प्रतिशत मात्र भौतिक प्रगति रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म बेलकोटगढीको शीत भण्डार निर्माण बापत मन्त्रालयले १० करोड ८१ लाख ८६ हजार रुपैयाँ खर्च निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ भने ९ करोड ५७ लाख ५१ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । विदुर नगरपालिकाको शीत भण्डार निर्माण बापत १० करोड १७ लाख ३२ हजार रुपैयाँ खर्च भुक्तानी भइसकेको भने ९ करोड ६८ लाख ४८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप